कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँदरले बसिखान दिन्छ

तालिम दिएर तराईमा आँपदेखि मुस्ताङमा स्याउ टिप्नेसम्मका काम बाँदरबाट गराउन सकिन्छ कि !
डा. पुष्पराज आचार्य

काठमाडौँ — कास्कीको रूपा गाउँपालिकाले चालु आर्थिक वर्षमा बाँदर नियन्त्रणका लागि १० लाख रुपैयाँ छुट्याएको छ । गाउँपालिका अध्यक्ष नवराज ओझा भन्छन्, ‘यहाँका जनता बाँदरले बाली खाएर हैरान छन् । उनीहरूको समस्या सुल्झाउन प्राथमिकताका साथ बजेट विनियोजन गरेका हौं ।’

बाँदरले बसिखान दिन्छ

रूपाले जसरी बाँदर नियन्त्रणका लागि बजेट व्यवस्था गर्ने गाउँपालिका थुप्रै छन् । कतिपय गाउँमा बाँदरले दु:ख दिएको समस्या मुख्य मुद्दाका रूपमा उठ्न थालेको छ । मानिसहरू बसाइँ सरेर सहर गएपछि गाउँमा जंगल बढेको छ । बाँदरको संख्या पनि बढ्दो छ । बाँदर जंगल छाडेर रित्तिएको घरकै बार्दलीमा बस्ने गर्छन् । तिनले आसपासका बालीनाली खाइदिन्छन् । दोलखाको भीमेश्वर नगरपालिकामा बाँदरकै कारण बस्ती विस्थापित भएको समाचार केही दिनअघि कान्तिपुरमै आएको थियो । गत असारमा कास्कीको रूपा गाउँपालिकाबाट करिब ४ सय बाँदर पक्रेर बर्दिया राष्ट्रिय निकुञ्ज लगिएको थियो ।


संसारभर करिब २ सय ६४ प्रजातिका बाँदर छन् । नेपालमा बाँदरका तीन प्रजाति छन्– मकाकका दुई र लंगुरका एक । आसामिज मकाकको नेपाली समूह भारतीय समूहभन्दा भिन्न प्रजाति हुनसक्ने बाँदर विशेषज्ञ प्राध्यापक मुकेश चालिसेको दाबी उद्धृत गर्दै समाचार प्रकाशित भएको थियो । नेपालका धार्मिक स्थल, सहर–बजारमा प्राय: देखिने बाँदर रिसस मकाक हुन् । आसामिज बाँदर निकै छरिएर रहेको छ । यसको संख्या कम हुनसक्छ । गाउँ–गाउँमा आतंक फैलाउने बाँदरहरू रिसस मकाक हुन् । आसामिज र रिसस मकाक दुवै प्रजातिका बाँदर मानव बस्ती समिप बस्छन् । सहरी क्षेत्रमा अभ्यस्त भैसकेका रिसस बाँदरको संख्यात्मक वृद्धि निकै भएको हुनसक्छ । यिनले प्राय: मठमन्दिरमा प्रशस्त खान पाउँछन् । यी बाँदर निकै चलाख हुन्छन् ।

बाँदरहरू निकै बुद्धिमान हुन्छन् । सिक्ने क्षमता मानिसकै हाराहारीमा हुनसक्ने बताइन्छ । दिमागको वजन र शरीरको अनुपात तुलना गर्दा मानिस र चिम्पाञ्जीपछि यिनीहरू आउँछन् । यसैकारण मानव सभ्यताले बदलेको पृथ्वीको वातावरणमा यिनीहरूको पनि अनुकूलन र घुलनशीलता बढेको छ ।

भारतमा ‘बानर क्या जाने अद्रकका स्वाद’ (बाँदरलाई के थाहा अदुवाको स्वाद) भन्ने उखान प्रचलित छ । तर नेपालमा बाँदरले पिँडालु, अदुवा, आलु लगायतका कन्दमूलसमेत माटोबाट निकालेर खाने गरेको किसानले सुनाउन थालेका छन् । भारतको हिमाञ्चल प्रदेशले आफ्नो क्षेत्रमा वार्षिक ५ सय करोड रुपैयाँ बराबरको बाली वन्यजन्तुका कारण विनाश हुने गरेको रिपोर्ट प्रकाशन गरेको छ । उत्तराखण्डको देहरादुन क्षेत्रमा झन्डै ५० प्रतिशत बाली वन्यजन्तुले विनाश गर्ने गरेका छन् । भारतका कतिपय गाउँमा बाँदर मुक्ति अभियान, खेती बचाउ आन्दोलन चलाइएको छ । जोधपुरमा बाँदर अनुसन्धान केन्द्र स्थापना गरिएको छ । बाँदरले हरेक दिन एक हजारभन्दा बढीपटक मानिसलाई दु:ख दिने गरेको रिपोर्ट त्यस केन्द्रको छ ।

बाँदर नियन्त्रण अभ्यास
बाँदरले गर्ने नोक्सानी अधिक भएपछि किसानले बाली जोगाउन केही न केही त गर्नैपर्‍यो । कसैले खेतका आलीमा बुख्याँचा ठड्याउने गर्छन् । कतै घन्टी बजाउने गरेको पनि देखिन्छ । मानिसले आवाज निकालेर या ढ्यांग्रो ठट्टाएर बाँदर धपाउने गरेको गाउँ–गाउँमा देख्न पाइन्छ । तर यी सबै सफल विधि होइनन् ।


भारतका कतिपय किसानले लंगुरे बाँदर प्रयोग गरेर रिसस मकाक बाँदर धपाउने गरेको बताइन्छ । लंगुरे अन्यभन्दा ठूलो हुने भएकाले हुँदा त्यसलाई देखेपछि खेतबारीमा मकाक बाँदर नआउने गरेको किसानको अनुभव छ । तालिम प्राप्त लंगुरे बाँदर प्रयोग गरेर फलफूल जोगाउन सकिन्छ ।

प्राणी विज्ञानमा भाले नश्लको बन्ध्याकरण गरेर वन्यजन्तुको संख्या नियन्त्रण गर्ने उपाय महत्त्वपूर्ण र सफल विधि हो । भुस्याहा कुकुर नियन्त्रणका लागि यो विधि प्रयोग भैसकेको छ । बाँदरले बहुपोथी समागम गर्ने हुनाले भालेको बन्ध्याकरणले प्रजनन दर घट्छ ।

मानव हितमा बाँदरको उपयोग
हिन्दु संस्कृतिमा पौराणिक कालदेखि बाँदरलाई पूजा गर्दै आइएको छ । भगवान् रामका अनन्य भक्त हनुमान बाँदर नै हुन् । दक्षिण र दक्षिण–पूर्वी एसियामा रामायणको प्रभाव रहेकाले बाँदरमाथि हिंसात्मक आक्रमण गरिँदैन । भगवानको प्रतीकका रूपमा बाँदरले सुरुमा मानिसको सहानुभूति पाउँछ र खानेकुरा दिइन्छ । त्यसपछि बाँदर पल्किन्छ । मानिसले नदिए चोरेर, खोसेर खान पछि पर्दैन । जंगलमा घन्टौं लगाएर खोज्नुभन्दा मानिसका घर या बस्तीबाट टन्न खानेकुरा खानु बाँदरको छनोट बन्छ । बाँदरको यो तरिकालाई पर्यावरणशास्त्रमा नाफामुखी आहारको सिद्धान्त (अप्टिमल फरेजिङ) भनिन्छ ।

छ्यापछ्याप्ती भएका बाँदरलाई मानव हितमा प्रयोग गर्न सकिन्न त भन्ने प्रश्न जनमानसमा उठ्न सक्छ । विद्यावारिधिका क्रममा मैले थाइल्यान्डका दक्षिणी गाउँ घुम्दा किसानले बाँदरलाई उपयोग गरेर नरिवल टिप्ने गरेको देखेको थिएँ । त्यहाँ मानिसले बाँदरका बच्चालाई तालिम दिई अग्लो रुखमा चढाएर फलफूल टिप्न लगाउँथे । नेपालमा यस्तो अभ्यास देखिँदैन । कुकुरलाई तालिम दिएर वा रोबोटिक मानवलाई ल्याएर मानव हितमा प्रयोग गर्नुभन्दा बाँदरलाई उपयोग गर्न सजिलो हुनसक्छ । तराईमा आँपदेखि मुस्ताङमा स्याउ टिप्नेसम्मका काम बाँदरबाट गराउन सकिन्छ कि !

मेडिकल विज्ञानले भ्याक्सिन उत्पादन र अन्य औषधी टेष्ट गर्न बाँदर प्रयोग गर्दै आएको छ । बायोमेडिकल विज्ञानमा थुर्पै बाँदर प्रयोगमा ल्याइएको छ । सन् १९५० को दशकमा भारतबाट करिब दुई लाख बाँदर बायोमेडिकल अनुसन्धानका लागि अमेरिका निर्यात गरिएको थियो । तर १९७० को दशकमा संसारभर वन्यजन्तु संरक्षणका कानुन प्रखर भएर आए । वन्यजन्तु ओसार–पसारमा रोक लाग्यो । भारत सरकारले १९७८ मा बाँदर निर्यात निषेध गर्‍यो । नेपालमा बाँदर निर्यातका तथ्यहरू भेटिँदैन । सन् २०७३ मा बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐनले वन्यजन्तु चोरी–सिकारीप्रति शून्य सहनशीलताको
नीति अवलम्बन गरेको छ । । मानव हितका लागि वन्यजन्तु खेती गर्न सकिने नीति ल्याइए पनि नीतिगत झमेलाका कारण कार्यान्वयन हुन सकेन । बाँदर विशेषज्ञहरूले समेत यसको असफल प्रयास गरेको सुन्न पाइन्छ ।

बाँदरहरूलाई परीक्षणका लागि अन्तरिक्ष यानमा राखेर लगिएको पढिसुनिसकेका छौं । कुकुर पाल्ने प्रचलनको सुरुवात नेपाल र मंगोलियाका भँेडीगोठालाले गरेको एउटा अध्ययनले देखाएको छ । बाँदर जस्तै अन्य प्राणीको उपयोग गर्न नीतिगत स्पष्टता गरेर बढे लाभ हुनसक्छ । कास्कीबाट बर्दिया सारिएका बाँदर निकुञ्जभित्रै बस्छन् भन्ने छैन । बाँच्नका लागि संघर्ष गर्ने क्रममा ती बर्दियाका गाउँ छिरे भने वल्ला घरको लुतो पल्ला घर सरेमात्र हो । बाँदर सिर्जित मानव द्वन्द्व समस्या बन्न सक्छ । अन्य थुपै्र वन्यजन्तु मानव बस्तीका लागि समस्या बन्ने क्रम बढ्दैछ ।

बाघको संख्यामा वृद्धि गर्ने लक्ष्य, गैंडाको शून्य सिकारजस्ता आकर्षक नारा बोक्दै वन्यजन्तु संरक्षणमा वाहवाही कमाइरहेका बेला नेपाल सरकारले जनसरोकारका यी विषयलाई नजरअन्दाज गर्न मिल्दैन । वन्यजन्तुसँग सरोकार राख्ने निकायहरूले व्यावहारिक समाधानको खोजीनिम्ति वैज्ञानिक अध्ययन थाल्न ढिलाइ गर्नुहुन्न ।

आचार्य नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका वैज्ञानिक हुन् ।

प्रकाशित : श्रावण २३, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?