कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेरो बारी मेरै घाँस

सिउँडी
मेरो बारी मेरै घाँस, मेरो हसियाँ मेरै सत्यानाश । अर्थात् तपाईको बारीको घाँस काट्नेहरू तपाईका लागि खाल्डो खन्दैछन् ।
विमल निभा

काठमाडौँ — पहिले कमरेड खड्गप्रसाद शर्मा ओलीको प्रसंग आउनासाथ झटपट एकथान ट्याक ट्याक्कै झुन्ड्याउने गरिन्थ्यो– प्रभावशाली । अर्काे शब्दमा प्रभावशाली कमरेड केपी ओली भन्नोस् । अचेल यो चारणीय अलंकारको कुनै पनि एमालेजनले सहजतापूर्वक प्रयोग नगरिरहेको स्थिति देखेर म छक्क परेको छु ।

यो अकारण होइन । एक त प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीको साविक बमोजिमको प्रभावशालीपनमा साँच्चिकै गम्भीर खालको ह्रास आएको पनि हुनसक्छ । र अर्काे कारण भने शतप्रतिशत विपरीत धर्मी रहेको छ । मेरो विचारमा त उनी द्वितीयपटक प्रधानमन्त्री भएदेखि कमरेडको प्रभावशालिता पनि दोब्बर नै भएको छ । (डब्बल एक्सन साबुन ह्विल शक्तिसरह) । तथापि कोही पनि एमाले कमरेड आफ्नो पुरानो बानी अनुसार किन ‘प्रभावशाली’ पदको एउटा लोलुप लयका साथ उच्चारण गरिरहेका छैनन् हँ ? अचम्मै छ बा !


‘होइन, यो प्रभावशालीको के भयो कमरेड ?’ मैले एक एमाले कमरेडसँग डाइरेक्ट सोधेंँ ।


‘कस्तो प्रभावशाली ?’ मेरो अपर्झट प्रश्नले उनी अलमलिए ।


‘पहिले तपाईहरू प्रभावशाली कमरेड केपी ओली भन्नुहुन्थ्यो ।’ मैले भनँें, ‘अब किन भन्नुहुन्न कमरेड ?’


मेरो कुरा सुनेर एमाले कमरेडको निधार खुम्चियो । र उनी गम्भीर चिन्तन–मनन गर्न थाले । केही बेरपछि भने, ‘हेर्नाेस्, यसको कारण के हो भने... ।’ एकछिन अड्किएर फेरि भने, ‘हाम्रो कमरेड केपी त्यसै पनि प्रभावशाली हुनुहुन्छ ।’ उनको आवाज एक्कासी चर्काे भयो, ‘अब किन प्रभावशाली भनिरहनुपर्‍यो र ?’


यसको अर्थ के हो भने नेकपा एमालेले प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीलाई लिएर आफ्नो ‘स्ट्राट्रेजी’ बदलेको छ । अब एमाले कमरेडहरू कोरा प्रचारजन्य विशेषणतर्फ नगएर ठोस क्रियापदको विशेष सहयोग लिने नीतिमा गएका हुन सक्छन् । तसर्थ बारम्बार प्रभावशाली–प्रभावशालीको अनावश्यक रटान गरिरहनु नै परेन । अँ, यसमा कमरेड माधवकुमार नेपालको गुटगत रणनीतिचाहिंँ के हो, यो स्पष्ट छैन ।


‘तपाईको गुटको के विचार छ, कमरेड ?’ मैले कमरेड माधवको एक गुटिए सहयोगीसँग सोधें ।


‘के कुरामा ?’ उनले कुरो नबुझेर उल्टै मसँग सोधे ।


‘यही कमरेड केपी ओलीलाई प्रभावशाली भनिने बारेमा ।’ मैले सफासफीसँग भनेँ ।


‘एक त तपाई यो थाहा पाइराख्नोस्, हाम्रो कुनै गुट छैन ।’ उनी भड्किए सहसा, ‘र अर्को के भने हाम्रा सबै नेता कमरेडहरू प्रभावशाली छन् ।’


उनले जेसुकै भने पनि नेकपा एमालेमा कमरेड माधवकुमार नेपालको एक परमानेन्ट गुट रहेकोमा कुनै शंका छैन । यद्यपि उनको अप्रभावकारिताको फलस्वरुप कुनै पनि माधव–साधव गुटको अस्तित्व नरहेको भन्नेहरू पनि नभएका होइनन् । तर होइन, नेकपा एमालेको धुम्बाराहीस्थित उँचो विल्डिङको एक कुनामा कमरेड माधवको एक चिटिक्क परेको फुच्चे टाइप सानोतिनो गुट जरुर रहेको छ । अन्यथा मेरा एकाध एमाले मित्रहरू त्यसमा अटेसमटेस पाराले भए पनि कसरी डेरा गरेर बसिरहेका छन् त ? (अहिले नामचाहिँं नभनुँ है) ।


जे होस्, यो कमरेड माधवको यावत् अप्रभावको नभएर कमरेड खड्गप्रसाद शर्मा ओलीको कथित प्रभावशालीपनको सन्दर्भ भएकोले म यतै लाग्छु । यस मामिलामा प्रधानमन्त्री कमरेड केपी ओलीले ‘मुखर कम मौन ज्यादा’ को चतुर शैली अपनाएका छन् । अर्थात् कुनै पनि अलमलको पछि नलागी चुपचाप किन्तु झ्याप्पै । यसको उदाहरणका लागि राष्ट्रपतिको चयन सम्बन्धी बलमिच्याइँलाई लिनोस् । प्रधानमन्त्री कमरेड केपी ओलीले राष्ट्रपतिमा आफ्नो समकालीन प्रभावशाली (नै) कमरेड झलनाथ खनाललाई पूर्णतया पेलपाल पारेर आफ्नो नवीनतम ढाँचाको प्रभावकारिताको ठाडो सबुद दिएका छन् । यसले मलाई भने अतिव आहत बनाएको छ ।


(अलिकति व्यक्तिगत कुरा नै) । वास्तवमा मलाई के लागेको थियो भने यसपटक सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको स्थानमा कमरेड झलनाथ खनाल नै राष्ट्रपति हुनेछन् । यसको सुखद परिणामस्वरुप मलाई यो भन्न पर्याप्त सुविधा हुनेछ– मेरो घर सम्माननीय राष्ट्रपतिज्यूको घरनेर छ । हो, म कमरेड झलनाथको टोलसँगैको टोलमा बस्छु । तर अफसोस, यस्तो हुन सकेन † अब कमरेड झलनाथ नै कमरेड केपी ओलीको विलकुलै बदलिएको ‘प्रभावकारिता’को ताजा सिकार भएकोले मेरो कुरा के गर्नु ?


अन्त्यमा,

यतातिर कमरेड खड्गप्रसाद शर्मा ओलीको प्रभावकारितामा व्यापक बढोत्तरी गर्ने अतिरिक्त उत्साहमा केही ओली भक्तहरूले नवनित मार्का प्रयोग गरेका छन् । यसका लागि अधुनातन प्रविधिको गजबको सहयोग लिइएको छ । यहाँनेर स्मरणीय के छ भने प्रधानमन्त्री कमरेड केपी ओली भाँत–भाँतका उखान–टुक्काहरूका भीषण प्रेमी हुन् ।


यही सिलसिलामा सामाजिक सञ्जालमा प्रवेश गरेर मैले कमरेड केपी ओलीसँग फेसबुके प्रश्न गरेंँ । एकैछिनमा उनको उखान–टुक्कामय उत्तर आयो– मेरो बारी मेरै घाँस, मेरो हसियाँ मेरै सत्यानाश । अर्थात् तपाईको बारीको घाँस काट्नेहरू तपाईका लागि खाल्डो खन्दैछन् । होसियार विमल निभा !

प्रकाशित : फाल्गुन २६, २०७४ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?