मातृभाषा कसरी लेख्ने ?

तारामणि राई

काठमाडौँ — संविधानले देवनागरी लिपिमा लेखिने नेपालीलाई सरकारी कामकाजको भाषा मानेको छ । भेटिएमध्ये १०३२ वर्षअघि भूपाल दामुपाल समयको दुल्लु शिलालेखलाई यो भाषाको प्राचीन दस्ताबेज मानिन्छ ।

नेपाली भाषाइतर अधिकांश मातृभाषाको लेख्य परम्परा भने फराकिलो हुन सकेको छैन । केही मातृभाषा रोङ, सिरिजंगा, सम्भोटा, तामयिग, रञ्जना, खेमा, मिथिलाक्षर, अक्खा, कैथी र ओल चिकीजस्ता लिपिमा लेखिएका छन् । यी लिपि त्यति धेरै प्रचलनमा देखिँदैनन् । सम्भोटा, सिरिजंगा, उर्दूजस्ता लिपि गोरखापत्रको ‘नयाँ नेपाल’ पृष्ठमा प्रयोग हुँदै आएका छन् ।

नेपालमा बोलिने अधिकांश मातृभाषा देवनागरी लिपिमै लेख्ने चलन छ । यसो हुनुका विभिन्न कारण हुन सक्छन् । पहिलो, सबै लिपि कम्प्युटर प्रविधिमा आइसकेका छैनन् । भाषा विशेषका वर्णका लागि अतिरिक्त संकेत वा चिह्नलाई युनिकोडमा समायोजन गरिएका छैनन् । दोस्रो, सहजताका लागि देवनागरी लिपि प्रयोग भएको हुन सक्छ ।

नयाँ लिपिमा अभ्यस्त हुन कमसेकम भाषा विशेषका आधारमा पाइने वर्णलाई पुरै याद गर्नुर्‘पर्ने हुन्छ । नेपालको सन्दर्भमा एकलभाषी नीतिको लामो अभ्यासका कारण पनि मातृभाषाको लेख्य परम्परामा देवनागरी लिपि प्रयोग भएको हुनुपर्छ । सामीप्य र अभ्यस्त भएकाले मातृभाषी सर्जकले यही लिपिको प्रयोगलाई निरन्तरता दिएको हुन सक्छ ।

लेखन पद्धतिका लागि लिपिको प्रयोगभन्दा पनि भाषा विशेषका आधारमा पाइने वर्ण वा विशेषतालाई सही ढंगले लेख्य परम्परामा उतारिएको छ कि छैेन, महत्त्वपूर्ण हुन्छ । सामान्यतया लिपिलाई साधन र भाषालाई साध्य मान्ने गरिन्छ । लिपि लेख्य चिह्न वा संकेत हो, जसलाई सुविधाअनुसार निर्माण गर्न सकिन्छ तर भाषालाई कृत्रिम तरिकाले निर्माण गर्न सकिँदैन । भाषाको आफ्नै संरचना वा विशेषता हुने गर्छ । त्यसैले लेख्य परम्परामा विकास गर्दा भाषा विशेषका आधारमा रहेका वर्णलाई ध्यान दिन जरुरी हुन्छ ।

कतिपय मातृभाषामा भाषावैज्ञानिक ढंगले वर्ण पहिचान नगरीकनै आफ्नो सुविधा र स्वविवेकले लेखनकार्य थालेको देखिन्छ । विशेषगरी मातृभाषा साहित्य सिर्जनामा यस किसिमका समस्या देखिएका छन् । भाषालाई लेख्य परम्परामा विकास गर्नु पहिले त्यस भाषाको भाषावैज्ञानिक रूपले वर्ण पहिचान गर्नुपर्छ । त्यसपछि कसरी लेख्ने भनेर मानकीकरणका लागि लेखन निर्देशिका तयार गर्नुपर्छ ।

कतिपय मातृभाषामा भएका वर्ण देवनागरीको वर्णमालामा पाइँदैनन् । देवनागरी लिपिमा रहेका कतिपय वर्णमालाका लेख्य रूप मातृभाषालाई काम नलाग्ने हुन सक्छन् । अतिरिक्त चिह्न प्रयोग गर्नुपर्ने हुन्छ । कस्तो किसिमको अतिरिक्त चिह्न प्रयोग गर्ने भन्ने विषयमा पनि गम्भीर हुनु आवश्यक छ । एकरूपताका लागि पनि ध्यान दिनु आवश्यक छ ।

Yamaha

उदाहरणका लागि वाम्बुले र साम्पाङजस्ता भाषामा किरात लिपि भनेर सिरिजंगा लिपिलाई प्रयोग गर्ने गरेको देखिएको छ तर बान्तावा, चाम्लिङ, थुलुङ, दुमी, कोयी, कुलुङ, खालिङ आदिले देवनागरी लिपि प्रयोग गर्ने गरेका छन् ।

किरात राई समूहभित्रका भाषामा पाइने तर देवनागरी लिपिमा नपाइने अघोष अल्पप्राण कण्ठ्यका लागि कसैले विसर्ग (:), कसैले रेफ (’), कसैले अलाई हलन्त (अ्) र कसैले अन्तर्राष्ट्रिय ध्वनितात्त्विक वर्णमालामा रहेको चिह्न ( ! ) प्रयोग गर्ने गरेको देखिन्छ । देवनागरीमा लेखिने तर एउटै वर्णका लागि समेत चारपाँच किसिमका अतिरिक्त चिह्न प्रयोग भएको देखिन्छ । वाम्बुलेजस्ता भाषामा अन्तस्फोट ध्वनि छन् ।

दुमी र थुलुङजस्ता केही भाषामा रहेका केन्द्रीय स्वर, थुलुङ भाषामा रहेको अभिश्रुतिलाई कसरी लेख्ने भन्ने विषयमा पनि एकरूपता देखिँदैन । मातृभाषामा ह्रस्व र दीर्घकै अवधारणा नहुँदासमेत ह्रस्वदीर्घकै रूपमा बुझ्ने समेत समस्या देखिन्छ । जोडेमोडेका शब्दलाई कसरी लेख्ने, पदयोग र वियोगका लागि कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ ।

सविधान प्रदत्त भाषा आयोगले भाषाहरूको अभिलेखीकरण गरिरहेको छ । आर्थिक वर्ष ०७४/७५ मा केही भाषाको वर्ण निर्धारण, व्याकरण, शब्दसंकलन, शब्दकोशलगायत कार्य गरिसकेको छ । यी सबै अभिलेख देवनागरी लिपिमै छन् । अभिलेखीकरण गरिँदा लेखनपद्धतिका कुरालाई कतिको ध्यान पुर्‍याइएको छ भन्ने विषयले महत्त्व राख्छ । सरकारी निकाय आफैंले भाषाहरूको अभिलेखीकरण गरिरहँदा मातृभाषीलाई भाषा आयोगप्रति अपेक्षा हुनु स्वाभाविक हो । भाषा आयोगका आफ्नै सीमा छन् ।

लेख्य परम्परा उन्मुख मातृभाषाको सबभन्दा पहिले वर्ण निर्धारण गरिनुपर्छ । धेरै भाषाको वर्ण निर्धारण भइसकेका छन् । झन्डै ६४ वटा भाषाको वर्ण निर्धारण ध्वनिविज्ञान विशेषज्ञ माधवप्रसाद पोखरेलले गरिसक्नुभएको छ । केही मातृभाषाको वर्ण निर्धारण अन्य भाषाशास्त्रीले छिटफुट रूपमा गरेका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले विज्ञहरूको सहयोगमा वर्ण निर्धारण गरेको छ ।

वर्ण निर्धारण जतिकै महत्त्वपूर्ण अर्को काम लेखनपद्धति वा लेख्य परम्परालाई व्यवस्थित गर्नु हो । यो काम त्यति धेरै हुन सकेको छैन । केही भाषाको हकमा एसआईएल इन्टरनेसनल नामक गैरसरकारी संस्थाले यो काम गरेको पाइन्छ । भाषाविद्हरूको सहयोगमा केही जातीय संघसंस्थाले पनि व्यवस्थित गरेका छन् । लेखन पद्धति अर्थात् लेखन निर्देशिकामा भने त्यति ध्यान पुग्न सकेको छैन । लेखन पद्धतिकै क्रममा वर्णविन्यास, ह्रस्वदीर्घको अवधारण, जोडेमोडेर लेखिने शब्द, पदयोग र वियोगजस्ता महत्त्वपूर्ण कुरा आउँछन् । कमसेकम लेखन निर्देशिका बने एकरूपता दिन सकिने अवस्थामा पुग्न सकिन्छ ।

यसले अन्तत: लेख्य परम्परामा मानककीकरणका लागि सहयोग पुग्छ तर लेख्यपरम्परालाई कुन रूपमा विकास गर्ने भन्ने विषयका लागि भाषा आयोग नेपाल, त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान केन्द्रीय विभाग, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाली केन्द्रीय विभाग, पाठ्यक्रम विकास केन्द्र, सम्बन्धित जातीय वा भाषिक संस्था र लेखक–सर्जकको सहभागितामा बृहत्तर गोष्ठी गर्न आवश्यक छ । सँगै मातृभाषालाई प्रविधिमैत्री बनाउन युनिकोडको व्यवस्थामा समायोजन गर्नुपर्छ ।

नेपाली भाषाको धरातल वा मौलिक विशेषताका आधारमा नभएर संस्कृत भाषाको वर्णमालाका आधारमा नेपाली भाषाको लेखनपद्धति विकास खोज्दा भाँडभैलो भएको थियो । यस्तै समस्या मातृभाषाको लेखन पद्धतिमा पनि नआउला भन्न सकिन्न । रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्तम हुन्छ भनेझैं मातृभाषाको लेख्य परम्परालाई वैज्ञानिक र व्यवस्थित तुल्याउन समयमै सजग हुने कि ?

लेखक त्रिवि भाषाविज्ञान केन्द्रीय विभागका उपप्राध्यापक हुन् ।

प्रकाशित : भाद्र १७, २०७५ ०८:२६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

जग्गाको जालझेल

रीता साह

काठमाडौँ — सिरहा गोलबजारकी ५५ वर्षीया कारीदेवी यादवको शव गतसाता घरनजिकै बाँसघारीमा भेटियो । उनी साउन २५ गतेदेखि हराइरहेकी थिइन् । जेठाजुसँग अंशसम्बन्धी मुद्दाका कारण उनको हत्या भएको स्थानीय दाबी गर्छन् ।

हकारीदेवीले दिवंगत ससुराका नाममा रहेको जग्गा पाउनुपर्ने भन्दै मुद्दा हालेकी थिइन् ।

सप्तरीको राजविराजका सूर्यनारायण साह, उनकी गर्भवती पत्नी बेचनी देवी र डेढ वर्षीया छोरी प्रतिभाको गत जेठमा हत्या भयो । सूर्यनारायणका दाजु पञ्चदेव र भाउजू प्रमिलाले सम्पत्ति एकलौटी बनाउन उनीहरूको हत्या गरेको डेढ महिनापछि खुल्यो । २०४८ सालमा भारतको नयाँदिल्लीमा बेचिएका सूर्यनारायण तीन वर्षअघि घर फर्किएका थिए ।

यी घटना गम्भीर प्रकृतिका भएकाले समाचारमा आए । समाचारमा नआउने तर जग्गासँग जोडिएका थुप्रै घटना मधेसका गाउँघरमा दिनहुँ घट्छन् । मधेसी समाजमै किन यस्ता घटना बढी हुन्छन् ? यही कौतुहलले यो विषय लेख्न लागेकी छु । म पनि त्यही समाजमा हुर्केबढेकी हुँ । जग्गा विवाद मैले प्रत्यक्ष र अप्रत्यक्ष रूपले अनुभव गरेकी छन् । यो विषय सामान्यजस्तो देखिए पनि यसले पीडित परिवारलाई गम्भीर असर पारेको हुन्छ । प्रभाव समाजलाई परिरहेको हुन्छ ।

मधेसी समाज कृषिप्रधान हो । मधेसको जग्गा उर्वर छ । दुई बाली धान पाक्छ । मधेसी समाजमा जग्गाजमिनको विशेष महत्त्व हुन्छ । रोजगारीको प्रमुख माध्यम कृषि हो । पछिल्लो समयमा जागिर गर्ने र विदेश जाने क्रम बढ्दो छ । जमिनलाई पैतृक सम्पतिका रूपमा जगेर्ना गर्ने परम्परा छ । पहिला–पहिला कृषिभूमि पर्याप्त थियो र जनसंख्या कम । अहिले मधेसको जनघनत्व बढ्दै गएको छ । कृषिभूमि सीमित छ ।

मधेसमा जग्गाका लागि हुने झगडा चार किसिमले हुने गरेको देखिन्छ । पहिलो, अंशका लागि । पुख्र्याैली सम्पत्तिमा हुने अंशबन्डामा जालझेल गर्दा झगडा हुने गर्छ । दोस्रो, मोहियानी हकको जग्गा बाँडफाँट । सरकारले मोहीको जग्गालाई आधा–आधा भागमा बाड्ने नीति लिएको छ । कतिपय टाठाबाठाले यसलाई सरकारी नीतिअनुरूप बाँडफाँट गर्न नचाहँदा झगडा हुने गर्छ । तेस्रो, घर बनाउने बेला छिमेकीको जग्गा च्याप्दा । अरूको जग्गा वा सार्वजनिक जग्गा च्यापेर घर बनाउने मनोविज्ञान अधिकांशमा देखिन्छ ।

घर बनिसकेपछि कसैले भत्काउँदैन भन्ने सोचाइ हुन्छ । चौथो, खेतको आली बनाउने बेला । खासगरी असारे खेतीका बेला खेतको आली बनाइन्छ । त्यतिबेला कतिपयले अरूको आली काटेर आफ्नो खेतको जमिन बढाउन खोज्छन् । मैले बाल्यकालमा गाउँमा यस्ता अनेक झगडा देखेकी थिएँ । अरूले हाम्रो खेतको आली काटेको आमा सुनाउनुहुन्थ्यो । त्यही विषयलाई लिएर कहिलेकाहीं पञ्चैती गर्नुपथ्र्यो ।

गाउँघरमा जग्गासम्बन्धी झगडा पञ्चैतीबाट सल्टाइन्छ तर यसले कहिलेकाहीं सामान्य कुटपिटदेखि हत्यासम्मको रूप लिने गर्छ । मधेसमा अधिकांश मुद्दा जग्गाकै कारण दर्ता हुने गर्छ । पुस्तौंपुस्ता जमिनको मुद्दा लड्दै आएका व्यक्ति र परिवार छन् । कतिपय भने यस्ता झगडामा सुल्झाउनुभन्दा चर्काउनतिर लागेका हुन्छन् । प्राय: बलियो पक्षलाई उचाल्ने र कमजोरलाई दबाउने गरिन्छ । पछिल्लो समय विदेश र सहरमा बसेकाको जग्गा थिचोमिचो गर्नेको संख्या बढ्दो छ । यस्ता झगडामा कतिपय वकिल, अमिन र राजनीतिकर्मीले मलजल गरेको पाइन्छ ।

जग्गासम्बन्धी झगडाले आर्थिक, सामाजिक र मनोवैज्ञानिक रूपमा असर गरेको हुन्छ । यस्ताखाले कलह भएको परिवारमा दिनदिनै झगडा हुन्छ । अदालतमा मुद्दा परेको छ भने निरन्तर पैसा खर्च हुन्छ । मानसिक तनाव थपिन्छ । कतिपयको परिवारमा बालबालिकाको पढाइ–लेखाइमा असर परेको छ । सामान्य विवादबाट सुरु हुने यस्ता झगडा पछि प्रतिष्ठाको विषय बन्दारहेछन् ।

जग्गासम्बन्धी यस्ता विवादबारे मधेसी समाजमा बहस हुनु जरुरी छ । यस्ता समस्यालाई सकेसम्म गाउँमै टुंग्याउने संयन्त्र बनाउनुपर्छ । स्थानीय सरकार र जनप्रतिनिधिहरू यसमा गम्भीर हुनुपर्छ । स्थानीय तहले सल्टाउन नसक्ने झगडा मात्र माथिल्लो तहमा कानुनी उपचारका लागि जाने अवस्था हुनुपर्छ । स्थानीय राजनीतिकर्मी र समाजका अगुवाले सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ ।

प्रकाशित : भाद्र १७, २०७५ ०८:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT