प्रधानमन्त्रीका अशोभनीय अभिव्यक्ति

प्रधानमन्त्री ओलीले शोभनीय बोलून्, सत्याग्रहको संवेदना बुझून्, यो देशले यही कामना गरिरहेको छ ।
श्रीकृष्ण अनिरुद्ध गौतम

काठमाडौँ — प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले डाक्टर गोविन्द केसीको अनशनबारे बोल्दा कसैको उक्साहटमा केसी भोकै सुतेको भने । यी हरफ लेखिँदै गर्दा केसी जुम्लामा अनशनरत छन्, उनलाई काठमाडौं ल्याउने प्रयत्न भइरहेको छ । उनी मानिरहेका छैनन् । मान्न सक्छन्, नमान्न सक्छन् । तर यी पंक्तिमा चर्चा गर्न खोजिएको विषय केसीको अनशनमात्र होइन, सत्ताको प्रवृत्तिसँग गाँसिएका अहंकार र दम्भजस्ता विषय हुन् ।

सत्तामा पुग्नासाथ मान्छे किन मात्तिन्छ, उसको हाउभाउमा नै किन धेरै फरक पर्छ, यी धेरैका मनमा उठ्ने प्रश्न हुन् । धेरैले महसुस गरिआएका विषय हुन् ।

त्यसैले ओलीले केसीको सत्याग्रही अनशनलाई किन उक्साहट भने ? गंगामाया अधिकारीका याचनाप्रति उनी किन उदासीन छन् ? उनी अचेल छोइनसक्ना कुरा गर्छन्, यसलाई अथ्र्याउन यो चर्चालाई अर्को कोणमा मोड्नुपर्छ । मित्रवत परामर्शलाई गिज्याउँछन्, निहित स्वार्थीसँग अंकमाल गर्छन्, मित्रसँग शत्रुवत र आफ्नै शत्रु स्वभाव भने उनलाई प्रिय भएको छ । यहाँ ओली विषय हुन्, तर यो प्रश्न सार्वकालिक हो ।

यसको सटिक उत्तर भने आफू सत्तासिन भइरहेकै बेला भारतका पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीले दिएका थिए । उनी भन्ने गर्थे, ‘सत्ताको चरित्र उन्मत्तता हो, यो तामसी हुन्छ । हामी सत्तामा छौं, यतिखेर । त्यसैले हामीले सत्ताको यो प्रवृत्ति थाहा पाइराख्नुपर्छ । होश गुमाउनु हुँदैन । हामीले तामसी प्रवृत्तिलाई जित्दै सात्विक भावले देशको सेवा गर्नुपर्छ ।’

फेरि ओलीतर्फै फर्कौं । उनलाई कम्तीमा यति त ज्ञात हुनैपर्छ, उक्साहटमा मान्छे एक–दुई छाक भोकै बस्न सक्छ, दसौं–बीसौं दिन भोकै बस्दैन । ओली भोकको अनुभव नभएका मान्छे होइनन् । दुई छाक भोकै बस्नुपर्‍यो भने भुँडी कति बटारिन्छ, त्यो उनलाई थाहै होला । किनभने अति निम्न आय वर्ग पृष्ठभूमिका भएकाले बाल्यकालदेखि २०४६–४८ सालसम्म कति दिन कति रात उनले भोकभोकै बिताउनुपरेको थियो, उनलाई यसको स्मरण नहुने प्रश्नै छैन, पक्कै छ । यद्यपि निराहार व्रत बस्ने गरेका मानिसलाई पनि थाहा हुन्छ, भोकै बस्नु के हो । तर ओली नास्तिक भएकाले उनलाई व्रत–उपवासबारे चासो नहुनु स्वाभाविक हो । तर भोकै त्यसै बस्दैन मान्छे, ओलीलाई यस विषयको ज्ञानै नभएको होइन ।

लामो जेल जीवनका दु:खकष्ट ओलीका यही शरीरले बेहोरेको हो । यसर्थ यातना र भोकबारे उनी अपरिचित छैनन् । ओली जेल पर्नुको कारण केसीको जस्तो अहिंसात्मक आग्रह थिएन, हिंसात्मक विद्रोह थियो । उनले अपनाएको व्यक्तिहत्याको राजनीति गलत थियो, कालान्तरमा उनी आफैंले पनि यो स्वीकारेका र शान्तिपूर्ण परिवर्तनका पक्षमा स्व–रूपान्तरित भएका हुन् । तथापि जे भए पनि उनको राष्ट्रप्रति लगानी छ । त्यसैले राष्ट्रप्रति लगानी भएको ओलीजस्तो मान्छेको आलोचना गर्दा अलि सचेत भएरै गर्नुपर्छ र म सचेत पनि छु । किनभने आज जुन मुक्त नेपालमा हामी छौं, त्यसका लागि ओलीले, आज मार्सी चामलको भात खाए पनि जेलका ढुंगे, गन्हाउने चामलको भात खाएका छन् । कष्टसाध्य युवावस्था गुजारेकै हुन् ।

निश्चय नै ओलीका सामु उनको निर्धन पृष्ठभूमिका कारण अरु विकल्प थिएनन् नै, तर पृष्ठभूमि जे भए पनि मुलुक यस चरणमा आइपुग्न उनका अनिदा रातहरू, उनले भोगेका कष्टको योगदान छ । उनको जस्तोसुकै विरोधीले पनि यो यथार्थ त स्वीकार्नैपर्छ । यो उनले देशलाई लगाएको गुन हो । गुन कसैले बिर्सनु हुँदैन र मिल्दैन पनि । तर धेरैजसो अवस्थामा हुने के रहेछ भने मानिस जब आफ्नो पूर्व स्थितिभन्दा माथि उठ्छ, अलिकति हुनेखाने बन्छ, उसलाई कुनै पनि किसिमको, नेपालीमा भन्नुपर्दा सत्ताशक्ति प्राप्त हुन्छ, अंग्रेजीमा पावर भन्छन् नि, अनि उसलाई लाग्दो रहेछ, ऊ यसैका लागि बनेको हो । ऊ मानौं हकदारै हो । त्यसपछि मान्छे ‘मै हुँ’ भन्न थाल्छ । शरीर उही हो, इन्द्रिय उनै हुन्, तर किन भन्न थाल्छ, किन ठान्न थाल्छ, ऊ आफैंलाई अरुभन्दा भिन्न ? यसको जवाफ माक्र्सवादले दिँदैन, नत आधुनिक मनोविज्ञानले सटिक रूपमा बताउन सक्छ ।

किन मात्तिन्छ मान्छे, यस मनोरोगको सटिक पहिचान (डायग्नोसिस) पूर्वीय शास्त्रहरूले गरेका छन् । श्रीमद्भगवद्गीताको १६ औं अध्यायमा मदोन्मत्त मानिसको बानी, बेहोरा र परिणाम सविस्तार वर्णन गरिएको छ । आफ्ना मन्त्रीसहित प्रधानमन्त्रीले यसको मनोयोगसाथ अध्ययन गर्नु उचित हुनेछ । मानिसका मूलत: दुई प्रवृत्ति हुन्छन्, दैवी र आसुरी । जब मानिसमा आसुरी प्रवृत्ति हावी हुन्छ, तब मानिसले ठिक त्यस्तै व्यवहार गर्छन्, जस्तो अहिले प्रधानमन्त्री र उनका मन्त्रीहरूले गरिरहेका छन् ।

जस्तै सञ्चार मन्त्री गोकुल बाँस्कोटा मन्त्री नहुँदासम्म असल नै थिए । मन्त्री बनेपछि उनको हाउभाउ, बानीबेहोरा सबै बदलियो, उनी प्रश्न गर्नै नहुनेगरी बम्किन थाले । अरु त अरु पर्यटन मन्त्री रविन्द्र अधिकारी मन्त्री नहुँदासम्म कति भलाद्मी, कति असल थिए । सज्जन र मिठो बोलीवचनकै कारण देशैभर मित्र कमाउनेमा गनिन्थे, अचेल उनको प्रस्तुतिमा के–के भएँ भन्ने देखिन्छ । मिडियासँग बोल्दा पनि उनी झर्कोफर्को गर्न थालेका छन् । उनले प्रश्नकर्तालाई विनम्रतापूर्व यसबारे पछि भन्छु भन्न सक्छन्, अशिष्टता प्रदर्शन गर्नै पर्दैन । सामाजिक सञ्जालका कारण उनका प्रस्तुति सार्वजनिक जानकारीमा आइरहन्छन् । उनले समेत आफ्नो धरातल बिर्सेका छन् ।

ओलीका आजभोलिका बोलीवचन सुन्दा त लाग्छ, कति धेरै मात चढेको होला ! विश्वमा उनी एक्लो प्रधानमन्त्री होइनन्, प्रधानमन्त्रीहरू कति छन् कति । फेरि उनी प्रधानमन्त्री छन् आज, यो आजको सत्य हो । अनन्तसम्म त रहने होइनन् । ओलीको प्रधानमन्त्री पद अरूको जस्तै अनित्य हो । ओलीको देहको ध्येय के हुनुपर्छ, यसको ज्ञान पाउन उनले गोविन्द केसीलाई सोध्नुपर्छ । यो देहको प्रयोजन हो, यसको आयु व्यर्थ प्रलापमा होइन, लोकहितमा खर्च गर्नु । श्वास चलेसम्म लोककल्याणमा, लोकसंग्रहमा, लोककै सर्वोपरी हितमा आफूलाई समर्पित गर्नु यस देहको वास्तविक प्रयोजन हो ।

यस अर्थमा ओली बडो भाग्यमानी हुन् । किनभने शक्ति सम्पन्न प्रधानमन्त्री छन्, स्थिर सरकारको नेतृत्व गरिरहेका छन्, ७ मध्ये ६ प्रदेशमा उनकै दलको सरकार छ । निस्वार्थ, निष्काम भावले यदि उनले राज्य सञ्चालन गरे भने के असम्भव छ † रेल, पानीजहाज, आठ लेनका सडक, कृषिमा क्रान्ति, उद्योगहरूको स्थापना सबै सम्भव छ ।

उच्च माध्यमिक तहसम्मको शिक्षा र स्वास्थ्यलाई पुरै राज्यको दायित्व बनाउन सकिन्छ र बनाउनुपर्छ पनि । मानिसको स्वास्थ्य, शिक्षा तथा परिवहनको जिम्मा राज्यले लियो भने व्यक्तिमा अन्तरनिहित ऊर्जा प्रस्फुटन हुन कत्ति पनि अबेर हुँदैन । नेपाल समृद्ध बन्न पहिला नेपाली स्वस्थ हुनुपर्छ । शिष्ट, सुशिक्षित, सुसंस्कृत बन्नुपर्छ । त्यसका लागि प्रधानमन्त्री तामसी हुनुहुँदैन, सात्विक भावले ओतप्रोत हुनुपर्छ ।

तर यस्तो–यस्तो भइरहेको छैन किनभने सत्तामा उक्लेपछि मन्त्रीहरूसहित प्रधानमन्त्रीलाई सत्ताको तामसी मात लागेको छ । एउटा बुढो डाक्टर भनिरहेछ, काठमाडौंमा मात्रै सबै चिकित्सा अध्ययन संस्थान नखोलौं, देशभर अवसर विस्तार गरौं । पहिला आवश्यक सेवासुविधा सहितका अस्पताल खोलौं, अनि बल्ल चिकित्साशास्त्र अध्ययनको मार्गप्रशस्त हुन्छ । बूढो डाक्टर वास्तवमा जनताका हृदयकै बोली बोलिरहेको छ ।

जहाँसम्म मेडिकल कलेज खोल्न इच्छुक लगानीकर्ता, व्यवसायी छन्, तिनलाई सडक यातायात, रेल, पानीजहाज चलाउने पूर्वाधार निर्माणतर्फ काम दिए हुन्छ । खनिज तेल र फलाम खानीदेखि युरेनियम खोजीमा खटाए हुन्छ । भनिन्छ, सियोसम्म नेपालमा बन्दैन, साइकल, मोटरसाइकल, गाडी बनाउने उद्योग खोल भनेर अवसर दिन सकिन्छ । तिनले मान्छे लुट्ने, मान्छेको शरीरमाथि व्यापार नै किन गर्नुपर्‍यो ।

तर यतातर्फ लरतरै बुद्धि फर्किंदैन । किनभने सत्ता, शक्ति, धन, बारम्बार भनियो, एक प्रकारको मात हो, मदिराजस्तै । ओलीले केसीका बारेमा बोलेका अशोभनीय शब्द त्यही मातका कारण प्रस्फुटित हुनपुगेका हुन् । विरलै हुन्छन् मात नलाग्नेहरू, अधिकांशलाई लाग्छ । उनका पूर्ववर्ती शेरबहादुर देउवा, पुष्पकमल दाहाल, सुशील कोइराला लगायत प्राय:जसो सबैलाई कुनै न कुनै किसिमको मात लागेको थियो ।

भनिन्छ, शक्ति र सत्ताको मदिराले साँच्चिकै मदिराभन्दा बढी मात लाग्छ । भनिरहनु नपर्ला, किनभने अहिले यो धेरैले महसुस गरेका छन्, ओलीलाई अचेल त्यही मात, सत्ताको त्यही घनघोर तामसले घेरेको छ । ठिकै भनेका थिए बाजपेयीले, सत्ताको चरित्र तामसी हुन्छ, यसलाई सात्विक भावले जित्नुपर्छ । प्रधानमन्त्री ओलीका लागि, मनोयोग साथ मनन गरे बाजपेयीका ती वचन मन्त्रतुल्य हुन सक्छन् ।

प्रधानमन्त्री कार्यकारी प्रमुख त हुन् नै, देशका अभिभावक पनि हुन् । उनका मुखबाट उच्चरित हुने अशोभनीय शब्दबिम्बहरू सुन्दै अप्रिय लाग्छन् । प्रधानमन्त्री माननीय हुन्, सम्माननीय हुन् । त्यसैले ओलीले शोभनीय बोलून्, सत्याग्रहको संवेदना बुझून्, यो देश आज यही कामना गरिरहेको छ । अन्यथा अरू के भनौं, आउँदा दिनहरूमा देशको मनोभाव बदलिन सक्छ।

प्रकाशित : असार २९, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्

मौद्रिक नीतिको बजारमा असर

सम्पादकीय

काठमाडौँ — राष्ट्र बैंकले तरलतामा प्रभाव पार्नेदेखि वित्तीय सुशासन र विस्तारका कार्यक्रमसम्म समेटिएको मौद्रिक नीति सार्वजनिक गरेको छ । पछिल्लो समय आम सर्वसाधारणदेखि उद्योगी–व्यवसायीसम्मलाई मौद्रिक नीतिले छुन थालेको छ । यसपटक मौद्रिक नीतिमार्फत ब्याजदर अस्वाभाविक रूपमा बढ्न नदिएर वाञ्छित सीमामा राख्ने भरपूर प्रयास भएको देखिन्छ ।

बजारमा तरलता बढाउन विभिन्न कार्यक्रम सार्वजनिक गरिएकाले ब्याजदर घट्ने संकेत देखिएको छ । बैंक तथा वित्तीय संस्थाले ब्याज नपाउने गरी राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद अनुपात (सीआरआर), वैधानिक तरलता सुविधा (एसएलआर) र निक्षेप तथा कर्जा बीचको ब्याजअन्तर (स्प्रेड) नीतिमार्फत घटाइएको छ । ती नीतिले बजारमा तरलता बढाउनुका साथै कोषको लागत (कस्ट अफ फन्ड) घटाउने भएकाले आधार ब्याजदर (बेस रेट) मा कमी आउँछ । बैंक लागतका आधारमा निर्धारण गरिने आधार ब्याजदर घटेपछि ऋणको ब्याजदर पनि घट्नुपर्छ ।

बैंक तथा वित्तीय संस्थाले न्यूनतम ४ प्रतिशत मात्र सीआरआर कायम गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सीआरआर घटाएकै कारण तत्काल करिब ५० अर्ब रुपैयाँ बैंकहरूलाई उपलब्ध हुनेछ । उक्त रकम बैंकले मुनाफा आउने क्षेत्रमा लगानी गर्न सक्छ । बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) को सीमा घटाइएको छ । यसले पनि बैंकहरूको लागत घटाउन सघाउँछ । वाणिज्य बैंकहरूले निक्षेप र कर्जाबीचको ब्याज अन्तर (स्प्रेड) बढीमा साढे ४ प्रतिशत मात्र राख्न पाउने व्यवस्था गरिएको छ । यो व्यवस्थाले बैंकहरूलाई कम्तीमा पनि ०.५ प्रतिशत विन्दुले ब्याज घटाउन दबाब पर्छ । यस्तै, बैंकहरूले संस्थागत मुद्दती निक्षेपमा प्रकाशित ब्याजदरमा १ प्रतिशत मात्र थप गर्न पाउँछन् । यो व्यवस्थाले पनि ब्याजदर अस्वाभाविक रूपमा बढ्न दिँदैन ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउन र दीर्घकालीन ऋणपत्र जारी गरी वित्तीय साधन परिचालनमा प्रोत्साहन गरेको छ । यो व्यवस्थाले सरकारले तय गरेको महत्त्वाकांक्षी आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि आवश्यक पर्ने पुँजी जुटाउन सहयोग पुग्नेछ । मौद्रिक नीतिमार्फत व्यक्तिगत ओभरड्राफ्टमा कडाइ गरिएको छ । यो शीर्षकमा प्रवाह भएको ९० प्रतिशतभन्दा बढी रकम घरजग्गा र सेयर लगानी हुँदै आएको थियो ।

अनुत्पादक क्षेत्रमा गएको लगानी निरुत्साहित गरी उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार गर्ने उद्देश्यले ल्याइएको यो व्यवस्थाले आर्थिक वृद्धिमा सघाउनेछ । व्यक्तिगत ओभरड्राफ्टमा भएको कडाइले सेयर बजार र घरजग्गामा लगानी घट्ने भएकाले अर्थतन्त्रका लागि सकारात्मक प्रभाव पर्छ । वाणिज्य बैंकहरूले आफ्नो कुल कर्जाको न्यूनतम १० प्रतिशत कृषि क्षेत्रमा र ऊर्जा तथा पर्यटन क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यो व्यवस्थाले तोकिएका प्राथमिकता प्राप्त क्षेत्रमा लगानी विस्तार गर्न सरकार कटिबद्ध भएको देखिन्छ ।

पुँजी बजारको सम्बन्धमा भने मौद्रिक नीति खासै सकारात्मक देखिएन । नीतिले मार्जिन कलको सीमा बढाए पनि सेयरको धितोमा प्रवाह हुने कर्जाको सीमा घटाएको छ। यो व्यवस्था सेयर बजारका लागि केही प्रतिकूल हुन सक्छ। तर, यसले उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तारमा सहयोग पुग्छ। तर, अपेक्षित उपलब्धि हासिल गर्न ती नीतिहरूको सफल कार्यान्वयन हुनुपर्छ । मौद्रिक नीतिमा केही कमजोरी छन् । संस्थागत सुशासन, संस्थागत क्षमता अभिवृद्धि, प्रभावकारी नियमन तथा सुपरिवेक्षणको सवालमा नयाँ केही छैन ।

नीतिमा बैंक तथा वित्तीय संस्थालाई संघीय संरचनाअनुसार कार्यसञ्जाल बनाउन निर्देशन दिइएको छ । तर, संघीयतामा राष्ट्र बैंकको कार्यप्रणालीबारे केही उल्लेख छैन । स्थानीय तहमा शाखा खोल्ने बैंकहरूलाई सीआरआर र एसएलआरमा छुट दिइएको छ । यो अन्तर्राष्ट्रिय अभ्यास र बैंकिङको सामान्य सिद्धान्तविपरीत हो । सीआरआर बचतकर्ताको निक्षेपको सुरक्षासँग जोडिएको विषय हो । निक्षेपको सुरक्षासँग सम्झौता गर्ने अधिकार कसैलाई छैन । यसकारण लोकप्रियताका नाममा यस्ता नीतिले दीर्घकालीन रूपमा अर्थतन्त्रलाई राम्रो गर्दैन । यसबारेमा राष्ट्र बैंक सचेत र चनासो बन्नुपर्छ ।

वित्तीय क्षेत्रको विकास र विस्तारसँगै राष्ट्र बैंकको क्षमता अभिवृद्धि हुन सकेको छैन । वित्तीय संस्थाले वास्तविक वित्तीय विवरण लुकाउने गरेको र त्यसमा केन्द्रीय बैंकको पहुँच नपुग्नेबारे आलोचना भइरहेको छ । नियमन तथा सुपरिवेक्षण प्रभावकारी हुन सकेको छैन । बैंक वित्तीय संस्था विशेषगरी सर्वसाधारणको बचत र लगानीबाट चलेका हुन्छन् । यी संस्थामा सुशासन रहन सकेन भने सर्वसाधारणको रकम जोखिममा पर्छ । यसतर्फ पनि नियामक निकाय राष्ट्र बैंक चनाखो बन्नुपर्छ ।

प्रकाशित : असार २९, २०७५ ०७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्