छोरालाई नैतिक शिक्षा

रामेश्वरी पन्त

काठमाडौँ — बिहान सखारैदेखि रातिसम्म रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरूले पस्कने खबरले गर्दा लाग्छ, पुरै देश बलात्कारमय छ । अनि छोरीको मात्र होइन, आफ्नै पनि असुरक्षाको भाव मनमा आउँछ । र पाइला–पाइला त्रसित बन्न पुग्छन् ।

कसरी जोगिने बलात्कारीबाट ? को हुन्, उनीहरू ? कस्ता छन् ? अहा † बलात्कारीको हुलिया ‘स्केच’ बनाउनै सक्दैन दिमागले । बनाओस् पनि कसरी ? कस–कसको स्केच बनाओस् ? कतै बाबु, कतै हजुरबाबु, कतै साथी, कतै प्रेमी, कतै काका, कतै दाजु, कतै शिक्षक, कतै सुरक्षाकर्मी । सबै–सबै बलात्कारका खबरभित्र अटाएका देखिन्छन् ।

पौराणिक कथामा जब राक्षसले दु:ख दिएको प्रसंग आउँछ, दिमागमा एक किसिमको राक्षसी स्केच बन्छ– देख्दै डरलाग्दो, कुरूप, लामा–लामा दाह्रा निस्केको । राक्षसको हुलिया कथामै लेखिएको पाइन्छ । तर आजका बलात्कारी राक्षसको हुलिया कसैले कोर्न सकेको छैन । केवल छोरीहरूलाई उपदेश दिइन्छ, सावधान गराइन्छ– बलात्कारीबाट जोगिऊ † जोगिने त जोगिने तर को–कोसँग र कसरी ?

Yamaha

यसले सबै पुरुषजतिलाई बलात्कारीको आरोप लाग्न सक्छ । त्यसो भन्न खोजेको होइन । तर कुन र कस्तो पुरुष बलात्कारी हुन्छ ? छुट्याउने मानक के हो ? आखिर बलात्कार हुने पुरुषबाटै हो । अपवाद अलग्गै होला । डेढ महिना बित्नलाग्दा पनि कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको अपराधी पत्ता लाग्नसकेको छैन ।

बलात्कारीको शक्तिले राज्यशक्तिलाई कसरी कमजोर पार्न सक्दोरहेछ त भन्ने उदाहरण हो, यो अपराध । सरकारले पटक–पटक गरेर अनुसन्धान टोली खटाएको खटायै छ, तर बलात्कारी फेला पर्दैन । कहाँ गयो ऊ, नेपाल प्रहरीले पत्ता लगाउन नसक्नेगरी !

हालै वडा प्रहरी कार्यालय विराटनगरले ‘छोरीचेलीहरूका लागि’ भन्दै बनाएको एउटा ‘संहिता’ सामाजिक सञ्जालमा भाइरल भयो । जसमा छोरीलाई बलात्कारबाट जोगिन ‘यो–यो गर’ भनेर ११ बुँदे निर्देशन, उपदेश वा सल्लाह दिइएको रहेछ ।

उल्लेखित बुँदाहरू आफैमा गलत होइनन् होला । तर किन आलोच्य भए भन्नेमा सम्बन्धित पक्षको ध्यान जानु आवश्यक देखिन्छ । बलात्कारका घटना हुनुमा कतै सामाजिक सञ्जालको दुरुपयोग भएको हुनसक्ला, अपरिचितसँगको आत्मीयता पनि जिम्मेवार हुनसक्ला । तर अहिलेका घटना र तिनका प्रकृति हेर्दा यस्ता कुरा हास्यास्पद लाग्छन् । दुधे नानीदेखि हजुरआमा उमेरका महिला दिनहुँजसो बलात्कृत भएका खबर आइरहेका छन् ।

यिनीहरूमाथि आक्रमण हुनुमा फेसबुक चलाउने महिला/किशोरी/युवती कति जिम्मेवार होलान् ? अथवा कुनै युवतीको भड्किलो पहिरनले बलात्कारीलाई दुधेनानी झम्टन प्रेरित गर्छ होला ?

अर्को– बाबुआमा, परिवार र कूलको इज्जत थाम्न छोरीले ‘ममाथि बलात्कार हुन्छ कि ?’ भन्दै सधैं सजग र त्रसित बनेर हिँड्नुपर्ने हो ? खै समाजमा छोराजस्तै निस्फिक्री हिँड्न पाउने छोरीको अधिकार ? सधैं र सबैतिरबाट उपदेशका खात किन छोरीका लागिमात्रै ? के छोराका लागि उपदेश आवश्यक पर्दैन ? परिवार र समाजले छोरालाई नैतिक शिक्षा, नैतिक मूल्य र मान्यताका कुरा सिकाउनु पर्दैन ? बाहिर हिंँड्दा कुनै छोरीचेलीमाथि कुकर्म नगर्नु भनेर सिकाउनु पर्दैन ?

समाज अझै ‘छोरामुखी’ छ । जब कुनै ‘छोरा’ले बलात्कार गर्छ, परिवार, आफन्त र समाज नै उसको संरक्षण गर्न धन र शक्ति दुबै प्रयोग गर्न लागिपर्छन् । सुरक्षाकर्मी, न्यायकर्मी र राजनीतिकर्मी सबै उसलाई जोगाउन लाग्छन् ।

कानुनको के कुरा, बलात्कारी पक्राउ परेर प्रमाणित भए पो प्रचलित कानुनले दण्डित गर्ने हो † यहाँ त सामुहिक बलात्कारका पीडितले किटानी जाहेरी दिँदा पनि पक्राउ परेको व्यक्ति ‘प्रमाण नपुगेर’ न्यायालयबाट रिहा हुन्छ । बलात्कारीको न इज्जत जान्छ, न चरित्र ।

बरु ‘बलात्कृत छोरीचेलीका कारण परिवारको इज्जतमा दाग लागेको’ मानिन्छ र उनीहरू विस्थापित हुन बाध्य हुन्छन् । सामाजिक सोचले कानुन र न्याय प्रभावित पार्ने भएकोले समाज बदल्न सक्यो भने छोरीले बेहोर्ने असुरक्षा कम हुन्छ ।

भर्खरै राष्ट्रपतिबाट पदक ग्रहण गर्नेहरूमध्ये बलात्कारीसँग मिलेमतो गरी घटना लुकाउन सहयोग गरेको आरोप लागेका प्रहरी अधिकारी पनि देखेपछि सरकारको सर्वत्र आलोचना भएको छ । स्वयम् राष्ट्रपतिको पनि आलोचना भएको सुनिन्छ ।

निर्मलाहरू जस्ता ‘कोपिला–जिन्दगी’ निमोठिइरहेको अवस्थामा ‘बलात्कारीको संरक्षक’ भनिएकालाई कसरी पदक ? यस्ता विवादित र भ्रष्टहरूको पदक खोसिन वा रद्ध गर्न नमिल्ने भए पूर्व मुख्य सचिवको पदक किन खोसियो होला ? यसबाट प्रस्टै देखिन्छ– सरकार बलात्कारका जघन्य घटनाप्रति संवेदनशील छैन । बलात्कारीलाई सुरक्षाकर्मीले र उनीहरूलाई राज्यले संरक्षण र सम्मान दिने चरित्रकै कारण आज बलात्कारीको मनोबल बढिरहेको छ ।

समाजले दिन–प्रतिदिन नैतिक मूल्य र मान्यता गुमाउँदै गइरहेको छ । कलिला नानीहरूको बलात्कार र हत्याका घटना हेर्दा न्यूनतम मानवीय संवेदना पनि जीवित नरहेको भान हुन्छ । आज कुनै आमा छोरी स्कुल–कलेज पठाएर ढुक्कसँग घर बस्न सक्दिन । आफू घर बाहिर जाँदा सानी छोरीलाई कसैको जिम्मा लगाएर हिँड्न सक्दिन ।

कसैसँग विश्वस्त हुन सक्दिन ऊ । कसरी विश्वस्त हुने ? न कानुनले अपराधीलाई कठोर दण्ड दिएको देखिन्छ न समाजले । उस्तै परे परिवारले नै बलात्कारी हजुरबाबु र बाबुलाई संरक्षण गर्छ र छोरी–नातिनीलाई घर निकाला गर्छ ।

आज कोपिलामै निमोठिएका निर्मला र पुष्पाहरूको अवस्था देखेर भोलिका आमाहरूमा निराशा छाएको छ । उनीहरू भन्ने गर्छन्, ‘छोरी किन जन्माउने ? बलात्कृत भएर मार्न ?’ यसै त हाम्रो समाजमा कैयौं छोरी गर्भमै मारिन्छन्, त्यसमाथि पनि यस्तो निराशा † छोरी नै नजन्मिए सृष्टि कसरी चल्ला ?

छोराहरूलाई नैतिकवान र चरित्रवान बनाउन नसकिए फेरि पनि जन्मिनेचाहिँ बलात्कारी नै हो । त्यसैले अब हरेक आमाबाबुले उपदेश छोरीलाई होइन, छोरालाई दिनु आवश्यक छ । हरेकले आफ्ना छोरा कहाँ जान्छन् ? के गर्छन् ? कस्ताको संगत गर्छन् ? भनेर चिन्ता र चासो राख्नु आवश्यक छ । छोरीको मात्र होइन, छोराको निगरानी पनि गर्नु जरुरी छ ।

Esewa Pasal

प्रकाशित : भाद्र २२, २०७५ ०८:१०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

साफ च्याम्पियनसिप: प्रिय प्रतिद्वन्द्वी भुटानमाथि जित

हिमेशरत्न बज्राचार्य

ढाका — नेपालले भुटानको सामना गर्दा यति धेरै तनाव कहिले पनि महसुस गरेको थिएन । नेपाललाई डर थियो, कतै साफ च्याम्पियनसिप फुटबल २०१८ मा नेपालले भुटानविरुद्ध कुनै अकल्पनीय नतिजा आत्मसात गर्ने त होइन ?

तर जति बेला यी दुई टिमबीचको खेल सकियो, नतिजा नेपालको पक्षमा रह्यो, त्यो पनि ४ गोल अन्तरको । र, यससँगै प्रमाणित भएको छ, नेपालका लागि भुटान किन प्रिय प्रतिद्वन्द्वी हो भनेर । नेपालले अहिलेसम्म कहिल्यै भुटानविरुद्ध हारमात्र होइन, बराबरी पनि बेहोर्नुपरेको छैन ।

नेपालले बिहीबार प्राप्त जितसँगै भुटानमाथि लगातार १३ औं जित पनि दर्ता गरेको छ ।
यो जित किन पनि सुखद रह्यो भने यसले अब नेपालको सेमिफाइनल पुग्ने समीकरण फेरि जीवन्त भएको छ । फेरि यो खेललाई धेरै अरू कारणले पनि सम्झिने छ ।

यसमा प्रमुख कारण रहनेछ, कप्तान विराज महर्जनको नेपालका लागि सर्वाधिक ६९ आैं पल्ट खेलेको कीर्तिमान । यससँगै उनले पूर्वकप्तान राजुकाजी शाक्यको नाममा रहेको ६८ क्यापको उपलब्धि पनि उछिनेका छन् ।

समूह ‘ए’ कै अर्को खेलमा बंगलादेशले पाकिस्तानलाई १–० ले हरायो । यस नतिजाले सेमिफाइनल पुग्ने दुई टिमको निर्णय खुला भएको छ । बंगलादेश ६ अंकसहित शीर्षस्थानमा छ । उसको पनि अन्तिम चार पुग्ने सम्भावना निश्चित भएको छैन ।

नेपाल र पाकिस्तान ३–३ अंकमा छन् । अब अन्तिम लिग चरणको खेलमा पाकिस्तानले भुटान र बंगलादेशले नेपालको सामना गर्नेछन् । भुटान भने २ हारसँगै बाहिरिने संघारमा पुगेको छ ।

गोलपछि खुसी साट्दै नेपाली खेलाडी  ।

भुटान भनेपछि मानसिक बलियो
साँच्चै भुटान भनेपछि नेपाल किन विजयी रहन्छ ? यसमा नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनको प्रतिक्रिया छ, ‘भुटान भनेपछि सायद हामी मानसिक रूपमा बलियो हुन्छौं । भुटानी फुटबलले पछिल्लो समय प्रगति गरेको सुनेको छु । तर अझै पनि भुटानको फुटबल हाम्रो स्तरमा आइपुगेको छैन ।’

खेलबारे भने उनको प्रतिक्रिया थियो, यो खेल जित्नैपर्ने थियो, त्यसैले जितका लागि खेलियो । उनले आफ्ना तीन प्रमुख खेलाडी विराज, भरत खवास र नवयुग श्रेष्ठलाई बेन्चमा राखेर खेलाउने जोखिम उठाएका थिए ।

‘टिमका लागि नाम ठूलो होइन, हाम्रा लागि सबै समान खेलाडी हुन्,’ उनले भने, ‘आज जित्नैपर्ने हुनाले त्यसैअनुसार रणनीति बनायौं । टिमले त्यसैअनुसार खेल्यो पनि । पाकिस्तानविरुद्धका भूल आजको खेलमा खेलाडीले दोहोर्‍याएनन् ।’ महर्जनले टिमको नेतृत्व गर्ने अवसर पनि गोलरक्षक किरण चेम्जोङलाई दिए । उनले नेपाली टिमको नेतृत्व गरेको यो पहिलोपल्ट हो । उनले यसअघि एसियाली खेलकुदमा पनि यू–२३ टिमको कप्तानी गरेका थिए ।

सुनील बल (९) बल अगाडि बढाउँदै ।

नयाँ नायक सुनील
नेपालले गरेको ४ गोलमध्ये दुईमा सुनील बलले सहयोगी भूमिका निभाए भने एक गोल आफैंले गरे । एन्फा एकेडेमीका उत्पादन सुनीलले भुटानविरुद्ध तेस्रो क्याप मात्र जितेनन्,
आफ्नो खेलजीवनकै सबैभन्दा सम्झनलायक खेल खेले ।

पहिलो ‘स्टार्टिङ लाइनअप’ मा अवसर पाएका सुनीलले यस्तो खेलका लागि कल्पना गरेको बताए । ‘आज मैले मौका पाए र त्यसलाई सदुपयोग गरें । आउने दिनमा यस्तो अवसर पाएँ भने अझ राम्रो गर्ने प्रयास गर्नेछुं ।’

नेपालले २१ औं मिनेटमा गोल गरेको थियो । सुनीलको कर्नरमा अनन्त तामाङले हेडबाट सजिलै गोल गरे । राष्ट्रिय टोलीका लागि अनन्तको यो दोस्रो गोल रह्यो । दोस्रो गोल ७० औं मिनेटमा सम्भव भयो, जति बेला सुनीलले पेनाल्टीमा भुटानी गोलरक्षक छिरिङ डेन्डुपले राम्रोसँग नियन्त्रण गर्न नसकेको बललाई पोस्टको दिशा दिए । डेन्डुपले विमल घर्तीमगरको पेनाल्टी रोके पनि त्यसलाई राम्रोसँग नियन्त्रणमा लिन सकेनन् । तेस्रो गोल भने ७९ औं मिनेटमा भयो र यो भरत खसासको व्यक्तिगत उत्कृष्ट गोल रह्यो ।

लगभग मध्यभागबाट बल अगाडि बढाउँदै उनले नेपालका लागि दसौं व्यक्तिगत गोल गरे । नीराजन खड्काले हेडबाट गरेको ८८ औं मिनेटमा फेरि एकपल्ट सुनीलले नै कर्नरबाट पास उपलब्ध गराए । नीराजनको पनि यो नेपालका लागि पहिलो व्यक्तिगत गोल हो ।

टिममा पाँच वर्षपछि फर्केका नीराजनले आफ्नो चयनलाई सही साबित गरे । अर्कोतर्फ ८४ औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा विराजले भने, ‘व्यक्तिगत उपलब्धिमा म खुसी छुं, तर मेरा लागि टिमको जित अझ महत्त्वपूर्ण छ ।’

समर्थक  ।

फिक्का फिक्का खेल
नेपालविरुद्धको हारमा सबैभन्दा निराश रहे भुटानी प्रशिक्षक ट्ेरभर मोर्गन । खेलबाट उनको एक वाक्यको प्रतिक्रिया थियो, ‘नेपाल आज ४ गोलले विजयी रह्यो, योबाहेक खेलको अर्को प्रतिक्रिया हुन सक्दैन ।’ अनि यसको कारण ? उनले भने, ‘सायद हामीले यति माथिल्लो स्तरमा खेल्न पाएका थिएनौं कि ?’

भुटानको हारको सबैभन्दा प्रमुख कारण १० खेलाडीमा सीमित रहनु पनि रह्यो । दोहोरो पहेँलो कार्डसँगै निमा वाङ्दी ६९ औं मिनेटमा मैदान छाड्न बाध्य रहे । उनले नै नीराजनलाई फाउल गरेर नेपाललाई पेनाल्टीको अवसर दिएका थिए ।

नेपाली टिम : किरण चेम्जोङ लिम्बु, अनन्त तामाङ, आदित्य चौधरी, विशाल राई (नीराजन खड्का ६३), सुनील बल, विमल घर्तीमगर, अन्जन विष्ट (भरत खवास ७६), सुजल श्रेष्ठ, दिनेश राजवंशी (विराज महर्जन ८४), रोहित चन्द र सुमन अर्याल ।

समूह “ए”
टिम खेल जित बराबरी हार गोल अंक
बंगलादेश २ २ – – ३–० ६
नेपाल २ १ – १ ५–२ ३
पाकिस्तान २ १ – १ २–२ ३
भुटान २ – – २ ०–६ ०

प्रकाशित : भाद्र २२, २०७५ ०८:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT