कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैलको अन्त्यालेख

डेटलाइन तराई
बैल किसान र कृषि मजदुरबीच आत्मीय सम्बन्धको सूत्र थियो, जुन ट्याक्टर चालकसंँग हुँदैन ।
चन्द्रकिशोर

काठमाडौँ — धनुषा सहिदनगर–४, ननुपट्टीका राजदेव विन (६०) ले सुनाए, ‘बैल (गोरु) को संख्या घट्दै गयो ।’ उनी विगतमा हलो जोत्थे । सर्लाही गोडैताका किसान महेश ठाकुर पछिल्लो डेढ दशकमा मधेसमा गोरु ह्वात्तै घटेको बताउँछन् ।

बैलको अन्त्यालेख

‘पहिला जग्गावालसँंग मात्र होइन, कृषि मजदुरसंँग पनि गोरु हुन्थ्यो,’ उनले भने ।

गाउँदेहाततिर गफियो भने गोरु घट्नुको कारणमात्र खुल्दैन, त्यसले खेतीपाती र श्रमिकको स्वरूपमा ल्याएको हेरफेरबारे पनि जान्न पाइन्छ । उहिले मंसिरमा धान काटिएपछि खलिहानमा ल्याएर किसानले दाइँ (दौनी) गर्थे । वृत्ताकार रूपमा धान जम्मा पारिन्थ्यो ।

धानमाथि गोरुको गोबरको एउटा डल्लो बनाएर राखिन्थ्यो । अन्नराशिलाई तौलिनुपूर्व आफ्ना पशुदेवको प्रतीकस्वरुप त्यो डल्लो राखिएको हुन्थ्यो । तौलिंँदाखेरी प्रत्येक एकाइसँंगै ‘राम–राम’ भनेर थेगो जोडिन्थ्यो । तीन राम तीन, तीन राम तीन, तीन राम चार...चार राम चार, चार राम चार, चार राम पाँच... ।

अरु अन्न भित्र्याउँदा यस्तै सांस्कृतिक प्रक्रिया अवलम्बन गरिन्थ्यो । खेती किसानी व्यवसायमात्र नभएर संस्कृतिको एउटा पक्ष थियो । कृषिबाट यस क्षेत्रको संस्कृति विकसित भएको थियो । यही संस्कृतिले जनसंँग जमिन र जलको सम्बन्ध स्थापित गरेको थियो ।

खेती किसानी भइराखेकै छ, तर बैलमाथि निर्भर छैन । बैल माध्यममात्र थिएन, मार्ग पनि थियो । बैल मेरुदण्ड थियो । भनिन्छ, मानिसले जहिले खेती सुरु गर्‍यो । त्यही बेलादेखि बैल संलग्न रहँदै आयो । खेतीसंँग विकसित संस्कृतिमा बैल सहयात्री भएर देखापर्दै आयो ।

खेती सुरु भएपछि गाउँबस्तीको स्वरुप निर्माण हुनथाल्यो । त्यस अघि मान्छेको घुमन्ते जीवन थियो । खेती सुरु भएपछि बाली छोडेर अन्यत्र जान मिलेन । खेतीबाट मानिसको जिन्दगी आरामसंँग बित्न पनि थाल्यो । अन्नलाई सुरक्षित पार्ने चलन सुरु भयो । मान्छेमा जोगाउने प्रवृत्ति आयो ।

मिथिलामा मिथ छ, ‘सीता’ हलो जोत्दा उब्जिएकी हुन् । राजा जनकको हलो गोरुले तानेको थियो । त्यसैको स्मृतिमा हालसालै जनकपुरको पिडारी चौकमा राखिएको स्तम्भमा बैलको प्रतिमूर्ति छ । काठको हलो जोत्दै करिब पाँच हजार वर्षको यात्रा बैलको बित्यो । बैल हाम्रो समाजको अनिवार्य अंग भएर रह्यो । मधेसको बदलिँंदो सामाजिक–आर्थिक अवस्थाका कारणले बैलको उपयोगितामा ह्रास आयो ।

मधेसमा आहानै थियो, ‘बरु बाप मरे, बैल न मरे ।’ यसको आशय थियो, बुबा मर्दा एउटा आफन्तको क्षति हुन्छ, बैल मर्‍यो भने बाँचेका जहान–परिवारले समेत दु:ख पाउँछन् । सिंगो किसानी जीवनको धारलाई थेगिराखेको बैल लुप्त हुने अवस्थामा पुगिराख्दा न कतै यसको कीर्तिगाथा लेखियो, नत प्रशस्तिगान भयो । बैल पूर्णत: लुप्त भइसकेको छैन । सबैले उसको भूमिकालाई सम्झिउन् र बैल हाम्रो कृषि जीवनबाट विस्थापित हुँदै जाँदा उत्पन्न संक्रमणकालको प्रभावबारे घोत्लिउन् भनेर यो अन्त्यालेख लेखिएको हो ।

हाम्रो सन्दर्भमा बैललाई आर्थिक स्रोतमात्र नभएर धार्मिक र सांस्कृतिक सम्पदा पनि मानियो । नेपाल जस्तो आर्थिक गतिविधिका दृष्टिले पछाडि परेको र पुरातन सामाजिक मान्यतामा आधारित समाज व्यवस्थाको रूपान्तरण सजिलो छैन । ट्रयाक्टर भित्रिइसकेर पनि बैलको उपयोगिताबारे कुरा उठिराख्नुले बैलको विगतको भूमिका र खाँचो प्रस्ट्याउँछ ।

कतै दुइटा बैल त कतै एउटा बैलबाट हलो जोतिन्छ । जंगल वा बाँझो जमिनलाई बैलको प्रयत्नले उर्वर बनाइयो । यही कारण धार्मिक एवं सांस्कृतिक क्षेत्रमा बैललाई सम्मानको चलन रहिरह्यो । समाजशास्त्रीहरूका अनुसार खेतीकै कारण परिवारको परिकल्पना, विवाह संस्थाको सुुरुवात र संयुक्त परिवारको क्रम सुरु भयो ।

हाम्रो आर्थिक जीवन कृषिमाथि सर्वाधिक निर्भर रह्यो । जीवन निर्वाहको प्रमुख साधन, राष्ट्रिय आयको मुख्य स्रोत खाद्यान्न तथा औद्योगिक कच्चा पदार्थको स्रोत, निर्यातको साधन, यातायातलाई विस्तार तथा बजारको मूल्य स्तरलाई प्रभावित गर्ने साधन रहनाले यहाँको आर्थिक व्यवस्थामा कृषिको महत्त्व स्थापित भयो ।

समाजको स्वरुप फेरिँदै गए पनि खेतीमा प्रयोग गर्ने प्रविधि उही रह्यो । अर्थात एउटा प्रक्रियाको गाडालाई बैलले सहस्राब्दियौंसम्म तान्दै गर्‍यो । मानव सभ्यता विकासको आरम्भदेखि नै कृषि विशाल जनसंख्याका लागि जीविकाको प्रधान साधन रहिरह्यो । कृषि सबै उद्योगको जननी र मानव जीवनको पोषक रहँदै आयो । जसको केन्द्रमा बैल थियो । बैल किसान र कृषि मजदुरबीच आत्मीय सम्बन्धको सूत्र थियो, जुन ट्रयाक्टर चालकसँंग हुँदैन ।

खेतहरूको अत्यधिक उपविभाजन, पुरानो ढङ्गको औजार, आधुनिक बिउको अभावजस्ता सवाल पछिल्ला दशकमा जोडतोडले उठे । बैलको ठाउँमा ‘ट्रयाक्टर’ भित्र्याइयो । विकासको ‘ड्राइभिङ फोर्स’मा रहेको बैलको हैसियत विस्तारै अन्त्य हुने स्थिति भयो । धनुषा तुलसीयाही निकासका अर्थशास्त्री भोगेन्द्र झाको बुझाइमा बैलको विकल्प ट्रयाक्टर हुन सक्दैन । बैल खेतीको माध्यममात्र होइन, यसले संस्कृतिलाई टेवा पनि दिएको थियो, जुन ट्रयाक्टरबाट सम्भव छैन ।

खेतमा जोत्न ट्रयाक्टर प्रयोग हुनथालेपछि श्रम संरचनामा फेरबदल भयो । पहिले किसानले खेत जोत्न कृषि मजदुर अर्‍हाउँथे । अहिले कृषि मजदुरले आफ्नो सानो खेत जोत्न किसान लगाउँछन् । किसान जसले बैल बेचेर ट्रयाक्टर किनेको छ । दुई दशक अघिसम्म ट्रयाक्टर किन्नेहरू घाटामा रहे । पछि चुरे र नदीको दोहन वा माछा पालनका लागि पोखरी खन्ने कामले ट्रयाक्टरको कारोबार फस्टायो ।

स्थानीय तहमा निर्माण कार्य बाक्लिँदै जाँदा गाउँ ट्रयाक्टरमय हुनथाल्यो । उता खेतीबाट निर्भरता घट्न थालेपछि गाउँबाट पलायन बढ्यो । यसले बैल पालनमा ह्वातै घटायो । सप्तरीको वसनपट्टी, सुरुङ्गा– ७ का दर्शन मण्डलको गुनासो छ, ‘बैलले हलो जोत्दा रोजगारी पाइन्थ्यो । हरूवामाथि शोषणका समस्या पनि थिए । ट्रयाक्टरका लागि सवारी चालक अनुमतिपत्र चाहिन्छ । नागरिकताविहीन दलितले त्यस्तो अनुमतिपत्र पाउँदैनन् । यसले बेरोजगारी समस्या थप्यो ।’ सामाजिक अभियन्ता शारदा चौधरीका अनुसार गरिबीको रेखामुनि रहेका तथा बनिबुतो गरेर खानेहरू ट्रयाक्टरको चलन बढेपछि मजदुरीको अवसरबाट बञ्चित छन् ।

साठीको दशकसम्म जसको दलानमा जति बढी बैल छ, ऊ त्यति समृद्ध मानिन्थ्यो । नसक्नेले एउटा भए पनि बैल पाल्थ्यो र अरुसंँग साटफेर गरेर काम चलाउँथ्यो । बैल भएपछि रैथाने गाई हुन्थे । किसानसंँग प्राङ्गारिक मल हुन्थ्यो । मल बनाउने र खेतमा छर्ने रैथाने ज्ञान थियो । दाउराको एउटा विकल्प गुइँठा थियो । दाउराको घरेलु उत्पादन घट्दै गएपछि त्यसको भार जंगलमाथि पर्‍यो । बैलगाडा गाउँदेहातमा यातायातको साधन थियो ।

उत्पादन बिक्री–वितरण, जन्ती–मलामी, मेला–जात्रा होस् वा गाउँले एम्बुलेन्सका रूपमा बैलगाडा थियो । हलो जोत्नु जातीय श्रेष्ठता र त्यससँंग जोडिएर आउने श्रमलाई हेर्ने सामाजिक मनोविज्ञान जोडिएको थियो । श्रेष्ठताको अहं पाल्नेहरू हलो जोत्दैनथे । कतिपय ठाउँमा हलो जोतेर सामाजिक र राजनीतिक विद्रोहको सूत्रपात भएको छ ।

बैल सहितको खेती प्रणाली उत्तम कि रहितको ? यसबारे सामाजिक विमर्श हँुदै गर्ला । तर बैल सामाजिक जीवनमा परिश्रम, प्रतिबद्धता र असल साथीको प्रतीकका रूपमा चिनियो । आश्रय दिने किसानको उन्नतिप्रति बैलको सधैं लगनशीलता झल्किन्थ्यो ।

देहात संवादमा बैलका बखान गर्नेहरू सुनाउँछन्, ‘खेत होस् वा अन्यत्र कतैबाट पनि बैल भाग्दै किसानकै दलानमा आएर रोकिन्छ ।’ बैल कतै हराउन सक्दैन । तर त्यही किसानलाई बैल पाल्न खर्चिलो भयो, भरोसा चुक्दै गयो र बैल पालन कम भयो । आजभोलि बैल बजार वा बैल मेलाको गुलजार छैन ।

यो संकट मूलत: समुदायमैत्री कृषि प्रणालीमाथि हो । बरु निधनालेख कृषि संस्कृतिमाथि लेख्नुपर्ने भएको छ । बैलको अनुपस्थितिले खेती किसानीसँंग जोडिएको एउटा परम्परामै रिक्तता आएको छ । सामाजिक–आर्थिक परिवर्तनको विकल्प खेती प्रणालीमा ट्रयाक्टर हुनसक्छ भन्ने नारा चलेको छ । यसको अंकगणित जतिखेर बुझ्छौं, त्यतिखेर बैल इतिहास भइसक्छ ।

प्रकाशित : भाद्र २१, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?