कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

जमानाको अमेरिका

भैरव रिसाल

काठमाडौँ — आजको संयुक्त राज्य अमेरिका हेर्दा अल्पविकसित, न्यून विकसित, विकासोन्मुख मुलुकका मान्छे अचम्म मान्छन्, आफ्नो देशको अवस्था देखेर । कहिले–कहिले त अत्तालिन्छ, कसरी बनाउने मुलुक भनेर । तर आजको अमेरिकाको १ सय १३ वर्ष अघिको अर्थात् सन् १९०५ का केही तथ्याङ्क चाखलाग्दा छन् ।

जमानाको अमेरिका

सम्वत् २०५३ भदौ २७ देखि भारतको नयाँदिल्लीस्थित विशाल रामलीला मैदानमा एउटा बृहत् अनुष्ठान भएको थियो– दक्षिण एसियाका लागि सन् २००० को शतक जनताको योजना । जो तीन दिन चल्यो । नेपालबाट विभिन्न गैरसरकारी संस्थाबाट हामी १५ जना गएका थियौँ । नेपाल वातावरण पत्रकार समूहबाट म सहभागी थिएँ । दोस्रो दिनदेखि विविध विषयमा विस्तृत एवं गम्भीर विमर्श गरी निचोड निकाल्न ८ समूह बने । दक्षिण एसिया क्षेत्रका जनताको लागि एक सय वर्षको योजनाका दीर्घकालीन रूपरेखा प्रक्षेपण गर्ने प्रयास थियो त्यो । जनताको योजना– गरिखानेहरूका लागि हुनुपथ्र्यो । म पनि एउटा समितिमा बसेँ । प्रत्येक समितिमा १ सय २५ जनाभन्दा बढी थिए । दिल्लीको तातोमा जुत्ता नलगाएका समेत दर्जनौं थिए ।

मेरो प्रस्तुति
मैले त्यसैताक संयुक्त राज्य अमेरिकाको सन्् १९०५ को भौतिक अवस्थाको तथ्याङ्कगत एउटा लेख पढेको थिएँ । निकै चाखलाग्दो त्यो शब्दचित्र तथा अङ्कचित्र उल्लेख गरी एउटा फेहरिस्त उतारेको थिएँ । त्यो चित्र त्यस गम्भीर भेलामा प्रस्तुत गर्न मन लाग्यो । त्यो प्रस्तुत गर्दा सभा विलकुलै शान्त रह्यो । बडो गम्भीरतासाथ मेरो प्रस्तुति सुने । त्यो प्रस्तुति उक्त अनुष्ठानको एउटा चरम आकर्षण रह्यो । प्रस्तुतिको प्रथम चरण सकिएपछि अढाई दर्जनजति सहभागीले कैयौं विषयका तथ्याङ्क सोधे र आ–आफ्नु नोटबुकमा उतारे । मलाई यसको अमूल्य श्रेय प्राप्त भयो । त्यसले एउटा खुलदुली नै ल्यायो । छलफलको अन्त्य भैसकेपछि पनि केही सहभागीले मसँग सम्पर्क गरेर आ–आफ्ना चाखका तथ्याङ्क टिपोट गरे । म पनि प्रसन्न भएँ ।

सरदर आयु ४७ वर्ष
सन् १९०५ मा अमेरिकाको जनसंख्या ८ करोड, ३८ लाख, २२ हजार रहेछ । त्यतिबेला अमेरिकीहरूको सरदर आयु ४७ वर्ष रहेछ । साक्षरता भने त्यतिबेला पनि ८० प्रतिशत रहेछ । ११३ वर्ष अघिको अमेरिकामा सय जनामा २० जना निरक्षर रहेछन् अर्थात् ल्याप्चे । सडक यातायातको अवस्था कालोपत्रे (पिचरोड) जम्माजम्मी १४४ माइल रहेछ । त्यो पिचरोड कति फिट चौडा थियो भन्नेचाहिँ उल्लेख छैन । अहिलेजति चौडाइ थिएन होला, पक्कै पनि । ग्राभेल सडक र धुले सडक कति–कति माइल थिए, उल्लेख छैन ।

तीन मिनेट कुरा गर्न ५० घन्टा श्रम
टेलिफोनको कथा अरु रोचक छ । न्युयोर्कबाट कोलोराडोको डेन्भरमा ३ मिनेट टेलिफोनमा कुरा गर्दा ११ डलर तिर्नुपर्ने रहेछ । कति महँगो ? त्यो बेला ११ डलर कमाउन ५० घन्टा श्रम गर्नुपर्ने । किन भने त्यतिबेला श्रमको ज्याला प्रतिघन्टा २२ सेन्टमात्र थियो । नुहाउनका लागि १४ प्रतिशत घरमा मात्र बाथटब रहेछन् । पानी चिसै हो कि तातो उल्लेख छैन । ८ प्रतिशत घरमा मात्र टेलिफोन सेवा रहेछ । आमाको र नवजात शिशुको स्वास्थ्य अवस्था कस्तो होला, जबकि ९५ प्रतिशत गर्भिणी घरमै सुत्केरी हुने रहेछन् । अनुमान गरौं, मातृ मृत्यु र शिशु मृत्युदर कस्तो–कस्तो होला ? अमेरिका भन्नासाथ हामी केही धेरै अघिदेखि नै वित्पात होला भन्ने सोच्छौँ र कति अत्तालिन्छौं पनि । वास्तवमा अमेरिका वा आजको संयुक्त राज्य अमेरिकाको ११३ वर्ष अघिको शिक्षाको स्थिति हेर्दा पत्याउन मुस्किल पर्छ । सन् १९०५ मा १२ कक्षा उत्तीर्ण हुने अमेरिकी ६ प्रतिशतमात्र रहेछन् । तपाईंलाई पनि पत्यार गर्न सजिलो लागेन होला । ९० प्रतिशत अमेरिकीले विश्वविद्यालयको मुख पनि अथवा ढोका पनि देखेका रहेनछन् । उच्च शिक्षाको अवस्था कस्तो थियो होला ? अनुमान गर्न सकिन्छ ।

कारको गति प्रतिघन्टा दस माइल ?अब अरु सुविधा र सम्पन्नता कोट्याउँ । त्यतिबेला कार ८ हजारवटा रहेछन् । ८ करोड ३८ लाख मान्छे तर कार भने जम्माजम्मी ८ हजार । एक करोड मान्छे बराबर एउटाको दरले पनि नपुग्ने । अर्को एउटा चाखलाग्दो र पत्याउन मुस्किल तथ्य पनि उल्लेख छ, त्यो हो, कारको गति । ११३ वर्षअघि अमेरिकामा एक घन्टामा १० माइलमात्र गुड्ने रहेछ । कस्तो होला सडकको अवस्था । अमेरिकी महिला त्यो युगमा महिनामा एक दिनमात्र कपाल नुहाउँथे रे । सरसफाइको स्थिति अनुमान गर्न यो पनि एउटा आधार हुने रहेछ ।


त्यो जमानामा अमेरिकामा मृत्युका प्रमुख रोग पाँचथरी रहेछन् । ती रोगलाई यसरी प्राथमिकता दिइएको छ : एक नम्बरमा निमोनिया, दुईमा पखाला रोग पर्दोरहेछ । तेस्रो रहेछ– क्षयरोग, चौथो इन्फ्लुञ्जा । पाँचौं मुटु रोग, छैटौं रोग लापरबाहीलाई लिइँदो रहेछ । लापरबाही रोग हो कि बेवास्ता, हेलचेक्र्याइँ, उपेक्षा वा चेतनाको कमी के हो वा सबै हो । छलफलको विषय हुनसक्छ । यसरी टुङग्याइएको थियो, सन् १९०५ को अमेरिकाको स्वरूप वा अनुहार । त्यो मेरो प्रस्तुतिमा वास्तवमा नयाँ कुरा केही थिएन, थियो भने सय वर्ष अघिको पुरानो अमेरिका । तर त्यहाँ यो प्रस्तुतिले मेरो सहभागिताको औचित्य पुष्टि गर्‍यो ।

गोरा अल्पमतमा पर्दैछन्
अमेरिकी महादेश पत्ता लागेकै वास्तवमा सन् १४९२ मा मात्र हो । क्रिस्टोफर कोलम्बसले पत्ता लगाएका । केही वर्ष अघिको एउटा प्रक्षेपण अनुसार सन् २०४२ मा संयुक्त राज्य अमेरिकामा गोराहरूको संख्या अल्पमतमा पर्छ । यो क्रम बढेर गई सन् २०५० मा यिनीहरूको संख्या ४६ प्रतिशतमा झर्छ । ज्येष्ठ नागरिक १ करोड ९० लाख पुग्ने प्रक्षेपण छ । गोराको पुस्ता बुढिँदैछ भन्न थालिएको छ ।

हाम्रा केही तथ्य–तथ्यांक
नेपालको भरपर्दो पुरानो तथ्याङ्क पर्याप्त छैन । खोजबिनको क्रममा श्री ३ जङ्गबहादुरले सम्वत् १९१०–११ र १९१३ मा जनगणना गराएको मूल प्रति पनि फेला पारिएको छ । तर त्यो नेपाल राज्यभरको छैन । औपचारिक र नेपालको पहिलो जनगणना वि.सं. १९६८ मा गरिएको थियो । त्यतिबेला ५६ लाख ३८ हजार ७ सय ४९ नेपाली थिए । त्यसको नौ वर्षपछि गरिएको जनगणनामा ५५ लाख ७३ हजार ७ सय ८८ मात्र देखियो, नेपालीको संख्या । यी दुई संख्या भिडाउँदा ६४ हजारभन्दा बढी संख्या घटेको छ, नौ वर्षपछि । त्यसको दस वर्षपछि अरु ४१ हजार २ सय २४ नेपाली घटेका छन् । प्रथम विश्वयुद्धमा नेपाली युवालाई जबर्जस्ती लडाइँको मोर्चामा सामेल गराएकोले जनगणनामा मान्छेले नाम नलेखाएको भन्ने टिप्पणी गरिन्छ । २००९–२०११ मा जनसंख्या ८४ लाख ७३ हजार ४ सय ७८ देखिएको छ । २००७ मा नेपालमा सबै खाले सडक ३६७ किलोमिटर, साक्षरता २.५ प्रतिशत, सरदर आयु २८ वर्ष थियो । बिजुली बत्ती १ हजार ८ सय १७ किलोवाट, प्राथमिक पाठशाला ३ सय ११, माध्यमिक विद्यालय ११ र कलेज १ थिए भने स्नातक र सो माथि पढेका ३ सयजना थिए ।

लागौं अब ढिला भए पनि
आजको अमेरिकाको इतिहास खोजिपस्दा सजिलो छैन । क्रिस्टोफर कोलम्बससम्म पुग्नुपर्छ । युरोपियनहरूले सुन जम्मा गरेर ल्याउने युगतिर पुग्नुुपर्छ । अमेरिकाका मूलवासीबारे छोटकरीमा सम्भव छैन । सन् १७८९ मा जर्ज वासिङटनसम्म पुग्न त्यो महाद्विपमा अनेकानेक रक्तपातपूर्ण र विना रक्तपातका धेरै भयावह घटना भएका छन् ।

नेपाल निकै भो विकास र समृद्धिमा अगाडि बढ्नसकेको छैन । २००७ सालदेखिका प्रयास फुल्न, फक्रन नसकेको अवस्थाबाट नपिरोलिन र इमानदारीपूर्वक देशको पुनर्निर्माण एवं नवनिर्माणमा लाग्ने हो भने ढिला भएको छैन । आजसम्मका राजा, प्रधानमन्त्री जे–जे हैसियतकाशासकहरूले ६८ वर्ष खेर फालेको भए पनि अब लागौं । ठाउँमा पुगिन्छ । तर सर्त हो– इमानदारीपूर्वकको सक्रियता ।

प्रकाशित : आश्विन ६, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?