विज्ञानले मात्र समृद्धि

भौतिकशास्त्रमा तरंग समीकरणको सरल हल सिकाइन्छ भने भूकम्पन खोज्न कम्प्युटर चाहिन्छ । विज्ञानकै जगमा व्यावहारिक विज्ञान र प्रविधि उम्रिने हो ।
उदयराज खनाल

काठमाडौँ — राजनीतिले गरिबी उत्पन्न गर्छ । यो सिद्धान्त प्रमाणित गर्ने अमत्र्य सेनले अर्थशास्त्रको नोबेल पुरस्कार पाएको पनि वर्षौं भयो । अन्यथा हीरा खानीका देश गरिब र हीरा काट्ने धनी हुने थिएनन् । भौतिकशास्त्रलाई धनको विज्ञान भन्ने नोबेल पुरस्कृत अब्दुस सलाम सन् १९८९ मा नेपाल आएर एक अन्तर्राष्ट्रिय उच्च प्रविधि केन्द्र स्थापना गर्ने घोषणा गरे ।

त्यसको हाकिम बन्ने सम्भावना नदेखेको हाम्रो वैज्ञानिक नेतृत्वले यस्तो वरदान लत्याएर समय भड्केपछि खोलेको सूचनापार्क भूतबंगला बन्यो । विज्ञानमा दक्ष प्राविधिज्ञ नै विकासको अपरिहार्य स्रोत हो ।

कहिले साहित्यिक र कहिले कलात्मक भावले प्रेरित भएर हामी सान्दर्भिक क्रियाकलापमा लागेजस्तै संस्कारित मनमा वैज्ञानिक भाव उत्पन्न हुनुपर्छ । प्राविधिक परिभाषामा कुनै प्राकृतिक प्रक्रियाको अवलोकनबाट प्राप्त ज्ञानसँंग मिल्दो सैद्धान्तिक प्रतिरूप अर्थात् मोडल तयार पारेर त्यसका निष्कर्षको निरन्तर प्रायोगिक परीक्षण गर्दै उपलव्ध नयाँ नतिजाद्वारा सिद्धान्तलाई अझ परिस्कृत पार्ने विधि हो–विज्ञान। प्रयोगमा पटक पटक विफल हुँदै अन्तमा खारिएको ज्ञान नै प्रज्ञान हो ।

Yamaha

सरल भाषामा भुलबाट सिक्ने अर्थात् ‘ट्रायल एन्ड एरर’ विधि हो भने त्यही भुल दोहोर्‍याउनु आत्मघात । आइन्सटाइनका अनुसार नवीन कार्यको प्रयत्न नगर्नेले मात्र गल्ती गर्दैन । विभिन्न रङको प्रयोगबाट यथार्थ दर्शाउने चित्रकलामा जस्तै सङ्गीत, मूर्तिकला, साहित्य सबै विधामा विज्ञान छ । हजारौं वर्षअघि पिङ्गलाचार्यले छन्दसूत्र निर्माण गर्न द्विमय अर्थात् ‘बाइनरी’ गणितको विकास गर्दै एकबाट एक घटाउँदा रहने शून्यलाई अङ्कको दर्जा दिए । उनले बनाएको अङ्कमेरुले पास्कल ट्राइएङ्गलको नाम पायो ।

प्रकृतिको विधि पनि विज्ञान होस्, मानव निर्माणमा कैयन जीवको प्रयोग भयो, टिक्न नसक्ने जति लोप भए। ठालुका आसेपासेको सय खत माफ हुने हाम्रो समाजमा बारम्बार गर्न नसक्ने जति वरिष्ठ नेता, शैक्षिक गुणस्तर घटाउने शिक्षाविद, उत्पादक क्षेत्र भत्काएर विदेशसँग माग्न जान्ने अर्थविद, कार्यान्वयन हुन नसक्ने योजनाका हावा महल बनाउने योजनाविद । यस्तो परिवेशका कारण वैज्ञानिक संस्कार फस्टाएन, हामीकहाँ ।

मानवको प्रारम्भिक विज्ञानको भण्डार नै वेद हो । निरस ठानिने विज्ञानलाई जनजिब्रोमा बसाल्न, रोचक देवासुर संग्राममा उनिएको थियो । चेक र स्लोभाक भाषाको वेद शब्दले विज्ञान जनाउँछ । अग्निलाई ‘रत्नधातमम्’ भन्ने ऋगवेदको पहिलो मन्त्रको आधुनिक प्रयोगबाट होमकुण्डको बालुवामा साइत जुराउँदै विशेष अणुहरूको चरु चढाएर माइक्रो प्रोसेसरजस्ता बहुमूल्य रत्न प्राप्त हुन्छ ।

श्रुतिलाई ज्ञानको अन्त्य मानेर प्रयोग र थप अन्वेषण गर्नुभन्दा कण्ठस्त पारेर सुरक्षित राख्नुमै सीमित रह्यौं हामी । अहिले एक्कासि परम्परा भत्काएर मात्र विकास हुने भ्रममा छौं । हजारौं वर्ष अघिका पुर्खाले पहाडलाई सुन्दर रूपमा काटेर हिमालको फेदसम्मै खेती गर्न सकिने भूक्षय प्रतिरोधक प्रविधि हस्तान्तरण गरे । ती खेत सिञ्चित गर्ने राजकुलोमाथि डोजर चलाएर सडक बनाउँंदै पानीको निकास नभएको टाउन प्लानिङ गर्छौं । यो भन्दा विपरीत बुद्धि के होला ? बालुवा र कालोमाटोका तहहरू मिलाएर दोहोरो रिचार्ज गर्न बनाएका पोखरीहरूमा घर ठड्याउँदै रानीपोखरी समेत बिगार्न तम्सियौं ।

बानेश्वरमा वाणगङ्गा मार्ग भेटिन्छ । गङ्गालाई पाताल धपायौं । यस्ता सहायक खोलाहरू सुकाएर वागमतीको धार अतिक्रमण गर्ने रिचार्ज निरोधक ढलानमा मोटर दौडाउनुमा विकास देख्छौं । वर्षाको पानी थेग्न सक्ने गणना गरेर धोबीखोलाहरू खुम्चाइएको हो ? कस्ता हाइड्रोलोजिष्टले यस्ता योजना स्वीकृत गर्दा हुन् ? ७ दिने मनसुनी वर्षामा नभरिने वागमतीले एक रातमै ढलमतीको प्रकोप देखाउने तुल्याएर नखाएको विष लाग्यो भन्दै रुनुको के अर्थ?

शिक्षा र भूमिसुधारको खोजमा वैज्ञानिक विशेषण लगाएर विज्ञान नपढी वैज्ञानिक बन्ने यत्नमा पुस्तकालय जलाउँदै प्रयोगशाला फोड्न शैक्षिक हडताल गर्छौं हामी। नयाँ शिक्षाले यस्ता प्रहारलाई संस्थागत गरेको हो । विश्वस्तरीय पाठ्य–सामग्री विस्थापन गर्न, अपुग गणितीय अभ्यास र त्रुटिपूर्ण विज्ञानयुक्त पुस्तक थोपरियो । चुनिएका कलेजमा मात्र विज्ञान पढाउने तोकादेश कार्यान्वयन गर्न, नयाँ प्रयोगशाला भत्काउने विध्वंसी खटिए ।

यस्तै आत्मघातको निरन्तरतामा आफ्नै लिपि लोप पार्न, विकृत र अव्यावहारिक बनाउने आत्मघाती फरमानसँंगै गाडीका नम्बर प्लेटमा एम्बोज गर्न नसकिने असत्य फैलाइन्छ । सफ्टवेयर निर्यात गर्ने युवाले जावो अनलाइन भिसा आवेदनको मूल्यांकन गर्न सक्दैनन् भन्दै दुरुत्साहित गरिन्छ । विदेशीलाई योजनाहरू सुम्पेर हाम्रो दक्ष जनशक्ति भरियामै सीमित राखिन्छ । हिमाली पाखा तह लगाउने परिश्रमी नेपालीले विश्वभर इमानदारीको ख्याति कमाएर न्यूनदेखि उच्च तहसम्मको क्षमता प्रदर्शन गरे पनि आफ्नै देशमा त्यस्तो क्षमता देखाउनबाट बञ्चित छन् ।

युवाको आत्मविश्वास हरेर यहाँका खेत बाँझो छाड्दै लाहुरिनेको रेमिटेन्समा मस्ती मार्ने परम्परा छ । विश्वका पुँजीपतिले ५/७ प्रतिशतको नाफामा मोटरगाडी बनाएर बेच्छन्, हाम्रा समाजवादी नेताले त्यसमा २०० प्रतिशतभन्दा बढी कर असुलेर विलासी जीवनयापन गर्छन् । कृषक र श्रमिक अवहेलित अवस्थामा छन् । बौद्धिक क्षमता प्रदर्शन गर्न चाहने जति मुसा सरह । हुन पनि डाक्टरी र इन्जिनियरिङ पेसा त पार्टीगत भएको बेला, स्वतन्त्र चिन्तनभन्दा पार्टीका उपगुटीय नेताको जी–हजुरीबाट बौद्धिक जीविका चलाउन सजिलो हुने परिस्थिति छ।

पठन र लेखनसँंग गणितलाई विज्ञानको प्रतिनिधि बनाएर आधारभूत शिक्षालाई अंग्रेजीमा ‘थ्री आर’ भनियो । हाम्रा विद्यार्थीको गणित सशक्त भएकोले एस्एटी र जीआरईमा उच्चाङ्क ल्याएर विख्यात विश्वविद्यालयमा प्रवेश पाउँथे । कस्तो शिक्षाविदले व्यावहारिक विज्ञानमा अग्र गणित नचाहिने ठानेको होला ? गणित नबुझेकाले विज्ञान नै अप्राप्य बनाएर दातामा आश्रित तुल्याउँदैछन् । भौतिकशास्त्रमा तरङ्ग समीकरणको सरल हल सिकाइन्छ भने भूकम्पन खोज्न कम्प्युटर चाहिन्छ ।

विज्ञानकै जगमा व्यावहारिक विज्ञान र प्रविधि उम्रिने हो । अन्यत्रबाट झिकाइएका उच्च प्रविधिजन्य महंँगा उपकरण, चलाउन नजानेर या फ्युज बदल्न नसकेर यसै थन्किन्छन् । उहिल्यै ‘विकासका लागि भौतिकशास्त्र’ भन्ने प्रवचन सुनेर सुझाव दिएको थिएँ– विकास गर्ने भागमात्र पढाएर तीव्र विकास गरौं । तथाकथित जीवनोपयोगी शिक्षा बाहेक अरू सबै अनुपयोगी हो ? विज्ञानमा गर्नैपर्छ, गफले हुँदैन । स्नातकोत्तरसम्मै प्रयोगात्मक कक्षा बहिस्कृत् छन् भने डाक्टरी र नर्सिङ पढ्न अस्पताल र स्थायी शिक्षक अनावश्यक ठानिन्छ ।

खेलकुद र प्रयोगात्मक कक्षाको अनुशासन नबेहोरेकाबाट कस्तो कार्यसम्पादन होला ? ६ महिना हिउँले ढाक्ने खेतमा २ प्रतिशतभन्दा कम श्रमशक्ति उपयोगले जर्मनीका कृषकहरू अत्यधिक उत्पादन गर्दै समुद्रमा फाल्छन् । वातानुकूलित कक्षमा बसेर ड्रोनबाट खेतको रेखदेख गर्छन्। बाह्रै महिना बाली लाग्ने हाम्रो खेतमा आधाभन्दा बढी जनशक्तिले रातदिन खुन–पसिना बगाउँदा पनि खान पुग्दैन । हाम्रा किसानका खेतमा विज्ञान पुग्न सकेन, त्यहाँ विज्ञान पुग्नु पर्छ। अनिमात्र देश विकास हुन्छ।

‘विश्वकै दोस्रो जलशक्तिवान’ देशका खेतहरू आकाशे पानीको भरमा छन् । कृषकलाई दाना नलाग्ने बीउ बेचिन्छ । गुणस्तरहीन मल किन्न कुस्ताकुस्ती गर्नुपर्छ । चिनी मिलले ऊखु सुकाएर मात्र किन्छ, तैपनि पैसा दिंँदैन । कुहिएको विदेशी धुलो दूधले बजार ओगटेर ताजाजति सडकमा पोख्छन् । यस्ता नियोजनले कृषकलाई ऋणमा डुबाएर मिनाहाको राजनीतिक लाभ उठाइन्छ ।

ब्राउन राइसको महत्त्व बुझेको विश्वमा जुम्ली मार्सीको कस्तो माग जगाउन सकिएला ? यस्तो अद्भुत धानको उत्पादकत्व बढाउने अणुवंश अरू रैथानेमा प्रसारण गर्ने विज्ञानको सट्टा प्रायोजित बीउले विस्थापित गरेर जैविक विविधता नष्ट गर्दैछौं । हाम्रो मालभोग जति स्वादिष्ट केरा कतै भेटिन्न, ऐंँसेलु र काफल त्यतिकै दुर्लभ छन् । कस्तूरीलाई मारेर लोप तुल्याउनु सट्टा फार्ममा हुर्काएर मनग्ये कमाउन सकिन्छ । अहिले यार्सागुम्बा टिप्नेको लर्को हेर्दा केही वर्षमै निर्मूल हुन्छ जस्तो लाग्छ ।

के त्यसको ‘कल्चर’ गर्ने प्रविधिको विकास गर्न सकिन्न ? हिमालका वासिन्दालाई आधुनिक भेडा पालन र ऊनको प्रशोधन सिकाएर, ट्विडसंँग प्रतिस्पर्धा गर्दै हजारौं वर्ष अघिको ख्याति पुन: प्राप्त गर्न सकिन्छ । हाम्रो लोक्ता लगेर जापानले आफ्नो नोट छाप्छ, हामी गुणस्तरहीन कागजमा छाप्ने विदेशी खोज्छौं । हजारौं वर्ष अघिदेखि नेपालमा टंकन गरिएको सिक्का आजकल विदेशबाटै आउँछ । दाउराको भाउमा विदेशिने बहुमूल्य रत्न र जडिबुटीको सामान्य प्रशोधन गरे पनि आम्दानी कैयन गुणा बढ्ने थियो ।

हाम्रो प्राविधिक जनशक्तिलाई यसतर्फ लगाउनसके देशको गरिबतम वासिन्दा धनवान हुन्थे । स्याउ खेती लोकप्रिय भयो । तर जाम बनाउन नसिकाएकाले कुहियाउँदै मदिरा बनाउंँछन् । विदेश देखेकाले व्यक्तिगत प्रयत्न गरेका छन् । तर त्यो दिगो हुँदैन । नेपालको दुर्भाग्य भनेकै सुयोग्य नेतृत्वको अभाव हो । भारतका एकजना स्वामिनाथानको हरित क्रान्तिमा सबै जुटेर कृषि उत्पादकत्व बढाए । त्यहाँ उत्पादनको नभएर वितरणको राजनीतिक समस्यामात्र बाँकी छ ।

बच्चैदेखि सुनिएको कर्णालीमा कति खर्च भयो ? तर एउटा ढुंगा सार्ने काम पनि भएन । नर्वेलीले आफ्नो जलविद्युत विकास गर्न दुर्गम क्षेत्रका पानीघट्टहरूमा डाइनामो जोडेर गाउँघर सजिलैसंँग झिलिमिली र न्यानो पारे । तबसम्म गरिब रहेको देशले केही ठूला जलविद्युत योजनाबाट उद्योग चलाएर अहिले विश्वकै उच्चतम जीवनस्तर हासिल गरेको छ । नेपालीले डिजाइन गरेको पानीघट्ट कतैकतै प्रयोगमा छ, तर यहाँका गाउँघर चिसो र अँधेरो, पानीघट्टै लोप हुने अवस्था छ । फर्पिङमा एसियाकै दोस्रो जलविद्युत गृह बनाउने हामी फोहोर उठाउनसमेत विदेशी सहायता खोज्दै मतदानको बेला कलम र मसीको गुहार माग्छौं । यस्तो मगन्ते मानसिकता त्यागेर जबसम्म हाम्रा नेता दक्ष वैज्ञानिक र प्राविधिकको उत्पादन र उपयोगमा कटिबद्ध हुँदैनन्, तबसम्म समृद्धि एक मृगतृष्णा मात्र हुनेछ ।

खनाल त्रिविमा भौतिकशास्त्रका प्राध्यापक हुन् ।

Esewa Pasal

प्रकाशित : श्रावण १, २०७५ ०८:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

राजनीतिले जे गर्न सक्दैन फुटबलले गर्छ

सम्पादकीय

काठमाडौँ — हरेक चार वर्षमा विश्वकप फुटबल अवसर र सिर्जना लिएर आउँछ । स्वभावैले यसको बढी लाभ विश्वकप आयोजक राष्ट्रले लिन्छ कि विजेता राष्ट्रले । लाभका बाछिटाहरू भने विश्वभरै छरिन्छन् । कतिपय मुलुक/कम्पनीका लागि आर्थिक लाभको मौका हुन्छ, कोहीका लागि मनोरञ्जनको बहाना बन्छ भने कसैलाई कला सिक्ने अवसर ।

विश्वकप आयोजक देशको प्रतिष्ठासँग जोडिएको हुन्छ । रूसमा आयोजना हुने टुंगो लाग्दादेखि नै सुरक्षालाई लिएर चिन्ता जनाइएको थियो, फुटबल संस्कार नभएको देश भन्ने गरिएको थियो, दर्शक कम होलान्, बरु हुलदंगा हुन सक्ला भन्ने आशंका गरिएको थियो । आयोजक राष्ट्रले देशको प्रतिष्ठा कायम गर्‍यो ।

फुटबल जति सुन्दर खेल हो, उति शक्तिशाली । विश्वकप भइन्जेल यसले विश्वको ध्यानाकर्षण गर्‍यो । भाइचारा बढायो । एकताभाव जगायो । सामूहिक भावना सिर्जना गर्‍यो । राजनीतिले जति विभाजन गरेको होस्, फुटबलले जोड्यो । राजनीतिले जे गर्न सक्दैन, फुटबलले सक्छ भनेर त्यसै भनिएको होइन ।

बीस वर्षपछि विश्वकप ट्रफी उचाल्न सफल फ्रान्सेली टोली हेरौं न । फुटबल उत्कृष्टता प्रदर्शन गर्दा उक्त युरोपेली राष्ट्रले फुटबल मैदानमा प्राप्त सफलताबाट फेरि एकजुट हुने राम्रो बहाना पाएको छ । फ्रान्सेली टोलीमा १४ जना अश्वेत खेलाडी छन् । त्यसमा अधिकांश अफ्रिकी मूलका छन् । धेरैले फ्रान्सको फुटबल टोलीलाई अफ्रिकन युनाइटेड पनि भन्छन् । फाइनलमा गोल गरेका पाउल पोग्बाका दाइ फ्लोरेन्ट पोग्बा अफ्रिकी राष्ट्र गिनीबाट खेल्छन् । फाइनलमा गोल गरेका अर्का किलियन एमबाप्पे पनि अफ्रिकी मूलका हुन् । उनका बुबा क्यामरुन र आमा अल्जेरिया मूलका हुन् । फुटबलले उनीहरूलाई फ्रान्स पुर्‍यायो, उनीहरूले फ्रान्सलाई विश्वकपमा पुर्‍याए र उपाधिसमेत दिलाए ।

विश्वकप विजेता बन्नुअघि फ्रान्सको फुटबल लगभग शून्यबाट उठेजस्तो थियो । चार वर्षअघि ब्राजिलमा भएको विश्वकपका क्रममा फ्रान्सेली टिममा एकपछि अर्को अनुशासनहीनताका घटना देखिए । टिम फुटको क्रमबाट गुज्रेको थियो । यस्तो लागेको थियो, मानौं फ्रान्सेली फुटबल आफैं फुटको संघारमा छ । ठीक त्यही बेला फ्रान्स आफैं पनि सामाजिकदेखि राजनीतिकसम्मका धेरै परिवर्तनबाट गुज्रियो । त्यही कारण फ्रान्स विखण्डनको मोडमा पुगेको अनुमान गरिएको थियो ।

३९ वर्षीय इमानुएल म्याक्रोन फ्रान्सेली राष्ट्रपति भएको एक वर्षभन्दा बढी भएको छैन । उनको कार्यकालमा धेरै फेरदबल भएको छ । सबैभन्दा ठूलो परिवर्तन फ्रान्समा देखिएको एकता हो । त्यो एकता धेरै हदसम्म फुटबलले कायम गरेको छ । राष्ट्रलाई एकीकृत गर्न फुटबल र खेलकुदको शक्ति कति हुन्छ भने फ्रान्सले गोल गरेपछि म्याक्रोनले भीआईपी बक्सबाट खुसियाली मनाइरहेको तस्बिरमा देख्न सकिन्छ । म्याक्रोन र फ्रान्स आतंकवादसँगको लडाइँमा सफल भइसकेका छैनन् । फुटबलको यो सफलताका कारण आतंकवादबाट त्रसित फ्रान्समा शान्त वातावरण छाएको छ । यही शान्त माहोलमा पेरिसस्थित आइफेल टावरअगाडि लाखौं मानिसले फ्रान्सको विजयमा स्व:स्फूर्त जुुलुस निकालेका छन् ।

क्रोएसियाको फाइनलसम्मको यात्रा पनि परीको कथाजस्तै छ । जनसंख्याका हिसाबमा पनि नेपालभन्दा क्रोएसिया धेरै सानो राष्ट्र हो । युगोस्लाभियाबाट सन् १९९१ मा स्वतन्त्र भएको क्रोएसियाले १९९३ मा आधिकारिक फुटबल खेल्न थालेको हो । ४० लाख जनसंख्या भएको यो देश २५ वर्षअघि विश्व फुटबल वरीयता क्रममा नेपालकै बराबरीमा थियो । त्यसको ५ वर्षमा पहिलो पटक विश्वकप खेल्दा सेमिफाइनल पुगेको क्रोएसिया अहिले त्यसै फाइनल पुगेको होइन ।

रूसलाई आयोजना, प्रतिस्पर्धी मुलुकलाई हार–जित तथा अरूलाई राजनीतिक, आर्थिक लाभ–हानिसँगै मनोरञ्जनका कारण अविस्मरणीय बन्दै यसपालिको विश्वकप सकियो । यस्तै, लाभ र अवसरका लागि चार वर्षपछि हुने कतार विश्वकपको कुराइ सुरु भयो।

प्रकाशित : श्रावण १, २०७५ ०८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT