८ मार्च नमनाउनेलाई

सोचौं त, बिहान को चाँडो उठ्छ ? राति को अबेला सुत्छ ? घरमा पाहुना आउँदा को सबैभन्दा ब्यस्त हुन्छ ? चाडबाडमा कसले मस्ती गर्छ ?
मिनु श्रेष्ठ

काठमाडौँ — मेरी आमाले आठ मार्च मनाउनु भएन । आमालाई न क्लारा जेट्किनबारे थाहा थियो, नत महिलाको आफ्नो शरीर माथिको अधिकारबारे । समान कामका लागि समान ज्याला, उस्तै राजनीतिक र आर्थिक अधिकार, महिलाका लागि आराम र मनोरञ्जन मेरी आमाले नसुनेका कुरा थिए ।

अधिकारको ‘अ’ नजान्ने मेरी आमाले जीवनमा कस्ता सपना देख्नुहुन्थ्यो, थाहा छैन । आमा उहिल्यै बित्नुभयो । त्यसपछि हामी आयौं । हामीलाई आठ मार्चबारे थाहा छ । महिला अधिकारबारे सुनेका छौं, पढेका छांै र नाराहरू पनि लगाएका छौं । मेरी आमाभन्दा हामी थोरै भाग्यमानी छौं । किनभने हामीले केही यस्ता कुरा थाहा पाएका छौं, जसले भन्छ, ‘महिला र पुरुष बराबर छन् ।’

Yamaha

त्यसो त आज पनि धेरै महिला आठ मार्च मनाउँदैनन् । मुख्य कुरा आज पनि धेरै महिलालाई आठ मार्च, महिला अधिकार र समानताबारे थाहा छैन । आठ मार्च नमनाउनु कुनै विस्मातको कुरा होइन । विस्मातको कुरा त आज पनि महिला बलात्कृत हुनु हो । विस्मातको कुरा त आज पनि महिलाहरू दाइजोको नाममा जल्नु हो । विस्मातको कुरा त आज पनि महिलाहरू रातोदिन पसिना बगाउनु र अभावमा जीवन गुजार्नु हो । विस्मातको कुरा त महिला राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री हुनु र उनीहरूको आँखै अगाडि आज पनि महिलामाथि तेजाव खन्याइनु हो ।

आज पनि महिला बालविवाहको सिकार बन्नु हो, बेचिनु हो र हरेक दिन पति परमेश्वरका हातबाट हिंसा र निरन्तर हिंसाको सिकार हुनु हो । आर्थिक र सामाजिक हिंसा कति निर्मम हुन्छ, सायद बोक्सीको नाममा घरबाट लखेटिएकी महिलालाई सबैभन्दा धेरै थाहा छ । विस्मातको कुरा त सहरमा आठ मार्च मनाउनु र गाउँमा त्यसको छनकसम्म नआउनु हो ।

हामी आठ मार्च मनाउने महिला आफ्नो अधिकारबारे सुन्दर कविता लेख्न सक्छौं । चर्को गीत गाउन सक्छौं । हामी बोल्न सक्छौं, अदालत जान सक्छौं र डिभोर्स दिन सक्छौं । तर जो महिला कविता लेख्न सक्दैनन्, गाउन सक्दैनन्, अदालत जान सक्दैनन् र डिभोर्स दिन सक्दैनन्, उनीहरूका लागि हरेक वर्ष अठ मार्च पनि उस्तै दु:ख लिएर आउँछ । निश्चय नै आठ मार्च मनाउनेहरूलाई यो दिन एउटा विश्वासको दिन हो कि महिला र पुरुष बराबर छन् । महिलाका दु:खका दिन सकिनेछन् ।

हामी आर्थिक, राजनीतिक र सांस्कृतिक बन्धनहरूबाट मुक्त हुनेछौं । तर जो महिला आठ मार्च मनाउँदैनन् र महिला अधिकारको कुरा बुझ्दैनन्, उनीहरूलाई विश्वास दिने कसले ? उनीहरूका लागि जीवनको आशा कहाँ छ ? आठ मार्च मनाएर सत्ताको भर्‍याङ चढ्ने महिलाहरू र आठ मार्च कहिल्यै मनाउन नपाएका महिलाको दु:खको सीमारेखा बुझ्ने र मेट्ने कसले ? यी आजका लागि हाम्रा सबैभन्दा दु:खद प्रश्न हुन् ।

यहींनेर थप प्रश्न गरौं । पहिलो, महिला र पुरुषमा काम र आरामको वितरण किन असमान छ ? दोस्रो, महिला र पुरुषमा यौनको परिभाषा किन अलग छ ? तेस्रो, महिला र पुरुषमा सम्पत्तिको स्वामित्वमा किन विभेद छ ? यस्ता प्रश्नको कुनै मूल्य छैन भने ठिकै छ, यस्ता प्रश्नलाई बेवास्ता गरौं । अन्यथा यस्ता प्रश्नको थोरै पनि अर्थ छ भने बहस गरौं । यस्तो बहस गरौं, जसले महिला र पुरुषलाई समान अर्थ र अस्तित्वको मान्छेका रूपमा स्वीकार गरोस् । अन्यथा समानताका दुई–चार शब्द मिलाएर भाषण गर्नु र आठ मार्च मनाउनुको कुनै अर्थ छैन । औपचारिक आठ मार्च हामीले धेरै मनाएका छांै । तर हामीले मनाएका आठ मार्चहरूले ग्रामीण र निर्धा महिलालाई थोरै पनि मान्छे हुनुको विश्वास दिलाउनसकेका छैनन् ।

एउटा छोटो हिन्दी फिल्म छ, ‘जुस’ । कुनै घरमा पाहुना आएका छन् । पाहुना मोजमस्ती, खानपानमा छन् । उनीहरूको रसरंग र सुविधाका लागि महिलाहरू पसिना पुस्न पनि नपाई काम गर्छन् । तर थोरै पनि अप्ठ्यारो पुरुषहरूमा देखिँदैन । फिल्मले प्रश्न उठाउँछ कि यस्तो किन हुन्छ ? पुरुष र महिलाको काम र आराममा कि असमानता ? जस्तो– सोचौं त, बिहान को चाँडो उठ्छ ? राति को अबेला सुत्छ ? घरमा पाहुना आउँदा को सबैभन्दा ब्यस्त हुन्छ ? चाडबाडमा कसले मस्ती गर्छ ? साना–साना कुरा छन् । निश्चय नै महिलाको आरामरहित जीवन र निरन्तर सास्तीको मूल्य के हो ?

अहिले म कुनै बलात्कारको घटनाबारे सम्झिरहेकी छु । केही वर्ष अगाडि तराईमा उखुबारीमा घाँस काट्दै गरेकी कुनै किशोरी बलात्कारमा पर्छे । बलात्कारी काम फत्ते गर्छ, चोकमा आउँछ, पान किन्छ, चपाउँछ र मोटरसाइकल लिएर निस्कन्छ । केटी आफू बलात्कारमा परेको घटना आमालाई बताउँछे । कचहरी बस्छ । कचहरीले भन्छ, किन एक्लै घाँस काट्न गएकी ? किन उखुबारीमै घाँस काट्न जानुपर्‍यो ? सायद यस्तै प्रश्नको जवाफ खोज्छ, फिल्म ‘पिन्क’ । केटीहरूले बोलेको, हाँसेको, मैत्रीपुर्ण व्यवहार गरेको कुरालाई पुरुषहरू ‘हिन्ट’ किन ठान्छन् ? के महिलाहरू यौनिक वस्तु हुन् ? के महिला हर्दम यौन अपिलमा हुन्छन् ? सायद खोट कतै छ । त्यसैले हामीले सोच्ने ढाँचामै परिवर्तन गर्नुपर्छ । अबका आठ मार्चहरूमा प्रश्न गरौं, किन महिलाहरू बलात्कारमा पर्छन् र उनीहरूले नै अन्याय पनि सहनुपर्छ ? तपाई यो विषयमा के बोल्नुहुन्छ ? सरकारले के बोल्छ ? पुरुषहरू के बोल्छन् ?

अर्को प्रश्न छ, महिला र पुरुषमा सम्पत्तिमाथि विभेद किन ? खासगरी एसियाली महिला सम्पत्तिको अधिकारबाट बञ्चित छन् । ग्रामीण महिलामा यो समस्या अझ धेरै छ । घर, खेत, बैंक ब्यालेन्स सबैमा पुरुषको अधिकार र स्वामित्व छ । किन ? यसले महिलालाई घरको मालिक बनाउँदैन, बरु अवैतनिक कामदार र यौनदासी मात्र बनाउँछ । यस्तो मेसिन जसलाई प्रश्न गर्ने अधिकार छैन । प्रश्न गरी भने ऊ सडकमा फालिन्छे । सडकले महिलालाई के गर्छ, भनिरहनु पर्दैन । यो आजको आठ मार्चको कथा हो । सबैलाई थाहा छ, सहरमा आठ मार्च गोष्ठीहरूमा आउँछ, तर गाउँमा कसरी आउँछ ? त्यो निकै थोरैलाई मात्र थाहा छ ।

एकातिर हामीसंँग महिला नेतृहरू छन् । महिला अभियन्ता छन् । हामी छौं । बोल्न सक्नेहरू छौं । तर जो बोल्न सक्दैनन् । जो महिला सम्मेलनमा छैनन् । जो जुलुसमा छैनन् । जो सामाजिक संस्था र गैससमा छैनन् । जो पार्टीमा छैनन् । जो जंगल, घाँस–दाउरा, चुलाचौकामा छन् र जसले आठ मार्च सुनेका छैनन् । उनीहरूको मुक्तिको सपना र आवाज कसले बोल्छ ? यो प्रश्न मैले आफैलाई गरेँ । लौन महिला साथीहरू, भनौं जसले आठ मार्च मनाउँदैनन्, उनीहरूका लागि के बोल्ने होला ? के गर्ने होला ? यस्तो होस् कि आउने वर्षको आठ मार्च गाउँ र सहर दुबैतिर आओस् । गाउँका महिलाले पनि चर्को स्वरमा बोल्न सकुन् । उनीहरूले भनुन्, ‘हाम्रो धर्ती, हाम्रो आकाश र हाम्रो सम्पूर्ण जीवनका स्वामी हामी आफै हौं ।’ त्यो सामुहिक स्वर कति मधुर र मिठो सुनिन्थ्यो होला ।

mskamana@gmail.com

प्रकाशित : फाल्गुन २४, २०७४ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

महिलामैत्री व्यवहारको खाँचो

मिनु श्रेष्ठ

अपार विश्वास, खुसी र वर्गबोधका साथ हामी राज्य सञ्चालनको प्रारम्भिक तहमा भाग लिँदैछौं । विश्वास छ कि महिला सहभागिता अनेक मानेमा ब्यर्थ हुने छैन ।

यो नेपाली महिला, महिला आन्दोलन, सामाजिक/राजनीतिक क्षेत्र र आधा धर्तीको विश्वास हो । २१ औं शताब्दीका नेपाली महिलाले दक्षिण एसियाकै इतिहासमा सबैभन्दा धेरै अधिकार र हिस्सेदारी प्राप्त गरेका छन् । नेपालको पछिल्लो राजनीतिक परिदृश्य महिलाका लागि निकै रोचक र उत्साहजनक छ । राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख सबै महिला भएको इतिहास पनि हामीले बनायौं । आज स्थानीय सरकारमा महिलाहरूको सहभागिता र स्वामित्व उल्लेख्य बन्दैछ । निश्चित छ, प्रादेशिक सरकार र संघीय सरकारमा पनि महिलाहरू ठूलठूला पदमा जानेछन् । यसको प्रभावले विस्तारै निजामती प्रशासन र सेवा क्षेत्रमा पनि महिलाको उल्लेख्य सहभागिता बढ्नेछ । यसको अर्थ हुन्छ, चालु दशकमा नेपाली महिलाले अनेकौं पद प्राप्त गर्दैछौं । ठिक यहींनेर प्रश्न आउँछ, के मध्यम र उच्च वर्गका महिलाले मनग्गे पद पाउँदैमा नेपाली ग्रामीण र गरिब महिलाहरूको जीवन फेरिन्छ ? के यस्ता पदहरूले सम्पूर्ण महिलालाई आर्थिक, सामाजिक, सांस्कृतिक बन्धनबाट मुक्ति दिन्छ ? आजसम्म महिलाले भोगेका आर्थिक, सामाजिक र राजनीतिक दु:खको समाधानमा के यी पदहरू निर्णायक छन् ? अथवा अर्को प्रश्न पनि छ, नेपाली महिलालाई पदले मात्र पुग्छ कि सम्पूर्ण न्याय र अधिकार चाहिएको हो ? यी प्रश्न हामी सबैतिर तेर्सिएको छ । सायद यिनै प्रश्नमा नेपाली महिला आन्दोलन र महिला अधिकारको भावी दिशा निहित छ । 
महिलालाई बलियो बनाउन उनीहरूको राज्यसत्तामा पहुँच बढाउनैपर्छ । यसका लागि पदको अर्थ, आवश्यकता र महत्त्व छ । यसले महिलालाई उत्प्रेरणा र शक्ति दिन्छ । तर हामीले आर्थिक, सामाजिक व्यवहारमा परिवर्तन गर्न सकेनांै भने उच्च तथा मध्यमवर्गीय महिलाले पाएका पद गरिब र निम्छरा महिलाहरूलाई ‘हर्ष न विस्मात’ बन्न पुग्छ । जसरी हजारौं पुरुषले शताब्दियौदेखि शासन गर्दा पनि गरिब पुरुषहरूको टाउकाको भारी घटेन, त्यस्तै केही महिलाले राजकीय सत्तामा केही वर्ष भाग लिँदैमा गरिब र ग्रामीण महिलाहरूको बोझ र दु:ख घट्ने छैन । 
यो कुनै निराशाको अभिव्यक्ति होइन । तर ध्यानाकर्षण भने पक्कै हो । नेपाली महिलाहरूले निराश हुनुपर्ने कुनै कारण पनि छैन । तर सचेत र जिम्मेवार हुनुपर्ने धेरै कारण छन् । पहिलो बुझ्नैपर्ने कुरा छ कि आम महिलाको दु:ख केही सीमित महिलाको राजनीतिक प्रतिष्ठासँंग सम्बन्धित विषय होइन । संसारभर नै यही हो । इन्दिरा गान्धी भारतको शक्तिशाली प्रधानमन्त्री थिइन् । वेनजिर भुट्टो पाकिस्तानकी प्रभावशाली नेतृ थिइन् । बंगलादेशमा महिलाहरू नै छन् । नेपालमा पनि त्यो भएकै हो । तर भारत, पाकिस्तान, बंगलादेश र नेपालका महिलाहरूको अवस्था भन्नु पर्दैन । त्यसैले यस्तो नसोचियोस् कि राजनीतिक प्रतिष्ठा पाइयो, वश दु:ख हट्यो । नेपाली महिलाको दु:ख आर्थिक संरचना र सामाजिक व्यवहारसंँग सम्बन्धित छ । त्यसलाई पुरानो राजनीतिले संरक्षणमात्र गरेको हो । दोस्रो कुरा पद र अधिकारको परिभाषा निकै फरक छ । केही महिलाले पद पाउँदैमा समग्र महिलाको अधिकार सुरक्षित हुँदैन । उही संरचना भित्रका पदहरू कसले पाए, त्यसले सानो बदलाव त देला, तर नेपाली महिलालाई ठूलो बदलाव चाहिएको छ । ठूलो 
बदलाव संरचनागत परिवर्तनसँंग सम्बन्धित छ । पदहरूको भागबन्डासंँग होइन ।
ध्यान दिनुपर्ने अर्को खतरा पनि छ । जस्तो– कतिपय अवस्थामा बोल्ने, टाढाबाठा, सहरिया र मध्यमवर्गीय महिलाहरूले आफूले पद पाएको जोशमा नेपाली महिला निकै माथि छन् भन्ने मनोवैज्ञानिक भ्रम छरिन सक्छ । अथवा आवाज भएका महिलाहरू आफैले यस्तो प्रचार गर्ने खतरा पनि छ । यसले आवाजविहीन र निम्छरा महिलाहरू अझ प्रताडित बन्न सक्छन् । यस्तो भयो भने महिला आन्दोलनका मुख्य मुद्दाहरू ओझेलमा पर्नेछन् । सीमित महिलाले जे छ, गजव छ भन्ने र समग्र महिलाहरूको सवाल किनाराकृत हुने यस्तो खतराबाट नेपाली महिला अभियानलाई कसरी बचाउने ? 
स्थानीय सरकारमा पुगेका महिलाले विकासको परम्परागत परिभाषा फेर्नुपर्छ । हाम्रो समाजमा विकासलाई पूर्वाधारसँंग जोडेर हेर्ने चलन छ । सडक, पुल, ठूलाघर । तर महिला जनप्रतिनिधिहरूको प्राथमिकता पूर्वाधारमा नभई सामाजिक न्याय र अधिकारहरूको पूर्ण प्रत्याभूतिमा जानुपर्छ । निश्चय नै पूर्वाधारहरूको आवश्यकता छ र उत्पादन वृद्धिको आवश्यकता छ । विकासका परम्परागत सूचकहरूप्रति जनताको आकर्षण छ र विकासका अनेकौं आवश्यकता छन् । ती सबैमा काम गर्नुपर्छ नै । तर जबसम्म हाम्रा गाउँ र नगरहरूमा सामाजिक न्यायको पूर्ण प्रत्याभूति हुँदैन, पूर्वाधारको मात्र के काम ? 
नेपाली महिलालाई सद्भाव, सम्मान र सम्पूर्ण सम्मान चाहिएको छ । नीतिगत तहमा समावेशी ढाँचा चाहिएको छ । आर्थिक र सामाजिक व्यवहार पूर्णत: महिलामैत्री चाहिएको छ । भौतिक पूर्वधार मात्रले हाम्रो विकास पूर्ण बन्दैन । त्यो आधा विकासमात्र हो । पूर्ण विकासका लागि भौतिक पूर्वाधारसहित मानवीय विकास, सामाजिक न्याय र उन्नत सांस्कृतिक उन्नयन चाहिन्छ । अत: समग्र आर्थिक तथा सामाजिक व्यवहार महिलामैत्री कसरी बनाउने ? हाम्रा महिला जनप्रतिनिधिहरूको ध्यान यसबाट हट्नै हुँदैन । अनिमात्र पदहरूसंँगै अधिकार पनि स्थापित हुँदै जान्छ ।
याद गरौं, पदहरूको कुनै लैंगिक पहिचान हुँदैन । मुख्य कुरा व्यवहार हो र महिलामैत्री व्यवहार, कानुन, त्यसको कार्यान्वयन र परिणाम हो । अन्यथा केही दिदीबहिनीहरू ठूला पदमा त पुग्लान्, तर लाखौं घाँस–दाउरा गर्ने दिदीबहिनीहरूको मुक्ति फेरि पनि सपनामात्र हुनेछ । 

प्रकाशित : जेष्ठ २९, २०७४ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT