बालुवाटार बेङ्क्वेट

लोकतन्त्रले स्वयं प्रधानमन्त्रीलाई पनि जनताको मातहत राख्छ । यो अर्थमा सरकारी निवासलाई प्रधानमन्त्रीले पनि मनमौजी गर्न मिल्दैन । त्यसो गर्नु भ्रष्टाचार हो ।
केशव दाहाल

काठमाडौँ — ओली सरकार गठन भएको २ सय दिन पूरा भयो । यो अवसरलाई आलेखमा सदुपयोग गर्न चाहन्छु । यसर्थ विषय प्रवेश गर्छु, केही साना–मसिना कुराबाट । किनभने कहिलेकाहीँ ससाना कुराले नै ठूलठूला परीक्षा लिइरहेका हुन्छन् । जस्तो कुरा सुरु गरौैं, प्रधानमन्त्रीका पुराना भाषणबाट ।

सबैलाई थाहा छ, प्रधानमन्त्री केपी शर्मा ओली रमाइला वक्ता हुन् । भाषणमा खुब ख्याल–ठट्टा गर्छन् । उनका भाषण सुन्न खुबै मजा आउँछ । यद्यपि कहिलेकाहीँ लाग्छ, उनी हल्का–फुल्का बोल्छन्, श्रोताहरूलाई हेप्छन् र फस्ल्याङ–फुस्लुङ पार्छन् । तर आजको प्रश्न भने अर्कै छ । आजको विषय हो, नेताहरूको बोली र व्यवहारको परीक्षण । एउटा जिम्मेवार नेताले के बोल्छन् र के गर्छन् ? यो सार्वजनिक चासोको विषय हो । यही चासो र सरोकारबाट हाम्रा प्रधानमन्त्रीका भनाइ र कामको सानो परीक्षण गरौं ।


ओली महोदयको एउटा भाषण छ, रारा किनारबाट । २०७५ सालको पहिलो मन्तव्यमा उनी भन्छन्, ‘जिम्मेवारीलाई संकीर्ण स्वार्थपूर्तिको साधन बनाउने दिन गए ।’ त्यो भाषणमा उनी जिम्मेवार पदाधिकारीहरूलाई निजी स्वार्थबाट माथि उठ्न आह्वान गर्दै थिए । त्यसो त निर्वाचनपछिका केही विजय र्‍यालीमा ओली महोदय भन्दै थिए, ‘निर्वाचनमा प्राप्त मत अहंकार र निजी बर्चस्वका लागि होइन । जनताका आशा, विश्वास र भरोसालाई कसैगरी तलमाथि पर्न दिइने छैन । नैतिक स्वच्छता कायम गर्न सरकारले तत्काल काम गर्नेछ ।’ उनले के बोले र अहिले के भइरहेको छ ? के नेताहरूको वाचा र कामको परीक्षण गर्ने बेला भएन र ?

Yamaha


अब केही सानातिना परिदृश्य हेरौं । कहिलेकाहीँ साना दृश्यले ठूला संकेत सिर्जना गर्छन् । भदौ तेस्रो हप्ता बालुवाटारमा ओली बन्धुहरूको वंशभेला आयोजना भयो । जसमा कुल दीपकको रूपमा प्रधानमन्त्री ओली, उनका पिता र पत्नीलाई अभिनन्दन गरियो । कार्यक्रमको तयारीमा बिहानदेखि नै सरकारी सहयोगीहरू बालुवाटारमा क्रियाशील थिए । जसै मध्यान्ह भयो, ‘कुटुमाकुटु सुपारी दाना’ गीतमा ओली बन्धुहरूको सामुहिक नृत्य प्रारम्भ भइहाल्यो ।


आफ्नै बन्धुबान्धवको भेलामा अलिक ढिलोगरी हाम्रा प्रधानमन्त्री उपस्थित भए । गलामा माला, चिटिक्क दौरा–सुरुवाल, मन्द शासकीय मुस्कान । उनले भने, ‘माइत आए जस्तै भयो ।’ भेलाका सहभागीहरू हर्षित थिए । त्यो हर्ष यसकारण पनि अर्थपूर्ण थियो कि उनीहरू बालुवाटारमा थिए । उनीहरूका आफ्नै बन्धु प्रधानमन्त्री ओली उनीहरूसंँगै थिए । त्यति भएपछि हर्ष र घमन्डका लागि अरु के नै चाहियो ? अवगत नै छ, बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास हो । यसको सम्पूर्ण खर्चबर्च सरकारले ब्यहोर्छ । जसमा निर्धा जनताले तिरेको श्रम र पसिनाको ‘कर’ खर्च हुन्छ ।


त्यसो त बालुवाटारको दुरुपयोग जारी छ । जस्तो– नेकपाको एकता घोषणपछिको पहिलो भोज बालुवाटारमै गरियो । अहिले पनि बालुवाटारमा गुट, उपगुटका बैठक चलिनै रहन्छन् । बैठक हुँदा नियमित खानपान स्वाभाविकै हुन्छ । कम्युनिष्ट पार्टीका लाल कमरेडहरू पार्टीका औपचारिक, अनौपचारिक बैठक त्यहीं आयोजना गर्छन् । पदाधिकारी, सचिवालय, कार्यदल आदि नामका । सुनिन्छ, बालुवाटारमा मिनरल वाटरले गाडी धुइन्छ र खानेपानीको खर्च नै लाखाैंमा आउँछ ।


कमरेडहरूलाई लाग्ला, यो सानो कुरा हो । ठूला ठाउँमा सानातिना कुरा भइरहन्छन् । अत: झिनामसिना कुरामा बखेडा गर्नुको अर्थ छैन । तर सरकारको स्वच्छताको परीक्षा यस्तै कुराले गरिरहेका हुन्छन् । जस्तो– हाम्रा सरकारी निवासहरू, अतिथिशालाहरू, कार्यालयहरू, संस्थानहरूमा हुने यस्ता भोजभतेर र अतिथि सत्कारको हिसाब गरौं त । सायद वर्षमा करोडाैं रकम यसरी नै स्वाहा हुँदैछ । अगुवाले जे गर्‍यो, पछुवाले पनि गर्ने त्यही नै त हो । काठमाडौंमा पोलिटब्युरो छ, तर यस्ता सयौं तहगत पोलिटब्युरोहरू हरेक गाउँ र नगरहरूमा छन् । उनीहरूले गर्ने सत्ताको दुरुपयोग कति होला ? ससाना बालुवाटारहरू देशभरि छन् । तिनीहरूले काठमाडौंबाट के सिक्दा हुन् ? ठिक यहींनेर थप प्रश्न गरौं, प्रिय कमरेडहरू के तपाईहरूको परिभाषामा यसलाई नैतिक स्वच्छता भनिन्छ ? के यही हो, सुशासन ? के यही हो, समाजवाद ?


खर्चको अंकगणित
निश्चय नै यस्ता बेथितिले पैसाको मात्र नोक्सानी गरिरहेका छैनन् । कुरा एउटा बालुवाटारको मात्र पनि होइन । कुरा अनेकौं सरकारी निवास र अतिथिशालाहरूको हो । अनेक परियोजना र आयोजनाहरूको हो । कुरा सरकारी निवासको दाल, चामल, पानी, पेपर, फोटोकपी, सवारी साधनको अपचलनको मात्र होइन । कुरा समग्र राजनीतिक संस्कृतिको हो । कुरा बहुदलीय जनवादको हो । कुरा कम्युनिष्ट आदर्शको हो । जुन हरेक दिन अनेकौं बालुवाटारबाट स्खलित भइरहेको छ । जसले राजनीतिक निष्ठा, सुशासन र सदाचारको धज्जी उडाउँदैछ ।


कुरा आर्थिक नोक्सानीको मात्र होइन । यो त सत्ता, शक्ति र प्रतिबद्धताको समेत अपचलन हो । त्यसैले यस्ता कामले पुर्‍याउने क्षति साधारण जोड–घटाउको अंकगणितमा अटाउँदैनन् । बरु ती गुणात्मक हुन्छन् । जसले अनेकौं भ्रष्टाचार र अनियमितताको आधार तयार गर्छन् । जसले हजारौं ‘सेटिङ र सैदाबाजी’का अदृश्य द्वारहरू खोलिदिन्छन् । यसर्थ निष्ठाको राजनीति चाहनेहरूले यस्ता विषयमा बोल्नैपर्छ । भन्नैपर्छ कि प्रिय नेताज्यू, यो सत्ताको दुरुपयोग हो । यो राज्यकोषको दुरुपयोग हो । यो भ्रष्टाचार हो । यो अहंकार हो । जति नै फूलबुट्टा भरेर तर्क गरे पनि यो शासकीय बेथिति हो । कृपया, यसलाई रोक्नुहोस् ।

पार्टीसत्ता र राज्यसत्ता
कम्युनिष्टहरू कुरा गर्दा सत्ता र शक्तिको खुबै चर्चा गर्छन् । उनीहरू कुनै निर्वाचनमा विजयी हुँदा भन्छन्, ‘हामीले फलानो ठाउँमा झण्डा गाड्यौं । हामीले फलानो ठाउँ कब्जा गर्‍यौं’ । जस्तो कि हामीले बन कब्जा गर्‍यौं । हामीले विद्यालय कब्जा गर्‍यौं । फलानो उपभोक्ता समिति हाम्रो कब्जामा छ । त्यो अर्थमा उनीहरूलाई लाग्छ, आफूले कब्जा गरेको संस्थाको श्रीसम्पत्तिको सम्पूर्ण मालिक उनीहरू नै हुन् । उनीहरूले जे भन्यो, सबै कुरा त्यसरी नै चल्नुपर्छ । यसको अर्थ हुन्छ, बालुवाटार उनीहरूको हो । सिंहदरबार उनीहरूको हो । नगरपालिका उनीहरूको हो । गाउँपालिका उनीहरूको हो । यही सोचले संस्थागत भ्रष्टाचार जन्मन्छ । यही सोचले हाम्रा सरकारी निवास र अतिथिशालाहरू कार्यकर्ताका मनोरञ्जनस्थल र आरामगृह बन्छन् ।


तर पार्टी र राज्य एउटै कुरा होइनन् । पार्टीसत्ता र राज्यसत्ता फरक हुन् । सरकार आफ्नै नीति–नियम र कानुनमा चल्छ । पार्टीहरू आफ्नै विधि–विधानमा हुन्छन् । पार्टी जनताको साझा थलो होइन । तर राज्यसत्ता जनताको साझा थलो हो । राज्यका सबै सुख, दु:खहरू साझा हुन् । राज्यकोष साझा हो । राज्यका स्रोतसाधन साझा हुन् । अत: राज्यसत्ताको दोहन गर्ने अधिकार पार्टीहरूलाई हुँदैन । स्वयं प्रधानमन्त्रीलाई पनि हुँदैन । लोकतन्त्रले स्वयं प्रधानमन्त्रीलाई पनि जनताको मातहत राख्छ ।


यो अर्थमा सरकारी निवासलाई प्रधानमन्त्रीले पनि मनमौजी गर्न मिल्दैन । त्यसो गर्नु भ्रष्टाचार हो । अन्यथा कित भन्नुपर्ने हुन्छ, बालुवाटार अब जनताको भयो ? भन्नुपर्ने हुन्छ, बालुवाटारको त्यो सुन्दर सभाहल अब ‘बालुवाटार वेङक्वेटमा’ फेरियो ? के कुरा त्यस्तै हो ? के त्यहाँ विश्वकर्मा, लिम्बु, दाहाल वा नेपालहरूलाई कुलदेवताको पूजा गर्न सभाहल उपलब्ध हुन्छ ? अन्यथा राज्यको श्रीसम्पत्ति उपभोग गर्न ओलीहरूमात्र कसरी योग्य भए ? शासकहरूले आफू, आफ्ना आसेपासे र पार्टी कार्यकर्ताहरूका लागिमात्र विशेष सुविधाको जोहो गर्नु के लोकतन्त्र हो ? प्रश्न स्वाभाविक हुन्छ, हामी कस्तो शासकीय संस्कृति निर्माण गरिरहेका छौं ? हामी भोलिको पुस्तालाई के सिकाउँदैछौं ? आसेपासेहरू पोसेर हामी कस्तो समाजवाद बनाउँदैछौं ?


लोकतन्त्रमा दलीय सर्वोच्चता हुँदैन । नागरिक सर्वोच्चता हुन्छ । लोकतन्त्रमा प्रधानमन्त्रीको सर्वोच्चता पनि हुँदैन । प्रधानमन्त्री पनि कसै न कसैसँंग डराउनुपर्छ । आलोचनात्मक कार्यकर्ताहरू छन् भने आफ्नै पार्टीसंँग डराउनुपर्छ । तीव्र तर्क छन् भने विपक्षीहरूसँंग डराउनुपर्छ । सबै चुपचाप छन् भने जनताका प्रश्नहरूसँंग डराउनुपर्छ । जब नेताहरूलाई कसैसँंग डरलाग्न छोड्छ, त्यो खतरनाक हुन्छ । विचार गरौं, लोकतन्त्रको सफलताका लागि यसको पवित्रताले मात्र पुग्दैन । अगुवाहरूको ध्येय पनि पवित्र हुनुपर्छ । मन्दिर पुग्ने हो भने मन्दिरतिरै हिँड्नुपर्छ । अन्यथा जति हिँडे पनि मन्दिर पुग्न सकिंँदैन ।


अन्त्यमा, प्रधानमन्त्रीलाई आग्रह छ । यो आग्रह काठमाडौंदेखि गाउँ–गाउँका बालुवाटारमा बस्ने प्रधानमन्त्रीहरूलाई हो । प्रिय प्रधानमन्त्रीज्यूहरू, कृपया वाचा सम्झिनु होला । विचार गर्नुहोला, तपाईबाट हामीले के आशा गर्ने ? सुशासन, सदाचार, जवाफदेहिता ? अन्यथा नत तपाईंलाई समयले पर्खिनेछ, न हामीलाई नै । समयको परीक्षामा तपाईंका भाषणले छोटो समयमात्र मनोरञ्जन दिनेछन् । परीक्षामा पास हुनका लागि त काम नै उत्कृष्ट हुनुपर्छ । प्रिय कमरेडहरू, कृपया जे बोल्नुहुन्छ, त्यही गर्नुहोला । जे गर्ने हो, त्यतिमात्र बोल्नुहोला । समय बलवान छ कमरेडहरू, कृपया यसलाई ख्याल–ख्यालमै खेर नफाल्नु होला । अन्यथा भोलि पछुताउनका लागि तपाईसंँग त्यो पनि साथ रहने छैन ।

dahal.keshab@gmail.com

प्रकाशित : भाद्र २८, २०७५ ०८:११
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

इनार सुख गेल

डेटलाइन तराई
जल संरक्षणसंँग जोडिएको रैथाने ज्ञान समुदायले बिर्सियो । पानीको संकट देखापर्न थाल्यो ।
चन्द्रकिशोर

काठमाडौँ — सिरहाको लहान– १५, मोहनपुरमा खानेपानीको सकस रहेछ । स्थानीय शकुन्तला लामाले सुनाइन्, ‘महिनाको सय रुपैयाँ तिरेर पनि थुतुना जुझाउनुपर्छ ।’ इनार सुक्दै जानाले मोहनपुरमा खानेपानीको समस्या भएको रहेछ ।

शकुन्तलाकी छिमेकी कमली सदा भन्छिन्, ‘इनार सुख गेल उराहैत–उराहैत, ओहुमे गदलाहा पानी कपडासे छान के पिली ।’ (इनार सुक्न थालेपछि मुहान खुलुन् भनेर भएभरको पानी झिकिन्थ्यो । तर त्यो पनि नभएपछि फोहोर पानी छानेर पिइन्थ्यो ।)


गाउँमा चापाकल लगाइयो । यसका अनेक झन्झट थिए । कहिले के भाँचिने त कहिले के । स्थानीय तहको चुनावपश्चात यहाँ दुइटा बोरिङ जडान गरिएको छ । तिनलाई स्थानीयले ‘कांग्रेसी’ र ‘एमाले’को बोरिङ भन्दारहेछन् । नगरप्रमुख एमालेका हुन् । उनले जडान गराएकोलाई ‘एमाले बोरिङ’ र कांग्रेसका तर्फबाट जितेका वडा अध्यक्षले जडान गराएको बोरिङलाई ‘कांग्रेसी’ नाम दिइएको रे । बोरिङको बिजुली खर्चबापत सय रुपैयाँ तिरेर पनि पानीका लागि लामो लाम बस्नुपर्ने बाध्यता छ ।


सिरहा र सप्तरीको उत्तरी क्षेत्रमा मात्र होइन, तराईका विभिन्न हिस्सामा पानीको संकट देखापर्न थालेको छ । यो समस्या दुई तरिकाले आइराखेको छ । एउटा, सबै टोलमा पानीको बन्दोबस्ती सहज भएको छैन । ती ठाउँमा सफा पानी नभएको इनार वा टाढाबाट पानी लिएर आउनुपर्ने बाध्यता छ । कतै–कतै कसैको सहयोगमा चापाकल वा बोरिङ जडान गरिएको भए पनि त्यहाँ अत्यधिक चाप छ । उत्तरी क्षेत्रमा इनार सुक्ने, चापाकलबाट पानी नआउने वा अत्यधिक गहिरो बोरिङ खन्नुपर्ने नियति भएको छ । दोस्रो, दक्षिणी क्षेत्रतिर पनि साविकभन्दा निकै गहिरो जडान गरिंँदामात्र पिउनयोग्य पानी निस्किने गरेको छ । यसले खानेपानीको प्रबन्ध खर्चिलो हुँदै गएको छ । ‘पूर्व–पश्चिम राजमार्गका बस्ती पानीका कारणले विस्तारै खस्किने अवस्था आउन सक्छ,’ सिरहा मिर्चैयाका निर्जला जीसी भन्छिन् ।


पानीको पहुँचमा वर्ग र वर्णको श्रेष्ठताले सीमा कोरेको देखिन्छ । खासगरी विपन्न वा दलितको पानीमा कमजोर पहुँच छ । दलित बस्तीमा सफा र सहज रूपमा पानीको प्रबन्ध हुनसकेको छैन ।


मधेस जंगल र जल संरचनामा सम्पन्न भूमि थियो । तर विकासलाई यसरी भित्र्याइयो कि यसले प्रकृतिको दोहनमात्र होइन, शोषणै गर्‍यो । तराईमा पानीको संकटको मुख्य कारण तराईको शिर चुरेको दुर्गति हो । चुरेमा जेजति नहुनुपर्ने काम भए, त्यसमा सरकार मुख्य दोषी छ । तराईलाई अन्नको भण्डार र बहुसंख्यक मानिसको आश्रय क्षेत्रका रूपमा चिनारी दिइए पनि पानीको स्रोतमा भएको विनाशले आउँदा दिनमा द्व्रन्द्व बढाउने देखिन्छ । त्यसको मुख्य कारण पानी माथिको पहुँच हुनेछ ।


विगतमा चुरे पर्वतलाई काठमाडौंले राष्ट्रिय सुरक्षाको दृष्टिले सम्वेदनशील मान्यो । उता समतलमा बस्नेहरूले यसलाई जलको संरक्षकका रूपमा स्थान दिए । हिमालयकी कान्छी बहिनी नाम दिइएको चुरे पर्वत शृङ्खलालाई ‘चुरिया माई’ भनियो । तर अहिले काठमाडाैं र समतल दुवैतर्फबाट चुरेमाथि प्रहार भइरहेको छ । अन्नको माइती भनेर चिनिने भूमिको स्वास्थ्य बिगारियो । चुरे क्षेत्रको वन फँडानी वा गिट्टी–बालुवा उत्खननले मात्र होइन, राजनीतिक प्रश्रय पाएर बढाइएको मानवीय क्रियाकलापले चुरेमाथि नकारात्मक प्रभाव बढायो । अहिले मदन भण्डारीका नाममा राजमार्ग निर्माणको चर्चा चलाइएको छ । त्यो चुरे क्षेत्रमाथि गरिने अन्तिम प्रहार हुनेछ । जबकि चुरेले तराई तथा भित्री मधेस र केही पहाडी जिल्लामा बसोबास गर्ने नेपालीको भविष्य आफूसंँग राखेको छ ।


मधेसतिर आहान थियो, ‘खेत बेपनिया जोतो तब, उपर कुँवा खुदाओ जब’ अर्थात किसानले पहिला इनार खनेर सिंचाइको समुचित प्रबन्ध गरिहालोस् अनि खेत जोतोस् । पाइला–पाइलामा पोखरी र इनार थियो । पानीको सहज प्रबन्धका लागि जल व्यवस्थापन यस क्षेत्रको संस्कृतिको अङ्ग बनाइएको थियो । नदीलाई निर्मल राख्ने त्यही मान्यताभित्र पथ्र्याे । इनार खनाउनुलाई कीर्तिका रूपमा त्यसै मानिएको थिएन । त्यसभित्र सामुदायिकताको मर्म लुकेको थियो ।


मधेसी समाजको प्रत्येक वर्ग पानीसँंग जोडिएको थियो । परम्परा, बानीव्यहोरा, उत्सव, रीतिरिवाज र मान्यतामा कहीं न कहीं पानी र त्यसको संरक्षणसँंग तालमेल देखिन्थ्यो । यस क्षेत्रको निर्माण र सञ्चालनको आधार पानी थियो । तर आज त्यही समाजमा पानीमाथि व्यक्तिगत अधिकारको दाबी गर्न थालिएको छ । पहिलाको मान्यता अनुसार चाहे त्यो पोखरी खनिएको होस् वा इनार, त्यसले पानीलाई सिङ्गो समाजको सम्पदाका रूपमा अथ्र्याउँथ्यो । जल प्रबन्धको पारम्परिक प्रक्रियामा सबैको समान अधिकार थियो । समाज पनि ती सम्पदा जोगाउन लागिपरेको थियो ।


पोखरीहरू हेर्दाहेर्दै मासिने र इनार पुरिने दृश्य देखियो । नदी लगातार प्रदूषित हँुदै गए । तराईका सुदूर देहातमा पनि बोतलबन्द पानीको खपत बढ्यो । जिल्लैपिच्छे पानी उद्योग खुल्न थाल्यो । एकातिर भूमिगत पानीको संकट छ भने अर्कोतिर पानीको बजार फैलिँदैछ । हेर्दा हेर्दै पानीको संकटले समाजलाई ग्रसित गर्न थालेको छ । प्रश्न उठ्छ, जुन समाज जल संरक्षणका लागि प्रसिद्ध थियो, आज त्यहीँ पानीमाथि पहुँचका लागि द्वन्द्व हुने अवस्था किन आयो ? किनभने जल संरक्षणसँंग जोडिएको रैथाने ज्ञानलाई समुदायले बिर्सियो । विगतमा यहाँको जल संरक्षण विचार निर्माण परम्परा अन्यत्रका लागिसमेत अनुकरणीय थियो ।


जनकपुरको हृदयस्थलीमा रहेको गंगासागर पोखरी प्रदूषित भएर सामाजिक कर्मसंँग अछूतजस्तै हुनथालेको थियो । समुदाय जुर्मुराए । पोखरी स्वच्छमात्र भएन, त्यहाँ दिनहँु हुने ‘महागंगा आरती’ जलसंँग जोडिने प्राचीन मैथिली संस्कृति पुनर्जीवित भएको छ । यसले देखाएका पक्षहरू के हुन् भने समुदायले आफूभित्रको ज्ञान कसरी व्युँतायो ? आफ्ना अमूल्य सम्पदाप्रति बेहोसीमा रहेको समुदाय फेरि कसरी व्युँझे ? समुदायले कसरी आफ्ना सम्पदालाई आफै जोगाउन सक्छन् ? यसभित्र लुकेका सामुदायिक ज्ञान स्वयं जनकपुरका लागिमात्र होइन, तराईका अन्य क्षेत्रमा पनि रचनात्मक संवादको माग गर्छ । बौद्धिक जुझारुपना चाहिएको छ ।


जलाशयलाई पुनर्जीवन दिने जनकपुरको सामुदायिक ज्ञानबारे जति बढी समाजशास्त्रीय ढङ्गले अध्ययन गरिन्छ, त्यति यस प्रयत्नको गरिमा बढ्छ । अन्यत्र पनि जल सञ्चयका प्रयत्नलाई टेवा दिन्छ । कुनै युग वा समयमा स्थापित उत्कृष्ट ज्ञान, प्रविधि, चिन्तन वा संस्कृतिलाई निरन्तरता दिनु रूपान्तरणकै चरण हो । कनकाई खोलाछेउ होस् वा कमला वा कर्णाली नदीछेउ, समस्या, सम्भावना र सम्पदाका वस्तुमा थोरै भिन्नता हुन सक्छन् । तर समुदायमा रहेको ज्ञानलाई समस्यासँंग जोड्दा हल निस्कन सक्छ ।


एक समय थियो, घाम ताप्न पहाडबाट जाडोमा मानिस तराई झर्थे । अचेल शीतलहरले तराईमा कैयौं दिनसम्म सूर्यको दर्शन हुँदैन । तराई आएपछि मज्जाले नुहाउन पाइन्छ भनिन्थ्यो । तर यहाँका वासिन्दाले जीवनशैलीमा परिवर्तन ल्याएनन्, त्यो पनि गलत हुनेछ । तराईका उत्तरी क्षेत्रहरूमा कतिपय ठाउँमा बाध्यताले जीवनशैली फेरिन थालेको देखिन्छ ।


जलस्रोतको पूजा सामुदायिक जीवन र परम्पराको अंग थियो । जललाई आचमन गरिन्थ्यो । तर जब यो परम्परा भत्किन थाल्यो, पानीमा संकट देखिन थाल्यो । पानीप्रति उपेक्षा ठूलो चुनौती हो । आज तराईका वासिन्दालाई जति सफा, शुद्ध र सहज रूपमा पानीको आवश्यकता छ, त्योभन्दा बढी यस क्षेत्रको जंगल र चुरेलाई यहाँको वासिन्दाको त्यही पुरानो आत्मीयता खाँचो परेको छ । जेजति जोगिएको छ, त्यसलाई थप विनाश हुनबाट जोगाउन के यहाँका वासिन्दा ‘रक्षाकवच’ भएर उभिन तयार छन् ? के नेपाली संस्करणको चिपको आन्दोलन सम्भव छ ? के प्रत्येक स्तरमा हुने गरेको पानीको बर्बादी र चुहावट रोक्न सकिन्छ ? सुक्दै गरेका नदी, पोखरी र इनारलाई व्यँुताउन सकिन्छ ?


पानीको एक–एक स्रोतमा नजर, सुरक्षा र विवेकपूर्ण उपयोग समुदायको सर्वोच्च प्राथमिकतामा पर्नुपर्छ । पानीप्रति अपनत्व र सम्मान जागरुक गर्न जरुरी छ । चुरेको फेदभरि फैलिएको चारकोसे झाडीमा अब धेरै वन बाँकी छैन । विभिन्न सरकारी निहुँमा चुरे र वनमाथि हुने प्रहार रोकिनुपर्छ । अब यहीँको समाजले अनेक भगीरथ पैदा गरौं । हामीभित्र भगीरथको भाव जगाऔँ ।


datelineterai@gmail.com

प्रकाशित : भाद्र २८, २०७५ ०८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT