ठगीमा मूकदर्शक सरकार

सम्पादकीय

काठमाडौँ — रोजगारीका लागि मलेसिया जाने युवालाई विभिन्न समूहले अवैध संरचना खडा गरेर ठगी गरिरहँदा पनि सम्बन्धित सरकारी निकाय मूकदर्शक बन्नु उदेकलाग्दो छ । ऋण काढेर रोजगारीका लागि विदेश जान खोजेका युवाबाट भिसा निकाल्ने प्रक्रियामा माइग्राम्स, बायोमेडिकल सेन्टर, ओएससी भीएलएन, जीएसजीजस्ता निकायले मात्र करिब १८ हजार ५ सय रुपैयाँसम्म असुलिरहेका छन् ।

यसले नि:शुल्क भिसा र टिकटमा कामदारलाई पठाउने नेपाल सरकारको घोषणालाई खिल्ली उडाएको छ । यो कामदारमाथि कुनै किसिमको शुल्क लिएर आर्थिक भार पार्न नहुने मलेसिया सरकारको निर्णयविपरीत समेत छ । सम्झौताअनुसार काम र पारिश्रमिक पाइने/नपाइने अनिश्चिततासाथ विदेश जान खोजेका युवा आफ्नै मुलुकमा ठगिनु अझ विडम्बनापूर्ण अवस्था हो ।

पारिवारिक गुजारा चलाउन आयआर्जनको माध्यम मुलुकभित्रै नभेटेर/नदेखेर बाध्यताले युवा घरबाट टाढा विदेश जान तम्सिएका हुन्छन् । तर सम्बन्धित सरकारी निकाय निकम्मा बन्नाले विभिन्न गिरोहले तिनलाई ठगीको माध्यम बनाउँदै आएका छन् । नियमनकारी निकायको कमजोरीको फाइदा उठाउँदै कामदारबाट रकम असुल्ने माइग्राम्स, बायोमेडिकल सेन्टर, ओएससी, भीएलएन, जीएसजीजस्ता संस्था खडा गरिएका हुन् । तिनले विभिन्न परीक्षण गर्ने, भिसा प्रक्रिया मिलाइदिने बहानामा युवालाई लुटिरहेका छन् । यो असुलीलाई कुनै सरकारी निकायबाट अनुमति दिइएको पनि छैन । अवैध रूपमा उठाइएको करोडौं रकमलाई राष्ट्र बैंकले पनि मलेसिया पठाउन नियमित अनुमति दिनु थप आश्चर्यजनक छ ।

मलेसियामा मुख्य कार्यालय रहेको माइग्राम्सले स्वास्थ्य परीक्षणका लागि अनलाइन दर्ता भनेर ३ हजार ३ सय रुपैयाँभन्दा बढी उठाउँदै आएको छ । कामदारले रकम तिरेको रसिद नदेखाई स्वास्थ्य परीक्षण हुँदैन । बायोमेडिकल सेन्टरले भने बायोमेट्रिक प्रणालीमार्फत मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणसँगै विद्युतीय औंठाछाप लिन्छ, सक्कल राहदानी स्क्यान गर्छ र मेडिकल रिपोर्टसँगै अनलाइन सफ्टवेयरमा राख्छ । यसलाई तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले २०७२ असार २५ गते बढीमा ६ महिने परीक्षणकाल भनेर अनुमति दिएका हुन् । मलेसिया कामदार पठाउने १४ वटै देशमा लागू भए मात्र मान्य हुने, प्रणालीको सफ्टवेयर अनलाइन प्रणालीमार्फत नि:शुल्क उपलब्ध हुनुपर्ने, सरकारले निर्धारण गरेको शुल्क मात्रै लिनुपर्नेजस्ता अनुमति दिँदाका सर्त उल्लंघन भइसकेको छ । तर पनि यो ३२ महिनादेखि निर्बाध चलिरहेको छ । यस्तै, भिसा प्रक्रियाका लागि वान स्टेप सेन्टर (ओएससी) ले मलेसिया जानेहरूको राहदानी संकलन गरेबापत ३ हजार १ सय ६४ रुपैयाँ भीएलएनले ती राहदानीलाई दूतावास पुर्‍याउन ३ हजार ६ सय १६ रुपैयाँ उठाइरहेको छ । इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आईएससी) का नाममा आपराधिक अवस्था पहिल्याउने भन्दै जीएसजी सर्भिस नेपालले ३ हजार २ सय रुपैयाँ उठाउँछ । सम्बन्धित सरकारी निकायले आँखा चिम्लिदिँदा यस्तो खुलेआम ठगीले निरन्तरता पाइरहेको हो ।

मलेसिया जाने युवामाथि ठगीको धन्दा नियन्त्रणमा गृह मन्त्रालयको आनाकानी देखिन्छ । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले एक वर्षअघि नै तिनलाई बन्द गर्न र अनुमति दिने कर्मचारीलाई कारबाहीसमेत गर्न गृह र उद्योग मन्त्रालयलाई निर्देशन दिएको थियो । यस विषयमा थप बुझ्न गठित श्रम, परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारी संलग्न कार्यदलले समेत कामदारमाथि विभिन्न शीर्षकमा गैरकानुनी हिसाबले रकम उठाइरहेको प्रतिवेदन बुझाएको थियो । परराष्ट्र मन्त्रालयले समेत गृहले अवैध धन्दा रोक्न आग्रह गरेको थियो । हजारौं नेपाली युवामाथि खुलेआम ठगी भइरहँदा गृह मन्त्रालयले संसदीय समितिको निर्देशनसमेत अटेर गर्नु संशयपूर्ण छ ।

रकम उठाउने संस्थाहरूले त्यसका लागि सरकारसँग अनुमति लिएका छैनन् । संवैधानिक र सरकारी अंगहरूले यसलाई पटक–पटक ‘अवैध हर्कत’ भनेका छन् । रोक्न र संलग्नलाई कारबाही गर्न निर्देशन दिएका छन् । तर, अचम्म– यो चलेको चल्यै छ । सर्वसाधारण ठगिएका ठगियै छन् । थेत्तरा व्यवसायी र आँखा चिम्लिने अनुगमनकर्ता दुवैलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । अवैध रूपमा खडा भएका धन्दावाल संस्थालाई तुरुन्त बन्द गराउनुपर्छ । लुटमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । वैदेशिक रोजगारीमा अराजकता मौलाउन दिनु हुन्न । सरकारको निर्णयअनुसार नि:शुल्क भिसा र टिकटको प्रावधानसमेत प्रभावकारी कार्यान्वयन हुनुपर्छ । त्यसमा परराष्ट्र, गृह, श्रम र अर्थ मन्त्रालयको समन्वयकारी भूमिका अत्यावश्यक छ ।

प्रकाशित : फाल्गुन २८, २०७४ ०८:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

किसुनजी, शुद्धीकरण र क्रान्ति

समय रेखा
देशैभरि दुई किसिमका अभियान गर्नुपर्छ– पथभ्रान्तले बाटो सुधार्ने र नयाँ जागरण ।
अभि सुवेदी

काठमाडौँ — ‘राजनीतिक शुद्धीकरण अभियान’ शीर्षकमा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले १९ फागुन २०७४ का दिन प्राध्यापक वीरेन्द्रप्रसाद मिश्र, म र पत्रकार हरिबहादुर थापालाई ‘वर्तमान नेपालको सन्दर्भमा शुद्धीकरण अभियान—के, किन, कसरी ?’ शीर्षकमाथि विचार राख्न र छलफलमा भाग लिन बोलाएको कार्यक्रममा प्रस्तुत विचार नै यो लेख हो ।

मलाई मेरा धेरै वर्ष अघिका विद्यार्थी र राजनीतिज्ञ विनोद भट्टराई र दमननाथ ढुङ्गानाले यो शीर्षकमा कुरा राख्न बोलाएपछि सीमाभञ्जन भएको बुझेर खुसी लागेको हो । विनोदले भने, सर्वदलीय हो, किसुनजी प्रतिष्ठान । म र मेरा साहित्यिक एकेडेमिक मण्डलका मानिस राजनीतिक विचारक र नेताहरूका विचार दर्शनमाथि त्यति बोल्न पुगेका हँुंदैनौं । तर विश्वेश्वरप्रसाद कोइरालामाथि नेपालमा, दिल्लीमा भएको सार्क लेखक सम्मेलनमा, लन्डन र अक्सफोर्ड विश्वविद्यालयका आमन्त्रणमा मैले बोलिआएको र कार्यपत्र लेखेको हुनाले यो कुरा मेरोनिम्ति अप्रत्यासित होइन । तर बीपीपछि किसुनजीमाथि आफ्ना विचार राख्न मैले त्यति तयार हुने अवसर भने नपाएको अवस्था थियो, त्यो । राजनीतिक दलहरूसँग असम्बद्ध मैले बीपीलाई विचार र सिर्जनाको द्वन्द्वात्मक अवस्थाबाट हेरेंँ, जुन नेपालमा राजनीतिज्ञहरूलाई हेर्ने आम पद्धति होइन । उनीहरू धेरैले राजनीति भनेको काव्यिक अभिव्यञ्जना नभएको र इतिहासलाई सिर्जनशील नभई हिसाबी, जोड–घटाउ वा ‘एल्गोरिदमिक’ दृष्टिले हेर्ने पद्धति हो भनी मानिआएको भेटिन्छ । अहिले त्यो दृष्टि उचाइमा पुगेको अवस्था हो । हामी काव्यिक होइन, हिसाबी चेतना हावी भएको अवस्थामा पुगेका छौं । हरेक चुनिएको राजनेता एउटा गणपुरक अङ्क भएको छ, हरेक मतदाता आफ्नो र पराइका खातामा चढाइएको केवल संख्या भएको छ । तर मतदाताबारे यो भ्रम पाल्नु सत्यचाहिंँ होइन, किनकि मतदाता एउटा गति हो, जुन एउटा नित्य विचार र सिर्जना गरिरहने चक्रवातको नाम हो । प्रजातन्त्र त्यसैले चल्ने हो । तर अहिले त्यो मतदाताको स्वतन्त्र अस्मिता र चिन्तनमाथि हमला हुनथालेका छन्, विश्वभरि नै, जुन नेपालमा पनि देखिंँदैछन् । त्यसो गर्नेहरू हातमा शक्ति, धन र वर्चस्व भएका मानिस छन् । त्यसैले नै शुद्धीकरणको अभियान सुरु गरिएको हुनसक्छ भन्ने विश्वास लागेर मैले तलका कुरा राखेंँ ।

शुद्धीकरण क्रान्तिपछि समाजलाई एउटा गतिशील पद्धतिमा लैजाने कार्यक्रमको नाम हो । क्रान्तिका एजेन्डा ठूला हुन्छन्, भाषा अतिशयोक्तिपूर्ण हुन्छ, उन्माद ठूलो हुन्छ, सपना विशाल हुन्छन् । शत्रु र मित्रका भेद तिखा हुन्छन् । धेरै मानिसलाई उठाउने विचार आकाशमा गुञ्जिन्छन्, छापामा लेखिन्छन् । इतिहासका व्याख्या भने अमूक विचारकका धारणाले गरिन्छन् । साहित्यकारहरू सम्प्रति वा वर्तमानीय, ‘प्रिजेन्टिजम’ चेतनालाई नै मानव मात्रको चिन्तनको एक स्थानीय र वैश्विक आधार मानेर लेख्न सक्छन् । तर इतिहास र फिक्सनका भेद भने रहन्छन् । रूसी क्रान्ति, फ्रान्सेली क्रान्ति, गान्धीको नेतृत्वमा उठेका सत्याग्रहका क्रान्ति, इरानको क्रान्ति, चीनको सांस्कृतिक क्रान्ति, नेपालका सात साल, छ्यालीस साल र बैसठ्ठी सालका क्रान्ति र अरब स्प्रिङ मानव उद्बोधन लहरका ज्वलन्त उदाहरण हुन् । फ्रान्समा सन् १९६८ को पेरिस क्रान्तिका नाममा उठेको छोटो लहरमा पनि माथि भनेका चरित्र भेटिन्छन् । त्यो क्रान्तिका अतिशयोक्तिपूर्ण भाषाका प्रयोग, ‘हामीलाई सुख देऊ’ जस्ता दुर्बोध माग र सिर्जनशील भञ्जनका नाराहरूको अर्थ त्यही बेला नलागेर त्यसपछिका वर्षहरूमा लाग्यो । सबै क्रान्तिपछि शुद्धीकरणका नारा आएका देखिए । शुद्धीकरण प्रक्रिया हो । क्रान्तिले देखेका सपना पूरा भएनन्, तिनको नाममा भ्रष्टाचार र बेइमानीको संस्कृतिको रचना भयो भनेर शुद्धताको निम्ति गरिने कर्मको नाम शुद्धीकरण हो । क्रान्तिका सपना किन भ्रष्ट भएर जान्छन् र तिनले किन सार्थकता गुमाउँछन् भन्नेमाथि गम्भीर अध्ययन भएका छन् ।

क्रान्तिपछिका सबै समाजका चरित्र एउटै देखिएनन् । सन् १९३० देखि ४० का वर्षहरूमा थर्ड राइक, स्तालिन र माओले केन्द्रनिर्देशित पद्धति प्रयोग गरे । अमेरिकाले शीतयुद्धको बेला कम्युनिष्ट ‘फोबिया’का नाममा लोकतन्त्रभित्र केन्द्रीकृत पद्धति चलायो । परिवर्तनहरू एकैनास भएनन् । महात्मा गान्धीले देखेको भविता यही तलमाथिको भेद भएको संरचना वा ‘हाएरार्की’ थियो, जसलाई तोड्न राजनीतिलाई त्यही बाटोमा लानुपर्छ भन्ने सिद्धान्त थियो, तिनको । गान्धी, विश्वेश्वरप्रसाद कोइराला, किसुनजी, मनमोहन अधिकारीका दृष्टि र चिन्ता क्रान्तिपछिका समाज भ्रष्ट नहुन्, भए भने शुद्धीकरण गर्नुपर्छ भन्ने कुरामा अडिएका थिए भन्ने मेरो विश्वास छ । तिनीहरूका राजनीतिक पद्धतिहरू अलग भए पनि चिन्ता एउटै थियो भन्ने देखियो, इतिहासमा । किसुनजीलाई लिएर आजको क्रान्तिउत्तरको भ्रष्टाचारले गाँजेको नेपाली समाज र व्यवस्थालाई शुद्धीकरण गर्नुपर्छ भन्ने धारणा राख्नु बलियो सामयिक चिन्ता हो । शुद्धीकरण एउटा अभियान हो भने त्यसका कार्यक्रमहरू हुनुपर्छ । यहाँ एउटा सैद्धान्तिक प्रश्न उठ्छ । के हतियार, अवैध धन, पथभ्रान्त आर्थिक संरचनाका योजना र न्यायिक परिवेशले गाँजेको समाजको शुद्धीकरण सजिलो र एक आयामिक हुनसक्छ ? उत्तर सजिलो छैन । तर यो अभियानले गर्न खोजेको कुरा सामाजिक अशुद्धीहरूको शुद्धीकरणका मूल्यहरू स्थापित गरेर, नैतिक चेतना उठाएर, मानिसलाई आफ्ना भुलहरूबारे थाहा पाउने बनाएर र त्यो सही बाटो लिनेगरी आत्मस्वीकृति र सुधार गर्न प्रेरित गरेर हासिल गर्न सकिन्छ । तर यस्ता मनहरूका रचना गर्न समयको संवेदनशीलता र संकटप्रति नै मानिसलाई जागरुक बनाउनुपर्छ । दक्षिण अफ्रिकाको क्रान्तिपछिको शुद्धीकरणका निम्ति ‘सत्यनिरूपण र मेलमिलाप आयोग’ गठन र बिसप डेस्मन्ड टुटुको उपस्थिति र मन्डेलाको आह्वानलाई आधार राखेर जे गरियो, त्यसबाट यो कुरा बुझिन्छ । हामीले पनि नेपालमा प्रयोग गर्न खोजेका हौं, तर त्यसको असफलतालाईे हेर्दा समस्याको अर्को पाटो देखापर्छ ।

शुद्धीकरण भन्ने शब्द त्यति निरपेक्ष होइन । ‘डिक्टेटरसिप’हरूमा मानिसमाथि नियन्त्रण गर्न तिनको मेलमिलाप वा कानुनी बाटो छाडेर निर्मूल पारिदिने नीति लिइन्छ । त्यसलाई सफाया भन्ने शब्द प्रयोग भइआएको छ । जर्ज अर्वेल ‘पोलिटिक्स एन्ड इङ्लिस ल्याङ्ग्वेज’मा उदाहरण दिंँदै भन्छन्, यस्तो सफाया गर्ने अधिनायकले मानिस मारियो भन्दैनन्, ‘अवाञ्छित तत्त्वहरूको उन्मूलन’ गरियो भन्छन् । यस्ता व्यवस्थामा शुद्धीकरण एक हिंसा लुकाउने शब्द मानिन्छ । गान्धी र किसुनजी जस्ता मानिसहरूको शुद्धीकरणमा हत्या होइन, सद्भाव, मेलमिलाप, प्रेम र कानुनसम्मत सजायलाई आधार मानिन्छ । ती दुई अलग धार हुन् । महात्मा गान्धीले शुद्धीकरणको अभियान एउटा बलियो पात्र भएर सुरु गर्नुपर्छ भने । त्यसका निम्ति उनले दसवटा सूत्र दिए, जसमा जागरुकता र प्रेम प्रमुख छन् । यसरी दर्शन र विज्ञानलाई नै शुद्धीकरण गर्ने अभियान ब्रिटेनको भिक्टोरियाली युगमा विलियम हेवेल भन्ने वैज्ञानिक र दार्शनिक जोन स्टुआर्ट मिलले थालेका थिए । पछि माक्र्स र गान्धीले दर्शन शुद्धीकरणका अरू पद्धति निकाले, जुन विचारहरू सधैं महत्त्वपूर्ण र चर्चित छन् ।

एक्काइसौं शताब्दी जटिल बन्दै गएको छ । आजको युगमा सत्यको अखण्ड चरित्र हुंँदैन भन्ने विचार बलियो हुंँदै गएको छ । देखिएकोलाई देखिएन भन्ने, बोलिएकोलाई बोलिएन भन्ने, अनि गरिएकोलाई नगरिएको भन्नेजस्तो चिप्लेटी खेल्ने सत्य–दर्शन ‘पोस्ट ट्रुथ’ आजको विशेषता भएको छ । ह्वाइट हाउसकी प्रेस अधिकारी कल्यानी कोन्वे भन्ने महिलाले ‘देखिएकोलाई देखिएको होइन भनेर मान्नोस्’ भनिन्, पत्रकारसँग । त्यो कसरी सम्भव हुन्छ ? भन्दा उनले भनिन्, ‘त्यसलाई अतिरिक्त सत्य मान्नोस् न, भैगो नि ।’ शुद्धीकरणको विषय उठाउँंदा हामीले बुझ्नुपर्ने कुरा अर्को छ । आज ‘डिक्टेटरसिप’ सडकमा सैनिकका ट्याङ्कहरू कुदाएर आउँदैन । यो लोकतान्त्रिक प्रणालीबाटै आउँछ । चुनाव हुन्छ, बालिग मताधिकार हुन्छ, न्यायालय हुन्छन्, प्रेस एउटा चौथो अङ्ग हो, यो स्वतन्त्र हुनुपर्छ नै भनिन्छ । तर ती सबै सूक्ष्म नियन्त्रणमा परिसकेका हुन्छन् । यसरी जन्मिने ‘डिक्टेटर’हरू भयानक हुन्छन् । ती मानिस–मानिसमा घृणा जन्माउँछन् । तिनका आँखा धनमाथि केन्द्रित हुन्छन् । नेपाल त्यतातिर विस्तारै गइरहेको छ । त्यसलाई औंल्याउनु शुद्धीकरणको पहिलो कर्म हो । वरिष्ठ पत्रकार हरिबहादुर थापाले लेखेको किताब रजगज (२०७४) मा त्यसको व्यापक चित्रण भएको छ । थापाले नेपालको अहिलेको समस्या भ्रष्टाचार र अस्थिरताको संगमलाई मानेका छन् । उनले गरेको अर्को ‘थियोराइजेसन’ महत्त्वपूर्ण छ । ती भन्छन्– राज्यकोष लुट्नु राणातन्त्रको मनोग्रन्थि थियो । अहिले त्यही मनोग्रन्थिले झन् विकराल रूप लिँंदैछ । शासकीय नेतृत्व वर्ग र तिनबाट संरक्षितहरू अहिले त्यतातिर लागिरहेकाउदाहरण दिन्छन्, ती ।

शान्तिपूर्ण अभियान जुन गान्धी, किसुनजी, डा. गोविन्द केसीको शैली हो, त्यसको अन्तरशक्ति ठूलो हुन्छ । अहिले देशैभरि दुई किसिमका अभियान गर्नुपर्छ । पहिलो हो, पथभ्रान्तले बाटो सुधार्ने जसलाई प्रेरणा गर्ने सािहत्य चाहिन्छ । दोस्रो हो, नयाँ जागरण जुन संगठित भएर दलमा परिणत हुंँदै गएका युवाबाट देखिन्छ । अहिले सबैले लड्ने भनेको अदृश्य, अस्पृश्य र असम्पृक्त तत्त्वसँग हो, जसले गर्दा शुद्धीकरण अभियान जटिल हुुने निश्चित छ । म एक शिक्षक, शिक्षा बिगिँ्रंदै गएको देख्छु । त्यसमा शुद्धीकरणको अभियान लानु सबैभन्दा पहिलो आवश्यकता हो । शुद्धीकरण अभियानको मन्त्र सिर्जनात्मक प्रतिरोधी शक्ति हो, जुन आजको हिंसाको युगमा झन् बलियो बन्दै जाने निश्चित छ ।

प्रकाशित : फाल्गुन २८, २०७४ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT