कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरैबाट सम्मान

महिलाको सम्मानित जीवनका लागि न्यायपूर्ण व्यवहार घरबाटै सुरुवात गरिनुपर्छ ।

काठमाडौँ — लैङ्गिक समानता महिलासँग मात्र सम्बन्धित कुरा नभई प्रत्येक व्यक्ति, समाज तथा राज्यसँग सम्बन्धित कुरा हो । जब एउटा महिलामाथि दुव्र्यवहार वा शोषण गरिन्छ, सम्पूर्ण मानव सभ्यता नै कलंकित हुनपुग्छ ।

हामी सबै स्वविवेकले यस्ता दुरावस्थाबारे बोल्दा, आवाजविहीनलाई आवाज दिँदा र लैङ्गिक असमानता तथा महिलामाथिको बढ्दै गएको हिंसा हटाउन महिला तथा पुरुष दुबै सहकार्य गरी अघि बढ्दामात्रै सामाजिक तथा सांस्कृतिक परिस्थितिहरूको सामना गर्न सकिन्छ । नेपालको संविधानले महिला र पुरुषलाई समान अधिकारको प्रत्याभूति गराएको छ । तर पितृसत्तात्मक मूल्य र मान्यतामा आधारित असन्तुलित सामाजिक संरचनाका कारण महिला विरुद्ध हिंसा कुनै एक संस्कृतिमा मात्रै छैन । गरिबदेखि धनी वर्ग, पढेलेखेकोदेखि नपढेलेखेका वर्गसम्मका महिलाले हिंसा भोगेका छन् । नाबालिकादेखि वृद्धावस्थाका महिलाले पनि हिंसा खेपेका छन् ।


लैङ्गिक विभेदको आधारमा हुने हिंसामा खासगरी महिला भएकै कारणले महिलामाथि गरिने विभिन्न किसिमका शारीरिक, मानसिक, यौनिक एवं हिंसा, बेचबिखन, वैवाहिक जीवनभित्र गरिने बलात्कार, दाइजोको कारणले गरिने दुव्र्यवहार, बलात्कार आदि पर्छन् । आजभोलि बलात्कार, हत्याजस्ता हिंसाको खबर दिनहँुजसो सामाजिक सञ्जालमा देखिन्छ । के साँच्चिकै महिला घरदेखि घर बाहिर सुरक्षित छन् त ? के राज्यको उत्तरदायित्व कानुन बनाइदिनु मात्र हो ?


कतिपय हिंसाका घटना बाहिर प्रकाशमै आउँदैनन् । घरेलु हिंसाको उजुरी परेको अवस्थामा समेत पीडितले उचित क्षतिपूर्ति, न्याय पाउन नसकेको अवस्था पनि छ । कुनै महिलाले आफ्नै श्रीमान वा परिवारका सदस्यबाट वा छरछिमेकबाट भएको वा गरिएको हिंसाविरुद्ध जाहेरी दिइन् भने ती महिलालाई नै विभिन्न दोष देखाउँदै दोहोरो पीडा दिई मुख बन्द गर्न लगाउँछ, समाजले । खासगरी तराईमा महिला विरुद्धको हिंसा पुरुषले महिलामाथि आफ्नो श्रेष्ठता सिद्ध गर्ने माध्यमको रूपमा प्रयोग गरिरहेको देखिन्छ । आफूभन्दा क्षमतावान महिलामाथि पनि विभिन्न किसिमको टिकाटिप्पणी गर्न, होच्याउन, गाली गर्न, अपशब्द बोल्न र आफूलाई बलियो देखाउन महिलाको अस्मितासँग खेलवाड गर्न तयार रहने प्रवृत्ति कतिपय पुरुषमा पाइन्छ । महिलाले पनि पितृसत्तात्मक सोचकै उपजले गर्दा महिला हिंसालाई बढावा दिने गरिरहेको देखिन्छ । महिलामाथि हुने घरेलु हिंसालाई घरभित्रको एकदमै सामान्य समस्याका रूपमै लिएको पाइन्छ । हिंसालाई सहन सक्ने, आँसु दबाउन सक्ने महिलालाई सज्जन भनेर समाजले चिन्छ । हाम्रो समाजमा पुरुषले पुरुष भएकै कारण बहुविवाह गर्न पाउने, पत्नीलाई शारीरिक तथा मानिसक यातना दिन हुने, अर्काकी छोरीचेलीलाई कुदृष्टिले हेर्न पाउने, अर्काकी श्रीमतीसँग आकर्षित भई शारीरिक सम्बन्धसमेत राख्न पाउने तथा सामाजिक सञ्जालमा उच्छृङखल भिडियो, म्यासेज गर्न हुने जस्ता छुट पाएको देखिन्छ । श्रीमतीले टिप्पणी गरे उल्टो नानाथरी आरोप लगाएर घर बाहिरसमेत निकालिदिने गरिन्छ । यस्तो समस्यालाई हटाउन र प्रत्येक महिलालाई सशक्त बनाउन जरुरी छ । यसका लागि महिला आयोग, महिला सेल, पुलिस, प्रशासन तथा समाजका हरेक जिम्मेवार व्यक्तिलाई सशक्त बनाउन जरुरी देखिन्छ । महिला सशक्तीकरणको हरेक कार्यक्रममा पुरुषलाई पनि बराबर सहभागिता गराई एकअर्काको कुरा बुझाउनुपर्छ । प्रत्येक महिलालाई घरेलु हिंसाको भनेको के हो, यो हुदाँ कहाँ के गर्नुपर्छ भन्ने जानकारी गराउनुपर्छ । नीति नियम कार्यान्वयन प्रभावकारी रूपमा हुनसक्यो भने पनि हिंसा न्युनीकरण हुनसक्छ ।


संविधानमा मौलिक हक र कर्तव्य अन्र्तगत धारा ३८ मा महिलाको हकमा महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै पनि किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भनी लेखिएको छ । त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुने र पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुने पनि उल्लेख छ । तर आम महिलालाई यसबारे जानकारी नै छैन । राज्यले पनि महिलाको हक रक्षाको प्रत्याभूति गराउनसकेको छैन । त्यसैले समाजमा आधाभन्दा बढी जनसंख्या रहेका महिलाले कुनै न कुनै रूपमा हिंसाको सिकार सहनुपरेको छ । राज्यपक्षले आफ्नो दायित्व निर्वाह गर्नुका साथै हामी सबैले आफ्ना सन्त्तानलाई सामाजिक तथा नैतिक शिक्षाको ज्ञान घरबाटै दिए हरेकले एकअर्काप्रति सम्मान गर्ने, सुरक्षा दिने, लैङ्गिक मैत्रेयी वातावरण निर्माण गर्ने अवस्था सिर्जना हुनसक्थ्यो । आमाबाबुले असल आचरण, व्यवहार तथा सोच नयाँ पुस्तामा पनि हस्तान्तरण गर्दै

जान जरुरी छ ।


अभिभावकले आफ्ना बच्चालाई समय दिन नसक्ने तथा उनीहरू घर, स्कुलमा वा बाहिर के गर्दैछ भन्ने चासो नराख्ने प्रवृत्तिले पनि उनीहरूमा गलत संस्कार हुर्काउन सक्छ । तराईमा शौचका लागि घर बाहिर जाँदा वा पहाडमा महिनावारी भएका बेला बाहिर सुत्न जाँदासमेत बलात्कारको सिकार हुने गरेको पाइएको छ । ससुराले बुहारीलाई, काकाले भतिजीलाई, छिमेकीले अबोध बालिकालाई र एउटा अधबैँसे पुरुषले नातिनी उमेरकी बच्चीलाई बलात्कार गरेको सुन्नाले हाम्रा छोरीचेली घर, समाज, छिमेक, काम गर्ने ठाउँ कहीँ पनि सुरक्षित छैनन् भन्ने चिन्ता बढेको छ । श्रीमानको गलत क्रियाकलाप थाहा पाएर पनि श्रीमतीले वास्ता नगरिदिने, समाजको डरले सहेर बसिदिने हुनाले पनि कतिपय पुरुषको मनोबल बढेको पाइन्छ ।


यौनजन्य हिंसा बाहेक अरु कतिपय हिंसालाई समाजले पचाइसकेको देखिन्छ । छोरी भए गर्भमै हत्या गर्ने गरेको पनि पाइन्छ । समाजले छोरा र छोरीमा विभिन्न किसिमले खुल्ला रूपमा विभेद गर्दै आएको छ । वैवाहिक बलात्कारलाई त महिलाले सहनैपर्ने बाध्यताजस्तो बनाएको छ, समाजले । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले ४५ प्रतिशतभन्दा बढी महिला घरेलु हिंसाका सिकार हुने गरेको देखाएको छ । सबै महिलाले मुख खोल्ने हो भने यो प्रतिशत बढेर जान्छ । लैङ्गिक विभेद र महिला हिंसा मानव निर्मित सामाजिक समस्या हो । यो समग्र मुलुकको उन्नतिमा बाधकका रूपमा छ । त्यसैले प्रत्येक नागरिक, समाज, राज्य, कानुन, महिला निकाय, संघ–संस्था सबैले यस्ता समस्या अन्त्यका लागि हातेमालो गर्नुपर्छ । यस्ता हिंसाका आरोपित व्यक्तिलाई हदैसम्मको कानुनी सजाय तथा पीडितलाई क्षतिपूर्ति दिलाउनुपर्छ । घरदेखि स्कुलसम्म सामाजिक तथा नैतिक शिक्षा अत्यावश्यक छ । महिलाको सम्मानित जीवनका लागि न्यायपूर्ण व्यवहार घरबाटै सुरुवात गरिनुपर्छ ।

प्रकाशित : फाल्गुन १८, २०७४ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?