कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोरी, मैनबत्ती र न्याय

अभि सुवेदी

काठमाडौँ — भदौ २०७५ को अन्तिम हप्तामा काठमाडौंको सडकमा एउटा भयानक शक्तिशाली चित्र देखियो । कारुणिक, विद्रोही, भावात्मक र चेतनाको प्रवाह गराउने दृश्य थियो त्यो ।

छोरी, मैनबत्ती र न्याय

थियो त्यो । एउटी आमाले आफ्नी बलात्कृत र हत्या गरिएकी बालिका छोरीको अबोध विम्ब छातीमा स्तनपान गराएर टाँसेको अनि त्यसलाई मैनबत्तीको शुभ्र उज्यालोमा आलोकित गरिएको जस्तो देखिने त्यो चित्र मैले आजसम्म काठमाडौं वा आफू पुगेको संसारको अन्य कुनै नागर परिवेशमा देखेको सबभन्दा वाचाल विम्ब थियो । आमा स्तनपान गरेकी बालिकालाई ज्योतिको स्थिर उज्यालो हातमा लिएर किञ्चित झुकेर वात्सल्य र करुणा अनि अथाह पीडाको संगम गराएर उभिएकी छन् ।

कञ्चनपुरमा १० साउन २०७५ मा पाशविक बलात्कार र हत्या गरिएकी १३ वर्षकी बालिका निर्मला पन्तको हत्यारा अहिलेसम्म पनि पत्ता नलागेपछि पति यज्ञराज र विद्रोही र निर्भीक महिलाहरूको समूहसहित राजधानीमा न्याय खोज्न आउँदा, २८ भदौमा जनता उठेको भिडको अमूक थलोमा ती आमा दुर्गादेवी उभिएको विम्ब थियो त्यो । त्यो देख्दा क्रान्ति र धर्मजनिन विम्बहरू ओइरिएर आए, मनमा । जब विम्बहरू अभिव्यक्तिका शैली र रङ्ग लिएर स्थिर हुँदा पनि चञ्चल देखिन्छन्, ती कला हुन्छन्, ती जीवन हुन्छन् । दुर्गादेवी नेपाल आमाकै प्रतिरूप देखिन्छिन्, त्यो विम्बमा । नेपाली कलाकारले बनाएका चित्र र मूर्तिहरू छन् । भारतमा स्वतन्त्रतापछि ‘मदर इन्डिया’को रूपमा आमा र बालकका चित्र देखेकै हौं । दुर्गादेवीको त्यो छवि रूपले मलाई बाह्रौं शताब्दीको प्यारिसको नोत्र दामको हलको दाहिनेपट्टि कुँदिएको मेडोनाले शिशु क्राइस्ट बोकेको विशाल मूर्ति र अन्य ठाउँका कलाकृतिहरूको सम्झना हुन्छ ।

तर दुर्गादेवीको त्यो आकारले उजागर गरेको चेतनाको आयाम प्रतीकात्मक र उद्वेलित गर्ने भए पनि तिनको यात्रा र त्यो छविले उठाएका प्रश्नहरू यथार्थिक र चेतना जगाउने किसिमका छन् । तिनै केही कुरा यो लेखमा उठाउँछु ।दुर्गादेवी र यज्ञराजसहित कञ्चनपुरबाट राजधानीमा न्याय खोज्न र सरकारको घर नजिकै आएर कराउन आउने ती नरनारीहरू नेपाली राजनीति र जनताको सम्बन्धका रूपक हुन् । नेपालमा शक्ति केन्द्रमा बस्छ, कराउन नेपाल जानुपर्छ, जाँदा १५ दिन लाग्न सक्छ, तर त्यहाँ नपुगी हुँदैन भन्ने सामन्तकालीन युगको प्रेतका अवशेष हुन्, ती रूपक । नेपाल अहिले नयाँ ऐतिहासिक संविधान बनेर ३ तहको चुनावले विभिन्न तहका सरकार बने पनि न्यायका निम्ति राजधानी नै आउनुपर्ने अवस्थाबाट मुक्त भइनसकेको अवस्था बुझिन्छ, त्यसबाट ।

विभिन्न समयमा काठमाडौंमा न्यायको निम्ति आउने जनताका आकार, अवस्था र संरचना फरक छन् । मूलत: काठमाडौं उर्फ नेपाल आउने मानिसका यात्रा एक्ला, दु:खरञ्जित र बाध्यात्मक रहिआएका छन् । लामो समयसम्म ती एक्ला यात्राहरू, दु:खी मानिसले न्याय खोज्न आएका असंख्य कथाहरू, अदृश्य अनि अनङ्कित रहे । कहिले ती दलहरूले संगठित गरेर लाखभन्दा माथिको संख्यामा पनि यहाँ आए । तर ती फरक हुन् । दुर्गादेवीको यात्रा सबैभन्दा भिन्न हो । यसको प्रतीकात्मक अर्थ छ । पहिलो त यसबाट सरकारी संयन्त्र र प्रशासनिक संरचनामा रहेका समस्या उजागर भएका छन् । दुर्गादेवीहरूले निकै दिनको प्रयासपछि भेट्न पाएका प्रधानमन्त्रीले उनीहरूलाई भनेको पहिलो वाक्य नै त्यही थियो । दोस्रो र अझ महत्त्वपूर्ण विषय भनेको साधारण जनता र राजनीति, सिद्धान्त र तिनलाई लिएर हाँक्दै हिंँड्ने राजनेता र सरकारका भाष्यमा ठूलो खाडल छ । विस्तारै ती एकअर्कालाई बुझ्दै नबुझ्ने अवस्थातिर जाँदैछन् । राजधानीमा केन्द्रित सरकारका निम्ति दुर्गादेवीहरूका त के कुरा जनताले छानेकै प्रतिनिधिहरू र सरकारहरू पनि अदृश्य हुने विसंगति बढ्दैछ । नेपालको इतिहासमा यो एउटा अनौठो चक्र हो, जसले विस्तारै एकल शक्तिकेन्द्रहरूका रचना गर्दै जानेछ ।

राजधानीमा दुर्गादेवी, यज्ञराज र कञ्चनपुरबाट आएका मानव अधिकारकर्मीहरूलाई स्थानीय नरनारीले समर्थन गरेर निस्केको त्यो जुलुसमा देशका अनेकौं ठाउँमा बलात्कार र हत्याका घटनाका स्मृति पनि जोडिए । सिद्धान्तले ओतप्रोत मानिने, जनताले पत्याएकै राजनेताहरूले बोले, यो सरकार ढाल्ने षड्यन्त्रकारीको भिड हो । यथार्थ के हो भने यी भिडहरूले सरकार ढाल्दैनन् । यो ५ वर्षको निम्ति जनताको मत पाएरै आएका मानिसहरूको सरकार हो । यो ढल्दैन, यसले शासन गर्छ । कसरी गर्दै जानेछ, त्यो अर्को कुरा हो । तर यो जनता देखेर डराउने मनोग्रन्थि हो र यो कसरी जन्मियो ? यसका कारणहरू के हुन् ?

एउटा कारण हो, एकाध दलहरू जो सर्वसाधारण जनतासँग बढी नजिक भएका थिए, ती तिनै जनताको समर्थनले माथि पुगेर शक्तिशाली भए । जनताकै निम्ति भनेर भाष्य रचिए । तिनकै निम्ति कार्यक्रमका घोषणा भए । तर जनता र साधारण जनताको सम्बन्ध टाढिँंदै गयो । राजनीति शासन, धन र ठूला सपनाको पर्याय भयो । जनताको त्यसमा खास सहभागिता भएन । ती राजनीतिक शक्ति बनाउनेका खजाना भए । एउटा ऐतिहासिक संविधान बनेर अहिले संहिताहरू पास भएर काम गर्न थालेको, संघीयताका संरचना बनेको, गणतन्त्र भएको अवस्थालाई हेर्ने नकारात्मक दृष्टिमा म विश्वास गर्दिन । त्यसलाई म उपलब्धि मान्छु र अहिले जे राजनीतिक व्यवस्था छ, त्यसलाई समर्थन गर्छु । तर यही संरचनाभित्र देखिएका केही इतिहासका विडम्बना र शासन गर्ने र जनताको बीचमा बनेका दूरीका केही चरित्रले भने हामी चिन्तित छौं ।

अहिले जनता आफूलाई अर्थहीन र असम्बद्ध हुँदै गएको अनुभव गर्नथालेका छन्, जुन चिन्ताको विषय हो । नेपाली कमिनिष्ट र नेपाली कांग्रेस सबैका जनता बारेका परिभाषा छन् । ती परिभाषा सिद्धान्तले रञ्जित थिए र छन् । त्यसैले संविधानलाई समाजवादी दस्तावेज भनिएको हो । तर यो राजनीतिक संरचनाभित्र कमजोर पक्ष र वर्ग झन् कमजोर हुँदै गएको देखिनु अर्को सोच्ने विषय हो । महिला, दलित र सीमान्त मानिसका अवस्था संसद र राजनीतिमा कमजोर देखिंँदै गएका छन् । बालिका र नारीमाथि जघन्य अपराध बढ्दै गएका छन् । समाधानका उपाय केही हास्यास्पद र केही गम्भीर देखिएका छन् । कुनै संकोच नगरी पुरुषका यौन तुष्टिका उपाय खोज्नु र रेड लाइट एरिया छुट्याउनुलाई समाधानको रूपमा राखिँंदै आएका छन्, जुन एउटा अनौठो मनोग्रन्थिको उपज हो । पहिले पनि यसैमा लेख्यौं, समाज एउटा जटिल बन्दै गएको न्युरोसिसले पीडित बन्दै गएको छ ।

राजनीतिका सपनाले युवाहरूलाई आकर्षित गर्दैन । शिक्षाको व्यवस्था कमजोर छ । आउने दिनका निम्ति भनी अतिरञ्जक सपना देख्छन् राजनेता र सरकार । तिनका सपना स्वर्णिम, रोमानी र युटोपियाली छन्, जुन टमस मुरको युटोपिया वा कल्पनालोक जस्तै सुनिन्छन् । ती सपनाका सैद्धान्तिक र राजनीतिक आधार छैनन् । ती माक्र्सेली पनि होइनन्, बीपी कोइराला र पुष्पलाल श्रेष्ठले देखेका सपना पनि होइनन् । तर तिनले देखेका सपना देशका निम्ति भए पनि युवाहरू तिनलाई पत्याउँदैनन् । ती पढेका छन् भने पश्चिमतिर र अष्ट्रेलियातिर पलायन हुन्छन् । धेरैजसो प्रतिभाशाली युवा डाक्टरहरू, मेरा पहिलेका विद्यार्थीहरू पनि पर्छन्, भन्छन्, ७० प्रतिशतले अमेरिकाका मेडिकल परीक्षा दिंँदैछन् । जाने क्रम जारी छ । युवाका निम्ति अहिलेको राज्य र नेता अनि सरकारले देखेका सपना असम्पृक्त वा ट्वाक्कै नमिल्ने खालका छन् ।

युवाहरू दलसँग आबद्ध छन्, तर तिनलाई दलहरूमाथि नै मोहभङ्ग भएको देखिन्छ । काम छैन, उद्देश्य छैन । तीमध्ये कति त खाएको वा नखाएको मादकताले ग्रसित छन् । अपराध र बलात्कार कर्मममा संलग्न हुने तिनका ग्रन्थि समाजमा प्रचलित कानुनी मर्यादाको पालना नहुनुमा पनि रहेको छ । तिनले देशका जिम्मेवार अङ्गहरूका क्रियाकलाप देखेका छन्, साँठगाँठ गर्ने ठाउँ देखेका छन्, त्यसैले ती अपराध गर्न पछि पर्दैनन् । अनैतिक रूपले पनि पछि पर्दैनन्, कानुनको भय पनि तिनलाई छैन । यी दुबै कुरा स्थापित गर्ने काम राज्य, राजनीति र सरकारको हो ।

तर अर्को पनि जटिल कुरा छ । अहिलेका सबै पार्टीका चालामाला र बोली सुन्दा र तिनले लेखेका कुरा पढ्दा एउटा अत्यन्त महत्त्वपूर्ण र गरिहाल्नुपर्ने कुरा पछि परेर गएको छ । बृहत् शान्ति गर्दाको मूलमन्त्र सत्यनिरुपणको थियो । दक्षिण अफ्रिकाको डेस्मन्ड टुटुले अध्यक्षता गरेर डिसेम्बर १६, १९९६ मा आरम्भ भएको टुथ एन्ड रिकन्सिलिएसन कमिसन (टीआरसी) को मोडलमा बनाएको यो संरचनामा केही आशा थियो । अहिलेको भयावह अवस्था भनेको करुणा गर्ने, प्रायश्चित गर्ने, माफ माग्ने र दिने अनि सेवा गर्ने कुनै थलो नहुनु हो । अपराधलाई दण्डित गर्ने संयन्त्र पनि हराउँदै जानु हो । अहिलेको राजनीति गर्ने र सरकार चलाउनेहरूका भाष्य र कर्मले ध्यान नदिएको आचार, करुणा, क्षमायाचना र दण्डको आयाम एउटा भयावह अवस्था हो ।

दुर्गादेवीको हातको मैनबत्तीको आभामण्डलमा चम्केको तिनको र निर्मलाको आकृति कमजोरी होइन, नयाँ युग र शक्तिको चित्र हो ।

प्रकाशित : आश्विन ६, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?