अन्त्यहीन प्रहरी अनुसन्धान !

निर्मलाको बलात्कार तथा हत्याबारे राजनीतिक तहबाट भइरहेका भाषणबाजीले समस्यालाई गिजोल्ने देखिन्छ ।
कुशुमलता सिंह

काठमाडौँ — २०३९ वैशाखमा पोखरामा नमिता–सुनिता दिदीबैनीलाई बलात्कारपछि हत्या गरेर सेती नदीमा फ्याँकियो  । त्यो सबै कर्तुत बुझेका तथा अपराधी चिनेका वनपालेलाई प्रहरीले बयान दिन बोलायो  । तर दिनभरि बयान लिइएन र अन्त्यमा ‘भोलि आउन’ भनी फर्काइयो । त्यही रात उनलाई पनि हत्या गरी फालियो । त्यस घटनाको दोषी कहिल्यै पत्ता लगाइएन, सार्वजनिक गरिएन ।

नमिता–सुनिता काण्डको साढे तीन दशकपछि भएको निर्मला पन्तको बलात्कार र हत्या घटनामा पनि सत्य–तथ्य लुकाउने प्रपञ्च गरिँदैछ । घटना भएको अढाई महिना बितिसक्दा पनि अपराधी पत्ता लाग्नसकेको छैन । अनेक समिति बनाएर अनुसन्धानमाथि अनुसन्धान गर्ने शृंखला चलिरहेको छ र यो अन्त्यहीन रूपमा चलिरहने देखिन्छ ।


नमिता–सुनिता काण्ड भएका बेला मानिस सत्य बोल्न डराउँथे । अहिले महिलामा जागरुकता आएको छ । ‘सहने होइन, कहने’ भन्ने मान्यता स्थापित हुँदै गएको छ । निर्मला पन्तको बलात्कार र हत्या गर्ने व्यक्ति पत्ता लगाउन र कारबाहीको माग गर्दै देशव्यापी आन्दोलन चलिरहेको छ ।

Yamaha


भारतीय नारीवादी अभियन्ता कमला भासिनले गत भदौमा नेपाल आएका बेला भनेकी थिइन्, ‘महिलाको इज्जत गयो भनिदिन्छन्, के इज्जत भन्ने कुरा हाम्रो योनिमा हुन्छ ?’ आफूमाथि भएको अन्याय र अत्याचार सम्बन्धित ठाउँमा बताउँदा इज्जत जाँदैन, बरु न्यायले इज्जत र शक्ति बढाउँछ । यो मान्यता समाजमा स्थापित हुनुपर्छ, हुँदै गएको छ । त्यसले आफूमाथि हुने हिंसा उजागर गर्न उत्प्रेरित गर्छ ।


महिलाउपर बलात्कार र हिंसा केवल पीडितको समस्या होइन । यसले मानव सभ्यता र सम्बन्धित समाजलाई कलंकित बनाउँछ । यसलाई साझा सार्वजनिक मुद्दाका रूपमा लिनुपर्छ । बलात्कार, यौन दुव्र्यवहार, नारी विरुद्धको हिंसा, बेचबिखन वा दुव्र्यवहार विश्व समाजकै लागि अत्यन्त संवेदनशील र गम्भीर विषय हुन् । आफूमाथि भएको यौन दुव्र्यवहार उजागरका लागि प्रेरित गर्न र दोषीलाई कारबाही गराउन ‘मि टु’ अभियान चलिरहेको छ । यसले हलिउडदेखि बलिउडसम्म हलचल ल्याएको छ ।


निर्मला पन्तको बलात्कार र हत्याका सन्दर्भमा जनसमुदायले स्वस्फुर्त प्रदर्शन गरेर सरकारलाई अपराधी पत्ता लगाउन घचघच्याइरहेका छन् । उनीहरूले अपराधी पत्ता लगाउ, पीडितलाई न्याय तथा क्षतिपूर्ति देऊ एवं पीडकलाई हदैसम्मको दण्ड–सजाय देऊ भनेर आवाज उठाइरहेका छन् । पछिल्लो समय प्रहरी महानिरीक्षक, गृहमन्त्रीको राजीनामाको माग पनि आउन थालेको छ । उनीहरूको राजीनामा वा परिवर्तनले अपराधी पत्ता लाग्ने ग्यारेन्टी हुन्छ–हुँदैन, त्यो पनि हेर्नुपर्छ । अपराध विरुद्धको कारबाही अपराधीलाई राहत पुग्ने वा उसको शिर उठाउने कारक कहिल्यै हुनुहुँदैन भन्नेमा सबै पक्ष सजग बन्नुपर्छ ।


अपराधीले कुनै ‘वाद’ पढेर अपराध गरेको हुँदैन । अपराधीको न कुनै ‘तन्त्र’ वा ‘वाद’ हुन्छ, नत कुनै धर्म वा जात । अपराधीको पहिचान केवल ‘अपराधी’ हो र उसलाई गर्नुपर्ने उचित व्यवहार कसुर अनुरुपको दण्ड–सजाय हो । ‘वाद’ वा मानिस हेरी सजाय होइन, कसुर हेरी सजाय नै विधिको शासनको अनिवार्य आधार हो ।


नेपाल प्रहरीले २० वर्षअघि अपराध गरेका अपराधीलाई फेला पार्ने दक्षता देखाएको छ । तर प्रहरीको दक्षतालाई व्यावसायिक अनुशासनमा बसेर स्वतन्त्रतापूर्वक काम गर्न दिने वातावरण राजनीतिक तहबाट नि:सृत हुनुपर्छ । राजनीतिक संरक्षण वा अभयदान पाएको अपराधीका हकमा सुरक्षा निकाय लाचार हुनुपर्ने परिस्थितिको अन्त्य गरिनुपर्छ । नत्र अपराध र दण्डहीनताले मलजल पाउँछ ।


अपराध नियन्त्रण, दण्डहीनताको अन्त्य र सुशासनका लागि सरकार कटिबद्ध भएको पहिलो प्रमाण सुरक्षा निकायहरूको गैरराजनीतिक स्वरुप र व्यावसायिक दक्षतालाई असर पुग्ने कुनै हस्तक्षेप वा राजनीतीकरण नगर्नु हो । अपराधीले कानुनमा राजनीतिक संरक्षण पाउन सक्ने छिद्र रहन दिनु हुँदैन । अपराधीमा कानुनको डर जगाउनैपर्छ ।


निर्मला पन्तको बलात्कार तथा हत्याकाण्ड बारे राजनीतिक तहबाट जेजस्ता भाषणबाजी भइरहेका छन्, त्यसले अपराधी पत्ता लगाउन सहयोग पुग्ने देखिन्न, उल्टो समस्यालाई गिजोलेर झन् अन्योलपूर्ण बनाउन सक्छ । दण्डाधिकारी पक्षमा विवाद र अन्योल चर्किरहोस्, अपराधका प्रमाण नष्ट हुँदै जाउन् र कानुनको कठघरामा पुग्नुपर्ने सम्भावना झिनो बन्दै जाओस् भन्ने अपराधीको चाहना हुन्छ । सरकार र नागरिकका बोली र व्यवहारले अपराधीलाई राहत नपुगोस् भन्नेमा सचेत हुनैपर्छ ।

प्रकाशित : आश्विन २५, २०७५ ०८:०२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पेटभित्र मित्रजीव

पेटभित्रका कतिपय जीवले शरीर स्वस्थ राख्न सहयोग गर्छन् । ती मित्रजीवलाई सुरक्षित र नियन्त्रित राख्ने प्रयास भने गर्नुपर्छ ।
रामचन्द्र अधिकारी

काठमाडौँ — कसैलाई नराम्ररी भन्नुपर्‍यो भने मानिसले ‘पेटमा किरा परोस्’ भन्छन्  । तर पेटमा किरा परोस् भन्नु आशिर्वाद पनि हुनसक्छ  । उसो त पेटमा किरा नभएको मानिस छँदै छैन । जन्मेर दुई वर्षको भइसक्दा मान्छेको पेटमा किराले घर जमाइसकेका हुन्छन् । यहाँ किरा भन्नाले जुका र प्राटोजोआ, ब्याक्टेरिया, भाइरस फन्जाईजस्ता सूक्ष्मजीव हुन् ।

कसैलाई नराम्ररी भन्नुपर्‍यो भने मानिसले ‘पेटमा किरा परोस्’ भन्छन् । तर पेटमा किरा परोस् भन्नु आशिर्वाद पनि हुनसक्छ ।


मानिसको पेटमा करिब एक हजार खर्बवटा त ब्याक्टेरिया स्थायी रूपमा बसेका छन् । यो भनेको शरीरमा भएका मानवीय कोषभन्दा करिब तीन गुणा बेसी हो । ब्याक्टेरियाका तीन सयदेखि पाँच सय प्रजाति पेटभित्र छन् । एक कोषीय प्रोटोजोआका कम्तीमा २५ प्रजाति छन् । जुकाका तीन सयजति प्रजाति मानिसको पेटमा हुन्छन् । फन्जाईको विविधता पनि निकै घना छ ।


वैज्ञानिकहरूको अनुसन्धान निष्कर्ष अनुसार यी परजीवीको मानिससँग सहकार्यात्मक क्रमविकास भएको छ । यस आधारमा वैज्ञानिकहरू पेटका परजीवीको बेफाइदामात्र होइन, फाइदा पनि रहेछ भन्नेमा विश्वस्त भए । परजीवीहरू मानिससँग पारस्परिक सम्बन्ध स्थापित गरेरै बसेका छन् । बेफाइदा आफ्नै ठाउँमा होला, तर यो लेख फाइदाजनक पक्षमा केन्द्रित छ ।


हाम्रो अमाशयमा कडा हाइड्रोक्लोरिक एसिड बन्ने भएकाले यस्ता परजीवीलाई सो बासस्थान उपयुक्त हुँदैन । सानो आन्द्रामा पनि थुप्रै इन्जाइमले असर गर्ने भएकोले बस्न रुचाउँदैनन् । ठूलो आन्द्रा भने असाध्यै सुरक्षित बासस्थान हो, जहाँ नपचेको खानेकुरा दिसा बन्ने क्रममा थुप्रिएको हुन्छ । ब्याक्टेरियाले मानिसको रोग प्रतिरोधात्मक क्षमता प्रबद्र्धन गरिदिन्छन् ।


आन्द्राको भित्तालाई बलियो बनाएर अल्सर हुनबाट जोगाउँछन् । अन्य संक्रमणबाट पनि बचाउँछन् । कार्बोहाइड्रेडलाई आसवीकरण (फरमेन्टेसन) प्रक्रियाबाट एक्टिनो क्याक्टेरिया र फिर्मिएक्टसले ब्युटाइरेटमा रूपान्तरण गरिदिन्छन् । यो रसायनले आन्द्राको भित्तामा जलन हुन दिँदैन र क्यान्सरबाट जोगाउँछ । ब्युटारेट ठूलो आन्द्राका भित्तामा रहेका कोषहरूको खान्की हो । ल्याक्टोबेसिलस ब्याक्टेरियाहरू भिटामिन बी उत्पादनका चाबी हुन् ।


खासमा जनावर, वनस्पति र फन्जाई कसैले पनि भिटामिन बी निर्माण गर्न नसक्ने शास्त्रहरूमा उल्लेख छ । बाइफिडो ब्याक्टेरियाले फोलेट भनिने रसायन उत्पादन गरिदिन्छन्, जुन आनुवांशिक सामग्री डीएनए निर्माण गर्न सहभागी बन्छ । ब्याक्टेरियाले आन्द्रामा भिटामिन के उत्पादन गर्छन्, जसले घाउबाट रगत बग्ने क्रमलाई रोक्छ । विभिन्न भिटामिन राइबोफ्लाबिन, बायोटिन, निकोटिनिक एसिड, थाइमिन, पाइरिडोक्सिन आदि पनि ब्याक्टेरियाले पेटभित्र निर्माण गर्छन् ।


ठूलो आन्द्राको कोलोनमा बस्ने कोलोनिक ब्याक्टेरियाले बाइल एसिड पाचन गराउँछन् । सो एसिडलाई पचाउन सकिएन भने मोटोपना बढ्ने, मधुमेह चाँडै लाग्ने र पेट सम्बन्धीका अन्य रोग लाग्ने सम्भावना तीव्र हुन्छ । औधि दुब्लो मानिसलाई मोटाउन पनि ब्याक्टेरियाको महत्त्वपूर्ण भूमिका रहन्छ । जस्तै– वैज्ञानिकहरूले एउटा अनुसन्धान गरेका थिए कि मोटो मानिसका पेटमा भएका ब्याक्टेरिया मुसामा स्थानान्तरण गरी हेर्दा मुसा मोटाए । परीक्षण काल र सो अघिको खान्कीको मात्रामा कुनै भिन्नता गराइएको थिएन ।


हार्वर्ड विश्वविद्यालयका अनुसन्धाता बेन्जामिन ई वोल्फले खानपान र जीवनशैली अनुसार मानिसका पेटमा फरक किसिमका ब्याक्टेरिया हुँदारहेछन् भन्ने पत्ता लगाए । ब्याक्टेरियाले पोषण तत्त्व उत्पादन गरिदिने मात्र होइन, शोषण क्रियामा समेत योगदान गर्छन् । हानिकारक ब्याक्टेरियालाई दबाउने एन्टिबायोटिक उत्पादन गरेर रोगबाट जोगाउँछन् । यस्ता उपयोगी ब्याक्टेरियाको संख्या र कार्यक्षमतामा ह्रास आएमा शत्रु ब्याक्टेरियाले हामीलाई आक्रमण गर्ने हुन् । रेसादार खानेकुरा जस्तै– फलफूल, सागपात आदिको रेसालाई ब्याक्टेरियाले सट चेन फ्याट्टी एसिडमा परिवर्तन गरिदिन्छ । यो रसायन हर्मोनको सहायक बनिदिन्छ ।


फन्जाई वा ढुसीको उपस्थिति पनि पेटभित्र राम्रै छ । क्यान्डिडा, एस्परगिलस, पेनिसिलियम, स्याकारोमाइसिज आदि फन्जाई हामीसँग दोहोरो सम्बन्ध स्थापित गरी बसेका छन् ।
हामी पेटमा पर्ने जुकालाई हानिकारक ठान्छौँ । तर हाम्रो स्वास्थ्य असल राख्न जुकाले भूमिका निर्वाह गरेको हुनसक्छ । अहिले हेल्मिन्थेरापी (जुकाको प्रयोगबाट गरिने उपचार पद्धति) विकास भएको छ । बल्छीजुका (हुक वर्म), कोर्राजुका (विप वर्म) आदिको अन्डा वा वयस्क प्रयोग गरी दम र मधुमेहको उपचार गर्ने परीक्षणात्मक कार्य सफल भएको छ ।


एरिजोना सेन्टर, सान फ्रान्सिस्कोका चिकित्सक पाउल अब्राम्सनले इथियोपिया र भियतनाममा यसबारे अनुसन्धान गरेका थिए । त्यसको प्रतिवेदनले भनेको छ– जसलाई बल्छीजुकाले जीवनको कुनै कालखण्डमा आक्रमण गरेको थियो, तिनीहरूमध्ये कमैलाई मात्र दम रोग लागेको पाइयो । अफ्रिकाका केही देशमा बालकलाई जुकाबाट सुरक्षित राखियो, तर उनीहरूमा केही वर्षपछि डस्ट माइट भनिने किराबाट हुने एलर्जीको प्रकोप अत्यधिक पाइयो । जुका पीडित बालबालिकामा भने यस्तो समस्या पाइएन ।


जीवनमा एकपटक जुकाको आक्रमण भए यसले धेरै रोगलाई भ्याक्सिनको जस्तो काम गरिदिन्छ भन्ने वैज्ञानिकहरूको विश्वास छ । यसको प्रभावमा परी जीउको प्रतिरोधात्मक क्षमता क्रियाशील बन्छ । ब्याक्टेरिया, प्रोटोजोअन र फन्जाईको पनि यस्तै विशेषता र भूमिका हुन्छ ।


शरीर भित्रको पारिस्थितिक प्रणालीमा सन्तुलन यिनैले कायम गर्छन् । यिनको संख्या र नियमित गतिविधिमा कुनै उतार–चढाव आयो भने पेटमा खराबी आउँछ । संख्यामा गिरावट आयो भने दबाइका रूपमा यिनै जीवका बिउलाई जीउमा प्रवेश गराइन्छ । तसर्थ अघातक मात्रामा यस्ता उपयोगी जीव रहिरहे शरीर स्वस्थ रहन्छ । कहिलेकाहीँ संख्या बढ्यो भने असर बढ्छ र अरु रोग समेतले गलाउँछन् । तसर्थ पेटमा बसेका मित्रजीवलाई सुरक्षित र नियन्त्रित राख्ने प्रयास गर्नुपर्छ । लेखक त्रिवि स्नातकोत्तर क्याम्पस विराटनगरको प्राणीशास्त्र विभागका उपप्राध्यापक हुन् ।

ramchandra.adhikari@gmail.com

प्रकाशित : आश्विन २५, २०७५ ०८:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT