वनस्पतिको विनाश

कमल मादेन

काठमाडौँ — मुस्ताङ, मनाङ, म्याग्दी, गोर्खा र डोल्पा जिल्लाका उच्च हिमाली भेगमा विश्वमा कतै नपाइने गुराँसको एक रैथाने प्रजाति पाइन्छ । सन् १९५२ मा उक्त गुराँस प्रजातिको नामकरण ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ भएको हो ।

यसको बोट ४, ५ इन्च अग्लो र फूल अत्यन्त आकर्षक पहेंलो रङमा फुल्छ । बेलायतका कानुन व्यवसायी जेडिए स्टेन्टनले मनाङबाट उक्त दुर्लभ गुराँस प्रजातिको बीउ सन् १९५४ मा संकलन गरेर बेलायत लगे । जानकारहरूका अनुसार उक्त गुराँस बेलायतमा मनग्यै रोप्ने गरिएको छ । यता, अधिकांश नेपाली वनस्पतिविद् भने उक्त प्रजातिबारे बेखबर छन् ।

लालध्वज प्रजाति
बेलायतका महाराजा जर्ज पाँचौंले चन्द्रशमशेर जंगबहादुर राणालाई नेपालको उच्च भूभागबाट वनस्पतिको बीउ तथा नमुना संकलन गरी बेलायत पठाउन अनुरोध गरेका थिए। चन्द्रशमशेरले चाँजोपाँजो मिलाउन नेपाली सेनामा कार्यरत मेजर लालध्वज सुनुवारलाई खटाए। मेजर लालध्वजले पश्चिम, मध्य र पूर्वी नेपालबाट वनस्पतिको बीउ र नमुना संकलन गरे । उनी सेनाको टुकडीसहित वनस्पति संकलन गर्न जान्थे । यो कुरा पंक्तिकारसँग उनकी एक बुहारीले ६ वर्षअघि बताएकी थिइन् । उनले के कति प्रजातिका बीउ तथा नमुना संकलन गरे भन्ने जानकारी छैन तर उनले उल्लेख्य संख्यामा रैथाने प्रजाति संकलन गरे । उनको निधन वनस्पति संकलनकै दौरान सन् १९३१ मा मुक्तिनाथमा जनैपूर्णिमाको दिन भयो ।

लालध्वजले संकलन गरेको एक नमुना वनस्पतिविद सिरो कितामुरा (सन् १९०६–२००२) ले लालध्वजकै सम्झनामा ‘सौसुरिया ध्वजी’ नामकरण गरे । त्यो सहित उनैले संकलन गरेका नमुनाबाट ‘सिनोकारुम नोर्मानियएनम,’ ‘ओनोस्मा बेरुकुलसोसम’, ‘कोलुटिआ मल्टिफ्लोरा’, ‘जेन्टिनिया पेन्टास्टिक्टा,’ ‘मेकोनोप्सिस ग्रासिलिप्स,’ ‘प्रिमुला डिडिमा’ नामकरण गरिएका हाम्रा रैथाने वनस्पति हुन् । ‘एकोनिटम ध्वजी,’ ‘टेट्राटाइनियम लल्ली,’ ‘मेकोनोप्सिस ध्वजी’, ‘सेक्सिफ्रागा स्फेइराडेना उपप्रजाति ध्वजी’ लालध्वजकै सम्झनामा नामकरण गरिएका गैररैथाने प्रजाति हुन् । लालध्वजबाट लालध्वजिया नामक एक जिनस (जात) नै नामकरण गरिएको छ । उक्त जातका संसारभरमा ४ प्रजाति नामकरण भएका छन् ।

उनको निधनपछि उनको कामको जिम्मा खडानन्द शर्मालाई दिइयो । शर्माका नाममा एक रैथाने वनस्पतिले ‘प्रिमुला शर्मी’ नाम पाएको छ । त्यो वनस्पतिको बीउ शर्माले सन् १९३१ मा मुक्तिनाथ क्षेत्रबाट संकलन गरेका थिए । त्यसको बीउ बेलायतस्थित तत्कालीन रोयल पार्कमा उमारियो । वनस्पतिविद् एचआर फ्लेट्चरले उक्त बीउबाट उमारिएको वनस्पति विश्वको निम्ति नयाँ पाए र सन् १९४१ मा त्यसको नाम शर्माको सम्मानमा ‘प्रिमुला शर्मी’ लेखे । शर्माले संकलन गरेका नमुनाबाट नामकरण गरिएका अन्य रैथाने प्रजाति ‘सायन्यान्थस हेयनस’, ‘साइलिन हेल्लेबोरिफ्लोरा’, ‘जेन्टिनिया रेडिकान्स’, ‘इयुफ्रासिया नेपालेन्सिस’ हुन् । वनस्पति अध्ययन, अनुसन्धान क्षेत्रमा खडानन्द शर्माको योगदान महत्त्वपूर्ण छ तर उनीबारे थोरै मात्र जानकारी छ ।

जन्तु तथा वनस्पतिको नेपाली रैथाने सूची विभिन्न प्रकाशनमा पाउन सकिन्छ । त्यसमध्ये फूल फुल्ने वनस्पतिको रैथाने सूची निकै पटक वन मन्त्रालयको वनस्पति विभागले प्रकाशन गरेको छ । पछिल्ला प्रकाशनहरूअनुसार नेपालमा ३ सय १३ प्रजातिका फूल फुल्ने रैथाने वनस्पति प्रजाति सूचीकृत छन् । यहाँ लगभग ६ हजार प्रजातिका फूल फुल्ने वनस्पति भएको अनुमान छ । फूल फुल्ने वनस्पतिमध्ये करिब ५ प्रतिशत रैथाने छन् । तिनीहरूमध्ये २० प्रतिशत अर्थात ६३ प्रजाति अन्नपूर्ण संरक्षण क्षेत्रमा छन् । रैथाने प्रजाति बाहुल्यका कारण अन्नपूर्ण संरक्षण क्षेत्र जैविक भूगोलका लागि ‘हब एरिया’ हो । यो क्षेत्र मुस्ताङ, मनाङ, म्याग्दी, कास्की, लम्जुङ जिल्लामा फैलिएको छ । मुस्ताङमै मात्र ३५ प्रजाति अर्थात ११ प्रतिशत रैथाने प्रजाति छन् ।

मुस्ताङमा फूल फुल्ने वनस्पति समूहको ३५ प्रजाति मात्रै रैथाने छन् भन्नु अन्यथा हुन्छ । अहिले सूचीकृतमध्ये नै मुस्ताङबाट संख्या थप हुन सक्छ । किनभने अनुसन्धानकर्ताहरूले सूचीकृत गरेका ३१३ प्रजातिमध्ये २७ प्रजाति कुन जिल्लाबाट संकलन गरिएका थिए, यकिन भइसकेको छैन । संकलन गरेको ठाउँको नाम मात्र छ । २७ मध्ये २२ प्रजातिमध्ये नेपालबाट संकलन भएका हुन् । नमुनामा उल्लिखित स्थान पोङसिङ, खहरे खोला, बिर्ता खर्क, तेते, पंजेन, मुल्मुले खोला, भूत पोखरी, सेर्माबी, बरबुङ खोला, चिसे, बाङ्गा खोला, बास्ता भन्ज्याङ मध्यनेपालका कुनकुन जिल्लामा पर्छन्, थप अध्ययन आवश्यक छ ।

सामान्यत: अभिलेख राख्ने क्रममा वनस्पति पाइएको जिल्ला, ठाउँको नाम, भूसतहको उचाइ, अक्षांश, देशान्तर, वनस्पतिको सटिक विवरण, संकलनकर्ता, पहिचानकर्ता लेख्नुपर्छ । नेपालको वनस्पतिको वैज्ञानिक अध्ययन अनुसन्धान सन् १८०२ मा सुरु भएको हो । त्यसबेला अहिलेका जिल्ला नामकरण भएकै थिएनन् । त्यसैले उहिले संकलन गरिएका नमुना कुन जिल्लाबाट संकलन भएका थिए भन्ने थाहा पाउन वरिष्ठ वनस्पतिविद केशवराज राजभण्डारीसहित वनस्पति विभागका वनस्पतिविद सञ्जीवकुमार राई, गंगा भट्ट, रीता क्षत्री, सुवास खत्रीले मिहिनेत गरेका छन् । उनीहरूको अथक अध्ययनको परिणामबाट रैथाने ३१३ प्रजातिमध्ये २८६ प्रजाति कुन जिल्लाबाट संकलन गरिएका थिए भन्ने पहिचान भइसकेको छ ।

Yamaha

विभागको अव्यवहारिक नीति
हाम्रा सबै रैथाने प्रजातिका नमुना छैनन् । विदेशमा संगृहीत छन् । वनस्पतिका नमुना वनस्पति विभागअन्तर्गत रहेको ‘नेसनल हर्वारियम तथा वनस्पति प्रयोगशाला’ गोदावरीमा संगृहीत छ । नेपालमा ६ हजार प्रजाति फूल फुल्ने वनस्पति हुन सक्ने अनुमान छ । त्यसमध्ये ४ हजार ४ सय ४३ प्रजातिका नमुना ‘नेसनल हर्वारियम तथा वनस्पति प्रयोगशाला’ मा संगृहीत छन् भन्ने जानकारी वनस्पति विभागले प्रकाशन गरेको ‘क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्ट्स, पार्ट १–३ र सप्लिमेन्ट एक’ बाट पुष्टि हुन्छ । अर्को जानकारीअनुसार उक्त संग्रहालयमा ४ हजार ४ सय ४३ प्रजातिका करिब १ लाख ६० हजार थान नमुना छन् । त्यसमध्ये १३० प्रजाति रैथानेका नमुना संगृहीत रहेको कार्यालय स्रोतले जनाएको छ ।

नेपालको रैथाने सम्बन्धित तथ्यांक प्रकाशित पुस्तक तथा वैज्ञानिक लेखबाट तयार गरिएका हुन् । ती रैथाने प्रजाति तिनका प्राकृतिक बासस्थानमा के कस्तो अवस्थामा छन् भन्ने जानकारी शून्य बराबर छ । यस अर्थमा नेपालमा वनस्पतिसम्बन्धी अध्ययन, अनुसन्धान एकदमै कम भएको मान्नुपर्छ । सन् १८०२ देखि १९६० सम्म नेपालको वनस्पति विदेशीले मात्रै अध्ययन, अनुसन्धान गर्थे । लालध्वज सुनुवार र खडानन्द शर्मा नेपाली भए पनि उनीहरूले बेलायतका लागि वनस्पति संकलन गरेका थिए । नेपाल सरकारले नेपालको वनस्पति अध्ययन, अनुसन्धान सन् १९६१ मा ‘डिपार्टमेन्ट अफ मेडिसिनल प्लान्ट्स’ स्थापना गरेयता सुरु गर्‍यो । उक्त विभाग हिजोआज वनस्पति विभागको एक शाखा ‘राष्ट्रिय हर्वारियम तथा वनस्पति प्रयोगशाला’ का रूपमा छ । वनस्पति संकलन, अध्ययन, अनुसन्धान कार्य त्यही शाखाले गर्दै आएको छ । जापान तथा बेलायतका वनस्पतिविद बर्सेनिजसो १/१ महिना नेपालका विभिन्न भागमा वनस्पति संकलन गर्न आउने गरेका छन् ।

वनस्पति विभागको अहिले प्रावधान कस्तो छ भने जहाँ गए पनि १ साताभित्र अनुसन्धानकर्ता काठमाडौं आइपुग्नैपर्छ । यसअनुसार पूर्व ओलाङचुङगोला होस् अथवा हुम्लाको लिमी क्षेत्र वनस्पति संकलन, अध्ययन गर्ने काम १ सातामा सम्पन्न गर्नुपर्ने हुन्छ । यसका लागि काठमाडांैबाट वनस्पति अध्ययन, अनुसन्धान गर्ने टोली दुर्गम ठाउँमा जहाँसम्म हवाईजहाजबाट जान सकिन्छ, त्यहाँसम्म जहाजमा जान्छन्, त्यसपछि पैदल हिंड्दै तोकेको ठाउँ पुगेर १ सातामा टुप्लुक्क कार्यालय हाजिर गर्न आइपुग्छन् । यसैले अहिलेसम्म हुम्लाको लिमी क्षेत्रमा वनस्पति विभागले कसैलाई वनस्पति संकलन गर्न पठाउन सकेको छैन । त्यहाँ पुग्न हुम्लाको सदरमुकाम सिमकोटबाट कम्तीमा ५ दिन लाग्छ । त्यो पनि जाने बाटो सधैंभरि हुँदैन । हिउँले पुरिएको हुन्छ । चैत–वैशाखदेखि असारसम्म जान सहज हुन्छ ।

नेपालमा रैथाने प्रजातिबारे विशेष खोज, अनुसन्धान भएकै छैन। केही प्रजाति करिब २ सय वर्षअघि पत्ता लागेका हुन् । तिनीहरू अहिले अस्तित्वमा छन्/छैनन् कुनै खोज भएको छैन । सरकार वन तथा भूसंरक्षण मन्त्रालयले प्रकाशन गरेको ‘वन नीति’ (२०७१) मा लेखिएको छ– ‘नेपालको कुनै पनि जैविक विविधता र जैविक स्रोत नष्ट हुन नदिने व्यवस्था मिलाइनेछ’ (पृष्ठ १०) । हाम्रा रैथाने वनस्पति लोप भए विश्वबाटै लोप हुने यथार्थ छ । यसैले तिनको सुरक्षा गर्ने जिम्मा नेपालीकै हो । अब ‘वन नीति’ मा लेखिएअनुसार हाम्रा रैथाने प्रजातिप्रति राज्यले विशेष ध्यान पुर्‍याउन जरुरी छ ।

वनस्पति वा जन्तु प्रजाति कुनै खास भूगोल अथवा एक देश विशेषमा मात्र पाइए त्यस्ता प्रजातिलाई जीवन विज्ञानअन्तर्गत उल्लिखित भूगोल वा देशको रैथाने प्रजाति (इन्डेमिक स्पेसिस) भनी बुझिन्छ । यसर्थ, रैथाने प्रजाति कुनै देश, टापु, उच्च भूशृंखला, मरुभूमि विशेषका हुन्छन् । बासस्थानको विशिष्ट बनावटका कारण मौजुदा बासस्थानबाट रैथाने प्रजाति अन्यत्र फैलिन नसकिरहेको अवस्था हुन्छ । मानिसले जानीजानी एक देशका रैथाने प्रजातिलाई अन्य देशमा लगे त्यो जुन देशमा प्राकृतिक रूपमा मात्र पाइन्छ, त्यो त्यही देशको रैथाने मानिन्छ । जस्तो– चीनमा पाइने संसारकै ठूलो पान्डा प्रजाति विश्वका कतिपय चिडियाघरमा भए पनि त्यो चीनको रैथाने मानिन्छ ।

मादेन वनस्पतिविद् हुन् ।

Esewa Pasal

प्रकाशित : श्रावण २०, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बलात्कारमाथि सतही बहस

रेणु अधिकारी राजभण्डारी

काठमाडौँ — बलात्कार, बलात्कारपछि हत्याजस्ता समाचार सुनिन्छ, पढिन्छ । घटनालाई सम्बोधन गर भनेर प्रतिक्रिया आउँछन् । कोही कसैको प्रतिक्रिया बाहिर देखिएन भने अनेक थरी टिप्पणी हुन्छन् । कानुन दह्रो भएन भन्ने पीडा व्यक्त गर्छौं । सीमित प्रतिक्रियापछि हामी चुप लाग्छौं ।

अर्को घटना घट्यो भने प्रतिक्रिया दिन तयार भएर बस्छौं । यो क्रमले केही समयदेखि निरन्तरता पाइराखेको छ ।

०७० वैशाखदेखि असारसम्म बलात्कारका १४९ र बलात्कार प्रयासका १४ वटा घटना वोरेक नेपालको रेकर्डमा थियो । २०७५ वैशाखदेखि असारसम्म १०१ वटा बलात्कारका घटना रेकर्ड भएका छन् । तीमध्ये ३ जनाको बलात्कारपछि हत्या गरिएको छ भने थप ४ जना सामूहिक बलात्कारमा परेका छन् । वोरेकको रेकर्डमा सन् २०१३ मा ३ सय ७५, २०१४ मा ४ सय ४०, २०१५ मा २ सय ५७, २०१६ मा १ सय ८८, २०१७ मा १ सय ६८ र २०१८ मा अहिलेसम्म २ सय ३० वटा बलात्कारका घटना छन् । प्रहरीले गत वर्ष सार्वजानिक गरेको तथ्यांकअनुसार हरेक दिन तीन जनाभन्दा बढी महिला बलात्कृत हुने गरेका छन् । धेरै घटना बाहिर आउँदैनन्, प्रहरीकहाँ पनि पुग्दैनन् ।

बलात्कारका घटना सार्वजनिक भएपछि खास गरी महिला अधिकारकर्मीमाथि काम नगरेको, नबोलेको, डलर खाएको जस्ता आरोप लाग्ने गरेका छन् तर यस्ता हिंसाविरुद्ध महिला अधिकारकर्मी चुप भने बसेका छैनन् । २०७० सालको त्रासदीपूर्ण घटना बाहिर आएपछि महिला मानव अधिकार रक्षकले राष्ट्रिय अभियान सञ्चालन गरेका थिए । विभिन्न जिल्लाबाट आएका पीडित महिला भद्रकालीमा धर्ना बसे । फलस्वरूप बलात्कारविरुद्ध उजुरी गर्ने हदम्याद ३५ दिनबाट ६ महिना भयो । महिला मानव अधिकार रक्षकले फास्ट ट्रयाक कोर्टको माग गर्दै धर्ना दिए । वैदेशिक रोजगारीबाट फर्केकी भोजपुरकी युवतीमाथि अध्यागमनका कर्मचारीबाट भएको बलात्कार अनि मुद्दाको ढिलो सुनुवाइजस्ता कुराबाट उद्वेलित हँुदै युवाले ‘अकुपाइ बालुवाटार’ अभियान चलाए । कञ्चनपुरकी महिला मानव अधिकार रक्षक लक्ष्मी बोहोराको हत्याबारे छानबिन गर्न माग राख्दै माइतीघर मण्डलामा २५ दिने अनशन चल्यो । कालो पेटीकोट जुलुस निस्कियो । त्यसपछि तत्कालीन संविधानसभाका अध्यक्षले सरकारलाई महिला हिंसाविरुद्ध कानुन बनाउन रुलिङ गरे ।

अहिले घरेलु हिंसाविरुद्ध कानुन छ, बलात्कारविरुद्ध हदम्याद बढेको छ, धेरै जिल्लामा सुरक्षागृह, अस्पतालमा एकद्वार संकट प्रणालीको व्यवस्था भएको छ । महिलाका विशेष घटनालाई संवेदनशील तरिकाले फास्ट ट्रयाक प्रयोग गरेर फैसला पनि भएको छ । यति हुँदाहुँदै पनि त्रासदी रोकिएको छैन । न बलात्कारका घटना कम भएका छन्, न त बलात्कृतले न्याय प्राप्त गर्न सहज छ । आखिर यस्तो किन भएको छ, बहस हुनुपर्छ ।

कुनै व्यक्तिमाथि अर्को व्यक्तिले शारीरिक मानसिक, यौनिक वा अन्य कुनै पनि प्रकारको हिंसा कति बेला गर्न सक्छ भन्ने बुझेपछि बलात्कारको त्रासदी किन निरन्तर छ भन्ने जान्न सकिन्छ । त्यसपछि यो त्रासदीको निवारण प्रेस विज्ञप्ति वा फेसबुके भित्ता रंगाइले मात्रै सम्भव छैन, गहिरो प्रतिबद्धता चाहिन्छ भन्नेमा प्रस्ट हुन सकिन्छ ।
हिंसा जहिले पनि शक्ति बढी हुनेले कम हुनेमाथि गर्छ । चाहे त्यो शारीरिक शक्ति होस् वा आर्थिक सामाजिक, महिलामाथि हुने हिंसाको चुरो कारण त्यही हो । समाजमा विभिन्न मूल्यमान्यताका आधारमा पुरुषलाई अत्यन्तै शक्तिवान् बनाइएको छ । महिलामाथि हिंसा पुरुषद्वारा धैरै भएको छ । महिला र पुरुषको यौनिकतालाई हेर्ने दृष्टिकोण विभेदपूर्ण छ । महिलाको शरीर अरूको अधीनमा रहनुपर्छ भन्ने मानिन्छ । देश चलाउनेहरूदेखि लिएर घरका मालिक मानिनेको बोली र व्यवहारले त्यसलाई पुष्टि गर्छ ।

धेरै बच्चा महिलामाथि हिंसा हुनु स्वाभाविक हो भन्ने सिक्दै हुर्किएका छन् । कठिन परिस्थितिमा रहेकाहरूले माया भनेकै नियन्त्रण हो कि भनी बुझ्ने स्थिति छ । माया, सही सोच र बाटो देखाउन न अहिलेको शिक्षा सक्षम छ न त समाज । यौन आधारभूत आवश्यकता हो । यौन चाहना जीवन विकासक्रमको कडी हो । पश्चिमा मनोविज्ञ अब्राहम मास्लोले मानिसको पहिलो आवश्यकताका रूपमा खाना, नाना, छानाजस्ता कुरालाई राखेका छन् भने दोस्रो आवश्यकतामा यौन । अरू आवश्यकता समाजमा पाउने माया, सम्मान हुन् । मानिसलाई ‘मेरो यो समाजमा मूल्य छ, मैले केही गर्न सक्छु’ भन्ने विश्वास हुनुका साथै आफूले गरेको काममा सन्तुष्ट हुन पाउने वातावरण चाहिन्छ ।

अहिलेको हाम्रो समाज दुइटा स्थितिले निर्देशित छ । पहिलो, शक्तिवान् खासगरी सत्ता (राजकीय सत्ता) मा रहेकाको दम्भ हो । उनीहरूमा मैले जे गरे पनि हुन्छ भन्ने बुझाइ छ । दोस्रो, सामाजिक घरको सत्तामा रहेका व्यक्ति (पुरुष र पितृसत्तात्मक संरचनाबाट डोरिने समूह) हुन् जसमा महिलालाई ‘हामीले जे गरे पनि हुन्छ’ भन्ने मानसिकता छ । यस्तो समाजमा मनिसले न माया पाउन सक्छ न त सही सोच्न । यसबाट महिला–पुरुष सबै पीडित हुन्छन् । त्यस्ता व्यक्ति कहिल्यै सन्तुष्ट हुन सक्दैनन् । विभिन्नखाले कुण्ठाबाट ग्रसित हुन पुग्छन् । यौनबारे खुलेर कुरा गर्नु, यौनलाई मर्यादित परिधिमा राखेर बुझ्नु, मानवीय यौनिकतालाई उसको व्यक्तित्व विकास, सिर्जनशीलतासँग जोडेर हेर्नुलाई अपराध मानिने समाजमा यौन दुव्र्यवहार, यौन हिंसा हुने गर्छन् ।

मानसिक रूपले स्वस्थ व्यक्ति अर्कालाई पीडा दिएर आफू खुसी हुन सक्दैन । मानसिक रूपमा विक्षिप्त व्यक्तिहरू मात्रै अरूको पीडामा रमाउन सक्छन् । यो विभिन्न अनुसन्धानमा आधारित सत्य हो । हाम्रो समाजमा के त्यस्ता तत्त्व छन्, जसले एउटा ठूलो जनसंख्यालाई मानसिक विक्षिप्तताको अवस्थामा पुर्‍याइरहेका छन् भनेर हेर्नुपर्छ । ८० प्रतिशतभन्दा बढी महिला घरेलु हिंसाबाट पीडित छन् । पीडा दिने घरकै सदस्य छन् । बलात्कार घटना बढ्दो छ । बलात्कार गर्ने सबभन्दा बढी घरकै सदस्य र छिमेकी छन् । सबभन्दा सुरक्षित ठाउँ घर र आफ्नो समाज हुनुपर्ने हो तर ती ठाउँ सबभन्दा असुरक्षित छन् । यस्तो किन छ ? किन हुँदै छ ? यिनलाई कसरी माया र सम्मानले भरिएको ठाउँमा परिणत गर्ने ? अहिले हाम्रो आगाडि सबभन्दा ठूलो चुनौती यही हो ।

मेरो अनुभवमा मानिसलाई मानसिक विक्षिप्तताको स्थितिमा पुर्‍याउने प्रमुख तत्त्व समाजमा स्थापित हानिकारक परम्परागत व्यवहार हुन् । जस्तो– महिलाको शरीर पुरुषको नियन्त्रणमा हुनुपर्छ भन्ने मान्यताका आधारमा गरिने व्यवहार, महिलाको इज्जत कुमारी हुँदासम्म मात्रै हुन्छ भन्ने बुझाइ, उसलाई दु:ख दिनुपर्‍यो वा उसको परिवारसग बदला लिनुपर्‍यो भने बलात्कार गरे हुन्छ भन्ने अघोषित मान्यता । यस्ता हानिकारक सोचाइ परिवर्तन हुनुपर्छ । छोरा र छोरीलाई विभेदपूर्ण तरिकाले हुर्काउने, बिहे गर्दा होस् वा अन्य कार्यमा पुरुष ठूलो हुनुपर्छ भन्ने मान्यता बदल्न जरुरी छ ।

सार्वजनिक भएका बलात्कारका घटनामा पीडक प्राय: गरिब, समाजले विभेदमा पारेको समूहका युवा देखिन्छन् । यसमा दुई कारण हुन सक्छन्– क) विभेदमा रहेको समूहलाई आरोप लगाउन सहज हुन्छ । समाजमा गलत काम एउटाले गर्ने तर केही पैसा दिएर अलि कमजोर व्यक्तिलाई जिम्मा लगाउने चलन पनि छ । ख) मानिस गरिब भएर जन्मँदैन, विभेदित हुँदैन । उसलाई गरिब, विभेदित बनाउने सामाजिक र राष्ट्रिय संरचना हुन्छन् । परम्परागत मान्यता हुन्छन् । आफ्नो समूहलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नहुँदा, चाहेजस्तो काम नपाउँदा, सही हुर्काइ नहुँदा व्यक्तिमा गम्भीर मानसिक असर परेको हुन्छ । उनीहरू अनेक कुण्ठा लिएर बाँचिरहेका हुन्छन् । उनीहरू अपराधमा संलग्न हुन पुग्छन् । उनीहरूलाई सामाजिक राजनीतिक संरचनाले नै अपराधी बनाएको हुन्छ । यो स्थिति परिवर्तनको खाँचो छ ।
समाजले दिएको असीमित शक्तिका कारण ‘शक्तिवान्’ भएको समूहले यथार्थ आत्मबोध गर्दै आफू परिवर्तन हुने र अरूमा परिवर्तन ल्याउने अभियान थालनी गर्नुपर्छ । समाजमा पाखा लगाइएका समूहलाई अगाडि बढाउनुपर्छ र सारभूत समानताको सिद्धान्तलाई व्यवहारमै पालना गर्नुपर्छ । बच्चाको हुर्काइकै क्रमदेखि परिवर्तनको अभियान थाल्ने अगुवाइ असीमित शक्ति उपभोग गरिरहेका समूहहरूले गर्नु जरुरी छ । यौन चाहना, यौन दुव्यवहारजस्ता विषयमा समुदाय तहदेखि बहस चलाउने एवं समाजलाई माया र सम्मानका बाटामा डोर्‍याउने अभियान सञ्चालन गर्नसके यो त्रासदीबाट बच्न सकिन्छ कि ?

प्रकाशित : श्रावण २०, २०७५ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT