सत्य खोज्ने कि चुपचाप बस्ने ?

पीडितहरुलाई पर राखेर वा उसको पीडालाई कतैबाट पनि सम्बोधन नगरी नयाँ र शान्तिपूर्ण समाज कसरी बन्छ ?
केशव दाहाल

काठमाडौँ — पछिल्लो गणतन्त्र दिवस निकै खल्लो भयो । मुख्यत: पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेलको कैद मिनाहाले सरकार, राष्ट्रपति र नेकपाका नेताहरू आलोचनामा परे । ढुंगेल जनयुद्धकालीन गैरन्यायिक हत्या प्रमाणित भई सजाय काटिरहेका कैदी थिए । प्रश्नहरू उठे, ढुंगेलको उन्मुक्ति स्वाभाविक हो कि यसले दण्डहीनतालाई प्रोत्साहित गर्छ ?

के यस्ता राजनीतिक कदमहरूले शान्ति स्थापनामा बल पुग्छ ? ढुंगेल कसरी रिहा भए र उस्तै अपराधमा सजाय काटिरहेका अरू ढुंगेलहरू किन जेलमै छन् ? यदि यो सबै स्वाभाविक हो भने उज्जन श्रेष्ठको हत्यामाथि कुनै न्यायिक सुनुवाइ आवश्यक थिएन त ? परिस्थिति हेर्दा नेपालको शान्ति प्रक्रियामा केही विशिष्ट युद्ध अपराधहरू कचेल्टिने र यसले पीडितहरूमा निराशा उत्पन्न हुने खतरा बढाएको छ । दोषीहरू छाती तन्काएर सडकमा घुम्ने र पीडितले आँसु बगाउँदै न्यायको भिख माग्नुपर्ने अवस्थाले कसरी लोकतन्त्र क्रियाशील हुन्छ ? यो माओवादी वा गैरमाओवादीको कुरा होइन । यो सबै पक्षका पीडितहरूको न्यायको आह्वान हो । अन्यथा राज्यको मानव अधिकार र शान्तिप्रतिको अडान उसकै अकर्मन्यताले कमजोर र निरीह हुनेछ ।

द्वन्द्व सकिएको १२ वर्ष भयो । तर हामीसँंग द्वन्द्वकालका पीडाहरू अझै थाकका थाक छन् । विद्यालयमा पढाउन गएको बाबु घर फर्किएको छैन । कैयौं निर्दोष छोराछोरीहरू गोलीले भुटिए । जवान छोरीहरू घरबाटै हराए वा बलात्कारमा परे । सायद पीडितहरू अहिले पनि सपनामा झस्किँदा हुन् । न्यायालयको गेटबाट मान्छे गायव भयो । विद्रोहीका अखडा, प्रहरी र सेनाका ब्यारेकहरू वधशाला बने । पाता फर्काएर निर्दोषहरूको घाँटी रेटियो । साधारण मान्छेहरूका घुँडा र जोर्नीहरूमा हम्मरले प्रहार गरियो ।

Yamaha

पत्रकारका कलम थुतिए । गाउँका गाउँ श्वेत वा लाल आतंक चले । अनेकौं परिवार छिन्नभिन्न भए । युद्ध निर्मम हुन्छ नै । परिणाम कतिपय मृतकका आफन्तहरूले काजकिरिया गर्नसम्म पाएनन् । न कतै हारगुहार नै सुनियो । विगत द्वन्द्वको यो त्रासदी अहिले पनि हजारौं नेपालीको मनमा खिल बनेको छ । यो खिल माओवादीहरूमा पनि छ, यो खिल सामान्य नागरिकमा पनि छ र सेना, प्रहरीमा पनि छ । यो खिललाई निकाल्ने कसरी ? चह्राइरहेको घाउमा मल्हमपट्टी लगाउने कसरी ? यस्ता प्रश्नहरूको दिगो समाधान नगरी हाम्रो शान्ति प्रक्रिया पूरा हुँदैन । तर मूल विषयमा उदासीन हुने र सत्ता निकटकाहरूले उन्मुक्ति पाउने अवस्थाले कसरी न्याय निरुपण हुन्छ ? पीडितहरूलाई न्याय नदिई कसरी शान्ति आउँछ ? सरकारलाई यो आलेखमा सोधिएको मूल प्रश्न यही हो ।

दिगो शान्ति स्थापनाका लागि राजनीतिक विषयहरूको समाधान मुख्य कुरा हो । जसका लागि संविधान निर्माण, राज्यको पुनर्संरचना, सेना समायोजन र संघीय गणतन्त्रको व्यवस्थापन गरियो । तर यतिले मात्र पुग्दैन । संसारकै द्वन्द्वग्रस्त मुलुकहरू चाहे त्यो दक्षिण अफ्रिका होस् यात पूर्वी टिमोर, युगान्डा अथवा कम्बोडिया शान्ति निर्माणका अनुभवहरूको सार के हो भने युद्धका सामाजिक, आर्थिक र राजनीतिक कारणहरूको समाधानले राजनीतिक द्वन्द्वहरू समाप्त हुन्छन् ।

तर राजनीतिक द्वन्द्वले निर्माण गर्ने मानवीय संकट, मनोवैज्ञानिक पीडा र अन्यायको अनुभूतिलाई समाधान गर्न केही न्यायिक, केही मानवीय र केही मनोवैज्ञानिक कामहरू गर्नुपर्छ । द्वन्द्वका कारण मान्छेहरूले भोगेका पीडा, अन्याय र चरम यातनाको न्यायिक र मनोवैज्ञानिक उपचार शान्ति निर्माणको अर्को महत्त्वपूर्ण काम हो । यो द्वन्द्वरत सबै पक्षका लागि बराबर महत्त्वको काम हो । जसमा माओवादीहरूले पनि आफूमाथि भएका पीडाहरू भन्न पाउन् । सेना, प्रहरीले पनि मन खोलेर बोलुन् । युद्धको चेपुवामा पारिएका निर्दोष नागरिकले पनि आँसु बगाउँदै आफूमाथि भएको अपराध बताउन् ।

यसका लागि हिजो युद्धमा के भयो, त्यसको सत्यतथ्य पत्ता लगाउने र न्याय दिने विधि शान्ति स्थापनाको महत्त्वपूर्ण विधि हो । नेताहरूलाई लाग्ला, राजनीतिक प्रक्रियाहरू पूरा भएपछि द्वन्द्व सकियो । तर हरेक व्यक्तिमाथिको अन्यायको उपचारविना द्वन्द्व सकिँदैन । ठिक यहींनेर हाम्रो शान्ति प्रक्रियाका केही खास विषयहरूमाथि राज्य र दलहरू उदासीन देखिन्छन् ।

परिणाम शान्ति प्रक्रिया सुरु भएको यतिका समय बितिसक्दा पनि द्वन्द्वको घउमा दबाई लगाउने, पीडाको सोधखोज, सत्यको अभिलेखन र दोषीलाई सजाय दिने कामहरू पूरा भएनन् । बरु पीडितहरूको दुखेको मनलाई अझ मर्माहत बनाउँदै पीडकहरू पुरस्कृत हुँदैछन् । यो उल्टो कुरा भयो । यसले पीडितहरूलाई शान्ति दिँदैन, अझ निराश पो बनाउँछ ।

हामीले सत्यनिरुपण र मेलमिलापका लागि के गर्‍यौं ? द्वन्द्वका पीडाहरू बिसाउने, आँसु पुछ्ने र क्षमा दिने आधारहरू बनाउन हामीले के गर्‍यौं ? सत्यको निरुपण, न्याय र क्षतिपूर्तिको अनुभूतिका साथ सामाजिक एकता र सद्भाव बनाउन राज्यको सजगता चाहिन्छ । संसारभर भएका द्वन्द्व रूपान्तरका असल प्रयत्नहरू यिनै काममा केन्द्रित देखिन्छन् । अपराधीलाई माफी नै दिने हो भने पनि पीडितलाई सोध्ने शान्ति निर्माणको महत्त्वपूर्ण प्रक्रिया हो ।

पीडितहरूलाई पर राखेर वा उसको पीडालाई कतैबाट पनि सम्बोधन नगरी नयाँ र शान्तिपूर्ण समाज कसरी बन्छ ? दण्डहीनताको अन्त्य, मानवीय मूल्यको स्थापना, नागरिक अधिकारको रक्षा र शान्तिपूर्ण सामाजिक, सांस्कृतिक मान्यताहरूको जग निर्माण गर्न यति त गर्नैपर्छ । यो सबै नभई राजनीतिक उपलब्धिहरूले मात्र शान्ति बन्दैन । हाम्रोमा द्वन्द्व पीडित १५ हजार परिवार, उनीहरूका हजारौं आफन्त र लाखौं प्रियजनहरूको मन शान्त नभई बनाएको शान्ति दिगो हुनै सक्दैन । यो काममा हाम्रो सरकार किन उदासीन हुँदैछ, विचित्र लाग्छ ?

संसारका सबै द्वन्द्वग्रस्त मुलुकहरूमा सत्यनिरुपण गर्ने, पीडितलाई मन खोलेर के भएको थियो, बोल्न सजिलो बनाउने, राज्यले घटनाको विवरण सविस्तार सुन्ने, दोषीलाई कारबाही वा माफी के दिने हो, पीडितसँंग परामर्श गर्ने र मेलमिलाप बनाउने कामलाई प्राथमिकताका साथ गरिन्छ । दक्षिण अफ्रिका यसको सबैभन्दा सुन्दर उदाहरण हो । जहाँ राज्यले नै ठूलठूला सार्वजनिक सुनुवाइ आयोजना गरेर सत्य सुन्ने काम गरेको थियो । लाखौं मान्छेले यसमा भाग लिएका थिए । यस्ता कार्यक्रमको सञ्चार माध्यमहरूले प्रत्यक्ष प्रसारण गरेका थिए ।

पीडितहरू मात्र हैन, पीडकहरूसमेत आफूले विगतमा गरेका गल्तीहरू सम्झिएर आँसु झारेका थिए । यो मान्छेका मनहरूलाई धोइपखाली गर्ने राम्रो तरिका हो । युद्धपछिको राजनीतिक न्यायले मात्र शान्ति निर्माणमा सहयोग गर्दैन, यसका लागि भावनात्मक न्याय, प्रेम र सद्भाव चाहिन्छ । क्षमा दिन र लिन अहंकार र आडम्बरले हैन, विनयशीलताले काम गर्छ । आम र माथिल्लो तहमा द्वन्द्वको सम्बोधन गरेर मात्र पुग्दैन । हरेक घटना र पीडाहरूको फरक–फरक र सम्बोधन शान्ति निर्माणको मुख्य सर्त हो । यसैका लागि हामीले सत्यनिरुपण र बेपत्ता नागरिकको छानबिन आयोग बनाएका हौं । तर आयोगहरू किन प्रभावकारी भएनन् ? यसलाई प्रभावकारी बनाउन राज्य किन उदासीन छन् ? नयाँ पुस्तालाई युद्धको भयानक पीडा बताउन र मानवीय प्रेम जगाउन गर्नुपर्ने आधारभूत कामहरू छुटिरहेका छन् । यो विषयमा खै प्रभावकारिता ?

हाम्रा नेताहरूलाई लाग्छ कि उनीहरूले माफ दिएपछि सबै सकिन्छ । उनीहरूले विगत बिर्सिएपछि सबैले बिर्सिन्छन् । उनीहरूलाई लाग्दो हो, अमूक पार्टी सत्तामा पुगेपछि युद्धका घाउहरू आफै भरिन्छन् । के साँच्चै त्यस्तै हो त ? किमार्थ हैन । जसले युद्धबाट न व्यक्तिगत जित हासिल गरे, नत सत्ता र शक्ति नै प्राप्त गरे । उनीहरूका लागि विगत बिर्सिने आधार त्यति सजिलै निर्माण हँुदैन । जसले सबै कुरा गुमायो, मात्र उसले कसरी विगत बिर्सिन्छ ? नेताहरूलाई सजिलो छ, उनीहरू हात मिलाउँछन् । राजनीतिक स्वार्थका कारण सजिलै ओली, प्रचण्ड र देउवा मिल्लान् । उनीहरू सत्ताको न्यायो पलङमा चैनसँंग निदाउलान् । तर पीडितहरू सायद न्यायको अनुभूति नभएसम्म पीडाको आगोमा जल्नेछन् । यो यथार्थमाथि आँखा चिम्लिएर कतै हामी पीडितहरूमाथि भयंकर अपराध त गरिरहेका छैनौं ?

गणतन्त्र दिवसका दिन जे भयो, त्यो व्यक्तिको कुरा होइन । ढुंगेल हुन् वा दाहाल विषय युद्धका घाउहरूको उपचार हो । त्यो दिन ढुंगेलको उन्मुक्तिसंँगै उज्जन श्रेष्ठ परिवारमा कति ठूलो द्वन्द्व चल्यो होला ? कति ठूलो निराशा चल्यो होला ? जब यस्ता सयौं घरमा आफू अझ अन्यायमा परेको अनुभूति हुन्छ, तब शान्ति कसरी बन्छ ? अत: कुरा प्रक्रियाको हो । कुरा समग्र मुद्दाको सम्बोधन हो । यही कामका लागि सत्यनिरुपण आयोग गठन गरिएको छ । हामीलाई थाहा छ, पीडितहरूले आयोगमा यथेष्ट निवेदन दिएका छन् । तर ती निवेदनमाथि छानबिन र सार्वजनिक सुनुवाइ किन हुँदैन ? घटनाबारे छलकपट नहोस्, त्यो सतर्कता कतै देखिँदैन । पीडितहरूलाई आफ्ना कुरा भन्न सक्ने वातावरण कसरी बनाउने ? त्यसको सुनिश्चितता कतै देखिँदैन । कुरा बताएकै कारण साक्षीहरूलाई थप कष्ट नपुगोस् भन्नका लागि सुरक्षाको प्रत्याभूति कसरी गर्ने ? सरकारले यसमा काम गर्नुपर्ने हो । तर आफ्नालाई कैद मिनाहा गर्ने र साधारण नागरिक रुँदै बस्नुपर्ने अवस्था किन आयो ? आजको अर्जी यति मात्र हो । अन्यथा केही ढुंगेलहरूलाई त फाइदा पुग्ला, तर निर्धा पीडितहरूलाई न्याय मिल्दैन । जब राज्य नै पीडक बन्छ, पीडितहरू न्याय माग्न कहाँ जाने ?

विगतमा जे भयो, त्यसलाई त्यतिकै बिर्सिएर शान्ति निर्माण हुँदैन । विगतलाई यसकारणले पनि सम्झिन आवश्यक छ कि हामी यो त्रासदी फेरि दोहोर्‍याउन चाहँदैनौं । विगतलाई यसकारणले पनि सम्झिन आवश्यक छ कि हामी इतिहासबाट नयाँ पुस्तालाई सिकाउन चाहन्छौं । हामी विगतका अमानवीय अपराधहरूको नालीवेली यसकारणले समेत खोतल्न चाहन्छौं कि पीडितहरूले न्याय पाउन् । यो सबै गर्नका लागि सत्यको खोजी र प्रमाणीकरण आवश्यक हुन्छ । त्यसैले ढिलो नगरौं, शान्ति निर्माणको राजनीतिक प्रयत्नहरूलाई मानवीय प्रयत्नहरूसंँग जोडौं । नभुलौं, मनमा पीडा र आँखामा आँसुु रहेसम्म शान्ति बन्दैन । अन्यथा जनताका मनमा गडेका दुख्ने घाउहरूले हामीलाई भविष्यमा पनि तर्साइरहनेछ ।

dahal.keshab@gmail.com

प्रकाशित : जेष्ठ २२, २०७५ ०८:२५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तीनवटा मार्क्स

कार्ल मार्क्स : २०० वर्ष
अनुभूति
मैले आजसम्म तीन जना मार्क्स भेटेको छु । पहिलो कम्युनिस्ट मार्क्स । दोस्रो, मार्क्सलाई मैले आफू कम्युनिस्ट भएको १० वर्ष जतिपछि भेटें जो महान् विचारक थिए । अलिक पछि मैले मार्क्स स्वयंको भनाइ पढें ‘एउटा कुरा निश्चित छ कि म मार्क्सवादी होइन ।’
केशव दाहाल

काठमाडौँ — सन् ००७ को सेप्टेम्बरमा मैले कार्ल मार्क्सलाई भेटें । बर्लिनको व्यस्त सडक । सायद त्यो घुमन्तेहरूको अखडा हुनुपर्छ । दाह्रीवाल बूढो सुट, टाईमा सजिएर गमक्क उभिएको । कस्तो अत्यासलाग्दो अवस्था । बूढालाई देख्नासाथ म त के गरौं, कसो गरौं भएँ ।

उसले मलाई बीच सडकमा च्याप्प समात्यो र भन्यो लौ मसँग फोटो खिच र बदलामा ५ युरो देऊ । मैले त्यसै गरें । मन अलिक शान्त भयो । उसैले तानेर मलाई नजिकैको गिफ्ट पसलमा लग्यो । त्यहाँ मैले भटाभट पाँचवटा माक्र्सका फोटोअंकित ‘बिल्ला’ किनें । छुट्टिने बेला बिदाइका हात हल्लाउँदै बूढाले भन्यो, ‘लु आज मस्त वाइन पिउनू । किनभने मैल तिमीसँग फोटो खिचें । सायद यो तिम्रा लागि ऐतिहासिक दिन हो ।’ पँुजीवादले स्वयं माक्र्सलाई कसरी बेचिरहेको छ त्यसको सानो उदाहरण हो यो । कार्ल माक्र्सका नाममा आज संसारभर व्यापार छ चाहे राजनीतिको अथवा सपनाको ।

बर्लिनको त्यो साँझ हामीले सहरबीचमा ढलेको पर्खाल नजिकै उभिएर खुला संगीतको मजा लियौं । हामी याने कि म र अरू चार जना माक्र्सका नेपाली समर्थकहरू । हाम्रो गाइडले त्यही दिन बिहान त्यो त्रासद पर्खाल, युद्धका अवशेषहरू र पूर्व जर्मनीका साँघुरा सडकहरू घुमाएको थियो । उसले माक्र्सबारे यसरी बतायो कि ऊ कुनै तिलस्मी कथा भन्दै छ । ‘माक्र्सको जन्म ५ मे १८१८ मा जर्मनीको राइन प्रान्तको ट्रिर सहरमा भयो। उनी वकिल परिवारका सदस्य थिए। उनको परिवार सर्वहारा थिएन। माक्र्सको प्रेम सम्बन्ध जेनी फोन वेस्टफालनसँग भयो। उनै जेनी माक्र्सकी धर्मपत्नी बनिन्। माक्र्स कविता लेख्थे। सौन्दर्यशास्त्र, कला र इतिहासमाथि उनको गहिरो रुचि थियो।

मैले भनें, ‘म मार्क्सवादी हुँ’ । ऊ अचम्ममा पर्‍यो । मैले उसलाई मार्क्सको जीवनका ती अनमोल क्षणहरू बताए जो उसले सुनेकै थिएन । लेख्नुबाहेक माक्र्ससँग कमाउने अरू उपाय थिएन। गरिबीले गर्दा उनको परिवारले अनेकौं रात आलु र पाउरोटी मात्र खाएर बिताउनुपर्‍यो। त्यही गरिबीमा उनले रेलवे अड्डामा जागिर खानेसमेत विचार गरेका थिए। माक्र्सले कुगेल्मानलाई लेखेको पत्रमा यो सन्दर्भ उल्लेख छ। उनी भन्छन्, ‘आफ्नो हस्तलिपि नराम्रो भएकाले मैले यो काम पाउन सकिनँ।’ माक्र्सले आफ्ना चार सन्तान गुमाए। भनिन्छ, सन् १८५२ मा आफ्नो एक सन्तानको मृत्यु हुँदा अन्तिम संस्कारका लागि माक्र्ससँग कात्रो किन्ने पैसा पनि थिएन। उनले सबैभन्दा लाडप्यार दिएको छोरो, जसलाई प्रेमले मुस (भँगेरो) भनिन्थ्यो, जसको मृत्युमा माक्र्स निकै विह्वल भएका थिए। माक्र्सले लेखेका छन्, ‘मुटुबाट रगतको धारा बग्न थालेजस्तो लाग्छ। आगो दन्केजस्तो टाउको राँकिन्छ।’ तर आफ्ना बाँचेका परिवारको अपार मायाले माक्र्सलाई जीवनप्रति विश्वास बढ्थ्यो। आफ्नी धर्मपत्नी जेनीप्रति उनी सधैं अनुगृहीत थिए।

एक प्रसङ्गमा आफ्नै पत्नीबारे माक्र्स लेख्छन्, ‘संसारमा थुप्रै आइमाई छन्। कति त निकै सुन्दर पनि छन् तर म अरूमा कहाँ त्यस्तो चीज भेट्न सक्छु, जसका प्रत्येक रेखाले, अनुहारको चाहुरीले समेत मेरो जीवनका उत्कृष्ट दिनहरूको सम्झना गराउँछन्। प्रिय जेनी, म तिम्रो प्यारो अनुहारमा चुम्बनको वर्षा गर्छु र सबै कष्टहरू बिर्सन्छु।’ यस्तो थियो माक्र्सको जीवन। उनी परम्परागत कम्युनिस्टहरूजस्ता रूखा थिएनन्, बरु प्रेम र आदर्शका प्रतीक थिए। माक्र्सलाई आफ्नाहरू प्रेमले ‘मोरिसियन’ भन्थे । उनको कपाल चोपजस्तो कालो र अनुहार गहुँगोरो थियो।

सन् १८८० मा माक्र्स सपरिवार स्वास्थ्यलाभका लागि समुन्द्र स्वास्थ्यागार राम्सगेट गए। ती उनको जीवनका अन्तिम दिनहरू थिए। उनलाई भेट्न न्युयोर्कबाट प्रकाशित हुने पत्रिका ‘सन’ का सम्पादक जोन स्विन्टन पुगे। उनी लेख्छन्, ‘त्यहाँ एउटा बङ्गलामा मैले माक्र्सलाई आफ्नो दुई पुस्ताको परिवारसहित भेटें। पवित्र अनुहार, सुरिलो स्वर र सुसंस्कृत व्यवहार भएकी एउटी अति हिस्सी परेकी महिलाले मूलढोकामा मेरो स्वागत गरिन्। उनी गृहस्वामिनी र कार्ल माक्र्सकी पत्नी थिइन्। अनि बडेमानको टाउको, प्रभावशाली अनुहार, फुलेको बाक्लो कपाल भएका अति नम्र तथा सुशील स्वभावका करिब ६० वर्षका व्यक्तिसँग भेट भयो।’ स्विन्टन अगाडि लेख्छन्, ‘परन्तु भाग्य यो सुखी परिवारलाई एकपछि अर्को दु:ख प्रहार गर्न तम्सिएर बसेको थियो।’

डिसेम्बर २, १८८१ मा जेनीको देहान्त भयो। उनलाई कलेजोको क्यान्सर थियो, माक्र्सलाई फोक्सोको निमोनिया। अलगअलग कोठामा अशक्त दुई प्रेमीहरू पल्टिएका हुन्थे। छोरी एलेओनारो लेख्छिन्, ‘आमाको कोठामा जाँदा बुबाले तन्दुरुस्ती अनुभव गर्नुभएको त्यो बिहान म कहिल्यै बिर्सन्नँ। उहाँहरू एकसाथ हुँदा मानौं फेरि जवान हुनुभएको थियो। उहाँहरू प्रेमी युवक र प्रियतमा युवतीझैँ देखिनुभएको थियो।’ तर आफ्नै प्रियतमा जेनीको शवयात्रामा माक्र्स जान सकेनन्। कस्तो भयंकर ‘ट्ेरजेडी’ ।

मैले आजसम्म तीन जना माक्र्स भेटेको छु । पहिलो कम्युनिस्ट माक्र्स । उस जमानामा कम्युनिस्ट भन्नासाथ मेरो दिमागमा तिनै दाह्रीवाल बूढाको फोटो अगाडि आउँथ्यो । बडो भव्य लाग्थ्यो त्यो अनुहार । त्यही अनुहारको ओजले म कम्युनिस्ट भएँ । म माक्र्सवादी भएर कम्युनिस्ट भएको हैन । जब म कम्युनिस्ट भए, माक्र्स मेरा लागि ईश्वरजस्तै बने । मैले भगवान्लाई मन्दिरबाट निकालें र माक्र्सलाई प्रतिस्थापित गरें । केही साथीहरू मिलेर हामीले घोषणा गर्‍याैं ‘ईश्वर मर्‍यो’ । त्यसपछि मेरालागि ईश्वरजस्तै अलौकिक बने पहिलो माक्र्स । दोस्रो माक्र्सलाई मैले आफू कम्युनिस्ट भएको १० वर्ष जतिपछि भेटें । दोस्रो माक्र्स खासमा महान् विचारक थिए । पढ्न रुचाउने, लेख्न रुचाउने, विषयहरूप्रति विचारशील माक्र्स । यी माक्र्सलाई मैले केही वर्ष पढें, परिचर्चा गरें र सगर्व भनें, ‘म माक्र्सवादी हुँ’ । म बिस्तारै कम्युनिस्ट कम र माक्र्सवादी ज्यादा हुँदै गएँ । अलिक पछि मैले माक्र्स स्वयंको भनाइ पढें, ‘एउटा कुरा निश्चित छ कि म माक्र्सवादी होइन ।’ कस्तो रमाइलो कुरा । म मार्क्सवादी भएपछि मात्र थाहा पाएँ बूढा आफंै भने माक्र्सवादी रहेनछन् ।

जर्मन शास्त्रीय दर्शनको अध्यायनपछि कार्ल माक्र्सले त्यसमा त्रुटिहरू देखे। उनलाई लाग्यो— चेतनाले वस्तुको निर्माण गर्दैन, वस्तुले चेतनाको निर्माण गर्छ। द्वन्द्ववाद अलौकिक छैन। यही धर्तीका वस्तुहरू निरन्तर एकता, सङ्घर्ष र परिवर्तनमा हुन्छन्। आफ्ना पछिल्ला निष्कर्षहरूलाई पुष्टि गर्न सन् १८४५ मा २७ वर्षे माक्र्स पहिलो पटक बेलायत भ्रमणमा निस्किए। उनी विश्वको पहिलो पुँजीवादी मुलुक र त्यहाँको मजदुर आन्दोलनसँग साक्षात्कार गर्न चाहन्थे। लन्डनका पुस्कालयहरूमा घोरिँदा, त्यहाँका वामपन्थीहरूसँगको अन्तरक्रिया र आफ्नो ज्ञानको संश्लेषणबाट माक्र्स निष्कर्षमा पुगे, ‘मानव समाज आपैंमा एक गतिशील कुरा हो। उत्पादक शक्ति र उत्पादन सम्बन्धको द्वन्द्वले विकासको ऐतिहासिक प्रक्रिया निर्धारण गर्छ।’ यसरी निर्माण भयो द्वन्द्ववाद र भौतिकवादी विश्व दृष्टिकोण।

चिन्तन, खोज, अध्यायन, अनुसन्धान र लेखन माक्र्सका मूल काम थिए। उनी सङ्गठक थिएनन्, विचारक थिए। यसर्थ उनका कतिपय विचारहरूको व्यवहारसँग तालमेल नहुनु अनौठो होइन । तर, कट्टर माक्र्सवादीहरू माक्र्सका सबै विचार, भावना, लेख र भाषणहरूलाई पुष्टि गर्न खोज्छन्। त्यही हो अन्धमाक्र्सवाद। आखिर परम्परागत ईश्वरलाई आफ्नो मन्दिरबाट बाहिर निकालेपछि अर्को ईश्वर चाहिन्छ क्यारे । अत: माक्र्स ईश्वर बने । कम्युनिस्ट र माक्र्सवादी दुवैका पालनहार । तर, जब मैले लेनिन, स्टालिनलगायत सोभियत संघ र पूर्वी युरोपलाई आफ्नो आँखीझ्यालबाट हेर्न थालें तब नयाँ माक्र्स मसँग हात मिलाउन आइपुगे । तेस्रो माक्र्स । सुख र दु:ख भोगेका माक्र्स । मान्छेजस्ता माक्र्स । गल्ती, कमजोरीसहितका माक्र्स ।

मार्क्सका विचारलाई व्यवहारमा प्रयोग गर्ने पहिलो साम्यवादी नेता हुन् लेनिन। उनले माक्र्सवादलाई यति उग्र, तीव्र र बलपूर्वक स्थापित गरे कि व्यक्तिवाद आमसमस्या बन्यो। पुँजीवाद उखेलेर समाजवाद स्थापित गर्ने नाममा गरिने अनेकौं बलपूर्ण प्रयोगहरूलाई लेनिनले सैद्धान्तीकरण र अन्तर्राष्ट्रियकरण गरे। ‘उनीहरूले जे गरे, त्यही नै माक्र्सवाद हो ।’ यो भ्रम संसारभर पर्‍यो। यसले साम्यवादी आन्दोलनमा सिद्धान्त हावी भयो, व्यवहारहरू छुट्तै गए । जीवन छुट्तै गयो। माक्र्सवाद कोरा सिद्धान्त र सूत्र बन्यो ।

लेनिनपछि माक्र्सकै अनुयायीहरूले थप माक्र्सवादको हुर्मत लिए । स्टालिनले माक्र्सवादलाई सर्वसत्तावादको सिद्धान्त बनाए । स्वयं लेनिन स्टालिनसँग सहमत थिएनन् । उनी स्टालिनप्रति शङ्का गर्थे । पार्टी नेताहरूलाई लेखेको एउटा पत्रमा लेनिन भन्छन्, ‘स्टालिन अति रूखा छन्। सबै हिसाबले कमरेड स्टालिनभन्दा फरक महासचिव खोजियोस्, जो फरक होस्, सहनशील, इमानदार र नम्र होस्।’ तर, त्यसो भएन, जसले गर्दा साम्यवादी आन्दोलन रूखो बन्दै गयो। ‘आक्रामक, नीरस र लम्पट सर्वहारा हुनु नै असली माक्र्सवादी हुनु हो’ भन्ने भ्रम विश्वभर स्थापित भयो। यसरी माक्र्सवादीहरू फलामका मान्छे भए । मनका मान्छे बन्न सकेनन् ।

त्यसयता समाजवाद र साम्यवादका लागि डेढ सय वर्षहरू सकिए । तर, कतै पनि माक्र्सले भनेजस्तो आदर्श समाजवाद र साम्यवाद आएन । किन यस्तो भयो ? किनभने वैज्ञानिक समाजवादको मुख्य दोष सर्वहारा आडम्बर थियो, मानव मनोविज्ञानको सही विश्लेषण गर्न नसक्नुमा थियो। ‘मान्छे उत्पादनको साधन मात्र होइन, ऊसँग अरू पनि धेरै कुरा छन्’ भन्ने कहिल्यै सोचिएन। उत्पादनको चरित्र निजी स्वार्थहरूसँग सम्बन्धित हुन्छ। यो सत्यलाई न सोभियत संघमा बुझियो, न त पूर्वी युरोपमा। मार्क्सवादी समाजवादी व्यवस्थामा राज्यसत्ताको अति केन्द्रीकरण भयो। परिणाम, समानताका नाममा नयाँ वर्ग निर्माण, राज्य विलोपका नाममा यसको सबलीकरण र व्यक्ति पूजा झाँगियो। यसरी माक्र्सवाद जब्बर र जटिल बन्दै गयो ।

ऐतिहासिक अनुभवले भन्छ— न वर्गहरू विलोप हुन्छन्, न त अन्तरविरोधहरू नै सकिन्छन्। किनभने कम्युनिस्ट व्यवस्थाले वर्गहरूको विलोप गर्दैन, बरु रूपान्तरण गर्छ। सोभियत संघदेखि नेपालसम्मको अनुभव यही हो। समाजमा अन्तरविरोधहरू कहिल्यै सकिँदैनन्। यिनीहरूको पूर्ण समाधान कहिल्यै हुँदैन। राज्यले यसको व्यवस्थापन निरन्तर गरिरहनुपर्छ। यसका अतिरिक्त राज्यले शिक्षा, स्वास्थ्य, सामाजिक न्यायलगायत मानव विकास र समृद्धिको समेत व्यवस्थापन गर्नुपर्छ। यसर्थ राज्य सधैं आवश्यक हुन्छ। समग्र मानव सभ्यता निर्माणमा राज्यको भूमिका निकै महत्त्वपूर्ण हुन्छ। यो सत्य हो कि राज्यको भूमिका कसैप्रति पूर्वाग्रही र दमनकारी भने हुनु हुँदैन। अत: राज्यको परिभाषामा परिवर्तन आवश्यक छ । तर, राज्यलाई नै इन्कार गर्नु सायद असम्भव हुन्छ। यो अर्थमा माक्र्सले वर्ग र राज्यको ‘विलोप’ कसरी भन्न सके होलान् ? बरु उनले राज्य निरन्तर रूपान्तरण हुन्छ । मानव समाजले राज्यको रूपान्तरणका लागि निरन्तर संघर्ष गर्नुपर्छ भनेको भए हुन्थ्यो कि ?

‘कुनै दिन साम्यवाद आउनेछ’ यही परिकल्पनामा माक्र्सवादीहरू राजनीति (?) गर्छन्। उनीहरू मान्छन्— साम्यवादमा पुग्न विश्वभर समाजवाद आवश्यक हुन्छ । तर, कहिले आउला त्यो दिन? माक्र्सवादीहरू भन्छन्— त्यो दिन धेरै पछि आउँछ। समाजमा जब शोषण, विभेदहरू सकिन्छन् अनि त्यो दिन आउँछ । त्यो दिन समाज, सामाजिक सम्बन्ध र मानव चरित्र नै यति धेरै रूपान्तरित हुन्छ कि विश्व मानव समाज एउटै जाति, धर्म, वर्ग र उत्कृष्ट अन्तर्राष्ट्रिय समुदायमा फेरिन्छ। यही आदर्शलाई कम्युनिस्टहरू गाउँछन् ‘मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ’ । मार्क्सवादीहरू ठान्छन् कि ‘यस्तै सपनाहरूमा मार्क्सवादको बेजोड शक्ति निहित छ जसले करोडौं मान्छेलाई निरन्तर जगाएको छ ।’ तर, गैरमार्क्सवादीहरू ठान्छन् कि ‘यही नै माक्र्सवादको सबैभन्दा खराब कुरा हो जसले तीन पुस्तालाई निरन्तर यस्तो सपनाको पछि दौडाएको छ जो कहिल्यौ पूरा हँुदैन । आखिर नेपालका माक्र्सवादीहरू पनि त तिनै सपनाको पछाडि दौडिरहेका छन् । यस्तो सपना, जो देख्नलाई त मजै हुन्छ तर विपनामा सधैं झस्काइरहन्छ ।

मेरा केही कट्टर माक्र्सवादी मित्रहरू अनेक समस्याको समाधान माक्र्सवादमा छ भन्ने ठान्छन् । म आश्चर्यमा पर्छु कि कसरी त्यस्तो जादुगरी काम गरे हुन् बूढाले ? कस्तो लीला हो यो कि केही समस्या आयो कि बूढालाई सम्झियो समस्या चट् । सायद माक्र्सवादीहरूमा निहित सबैभन्दा ठूलो कमजोरी नै यही भ्रम हो । जब यो भ्रमबाट मार्क्सवादीहरू मुक्त हुन्छन् तब मार्क्सवादले काम गर्न थाल्छ । जब यसभित्र खोटहरू देखिन्छ तब यो गतिशील बन्छ । अन्यथा यो सूत्रमा रहन्छ । आजको आवश्यकता सूत्रको मार्क्सवाद हैन । गतिशील मार्क्सवाद हो । आजको आवश्यकता मार्क्सको पूजा हैन, रचनात्मक समालोचना हो । मैले भेटेको तेस्रो माक्र्स जो भगवान् थिएन मान्छे थियो । अबको आवश्यकता मार्क्सलाई मान्छेको रूपमा देख्ने र उनका सीमाहरूलाई बुझ्ने नयाँ जमात हो ।

मार्च १८, १८८३ मा माक्र्सको देहान्त भयो। एङ्गेल्स लेख्छन्, ‘दिउसो २ बजेर ४५ मिनेट जाँदा हामीले उहाँलाई कौचमा निदाइरहेको पायौं। दुई मिनेटका लागि मात्र हामीले उहाँलाई एक्लै छोडेका थियौं । तर, हाम्रो पार्टीको शक्तिशाली मस्तिष्कले विचार गर्न छोडिसकेको थियो।’ आफ्ना महान् गुरु र मित्रको चिहाननेर दिइएको शोक मन्तव्यमा एङ्गेल्सले भने, ‘उनको नाम र काम युगयुगान्तर जीवित रहनेछ।’

निश्चय नै कार्ल मार्क्स निरन्तर बाँचिरहेका छन् । आन्दोलनमा, आलेखहरूमा, विचारमा र बहसमा । आज माक्र्सको दुई सयौं जन्मदिन मनाइरहँदा सच्चा माक्र्सवादीहरूले विचार गर्नुपर्छ कि माक्र्सवादको जडता आजको आवश्यकता होइन । आज सपना मात्र देख्ने माक्र्सवाद हैन, सपना पूरा गर्ने मार्क्सवाद चाहिएको हो । अत: आजका लागि उन्नत र गतिशील चिन्तनधाराको विकास गर्नु सच्चा माक्र्सवादी हुनु हो । हिजोका माक्र्सलाई समाएर मात्र केही हुँदैन । हिजोका मार्क्सलाई पूजा गरेर मात्र पनि केही हुँदैन । हिजोका मार्क्सका लागि लडेर र रगत बगाएर मात्र अब हुँदैन । बरु हिजोका माक्र्सको चालमा नयाँ गति र गरिमा थपेर आजको लागि नयाँ संसारको रचना गर्नु मार्क्सको समान हो । दुई सय वर्षपछि पनि सच्चा माक्र्सवादी हुने नाममा तिनै सूत्रहरूको वरिपरि घुम्नु माक्र्सवादी हुनु होइन । यो त आसक्ति हो । निश्चय नै मार्क्ससँग सहमत र असहमत हुने छुट सबैलाई छ । तर, यति त भन्नेपर्छ कि माक्र्स असल मान्छे हुन् । उनलाई सम्झिँदा यस्तो लाग्छ जंगलमा सतीसाल ठिंग उभिएको छ । यही बेजोड सम्झनाका साथ माक्र्सका चेलाहरूलाई अनुरोध छ कि आसक्ति छोडौं र माक्र्सवादभन्दा माथिबाट आजको संसारलाई हेरौं । सायद त्यो माक्र्सप्रतिको सच्चा गुरुदक्षिणा हुनेछ ।

प्रकाशित : वैशाख २२, २०७५ १०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT