शिक्षक : एक पहेली

‘हाम्रो देशमा शिक्षकको तलब नपढाउनेलाई धेरै भयो, पढाउनेलाई पुगेन ।’
टीका भट्टराई

काठमाडौँ — एक युरोपेली शिक्षकले कार्ड पठाइन् : गगनचुम्बी घरहरू थिए । कुनै–कुनै घरका झ्यालमा बत्ती बलिरहेका । र ती बत्ती बलिरहेका घरहरू शिक्षकका हुन् ।

मेरा विचारमा गम्भीर हावापानीको चुनौती (जस्तै– उच्च वा न्यून तापक्रम), अक्सिजनरहित स्थिति वा प्रखर शारीरिक क्षमताका कार्य (जस्तै– दौड वा गहौँ भारी बोक्ने काम) बाहेक दुनियाँमा २ वटा अप्ठेरा काम छन्, जसले स्थिर शारीरिक र मानसिक अवस्थाको अत्यधिक माग गर्छन् । एउटा, काठमाडौंमा ट्राफिक प्रहरी हुनु । अर्को, औद्योगिक देशमा वा त्यस्तै परिस्थितिमा शिक्षक हुनु, अझ प्राथमिक तहको । पूर्व तयारी गर्नुपर्ने दृष्टिले शिक्षकको भार अझै बढी हुन्छ, सायद ।


हाम्रो शिक्षक व्यवस्थापन र शिक्षाको गुणस्तर बारे अलिकति दूरी राखेर विचार गर्न खोज्दैछु । केही समयमा शिक्षकको परीक्षा चल्नेवाला छ । परीक्षा नगरी नहोला । नगर्नु भन्दा गर्नु रामै्र होला । तर हामीले अनुभव गरिसक्यौं– यो परीक्षाले हाम्रो शिक्षाको गुणस्तरमा खास फरक ल्याउँदैन । धेरैजसो पुरानै साँचोमा ढालिएका अर्को आकार दिन नसकिने शिक्षक यस्तो परीक्षा उत्तीर्ण गरेर आइरहेका छन् । यो शैक्षणिक गतिविधि होइन । राजनीतिक गतिविधि हो । सायद हामीले गणतन्त्रसम्म आइपुग्न चुकाएको एउटा महङ्गो मूल्य !

Yamaha


सामान्यत: व्यावसायिक उत्प्रेरणका तीन तत्त्व हुन्छन् । आवश्यकताका तहको सिद्धान्तका प्रतिपादक मास्लोको सूचीमा तलै पर्छ, मौद्रिक क्षतिपूर्ति । यसले मनिसको भौतिक आवश्यकताको परिपूर्ति गर्न सक्छ । उनको सूचीमा अलि माथि पर्छ, सामाजिक प्रतिष्ठा । सबैभन्दा माथि पर्छ, आत्मसन्तुष्टि ।

थरी–थरीका शिक्षक भए पनि कमसेकम दरबन्दीवालाको पारिश्रमिक देशको गच्छे अनुसार साह्रै तल छैन । तर पारिश्रमिकले गुणस्तर अभिव्यक्ति गर्दैन । शिक्षकको तलब बढाउँदा गुणस्तर बढेको छैन । न नेपालमा न विश्वका अन्य भागमा । विश्वका धनी मानिने देशमा पनि शिक्षकको तलब र शैक्षिक उपलब्धि समानुपातिक छैन । शैक्षणिक सूचकाङ्कमा निकै माथि रहेको कोरियाको शिक्षक बेतनमान धेरै छैन । तर शैक्षिक उपलब्धि अति उच्च रहेको नमानिएको लक्जेमबर्गको बेतनमान विश्वकै उच्चमा पर्छ । पक्का के हो भने सिन्धुलीका एक राजनीतिक कार्यकर्ताले भनेजस्तै, ‘हाम्रो देशमा शिक्षकको तलब नपढाउनेलाई धेरै भयो, पढाउनेलाई पुगेन ।’


शिक्षकहरूका युनियन र राजनीतिक दलहरूको गठबन्धन रहेसम्म सामुदायिकको लेप लगाइएका सरकारी विद्यालयका शिक्षक पाएजति मूल्यमा पेसाले मागेजति मिहेनत गर्नेवाला देखिन्नन् । कार्यप्रदर्शन र पारिश्रमिक जोड्ने कुराको ट्ेरड युनियन पक्षधर शिक्षक विरोध गरिरहेका छन् । यो नीति भएन भन्ने बाहेक के भए शिक्षकले पढाउँछन् भन्ने भरपर्दो उपाय उनीहरूसँग छैन । कार्यप्रदर्शनसँग सुविधा जोड्न पनि भरपर्दो औजार बनाउनुपर्छ । मन लागे नजान पनि पाइने, भएसम्म लामो वार्षिक विदाजस्ता सुविधा पनि शिक्षकका लागि आकर्षणका विषय रहेनन् ।


सामाजिक प्रतिष्ठार कार्यप्रदर्शन, कारण र असरको चक्रमा चल्छन् । शिक्षकले राम्रो कार्यप्रदर्शन पहिला कि समाजको सम्मान पहिला ? अहिलेको अवस्थामा सामुदायिक विद्यालयहरूको गुमेको साख फर्काएर मात्र शिक्षकले प्रतिष्ठा आर्जन गर्छन् । हामीलाई थाहा भयो, तलबले मात्र शिक्षक उत्प्रेरित हुँदैनन् । अस्थायी शिक्षक स्थायी हुँदा पनि कार्यप्रदर्शनको अपेक्षा त्यति गर्न सकिन्न ।

यस अवस्थामा मुख्य प्रश्न हो– पढाउने काममा रमाउन नसक्ने शिक्षकहरू विद्यालयमा नआउने व्यवस्था कसरी गर्ने ? अहिलेको परीक्षा प्रणालीले यस्तो आधारमा छनोट गर्न सक्दैन । भलै परीक्षामा यसपटक यस्तो बन्दोबस्त गर्न केही कोसिस गरिएको शिक्षक सेवा आयोगका अधिकारी बताउँछन् ।


बहुसंख्यक शिक्षकलाई शिक्षणमा आनन्द आउने नभएसम्म उनीहरू प्रतिष्ठा आर्जन गर्ने बन्न सक्दैनन् । यो काम शिक्षक उत्पादन गर्ने प्रारम्भिक कारखानाहरू अर्थात् शिक्षा सङ्कायहरूले गर्नुपर्ने हो । दुर्भाग्य हाम्रा शिक्षा सङ्कायहरू विशेषगरी त्रिविको त सबैभन्दा लद्दु शिक्षार्थी उत्पादन गर्नेमा पर्छ । शिक्षण सुधारका दृष्टिले शिक्षा सङ्कायहरू स्तरीय बनाउन सोच्नु एकदमै जरुरी छ । शिक्षण गर्ने आशय नभएका विद्यार्थीहरू त्यस सङ्कायमा भर्ना नहुन् । त्यसपछि अरु शिक्षक चाल्ने चालनीहरू छान्न सक्ने बनाउनुपर्छ । देशले अहिले पञ्चायतमा जति पनि शिक्षा सङ्कायलाई महत्त्व दिइरहेको छैन ।


हामी सधैं माथिल्ला तहमा न्यून परिणामबारे कुरा गर्छौं । तर प्राथमिक तह सुधार नगरी माथिल्ला तह सुध्रिन्नन् । प्राथमिक तहका शिक्षकको उत्प्रेरणा अझ न्यून अनुभव हुन्छ । शिक्षक पुगेनन् भनेर औपचारिक योग्यता पुगेका प्राथमिक तहका शिक्षकलाई बढुवाको कुरा गरिंँदैछ । तत्काल व्यावहारिक देखिए पनि यो टेकोले घर धान्ने रणनीति हो । यसले प्राथमिक तहलाई सेवा प्रवेश गर्ने सिँढीका रूपमा लिने प्रवृत्तिलाई समर्थन गर्छ ।


एक पटक शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले भने ‘१०–१५ वर्षअघि मुस्किलले २ छाक बन्दोबस्त गर्ने शिक्षकको अहिले राम्रो बन्दोबस्त छ, उसका केटाकेटीले राम्रै पढेका छन् । गाउँलेले भेट्दा उसलाई नमस्ते गरेकै छन् ।

उसले शिक्षण गर्न सुरु गर्दा अरु व्यवसाय गरिरहेकाभन्दा उसको स्थिति राम्रै छ । तर पनि ऊ भन्छ– केही गर्न सकिएन, मास्टर भएरै जिन्दगी बित्यो । आखिर उसले खोजेको के हो, कसैले पत्ता लगाइदिन सक्छ ? हाम्रो देशमा नेता र शिक्षकले सँगसँगै राजनीति गरे । शिक्षकले नेता र उच्च तहका कर्मचारीले गरेजस्तो चकाचौँध गर्न सकेनन् । सायद यही कुण्ठा हो कि ? राजनीति गर्न सामूहिक र व्यक्तिगत रूपमा पनि उनीहरू धेरै पछि छैनन् ।

शिक्षकहरूको सङ्गठन देशका बलियामध्ये पर्छ । कर्मचारीका जस्ता विशेष सुविधा छैनन्, तर त्यत्ति फरक छैन । निवृत्त भएपछि शक्तिको रहलपहल त्यति रहँदैन । विकासोन्मुख देशमा विशेषगरी दक्षिण छिमेकमै हेर्दा देखिन्छ– जहाँ जति बलियो शिक्षक सङ्गठन त्यति खराब शैक्षिक परिणाम ।


नेपाली समाज अलि डाढेजस्तो छ । आफूले पढाएका विद्यार्थी के–के भए, कहाँ–कहाँ पुगे आफू जहाँको त्यहीँ भइयो भन्ने सुनिन्छ । यो कुरा पहिलो कारखानामै सम्बोधन गर्नुपर्ने हो । शिक्षकको कामै माझीको जस्तो हो । खोला तर्न जो आयो, उसकै पछि लागेर हुन्न । फेरि जो जहाँ पुगेका छन्, अधिकांश आफ्नै बुँताले सफल भएका हुन्, शिक्षकहरूको बलले भन्दा पनि । सफल शिक्षकका उत्पादन एक–दुईमात्र हुँदैनन्, बरु असफल होलान्, एक–दुई । यसैले सफलताको जश उनीहरू आत्मादेखि लिन सक्दैनन्, जसले सन्तुष्टि देओस् ।


सधँैंजसो शिक्षकबाट सुनिन्छ, ‘हाम्रो मूल्याङ्कन भएन । जो कम काम गर्छन्, उनीहरूकै पुरस्कारमा सिफारिस हुन्छ ।’ यसको छानबिन हुनुपर्छ । तर सबैलाई पुरस्कारै दिन सकिन्छ र ? निम्छरा अभिभावकले मानेर त शिक्षकलाई कुनै फुर्ती नआउला, तर हरेक अभिभावक र विद्यार्थी उनीहरूका पुरस्कार दाता हुन् । सक्ने भए दण्ड पनि दिन्थे । असम्मान नै दण्ड हो ।

कति शिक्षक भन्छन्, हाम्रो अनुगमन भएन । अनि आफैं विद्यालय जाँदैनन् । मुगु, डोल्पाको सिमाना दोल्फु गाउँका कनिष्ठ लामा गुरु छेक्याप कार्मारोङले केही वर्षअघि भनेका थिए, ‘बसेर राम्ररी पढाइदिए हामी मास्टरहरूलाई लामालाई जत्तिकै मान्ने थियौँ ।’ शिक्षकले नपढाइ प्रतिष्ठा आर्जन गर्ने अर्को कुनै उपाय देखिन्न ।

हालै अनैपचारिक कुराकानीमा शिक्षक महासंघका एक पदाधिकारीले ‘शिक्षकले चाहेमा गर्न सक्छन्, अभियान’प्रति कटाक्ष गर्दै भने, ‘जेजति गरे पनि हामीले नपढाएको भए यति पनि हुन्थेन । गफाडी (लेखक लगायत) हरू आफू पढाउने होइनन् ।’ पढाउने पक्कै शिक्षकले हो । उनीहरूले अझ पढाएको भए धेरै हुन्थ्यो । उनीहरूले कति पढाए, यो देश साक्षी छ ।

प्रकाशित : भाद्र १८, २०७५ ०७:५५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भारतीय संरचनाले सास्ती

नेपाली भूमि नडुब्ने र भारतमा पनि बाढीले वितण्डता नमच्चाउने गरी विद्यमान भारतीय संरचनाहरुलाई कसरी सुधार गर्न सकिन्छ ?
बुद्धिनारायण श्रेष्ठ

काठमाडौँ — केही दिनअघि सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका र तिलाठी गाउँपालिकाका ३ सय ३५ घर डुबानमा परे । त्यस अघि कपिलवस्तुको भगवानपुर गाउँका ७ सय बिगाहा धानखेत डुब्यो । प्रत्येक वर्षायाममा नेपालको सीमावर्ती क्षेत्रका गाउँबस्ती तथा हराभरा जमिन डुबानमा पर्छ ।

नेपाल–भारत जमिन सीमाका कतिपय स्थान जल–सीमामा परिणत हुन्छ । नेपाली जनताले वर्षौंदेखि भोगिरहेको यो पीडा झन्–झन् बढ्दो छ । नेपाली सीमाञ्चल क्षेत्र किन डुबानमा पर्छ ? यसको समाधान कसरी गर्न सकिन्छ ? यसबारे विवेचना गरिएको छ, यो लेखमा ।


नेपालमा ६ हजार नदीनाला, खोलाखहरे, खोल्साखोल्सी, नालाघोला छन् । यिनका पानी मिसिएर ६० साना–ठूला नदी नेपालको सिमाना काटेर भारततर्फ पस्छन् । नेपालमा खन्याएको एक गाग्रो पानी पनि भारतमै पुग्छ । २९ नदीले ६ सय ४५ किलोमिटर सीमारेखाको काम गरेका छन् ।

भारतले करिब १३ नदीनालाका १५ स्थानमा सीमा नजिकै ब्यारेज, बाँध, जोर्तिबाँध, चक्रबाँध, तटबन्ध, जलबन्धन जस्ता भौतिक संरचना निर्माण गरेको छ । १ हजार ७ सय ५० किलोमिटर लामो पूर्व–पश्चिम तन्काएर जमिनको सहतभन्दा १० फिट अग्लो राजमार्ग पनि बनाइरहेको छ । यस्ता संरचनाले नेपालबाट बगेर भारततर्फ जाने नदीको प्राकृतिक बहाव छेक्छ । यसले नेपालको सीमावर्ती भूभाग जलमग्न भएर डुबान हुन्छ । यस्ता डुबान प्रभावित हुने क्षेत्रको विवरण यस पंक्तिकारले अध्ययन गरे अनुसार यसैसाथ संलग्न तालिकामा उल्लेख गरिएको छ ।


डुबानका कारण
भारततर्फ बगिरहेको कोसी नदीको धारलाई पाइलट च्यानल खनी पानीको बहाव नेपालतर्फ फर्काएपछि सबै पानी एकैसाथ बग्न सकेन । ३ फिटसम्म गहिराइको डुबान भयो । परिणामत: सप्तरी हनुमान नगर क्षेत्रका ३ सय ३५ घरबास डुबानबाट प्रभावित भए । कोसी धारलाई पूर्वतर्फबाट बग्न दिइरहेको भए भारतीय सीमावर्ती भूभाग कटानमा पर्ने थियो । पानीको बहाव फर्काउने कार्यबाट भारतीय सीमावर्ती भूभाग जोगियो । नेपालतर्फ भने प्रतिकूल प्रभाव पर्‍यो ।


कोसी नदीलाई भारतमा ‘विहारको दु:ख’ भनिन्छ । विहारको दु:ख हटाउन कोसी व्यारेज बनाइएको छ । वर्षायाममा ब्यारेजको ढोकाले पानी छेकिदिँदा कोसीले भारतमा वितण्डता मच्चाउन पाउँदैन । तर नेपाली सीमावर्ती भूमिचाहिँ डुबानमा पर्छ । २०६५ भदौ २ गते अपरान्हसम्म कोसी ब्यारेजको ५६ मध्ये २७ ढोका खोलिएको थियो । आवश्यक संख्यामा ढोका नखोलिँदा नेपालतर्फ जमेको पानीको सतह निकै बढ्यो ।

फलत: जलजमाउको प्रेसरले पूर्वी तटबन्ध भत्काएर नेपालको ३ गाउँपालिकाभित्र कोसीको भङ्गालो पसी तहसनहस बनायो । २७ नेपालीले ज्यान गुमाए । ५० हजार विस्थापित भए । ती गाउँपालिकाको ३५ प्रतिशत धानबालीलाई नोक्सान पुर्‍यायो । कोसीको फेरिएको भङ्गालोले भारततर्फ पनि निकै क्षति पुर्‍यायो । कटैयाको ६० मेघावाट विद्युत आपूर्ति बन्द भयो । १२ विद्युत टावर क्षति भए । घटनाको लगतै भदौ २ गते साँझमा ब्यारेजको ४० ढोका खोलियो । अनि डुबान घट्दै गयो ।


केही अघि कपिलवस्तुको कृष्णनगर नगरपालिकाको दक्षिण सीमास्तम्भ नं. ५५३ तथा ५५४ को नजिकै बनाइएको महलिसागर ब्यारेजको सबै १५ ढोका बन्द गरिएकाले यशोधरा गाउँपालिका–५, बेदौली, मुडिला, लाहरौली, भैंसहिया क्षेत्रका अधिकांश भाग डुबानमा परे । स्थानीय फुर्सत अली धुनिया, धनराज यादव, थानेदार धोबीसमेत सयौंको धानखेत तथा गाउँबस्ती डुब्यो । करिब ७ सय बिगाहा जमिन डुबानमा पर्‍यो ।


महलिसागर ब्यारेज नेपाल र ब्रिटिसकालीन भारतसँगको सन् १९०१ को सम्झौता अनुसार ५ ढोके सामान्य बाँधका रूपमा पानी छेक्ने स्लुइस गेट नहाल्नेगरी बनाइएको थियो । तर सन् २००३ मा यसलाई मर्मत गर्ने क्रममा पुरै भत्काई १५ ढोके बनाइयो । पक्की नयाँ ब्यारेज २०१० नोभेम्बरमा निर्माण पूरा गरियो । निर्माणका क्रममा नेपालले पटक–पटक विरोध गरे । स्थानीय वासिन्दाले धेरैपटक निर्माणकार्य रोकिदिए । दुई सरकारका सम्बन्धित निकायबीच पत्राचार तथा बैठक भए । तर काम रोक्दै फेरि चालु गर्दै गरियो । यो त प्रतिनिधिमूलक उदाहरण मात्र हो ।


सरकार प्रमुखको अभिव्यक्ति
भारतका प्रधानमन्त्री मोदीको तेस्रोपटक नेपाल भ्रमणका बेला दुवै प्रधानमन्त्रीको सम्बोधनका क्रममा प्रधानमन्त्री केपी ओलीले भनेका थिए, ‘भारतीय पक्षको पूर्वाधारका कारण नेपाली भागमा आएको डुबान विषयमा पनि छलफल भयो । मनसुन अगावै यसमा संयुक्त टोलीले काम गरेर समस्याको समाधान खोजिनेछ । दुवै पक्ष यसमा सहमत छौं ।’ (कान्तिपुर, २०७५, वैशाख २९) । मोदीसँगको भेटवार्तामा ओलीले भारतीय बाँधका कारण ‘नेपाली भूमि डुबानमा पर्दा तपाईको मन दुख्छ कि दुख्दैन’ भन्ने जिज्ञासा राखेको बताइएको थियो, त्यतिबेला ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले २०७५ असार ३२ मा सञ्चारकर्मीलाई भनेका थिए– नेपाली भाग डुबानमा पर्दै आएकोले यसलाई सम्बोधन गरेर दिगो व्यवस्थापन गरिनेछ । नेपाल–भारत संयुक्त टोलीले बाढी तथा डुबानबारे तिलाठीदेखि पर्सासम्म र नवलपरासी पश्चिमतर्फको क्षेत्रमा मनसुन अगावै, मनसुनका समय र मनसुनपछि गरी तीन चरणमा अध्ययन गरिने उनले जनाएका थिए । यस्तो अध्ययन तथा डुबान समस्या समाधानका वाचा कार्यान्वयनमा आएको डुबान पीडितले अनुभव गर्न पाएका छैनन् ।


समाधान
नेपालमा डुबान प्रकोप हुन नदिने र भारतमा पनि बाढीले वितण्डता नमच्चाउनेगरी विद्यमान भारतीय संरचनालाई कसरी सुधार गर्न सकिन्छ ? भविष्यमा यस्ता संरचना नबनाउने र बनाउनैपरे दुवै देशको सहमतिमा नेपाललाई आघात नपर्नेगरी निर्माण गर्ने नीतिगत निर्णय गर्न आवश्यक छ ।

मनसुन वर्षाका समय ब्यारेजका आवश्यक ढोका खोलिनुपर्ने र नेपालबाट बग्ने नदीको प्राकृतिक बहाव नरोकिनेगरी भारतले प्रशस्त मात्रामा निकासका कलभर्ट बनाउनुपर्ने प्रावधान त्यस्तो नीतिले समेट्नुपर्छ । तल्लो तटीय क्षेत्रमा भारतीय भूभागलाई नेपालबाट बग्ने नदीले कटान गर्न नसकोस् भनी नदीका दुवै किनारमा आवश्यकता अनुसार पक्की तटबन्ध भारतले निर्माण गर्न आवश्यक छ । यस्तो प्रबन्ध गरिएमा नेपाली भूभागमा पनि डुबान हुँदैन । भारतीय भूमि पनि बाढीबाट जोगिन्छ ।

प्रकाशित : भाद्र १८, २०७५ ०७:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्