टिपनटापन बजेटबाट टिफिन बक्स

सम्पादकीय

काठमाडौँ — बालबालिका स्कुल जाँदैनन् भने समस्या उनीहरूको होइन, हाम्रो हो । बालबालिका हाम्रा भविष्य हुन् भने उनीहरूले साँवा अक्षर नचिन्नु हाम्रो भविष्यका लागि चुनौती ।

रुपन्देहीको शान्ति नमुना माविका विद्यार्थी दिवा खाजा खाँदै । फाइल तस्बिर

गत वर्ष स्कुल भर्ना हुने उमेर ५ देखि ९ वर्षका ८८ हजार बालबालिका पढ्न गएनन् । तीमध्ये ३५ हजारलाई यस शैक्षिक सत्रको सुरुमा सञ्चालित भर्ना अभियानले स्कुल ल्यायो । ५३ हजार अझै बाहिर छन् । आउँदो शैक्षिक सत्रमा पाँच वर्ष पुग्ने सबै विद्यार्थी विद्यालय जान्छन् भन्ने छैन ।

मानव सूचकांक न्यून भएका जिल्लामा यो दर झन् बढी छ । स्कुल नजानुको खास कारण गरिबी हो । त्यस्तै, हाम्रा विद्यार्थीको स्कुल टिकाउ दर पनि कम छ । कक्षा १ मा भर्ना भएकामध्ये मुस्किलले एक चौथाइले स्कुले शिक्षा पूरा गर्छन् । बीचमै स्कुल छाड्ने कारण पनि गरिबी हो । हाम्रो भर्ना दर र स्कुल टिक्ने दर दुवै बढ्दो छ ।

Yamaha

बालबालिकालाई कसरी स्कुलतिर आकर्षित गर्ने भन्ने उद्देश्यले २०६७ देखि खुवाउन थालिएको दिवा खाजा हटाउने निष्कर्षमा सरकार पुगेको छ । पोषण अभाव झेलिरहेका जिल्लाका प्राथमिक तहका विद्यार्थीलाई पछिल्ला वर्षमा खाजाका लागि रकम नै दिन थालिएको थियो । दिवा खाजाले विद्यार्थीलाई कति योगदान पुर्‍यायो, लेखाजोखा केही नगरी सरकारले हठात् कार्यक्रम हटाउने गरी विधेयक मस्यौदा गरेर आफ्नो हतासा प्रकट गरेको छ । कुनै विकल्प दिएको पनि छैन ।

मन्त्रिपरिषद्बाट पारित अनिवार्य तथा नि:शुल्क शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा हुबहु पारित भए त सोझै १३ लाख बालबालिका प्रभावित हुनेछन् । संविधानले प्राथमिक शिक्षालाई अनिवार्य र माध्यमिकलाई नि:शुल्क गरेको छ । अनिवार्य र नि:शुल्क गर्दैमा विद्यार्थी पढ्न जान्छन् भन्ने होइन ।

खाद्य र रोजगारीको हकलाई मौलिक हकअन्तर्गत राखिएको जिकिर गर्दै शिक्षा विधेयक मस्यौदाबाट बालबालिकाको दिवा खाजा, पोसाक, स्टेसनरीलगायत कार्यक्रम कटौती गरेको सरकारको प्रस्टोक्ति छ । ‘लोककल्याणकारी’ बाट ‘समाजवादी मोडेल’ तर्फ जाने नीति भनिएको छ । यस हिसाबले सरकार शिक्षामा लगानीबाट पछि हट्यो । नि:शुल्क शिक्षा लागू गर्ने मुलुकहरूमा विद्यार्थी टिकाइराख्न ‘दिवा खाजा’ अनिवार्य गरिएको उसले वास्ता गर्न चाहेन ।

स्कुल शुल्क, पाठ्यपुस्तक, स्टेसनरी, दिवा खाजा, पोसाक र स्वास्थ्य हेरचाहको व्यवस्था भएपछि मात्र नि:शुल्क शिक्षाको अर्थ खुल्छ नत्र नारा हुन्छ । नारा दिन सजिलो हुन्छ, नीति पालना गर्न हुँदैन । विपन्न बालबालिकालाई ‘तोकिएबमोजिम’ भन्ने झालेमाले व्यवस्था गर्न खोजेर सरकार दायित्वबाट किनारा लाग्न खोज्दै छ । ऐनमै स्पष्ट किटान नभएसम्म उसका वचन फुस्सा हुन्छन् । विधेयकमा स्कुल नगए २०८५ वैशाख १ गतेबाट सामाजिक सुविधाबाटै वञ्चित गर्ने कडा उर्दी उल्लेख गरिएको छ तर उनीहरूलाई स्कुल ल्याउन सक्ने जग भत्काएर कस्तो निर्माण ?

विधेयकले शुल्क र पाठ्यपुस्तक मात्रै नि:शुल्क भनेको छ । शैक्षिक सामग्री, दिवा खाजा र वर्षमा दुई जोर लुगा उपलब्ध नगराई नि:शुल्क शिक्षा भन्न मिल्दैन । नि:शुल्क शिक्षा कोरा झारा टराई हुन सक्दैन । बालबालिकाको वास्तविकतासँग जोडिएको हुनुपर्छ ।

स्कुल शिक्षाको जिम्मा राज्यले लिएर मौलिक हकमा राखेपछि आंशिक नि:शुल्क गरेर पन्छिन मिल्दैन । राज्य बालबालिकाप्रति उत्तरदायी हुन नचाहेको यही प्रमाण हो । उसले बुझ्नुपर्छ, गरिबीकै कारण स्कुलको दैलो टेक्न नपाएका लाखौं बालबालिका हाम्रो देशका वर्तमान हुन् । भविष्य पनि ।

Esewa Pasal

प्रकाशित : भाद्र २२, २०७५ ०८:१७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

शासकका रङ हजार

शासकहरु कम्युनिस्ट हुन् कि फासिस्ट अथवा देखावटी लोकतान्त्रिक, आफ्नो स्वार्थअनुसार रङ बदल्छन् ।
श्रीकृष्ण अनिरुद्ध गौतम

काठमाडौँ — बिमस्टेक रिट्रिटमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीले सेतो–कालो जोडीको मिल्दोजुल्दो पोसाक लगाएका थिए । त्यो संयोग थिएन, सल्लाहअनुसारकै प्रदर्शन थियो । यसअघि वैशाखमा जनकपुरको जानकी मन्दिरमा ओली र मोदी दुबै एकैखाले राजस्थानी पहिरनमा देखापरेका थिए ।

बिमस्टेक रिट्रिटमा मिल्दोजुल्दो पोसाक तथा जनकपुरमा एउटै पहिरन दुबै घटना ‘हामी अरूले सोचेजस्तो टाढा होइन, धेरै नजिक छौं’ भन्ने सन्देश दिन आयोजन गरिएका (देखावटी) मित्रताका अभिव्यक्ति हुन् । त्यसैले नियोजित प्रदर्शन हुन् । नियोजन कताकता मन मानेरै गरिन्छ ।

ओली र मोदी एकैखाले पोसाकमा सजिए पनि जुम्ल्याहा होइनन्, न आचार न विचारले । दुबै एक–अर्काभन्दा फरक छन् । आध्यात्मिक आस्थागत हिसाबले एउटा पश्चिम फर्किएका र अर्का पूर्वाभिमुख छन् । उनीहरूको एउटा लक्षण समान छ । त्यसको म चर्चा गर्नेछु यसै आलेखमा तर केही पछि । अहिले भिन्नता हेरौं । ओली अधार्मिक, मोदी धार्मिक हुन् । ओली नास्तिक, मोदी आस्तिक छन् । ओली कम्युनिस्ट, मोदी हिन्दुत्वले ओतप्रोत छन् ।

मोदी शाकाहारी हुन्, ओलीका भोजनको सज्जा फरक छ । यतिका आनकातान फरक व्यक्तित्व, आचार–विचारमा रहेका बेमेललाई पहिरनमा एकै समानका देखिन खोज्दा छोपिँदैन, तर बारम्बार यस्तै देखाइयो भने मानिस भ्रमित अवश्य हुन्छन् । राजनीतिमा यस्ता भ्रम खुब खेलिन्छन् ।

हिट्लरका सञ्चार मन्त्री गोयबल्स भन्ने गर्थे, एउटै असत्य बारम्बार भनियो भने त्यही सत्य प्रतीत हुनथाल्छ र मानिस त्यसैलाई सत्य हो भनेर पत्याउन थाल्छन् । नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक डेनियल कह्नमेनले पनि आफ्नो पुस्तक ‘थिङकिङ फास्ट एन्ड स्लो’ मा भनेका छन्, ‘मिथ्या बारम्बार प्रचार गरियो भने मानिस त्यसैलाई पत्याउँछन् ।

तानाशाही, निरंकुश मनोवृत्ति हुनेहरू जनता छक्याउन यस्तै तरिका अपनाउँछन् ।’ जे होइन, त्यसैलाई हो भनाउन सबैभन्दा बढी प्रचार संयन्त्र प्रयोग गर्नेहरूमा कम्युनिस्ट र फासिस्टलाई माहिर मानिएको छ, यद्यपि यी दुई परस्पर विपरीत पथगामी हुन् । तर ख्याल रहोस्, विपरीत पथगामीहरू कुनै एक ठाउँमा भेट हुन्छन् र मिल्छन् । बीपी कोइरालाले भनेका थिए, ‘चरम वामपन्थी (अर्थात् कम्युनिस्ट) र दक्षिणपन्थीहरू प्रकारान्तरमा एउटै हुन् ।’ किनभने यी दुबैको वैरी वाक् स्वतन्त्रता हो, नागरिकको सर्वोपरि उच्चता हो ।

यहाँ न म कम्युनिस्टप्रति पूर्वाग्रही छु, न फासिस्टप्रति । आखिर हुन्, यी मानिसकै प्रवृत्ति । कम्युनिस्ट शब्द आफैंमा नराम्रो होइन, पञ्चायत जस्तै । नेपालमा पञ्चायत प्रयोग र आचरणले कलुषित भएको हो । शब्दका हिसाबले सुन्दर हो । पञ्च भलादमीको भेला भनेकै पञ्चायत हो । कम्युनिस्ट शब्दार्थका हिसाबले कम्युन अर्थात् समूहमा बस्ने, बाँडीचुँडी खाने, मिहिनेतीको सम्मान गर्ने पदावली हो ।

तर प्रयोग र आचरणका कारण प्रकारान्तरमा धेरै हदसम्म यो खान खोसाखोस गर्ने, खानमै मरिहत्ते गर्ने, मार्ने मारामार गर्ने हुलका रूपमा अर्थान्तरित हुनगयो । जो अग्रपंक्तिमा पुग्यो र अलि माथि उक्लियो, उसले आफ्नै मित्रहरूको तेजोवध गर्ने र अन्तत: फुट्न, छुट्टिन अथवा मारामार गर्ने अवस्था आएको हामीले आँखैसामु देखेका छौं । प्रचण्ड र मोहन वैद्य फाटे, वैद्यसँग फेरि विप्लव फुटे । अरू त अरू प्रचण्ड र बाबुराम भट्टराई एकै ठाउँमा बसिरहन सकेनन् । सैद्धान्तिक मतभेद देखाइयो, तर मुख्य झगडा शक्ति र सम्पत्तिको थियो ।

फासिस्टलाई गालीका रूपमा प्रयोग गरिन्छ । यो आफैंमा नराम्रो शब्द होइन, इटालियनमा यो राष्ट्रत्वको प्रबद्र्धन गर्ने विचारका रूपमा बुझिन्छ । फासिजमका उद्बोधक बेनिटो मुसोलिनीले आफ्नो राजनीतिको आधार राष्ट्रवाद बनाएका थिए । लोकतान्त्रिक विधिबाटै उक्ले, तर पछि लोकतन्त्रमाथि प्रहार गरे, तानाशाही लादे ।

फासिस्टहरू बोल्न लच्छेदार शब्दावली प्रयोग गर्छन् । तिनीहरू जे सर्वाधिक लोकप्रिय हुन्छ, त्यसैलाई टिप्छन् । माध्यम त धेरैजसोले लोकतन्त्रलाई बनाउँछन् । तर यिनको मनदेखि लोकतन्त्रसँग कुनै साइनो हुँदैन । इटालीका प्रधानमन्त्री बनेका मुसोलिनी र जर्मनीका प्रधानमन्त्री (चान्सलर) अडल्फ हिटलर फासिजमका अनुपम उदाहरण हुन् ।

नेपालमा राजा महेन्द्रलाई यसै कित्तामा राख्न सकिन्छ र महेन्द्रपथमा विश्वास गर्ने जोकोहीलाई फासिजमका अनुयायी भन्न सकिन्छ । म्यान्मार (बर्मा) र भूटानको राज्य व्यवस्थाको चरित्रलाई पनि फासिस्ट मनोवृत्ति प्रेरित मान्न सकिन्छ ।

फासिस्टहरू वैयक्तिक स्वतन्त्रता, मुक्त चिन्तन र वाणीका शत्रु हुन्छन् । राष्ट्र, धर्म, नश्ल आदि विषयका बलमा जनाधार निर्माण गर्छन् । बहुसंख्यकलाई रिझाउँछन्, अल्पसंख्यकलाई पेल्छन्, कतिपयले त देशै छाड्न बाध्य पारिदिन्छन् । भूटानबाट सन् १९९० को दशकमा नेपालीभाषी लखेटिएका र करिब एक वर्ष पूर्व बर्माबाट रोहिंग्या मुसलमानलाई खेदियो ।

यिनीहरू मानिसलाई सकेसम्म विभाजित देख्छन्, उँच र नीच रूपमा वर्गीकरण गर्छन् । विविध मूलका मान्छे जुन भूमिमा बस्छन्, त्यहींका हुन् भनेर मान्दैनन् । आफू भूमिपुत्र र अरूलाई अर्कै लोकका मान्छन् । राष्ट्र, राष्ट्रत्वको यो परिभाषामा रैथानेवादको ठूलै बोलवाला हुन्छ ।

देश होस् अथवा प्रदेश जतासुकै कुनै न कुनै किसिमको रैथानेवाद हुन्छ । यो विषय सोझै कसैले इन्कार गर्न सक्दैन । फासिस्टहरू यसैको फाइदा उठाएर सत्तासीन हुन्छन् । लोकतन्त्रमा राष्ट्रको छाती धेरै फराकिलो हुन्छ, त्यहाँ सबैप्रति माया, ममता, स्नेह हुन्छ भनिएको छ । तर यसमा पनि फासिस्टहरू विद्यमान र हुर्किरहेका हुन्छन् । लोकतन्त्रको सबै मानिस समान हुन् भन्ने परिभाषासँग फासिस्टको न्यारेटिभ मिल्दैन । तिनीहरूको आफ्नै परिभाषा हुन्छ । जस्तै– हिटलरको जर्मन राष्ट्रको परिभाषामा आर्य नश्लप्रधान थियो ।

भारतबाट पाकिस्तान विभाजन पनि प्रकारान्तरमा फासिस्ट मनोभावबाटै अभिप्रेरित थियो, हिन्दु एकातिर मुसलमान अर्कातिर । त्यहाँ नश्ल नभएर धर्मलाई आधार बनाइएको थियो । तर पछि पाकिस्तान टुक्रिँदा उर्दू वर्चस्व र पञ्जाबी राष्ट्रवादका कारण तत्कालीन पूर्वी पाकिस्तानका बंगला भाषा र बंगाली उत्पत्तिका मानिसलाई दबाउने प्रयास भयो । अर्थात् विभाजनमा भाषा र जातिले प्रमुख भूमिका खेल्यो ।

एकैछिन कम्युनिस्टलाई हेरौं । कम्युनिस्टहरू मूलत: अन्तर्राष्ट्रियतावादी हुनुपर्ने, तर तिनीहरूले पनि त्यसलाई माक्र्सका पुस्तकमा थन्क्याएर जाति, नश्लजस्ता मुद्दा उठाउने गरेका छन्, जे फासिस्टहरूले उठाउने गर्छन् । धर्म मान्दैनन्, तर धर्मका कुरा उछालेर धार्मिक विभाजन ल्याउँछन् र त्यो विभाजनलाई आफ्नो प्रवेशद्वार बनाउँछन् ।

त्यसको दृष्टान्तका लागि धेरै टाढा गइरहनु पर्दैन । नेपालमै तत्कालीन माओवादीले आफ्नो विद्रोहका दौरान जातीयता अर्थात् टुक्रे राष्ट्रियतालाई आफ्नो विद्रोह विस्तारको उपकरणका रूपमा अपनाएको थियो, हिन्दु आस्था विरुद्ध खनिएको थियो । जसका फलस्वरूप किरात र बौद्धसहित हिन्दु प्राधान्यताका रूपमा परिचित मुलुकको आफ्नो सनातनदेखिको परिचयमाथि संकट आयो र नयाँ परिचय पनि बन्नसकेको छैन ।

वैश्वीकरण भइरहेको नेपाली राष्ट्रियता खुम्चिएर जातजातिमा विभाजित हुने अवस्था आयो । महेन्द्रको पहाडी राष्ट्रवाद र माओवादीको टुक्राटाक्रे राष्ट्रियता भलै विपरीत पथगामी देखिन्छन्, तर दुबै प्रकारान्तरमा फासिस्ट विचारबाटै अभिप्रेरित हुन् ।

कहाँ, को, कसरी मिल्न पुग्छन्, अब हेरौं । दुई वर्ष पहिलाको अवस्था सम्झौं, ओली र प्रचण्डबीच तिक्ततापूर्ण सम्बन्ध । ओलीका प्रचण्डतर्फ सोझिएका व्यंग्य र प्रचण्डका ओलीविरुद्ध उद्गार । अझ पछाडि जानुहोस्, पहिलो संविधानसभाको निर्वाचनपछि यी दुई बीचको परस्पर शत्रुवत व्यवहार, ओलीको पहाडी राष्ट्रवाद र प्रचण्डको टुक्राटुक्री जातीयताबीच कतै मेल देखिँदैन थियो । तर उनीहरूबीच एउटा मिलनबिन्दु थियो ।

त्यो मिलनबिन्दु थियो, कम्युनिस्ट पाठशाला र सत्ता । कालान्तरमा उनीहरू त्यो मिलनबिन्दुमा पुगे र एउटै दलका दुई प्रमुख हुनपुगे । यसर्थ एउटा परिस्थिति विशेषमा हामी जेलाई सत्य मानिरहेका हुन्छौं, त्यो प्रतीतिमात्र हुन्छ । सत्यले वास्तवमा घुम्टो ओढेको हुन्छ । प्रवृत्तिले नै मानिसको मनोभूमिमाथि शासन गरिरहेको हुन्छ ।

आफैं हेर्नुहोस्, राष्ट्रवाद मूलत: फासिस्ट विचारधारा हो र यसको उद्भव साम्यवादविरुद्ध भएको थियो । तर कालान्तरमा यी दुई विचार नेपाल आइपुग्दा पूर्व एमालेमा एकाकार भएका थिए । अर्कातिर माओवादीले टुक्राटाक्री जातीयताका नारा लगायो, तर साम्यवादी घोषणापत्रमा लेखिएका हरफहरूलाई पनि दोहोर्‍याइरह्यो ।

एमाले र माओवादी दृश्यमा आआफ्ना राजनीतिक स्वार्थवश विपरीत पथगामी हुँदाहुँदै पनि परन्तुमा एउटै थिए, एकै भए । अब सुरुमा उठाइएको विषय अर्थात् ओली र मोदीलाई हेरौं । उनीहरूमा प्रत्यक्षत: परस्परमा मिल्ने आचार–विचार देखिँदैन । तथापि मननयोग्य के छ भने दुबैको राजनीतिक मूलाधार राष्ट्रवाद हो । त्यसैले जनकपुरमा उनीहरूका एउटै पहिरन तथा बिमस्टेक रिट्रिटमा मिल्दाजुल्दा पोसाक फगत लुगामात्र होइनन्, राजनीति प्रेरित हुन् ।

उनीहरू नमिल्दा–नमिल्दै मिलेका छन् । त्यसैले यसो भन्दा फरक नपर्ला, भारतमा मोदीको हिन्दु राष्ट्रवाद र नेपालमा ओलीको पहाडी राष्ट्रवादजनित अभिप्रेरणाले दुबैको व्यक्तित्वलाई नजिक ल्याएको हो ।

नेपाली नेताहरूमा पछिल्लो कालखण्डमा भारतीय नेतासँग आफू बराबर छौं भन्ने देखाउनुपर्छ भन्ने ‘स्वाभिमान’ जागृत भएको छ एकातिर भने अर्कातिर रिझाउनु त छँदैछ । कम्युनिस्ट भए पनि वर्तमान सत्तालाई भारतद्वारा हार्दिक स्वीकृति मिलेको देखाउने मनोविज्ञानले समेत यसमा काम गरेको छ ।

भारतका हकमा भने आफ्नो राजनीतिको आन्तरिक खपतका लागि नेपाल हाम्रै साथमा छ, चीनतर्फ ढल्केको छैन भन्ने देखाउनुपरेको छ । तथापि मुख्य रूपमा बुझ्नुपर्ने यति हो, चाहे आन्तरिक उपभोगका लागि होस् अथवा बाह्य । शासकहरू कम्युनिस्ट हुन् कि फासिस्ट अथवा देखावटी लोकतान्त्रिक, आफ्नो स्वार्थ अनुसार रंग बदल्छन् । यी रंगविरंगी हुन्छन् । त्यसमा ओली र मोदी दुबै अपवाद होइनन् ।

प्रकाशित : भाद्र २२, २०७५ ०८:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT