कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

विमान सेवामा जलप

कञ्चनमणि दिक्षित

काठमाडौँ — गत सेप्टेम्बर १ को साँझ म बैंग्लोरबाट नेपाल एयरलाइन्सको विमानमा काठमाडौं फर्कंदै थिएँ । काठमाडौं पुग्नु एक घण्टाअगाडि पाइलटले सूचना दिए, ‘धावनमार्ग छाडेर एउटा विमान बाहिर गएकाले त्रिभुवन विमानस्थल बन्द छ ।’ विमान होल्डमा राख्नु भनिएको रहेछ ।

विमान सेवामा जलप

एक घण्टाजति आकाशमा घुमाएपछि पाइलटले जानकारी दिए, ‘हामी भारतको नयाँदिल्लीमा अवतरण गर्न जाँदै छौँ ।’ यात्रुमा खैलाबैला मच्चियो ।

सन् २०१५ मार्च ४ का दिन पनि यस्तै घटना भएको थियो । टर्किस एयरलाइन्सको विमान धावनमार्गमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा त्रिभुवन विमानस्थल चार दिन बन्द रह्यो । धेरै यात्रुले सास्ती भोग्नुपर्‍यो । यस घटनापछि त्रिभुवन विमानस्थलको व्यवस्थापनमा प्रश्न उठेका थिए । गत मार्च १२ मा बंगलादेशबाट काठमाडौं आएको यू एस बंगलाको विमान अवतरण गर्ने क्रममा दुर्घटना भयो । म त्यस दिन थाई एयरवेजको विमानबाट बंैकक जाँदै थिएँ । विमान दुर्घटना मेरै आँखाअगाडि भएको थियो । हामीलाई विमानबाट टर्मिनलमा लगियो । सुरक्षित राखियो । खानाको व्यवस्था पनि गरियो ।

सेप्टेम्बर १ मा पनि हामी विमानभित्रै सुरक्षित थियौं तर नयाँदिल्ली विमानस्थलको एक कुनामा । करिब १०:३० मा अवतरण गरेको विमानभित्र हामी राति २:३० सम्म बस्नुपर्‍यो । गन्तव्यमा पुग्न नसकेकामा यात्रु चिन्तित थियौं । जहाजभित्रको निसास्सिँदो वातावरणमा पानीको माग हुन थाल्यो । तर आपूर्ति भएन । सायद पर्याप्त थिएन होला । धेरैचोटि आग्रह गर्दा आधा घण्टामा मैले पानी पाएँ ।

एयरलाइन्सका परिचालिका/परिचालकले यात्रुलाई सम्झाउनुपर्ने हो । जहाजका पाइलटको स्वर सुन्नै पाइएन । एक परिचालिका उल्टै बर्बराइन्, ‘हाम्रो इच्छाले विमान नयाँदिल्ली ल्याएजस्तो हामीसँग कराउँछन् यात्रुहरू ।’ एक महिला यात्रुले अर्की परिचालिकालाई बोलाएर भनिन्, ‘पाइलटले समयसमयमा स्थितिबारे अपडेट गराएको भए यात्रुलाई राहत पुग्थ्यो ।’

‘हामी मात्र कति तपार्इंकहाँ आउने ? तपाईं पनि हामी भएका ठाउँमा आएर बुझेको भए हुन्थेन ?’ परिचालिकाले जवाफ फर्काइन् । म छक्क परेँ । एयरलाइन्सले आफ्ना कर्मचारीलाई अप्ठेरो समयमा यात्रुसँग कसरी व्यवहार गर्ने भन्ने सिकाएका रहेनछन् । सम्झाउनुको साटो रिसाउने, झर्को मान्ने, भुतभुताउने व्यवहारबाट हाम्रा एयरलाइन्सले कसरी यात्रु आकर्षित गर्लान् ?

बिहान करिब २:३० बजेतिर विमानबाट यात्रु प्रतीक्षालयमा लगेर राखियो । ५:३० बजे होटल व्यवस्थापन गरेर हामीलाई लगियो । बिहान ७:३० मा रिसेप्सनबाट ९:३० मा होटेलको लबिमा जम्मा हुनु भन्ने फोन आयो । भोक लागेकाले हतारहतार खाजा खायौं । तोकिएको समयमा हामी सबै तयार भयौं तर नेपाल एयरलाइन्सका कर्मचारीको अत्तोपत्तो थिएन । कुर्दा कुर्दा ११ बजे मात्रै हामीलाई विमानस्थल लगियो ।

दिल्ली विमानस्थल कर्मचारीले टिकट नभएकाले हामीलाई यात्रुकक्षमा जान दिएनन् । हल्लीखल्ली मच्चिएपछि नेपाल एयरलाइन्सका कर्मचारी आइपुगे । उनीहरूले हातले लेखेको बोर्डिङ पास दिए तर दिल्ली विमानस्थलले अस्वीकार गर्‍यो । विमानस्थलको प्रत्येक तहमा अप्ठ्यारो झेल्दै बल्ल विमानभित्र पुग्यौं र ३:३० बजे उड्न सफल भयौं ।

त्यस २४ घण्टामा त्रिभुवन विमानस्थलमा एउटा सानो घटना हुँदा कसरी यात्रु प्रभावित हुन्छन् भन्ने देखँे । व्यवस्थापनमा प्रशस्त समय हुँदाहुँदै पनि यात्रुले धेरै सास्ती भोग्नुपर्‍यो । विमानस्थल र विमान सेवाका कर्मचारीले आपत्कालीन स्थितिसित जुध्ने परिपाटी सुधार्नुपर्ने देखियो । नेपाल वायु सेवा निगमले विमान सेवाका कर्मचारीलाई यात्रुसित राम्रो व्यवहारका लागि अभिमुखीकरण गर्नु आवश्यक छ । निगमका नयाँ ठूला विमानले दिने सेवामा राम्रो व्यवहारको जलप थप्न जरुरी छ ।

प्रकाशित : आश्विन ७, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?