कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जेलमा बेथितिको जालो

सम्पादकीय

काठमाडौँ — राजधानीको नक्खु जेलमा एक कैदीको रहस्यमय मृत्युसँगै जेलभित्रका विकृति–विसंगति पनि सतहमा आएका छन् । गत महिना मृत्यु भएका भक्तबहादुर सुनुवारको गोजीमा भेटिएको तीन पृष्ठ लामो पत्रले जेल प्रशासनसँग नजिक सम्बन्ध बनाएर ‘नाइके’ हरूले अरू कैदीलाई कसरी शोषण गर्छन्, के कस्ता अवैध क्रियाकलाप हुन्छन् भन्ने खुलाएको छ ।

जेलमा बेथितिको जालो

अन्य कैदीको भनाइले समेत जेलभित्र बेथिति व्यापक रहेको पुष्टि गर्छ । सुधारगृहका रूपमा रहने कारागारमा कैदीको मृत्यु आफैंमा गम्भीर विषय हो । जेलभित्र विकृति–विसंगति मौलाउँदै जानु भने प्रशासनको लापरबाहीको पराकाष्ठा हो । यो प्रकरणले जेलभित्र व्यापक सुधारको खाँचो औंल्याएको छ ।

कैदी सुनुवारको मृत्यु र जेलभित्रको बेथितिका विषयमा गृह मन्त्रालय र प्रहरी परिसर ललितपुरले गठन गरेका छुट्टाछुट्टै समितिबाट अनुसन्धान भइरहेका छन् । जेल सुधारका निम्ति यसअघि पनि विभिन्न कार्यदल गठन नभएका होइनन् । कारागार सुधार योजना प्रत्येक गृहमन्त्रीको प्राथमिक एजेन्डामा पर्दै आएका पनि हुन् । गृहमन्त्री रामबहादुर थापाले पनि कारगार सुधार योजनालाई प्राथमिकतामा राख्दै ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका छन् । नक्खुलाई केन्द्रित गरी अहिले भइरहेको अनुसन्धान विगतमा जस्तै औपचारिकतामै सीमित हुन्छ कि अध्ययन प्रतिवेदनलाई आधार बनाएर मुलुकभरकै जेल सुधारका लागि कार्ययोजना बनाएर सरकार अघि बढ्छ, हेर्न बाँकी छ ।

जबरजस्ती करणी र व्यक्ति हत्या मुद्दामा कैद सजाय भोगिरहेका सुनुवारको मृत्यु कुटपिट र खानामा विष मिसाइएका कारण भएको परिवारजनले दाबी गर्दै आएका छन् । त्रिवि शिक्षण अस्पतालले पोस्टमार्टमबाट मृत्युको कारण पत्ता लाग्न नसकेको रिपोर्ट दिएपछि यो घटना रहस्यमय बनेको छ । सघन अनुसन्धानले मृत्युको कारण पत्ता लगाउला/लगाउनुपर्छ । सरकारले भने कैदीको अस्वाभाविक मृत्यु नदोहोरिने सुनिश्चितता गर्न सक्नुपर्छ । सामान्य भनेर ससाना विकृति/विसंगतिमा बेपरवाह बनिदिँदा नै आपराधिक घटना हुने हुन् ।

कारागारभित्र कैदीबीच कुटपिट, झडपका घटना बेला–बेला सार्वजनिक हुँदै आएका हुन् । विभिन्न व्यवसायबाट प्राप्त हुने आम्दानी तथा नाइके र भाइ नाइकेका नाममा हुने शक्तिको चलखेललगायतका कारण ‘बलिया’ कैदीले अधिक सुविधा उपभोग गर्ने र कमजोर कैदी मानसिक त्रासमा बस्नुपर्ने अवस्था रहेको तथ्य छिपेको छैन ।

‘गृहमन्त्री कारागार भ्रमणका आएका बेला दिन भनी’ सुनुवारले लेखेको पत्रमा समेत जेलभित्र पैसा मागिने, नदिए कुटपिट गरिने, जेलभित्र लुकाएर मोबाइल लैजाने गरेको, पैसा र पहुँचका भरमा केही कैदी जेलबाहिर घुम्न जान सक्ने अवस्था रहेको, चौकीदारको दादागिरी बढेको जस्ता बेथितिको चर्चा छ । पत्रमार्फत जेलभित्र सेवाका नाममा व्यापार हुने र रक्सी, मोबाइल फोनजस्ता प्रतिबन्धित वस्तु कैदीको सहज पहुँचमा पुर्‍याइने गरेका तथ्य पनि आएका छन् । नक्खुमा जस्तै बेथिति मुलुकका अन्य कारागारमा पनि हुन सक्छन् । जेललाई विकृति–विसंगतिको जालोमा हुल्ने कारागार प्रशासनका कर्मचारीमाथि छानबिन र कारबाही हुनुपर्छ । कैद मिनाहाका निम्ति जेल प्रशासन र नाइकेलाई खुसी पार्नुपर्ने बाध्यता एवं आर्थिक चलखेल जेल सुधारको बाधक देखिएकाले राजनीतिक शक्ति र पहुँचका भरमा जथाभावी कैद मिनाहा गर्ने अभ्यास पनि रोकिनुपर्छ ।

जेल कसुरदारले आफ्नो गलत कार्यप्रति प्रायश्चित्त गरी आचरण सुधार गरोस् भनेर गरिएको व्यवस्था हो । कैदीको आचरण सुधार हुनेखालको वातावरण जेलभित्र हुनुपर्छ । तर कैद सजाय भुक्तान गरिसकेपछि पनि आपराधिक क्रियाकलापलाई निरन्तरता दिएका थुप्रै दृष्टान्त छन् जसमा जेलभित्रको विसंगतिपूर्ण वातावरणले पनि प्रेरित गरेको हुन सक्छ । त्यसैले जेल कैदीलाई आपराधिक कार्यमै धकेल्न होइन, सुधार्ने थलो बनाउनुपर्छ । नक्खुको कैदी मृत्यु प्रकरणबाट पाठ सिक्दै मुलुकैभरका जेललाई साँच्चिकै सुधारगृह बनाउन गृहमन्त्रीको तदारुकता खाँचो छ ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?