कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रसंघमा नेपाल पुग्दा

त्यो बेला राजपरिवार वा राजतन्त्र पनि बलियो भइसकेको थिएन । नेपाली प्रतिनिधिमण्डलका नेता थिए, परराष्ट्रमन्त्री चूडाप्रसाद । श्री ५ अधिराजकुमार हिमालयविक्रम शाह उपनेतामा गएका थिए ।
भैरव रिसाल

काठमाडौँ — नेपालले राणाशासन ढलेपछि २०१२ सालमा मात्र संयुक्त राष्ट्र संघको सदस्यता पायो । र, त्यसको अर्को सालदेखि राष्ट्र संघको साधारण सभामा भाग लिन थाल्यो । २०१३ सालमा भएको एघारौं सभामा परराष्ट्र मन्त्री चूडाप्रसाद शर्माको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधि मण्डलले सक्रिय भाग लियो ।

राष्ट्रसंघमा नेपाल पुग्दा

त्यो बेला राजपरिवार वा राजतन्त्र पनि बलियो भैसकेको थिएन । नेपाली प्रतिनिधि मण्डलका नेता थिए, परराष्ट्र मन्त्री चूडाप्रसाद । श्री ५ अधिराजकुमार हिमालय विक्रम शाह उपनेतामा गएका थिए । उनकी श्रीमती प्रिन्सेप शाह तेस्रो नम्बरकी प्रतिनिधि भएर गएकी थिइन् । अर्का सदस्य थिए, शिक्षा सचिव विद्वान केशरबहादुर के.सी. । चौथो नम्बरमा राजाका सचिव सरदार हंसमान सिंह र परराष्ट्र मन्त्रालयका असिस्टेन्ट सेक्रेटरी दमनराज तुलाधर ।


त्यो बेला श्री ५ अधिराजकुमार पनि मन्त्रीलाई नेता मानी उनको मातहतमा उपनेता गएका थिए । अधिराजकुमारी प्रिन्सेप सदस्यको हैसियतमा । २०१७ सालपछि भए त्यस्तो कल्पना पनि हुने थिएन । श्री ५ भन्ने फुर्को लागेपछि पहिलो हुनैपर्ने ठ्या हुन् कि मठ्या ।

मोटी केटीको आँखा दमनराजमा
नेपाली प्रतिनिधि मण्डल राष्ट्र संघको साधारण सभामा पहिलोपल्ट भाग लिन गएको ६ सदस्यीय टोलीमध्ये अधिराजकुमार हिमालय विक्रम दम्पति बाहेक अरु चारजना एकै ठाउँमा बसे । त्यहाँको चलन अनुसार शौचालय सफा गर्न एउटी युवती आउँदी रहिछन् । जो अविवाहिता रहिछन् । अनि निकै मोटी पनि । संयुक्त राज्य अमेरिकातिर मोटी केटीले केटा पाउन सजिलो हुँदो रहेनछ । ती मोटी नानीले नेपाली टोलीका युवा दमनराज तुलाधरउपर आँखा गाडिछन् । नेपाल फर्कने समय आइपुग्न लागेको थाहा पाएपछि ती नानीले डिनर खान निम्तो गरिछन्, उनका आमाबाबुका तर्फबाट । उनी कारमा सररर आउने र सररर जाने कुरा अमेरिकाका लागि असामान्य भएन । हाम्रा लागि पो त ओहो ! नेपालको आँखामा
शौचालय सफा गर्ने मेहतर । यो आजभन्दा ६२ वर्ष अघिको कुरा ।


डिनर खान गए, मन्त्री शर्मासहित । केटीका बाबु, आमाले नै आफ्नी छोरीसँग बिहा गर्न र उतै बस्न प्रस्ताव गरे रे, दमनराजसँग । उनीहरूको सबै सम्पत्ति पनि दिने प्रस्ताव गरेछन् । तर दमनराजले मानेनन्, नेपाल फर्के । मसँग दमनराज यी कुरा चाख राखी–राखी दोहोर्‍याउँथे ।


नेपालको सशक्त दृष्टिकोण
संयुक्त राष्ट्र संघको बाह्रांै साधारण सभामा ह्षिकेश शाहले नेतृत्व गरेको प्रतिनिधि मण्डलले भाग लियो । प्रकटमान सिंह, व्रजकान्त ठाकुर, गोविन्दराज पाण्डे सदस्य थिए । तेह्रौं साधारण सभाको नेतामा परराष्ट्र मन्त्री पुरेन्द्रविक्रम शाह थिए भने सदस्यमा परराष्ट्र सचिव नरप्रताप शमशेर थापा, दयारामभक्त माथेमा, कुमारी माधुरी शाह । चौधौँ साधारण सभामा गृह तथा कानुन मन्त्री सूर्यप्रसाद उपाध्यायले नेतृत्व गरेको नेपालले भाग लियो ।


राष्ट्र संघको पन्ध्रौँ साधारण सभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले नै गरे । उपनेतामा ह्षिकेश शाह, सदस्यमा विश्वबन्धु थापा, अच्युतराज रेग्मी, यदुनाथ खनाल तथा नारायणप्रसाद थिए । २०१७ असोज १५ मा साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री विश्वेश्वरप्रसादले ‘साम्यवादी चीनलाई विश्व संस्थामा प्रवेश गराउनुपर्छ भन्ने नेपाललाई विश्वास छ । यसो नभएसम्म आफ्ना कारबाही तथा उद्देश्य पुरा गर्न राष्ट्र संघ समर्थ हुने छैन’ भन्ने सशक्त भनाइ प्रस्तुत गरे । राष्ट्र संघको एघारौँ साधारण सभादेखि नै नेपालले तत्कालीन समयका विश्वका जल्दाबल्दा मुद्दामा सशक्त रूपमा आफ्नो दृष्टिकोण राख्दै आएको थियो ।


४९ जनाको जम्बो टोली
शेरबहादुर देउवा प्रधानमन्त्री थिएनन् । थापाथलीमा बस्थे । म र केही साथी भेट्न गयौँ । उनी भन्थे, मलाई ‘तपाई लेख्न नछोड्नोस् । प्रधानमन्त्री भएको बेला तपाईको लेख पढ्न भ्याउन्न । नभएको बेला पढ्न छुटाउन्न ।’ उनी भन्थे, तपाईलाई कांग्रेस बनाउन सकिन । तपाईले पनि मलाई कम्युनिष्ट बनाउन सक्नुहुन्न । त्यतिबेला कान्तिपुर दैनिकको नियमित लेखक थिएँ, म । अन्तत: शेरबहादुर देउवा २०५२ भदौ २७ मा प्रधानमन्त्री भए । मनमोहन अधिकारी नेतृत्वको सरकारलाई सर्वोच्च अदालतको बहुमतले हराएपछि । तब उनले २०५२ को संयुक्त राष्ट्र संघको साधारण सभामा भाग लिने प्रतिनिधि मण्डलमा ४९ जना सदस्य राखे । यो ८ गुना ठूलो पल्टन किन लगे र जाने महानुभावहरू किन गए । साधारण सभामा उभिन पनि सम्भव छैन । यस्तोमा किन जानु अपमानित हुन ?

ओलीलाई सुझाव
संयुक्त राष्ट्र संघको साधारण सभा २ असोज २०७५ बाट सुरु हँुदैछ । ९ असोजबाट राष्ट्रहरू बोल्न थाल्छन् । सदस्य राष्ट्रका राष्ट्रपति, प्रधानमन्त्री कि वा परिवार राष्ट्रको प्रतिनिधि मण्डलका प्रमुखको सम्बोधन प्रारम्भ हुन्छ । यसपाला राष्ट्र संघको साधारण सभामा सहभागी नेपाली टोलीको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने समाचार पढेको थिएँ । नेपालको ११ असोजमा सम्बोधन गर्ने तालिका छ भन्ने थियो, समाचारमा । नेपालले लामो द्वन्द्व र संक्रमणकाल पार गरेर सामान्य अवस्थामा विचरण गर्नलागेको धेरै भएको छैन । यस्तो बेला देशको कार्यकारी प्रमुखले नै नेपाली टोलीको प्रमुखत्व ग्रहण गर्नु युक्तिसंगत लाग्छ । त्यो सभा राष्ट्रहरूको विश्व मेला हो । त्यहाँ अन्य राष्ट्रका पनि कार्यकारी प्रमुख आउने चलन छ । उनीहरूसँग भेट हुन्छ । द्विपक्षीय, बहुपक्षीय वार्तालाप हुनसक्छ । आफ्ना कुरा बुझाउन सकिन्छ । विचार–विमर्श हुनसक्छ ।


नेपाल गणतन्त्र स्थापनापश्चात् पुनर्निर्माणमा लाग्दै थियो । २०७२ वैशाख १२ को ठूलो भूकम्पले व्यापक क्षति पुर्‍याएपछि नवनिर्माण गर्नुपर्ने अवस्था आयो । नेपाल आज पुनर्निर्माण र नवनिर्माणमा एकैपल्ट लाग्नुपर्ने स्थितिमा छ । यस्तो अवस्थामा विश्व समुदायसँगको सहचार्य निकै महत्त्वपूर्ण हुन्छ ।

६ भन्दा बढी नलाने, नजाने
राष्ट्र संघले हरेक सदस्य राष्ट्रका लागि ६ जना प्रतिनिधिका निम्ति स्थान उपलब्ध गराउँछ । भूगोल वा जनसंख्या जेजति जत्रो भए पनि । त्यही खबरमा छापिएको थियो, प्रभानमन्त्रीले २० जनाको टोली लाँदै हुनुहुन्छ । प्रधानमन्त्रीज्यू, २० जनाको टोली नलैजानोस्, किनकि त्यहाँ ६ जनाका लागिमात्र स्थान उपलब्ध हुनेछ । ६ जनाले सम्मानित स्थान पाउँछन् । बाँकी १४ जना राष्ट्र संघको सभामा उभिनसमेत पाउँदैनन् । १४ जनाको के हालत ? के इज्जत ! के प्रतिष्ठा ? नेपाल फर्कंदा चकलेट पापा ल्याउनेमात्रै हो । नेपाल, नेपाली र देशको समेत नेतृत्व गर्ने तपाईले गम्भीर भएर सोच्नुस् । स्थान व्यवस्था गरिए जतिमात्र प्रतिनिधि लिएर जानुभयो भने जम्बो टोली भनेर हरेकपल्ट लाग्ने आरोपबाट मुक्त मिल्छ । तपाईको स्वास्थ्य र त्यहाँ हुने व्यस्तता आदिलाई दृष्टिगत गर्दा तपाईकी श्रीमती राधिकाजीलाई नछुटाई लैजानैपर्छ, टोली सदस्यका रूपमा होइन ।


राष्ट्र संघसँग नेपालको सम्बन्ध बहुआयामिक छ । विश्वमा शान्ति स्थापना गर्न नेपाली राष्ट्रिय सेना गौतम बुद्धको शान्तिको गम्भीर एवं महत्त्वपूर्ण सन्देश लिएर उल्लेख्य संख्यामा गैरहेको छ । जनसंख्या र क्षेत्रफलको हिसाबले नेपाल ठूलो मुलुक होइन । तर विश्व शान्ति, विश्व भ्रातृत्व एवं विकासका दृष्टिले यो सानो योगदान पनि होइन । यसकारण प्रधानमन्त्रीको सम्बोधनमा यस्ता कुरा प्रतिविम्बित हुनुपर्छ ।


अन्य जानेहरू पनि तपाईं ६ जनाभित्र नपर्ने भए कृपया नजानोस् । यहाँ थाहा भैहाल्छ, ६ जनामा को–को परे भन्ने । जब तपाई फाल्तुमा पर्नुहुन्छ, यसो सोच्नुस् त तपाईको सम्मान, इज्जत, प्रतिष्ठा कहाँ पुग्ला ! समाजले कसरी हेर्ला ? आफ्नाले कसरी मूल्याङ्कन गर्लान् ? एकपल्ट घोत्लिनु जाती होला ।


प्रधानमन्त्रीको टोलीमा परेर अमेरिका जान पाउँदा अपवाद बाहेक सबै प्रफुल्ल हुन्छन् । यसो भनेर अमेरिका टेक्नेमात्र आकर्षणले बल्ल–बल्ल बनाएको तपाईको व्यक्तित्वमा ग्रहण लाग्ला । अमेरिकाकै प्रसङ्गमा एउटा छेस्को मिसाउँ । अमेरिका जान रौसिने उमेरका प्रदीप गिरीलाई विश्वेश्वरप्रसाद कोइरालाले सम्झाएका थिए रे, ‘अमेरिका जानेमात्रै आकर्षण हो भने साना मान्छे जान्छन्, अमेरिका । कमाउन, खान र ठूला डिग्री लिन । यो सानो चिज हो ।’ (नयाँ पत्रिका, ४ जेठ २०६५)

प्रकाशित : भाद्र ३०, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?