समृद्धिको साँघुरो संकथन

वस्तु उत्पादन र उपयोग वृद्घिले नेपाल समृद्घ बन्न सक्छ तर विकसित नहुन सक्छ । यतिखेर ल्याइएको समृद्घिको भाष्यले थुप्रै मानक समेट्न सक्दैन ।
उत्तमबाबु श्रेष्ठ

काठमाडौँ — गोरखाका राजा भए पनि पृथ्वीनारायण शाहसँग मोबाइल फोन थिएन  । उनले बिजुली बालेनन्, पत्रपत्रिका पढेनन्, काठमाडौंसम्म जानलाई गाडी चढेनन्, छोराछोरीलाई खोप लगाएनन् र स्कुल पनि पठाएनन्  ।

उनी उखु चपाउँदै दरौंदी बगरमा दौडेर मनोरञ्जन लिन्थे । यतिखेर गोरखाका सामान्यजन पनि मोबाइल बोक्छन् । बिजुली बाल्छन्, मोटरबाट काठमाडौं आउ–जाउ गर्छन्, बच्चालाई स्कुल पठाएका छन्, उनीहरूको खानामा विविधता छ । लुगा विदेशी लगाउँछन् र सिनेमा, टिभी हेरेर मनोरञ्जन गर्छन् । दुई शताब्दीमा नेपालमा खाना, लत्ताकपडा, स्वास्थ्य, शिक्षा, बास, यातायात र ऊर्जाको उपयोगमा व्यापक परिवर्तन आएको छ ।

समृद्धि के हो ?
परिवर्तन संसारभर देख्न सकिन्छ । अहिलेको मान्छेले २ सय वर्ष अघिको पुर्खाले भन्दा सरदर बीस गुणा बढी वस्तु र सेवासुविधा उपयोग गर्छ । कतिपय देशमा त्यो सयौं गुणाले बढी छ । भनिन्छ, सन् २१०० सम्म मान्छेले अहिले उपयोग गरिरहेको वस्तु र सेवासुविधामा थप १६ गुणाले वृद्घि हुनेछ । वस्तु र सेवासुविधाको उपयोगमा विविधता थपिनु समृद्धिको सूचक हो । प्रविधिले आर्थिक उत्पादनका क्षेत्रहरू जमिन, मेसिन र सेवामा कार्यक्षमता बढाएको छ । त्योसँगै मानवश्रम र उत्पादनमा विशेषीकरण भइरहेको छ । कामचलाउ कर्म गर्नेबाट फेरिएर मान्छेले निश्चित काममा विशिष्टता हासिल गर्दै लगेका छन् । यतिखेर जमिनमा बढी उब्जाउ हुन्छ, मेसिनले धेरै उत्पादन गर्छ र सेवाक्षेत्र विस्तारित छ । उपयोगमा विविधीकरण र उत्पादनमा विशेषीकरण नै समृद्धि (पस्परिटी) का मानक हुन् ।


नेपालमा समृद्धिको व्याख्या आआफ्नो सहजता अनुसार भएको पाइन्छ । कतिपयले ठूला पूर्वाधार बन्नुलाई समृद्धि भनेका छन्, कतिपयले जलविद्युत, कृषि र पर्यटनको विकासलाई । मुलुकको समृद्धिसँगै ठूला पूर्वाधार बन्छन् । शिक्षा, स्वास्थ्य, सञ्चार र यातायात जस्ता सेवाक्षेत्र विस्तारित हुन्छन् । तर ती सबैले ल्याउने अन्तिम परिणाम भनेको वस्तु र सेवासुविधाको उपयोगमा वृद्धि र विविधीकरण र उत्पादनमा विशेषीकरण नै हो । नेपालका धेरैले खेतीपाती त्यागे पनि विविध प्रकारका अन्नपात, फलफूल, तरकारी खाइरहेका छन् । उद्योगधन्दा नफष्टाए पनि धेरै प्रकारका वस्तु उपयोग गरिरहेका छन् । विश्वमै बढ्दो बजारीकरण, अत्याधुनिक प्रविधिको प्रयोग र सहज वस्तु विनिमयले त्यसलाई सम्भव तुल्याएको छ । यसले वस्तु र सेवाको पहुँच सहज र सुलभ भएको छ । कुशासन र दोहनकारी आर्थिक प्रणालीबीच पनि जनताले उपयोग गर्ने वस्तु र सेवासुविधामा विविधता थपिँदै गएको छ । नयाँ पुस्ताका नेपाली क्रमश: समृद्ध हुँदै गएका छन् । श्रम र उत्पादनको विशेषीकरण भने हुनसकेको छैन । आवश्यक शिक्षा र रोजगारीको अवसर देशमा कम छ । जसले जनताको आम्दानी खासै बढेको छैन । र समृद्धिको एउटा मानक उपयोगमा वृद्धि र विविधीकरणमा अघि बढे पनि अर्को मानक उत्पादनको विशेषीकरणमा हामी पछि छौं ।


पछिल्लो जीवनस्तर सर्वेक्षण अनुसार नेपालीले आम्दानीको सरदर ५४ प्रतिशत खानामा खर्च गर्छन् । त्यो खर्च पाकिस्तानमा ४१, भारतमा ३६ र चीनमा ३४ प्रतिशत छ । विकसित देश अमेरिकामा ६.४, बेलायतमा ८.२ र सिंगापुरमा ६.७ प्रतिशतमात्रै छ । विकसित देशमा वस्तु र सेवासुविधाको विविधतासँगै त्यसलाई उपयोग गर्न मानवीय श्रमको योगदान घटे पनि (आय बढेर) नेपालजस्ता देशमा कम भएको छैन । अर्थात उपयोगमा विविधता थपिए पनि नेपालमा गरिने श्रमले हातमुख जोर्न ठिक्क छ । नेपाल र अमेरिकामा एउटै काम गर्ने मानिसबीच उनीहरूले उपयोग गर्ने वस्तु र सेवासुविधा धेरै अन्तर छ । अमेरिकालाई आज संसारको समृद्घ मुलुक भन्नुको कारण त्यहाँ अन्यत्रको तुलनामा कम समय काम गरेर धेरै वस्तु र सेवासुविधा उपयोग गर्न पाइने अवस्थामा हुनु हो । उपयोगको मानकमा देश र जनता समृद्घ भए पनि आम्दानीको मानकमा कंगाल नै रहनुपर्ने असन्तुलित र असमान अवस्थाको चर्चा समृद्घिको बहसमा हुन आवश्यक छ ।


प्राकृतिक स्रोतले वस्तु र सेवाको उत्पादन र उपयोगमा ठूलो भूमिका खेलेको हुन्छ । कार्यक्षमता विस्तारले वस्तु र सेवा उत्पादनमा प्रकृतिको भूमिका कम गर्न सक्छ, तर पूर्णरूपमा विस्तापित गर्न सक्दैन । त्यसैले मानव प्रगतिको बहसमा उत्पादनमा प्रकृतिको योगदानको चर्चा पनि आवश्यक छ ।

बहुआयामिक विकास
बच्चा जन्मेपछि उसको शरीरका अंगहरू समानुपातिक रूपमा बढ्दै जान्छन् । उसको सोच्ने क्षमता, दक्षता, सामाजिक सम्बन्धहरू पनि विस्तार हुँदै जान्छन् । विकल्प बढ्दै जान्छन्, जसलाई हामी व्यक्तिको विकास भन्छौं । शरीरका केही अंगमात्रै बढ्दै जाने र बाँकी अंग जन्मँदाको जस्तै अवस्थामा रहे मानिस कुरूप देखिन्छ । मुलुकमा पनि एउटा क्षेत्रको मात्रै प्रगति भए असन्तुलित र कुरूप देखिन्छ । समृद्घिले दुई आयामको प्रगति मापन गर्छ, तर विकास बहुआयामिक छ ।


प्रारम्भमा विकास पनि आर्थिक विकास अझ देशको आम्दानी मापनमा मात्रै सीमित थियो । त्यसैले विकास र समृद्घिलाई त्यतिखेर पर्यायका रूपमा बुझिन्थ्यो । अहिले विकास अवधारणामा व्यापक परिवर्तन भएको छ । समृद्घिको सोचमा भने खासै परिवर्तन भएको छैन । यतिखेरको विकास बुझाइ उत्पादन र उपयोगमा मात्रै सीमित छैन । नयाँ–नयाँ ज्ञान उत्पादनसँगै विकास अवधारणा फराकिलो बन्दै गएको छ । विकास अवधारणामा बहुआयामिकता मात्रै थपिएको छैन, बरु गतिशील विधाका रूपमा परिस्कृत हुँदै गइरहेको छ ।
सन् १९९२ मा संयुक्त राष्ट्र संघीय विकास नियोग (युएनडीपी) ले पहिलोपटक मानव विकास सूचकांक प्रकाशित गरेपछि विकास अवधारणामा मानव विकासको आयाम थपियो । बीस वर्षपछि राष्ट्र संघले अगाडि सारेको विकास अवधारणामा उत्पादन र उपयोगमा भएको वृद्धिले प्रकृतिमा गरेको विनाशलाई आत्मसात गर्दै विकास दिगो हुनुपर्नेमा जोड दिन थालियो । दिगो विकासको अवधारणाले प्राकृतिक स्रोत र उपयोग–उत्पादनबीच अन्तर–सम्बन्धलाई आत्मसात मात्रै गरेको छैन, बरु जिम्मेवार उत्पादन र उपयोगलाई जोड दिएको छ । भविष्यको विकास अवधारणामा पर्यावरण र जैविक विविधता संरक्षणदेखि जलवायु परिवर्तनसँग लड्ने कार्यसूची थपिएको छ । दिगो विकास अवधारणाको महत्त्वपूर्ण आयाम भनेको यसले मुलुक र जनताबीच असमानता घटाउने मात्रै होइन, अन्तर–पुस्ताबीच प्राकृतिक स्रोतको न्यायपूर्ण वितरणमा पनि जोड दिन्छ ।


समृद्धिको अवधारणाले श्रम र उत्पादनको विशेषीकरण र उपयोगको विविधीकरणमा जोड दिन्छ, तर उत्पादन र उपयोगबीच प्राकृतिक स्रोतको योगदानबारे मौन रहन्छ । जसरी पनि समृद्घ हुने सोचले मानवीय उपयोग–उत्पादनसँग प्राकृतिक स्रोतको प्रचुरता अन्तर–सम्बन्धित हुन्छ भन्ने सत्यलाई हेक्का राख्दैन । उपयोग वृद्धिले मानवीय/सामाजिक सम्बन्ध र प्रकृतिमा पार्ने प्रभावको खासै वास्ता गर्दैन । यसले प्रकृतिले प्रदान गर्ने वस्तु र सेवासुविधालाई असीमित र अनुदत्त ठान्छ । थोरै योगदानबाट धेरै उत्पादन गरेर समृद्धशाली बन्ने सोच अर्थ केन्द्रित सीमित अवधारणा हो ।


वस्तु उत्पादन र उपयोग वृद्घिले नेपालजस्तो देश पनि समृद्घ बन्न सक्छ, तर विकसित नहुन सक्छ । तर विकसित देश सधैं समृद्घ हुन्छ । हुन त विकास र समृद्घिलाई पर्यायका रूपमा बुझाउन खोजिएकाले शब्द चयनले के फरक पर्छ भन्नेजस्तो लाग्न सक्छ । तर यतिखेर ल्याइएको समृद्घिको भाष्यले प्रगतिका थुप्रै मानकलाई समेट्न सक्दैन । मापन कमजोर भएपछि त्यसले निर्दिष्ट गर्ने लक्ष्य पनि कमजोर हुने गर्छ । देश र जनताको प्रगतिको मापनलाई समृद्धिमा सीमित गराउँदा वातावरणको विनाश र प्राकृतिक स्रोतको दोहन भइरहेको, कृषि उत्पादन र भौतिक पूर्वाधार कमी भएको, कमजोर प्रशासन र मानव संसाधन भएको नेपालमा थप समस्या निम्त्याउने खतरा हुन्छ ।


नेपालमा हरेक दशक जस्तोमा प्रगतिको नयाँ–नयाँ भाष्य देखापर्छ । पञ्चायतको अन्यतिरको एसियाली मापदन्ड, बहुदल सुरुवातताकाको सिंगापुर बनाउने उद्घोष, संक्रमणकालको नयाँ नेपाल र वर्तमानको समृद्धि त्यसैको उपक्रम हुन् । प्रत्येक पटक गोलै नगरी गोलपोष्ट सार्ने अभ्याससँगै प्रगतिका भाष्यहरू फेरिए पनि त्यस्ता भाष्य समयक्रममा बहुआयामिक, फराकिलो र दिगो अवधारणाका रूपमा विकसित हुँदै गएको पाइँदैन । अहिले अगाडि सारिएको उपयोग बढाउने र उत्पादनको विशेषीकरण गर्ने समृद्धिको भाष्य निकै साँघुरो अवधारणा हो । यसलाई फेर्ने कि ?


लेखक वातावरण विज्ञानमा विद्यावारिधि हुन् ।

twitter: @uttambabu

प्रकाशित : कार्तिक ५, २०७५ ०८:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विमानस्थल र वातावरण

विकास प्रक्रियामा नेपाल पछिल्लो आगन्तुक भएकाले गरिबीबाट समृद्धितिरको यात्रा गर्दा हुने वातावरणीय विनाशको पासोबाट उम्कने उपायको खोजी अहिलेको आवश्यकता हो ।
उत्तमबाबु श्रेष्ठ

काठमाडौँ — मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सानो गडबडी हुँदा विदेशमा विमान अवतरण गराउनुपर्ने बाध्यकारी स्थिति हुनु राष्ट्रिय लज्जा हो । नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन धेरै ढिला भइसकेको छ । ढिलै भए तापनि प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चर्चामा छ ।

उक्त विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेकाले विमानस्थल निर्माणले वातावरणमा पार्ने प्रभावबारे बहस भइरहेको छ ।

ठूला पूर्वाधार बनाउँदा त्यसले पार्ने वातावरणीय प्रभावबारे संसारभर बहस हुने गर्छ । अहिले क्यानाडाबाट अमेरिकासम्म तेलको भूमिगत पाइप बिछ्याउने आयोजना, भारतीय अदानी समूहले पाएको अष्ट्रेलियाको समुद्री तटको कोइलाखानी उत्खनन आयोजना र हङकङ विमानस्थल विस्तारले वातावरणमा पार्ने प्रभावबारे अन्तर्राष्ट्रिय मिडियामा चर्चा भइरहेका छन् ।

त्यसकारण नेपालमा हुने निजगढको वातावरणीय प्रभावप्रतिको चासो, चिन्ता र बहस स्वाभाविक हो । बरु त्यो नहुनु अस्वाभाविक हुन्छ । यस्ता बहसले पूर्वाधारलाई वातावरणमैत्री बनाउन, विनाशलाई न्युनीकरण गर्न, वातावरणीय ह्रासको क्षतिपूर्ति भर्न र उन्नत विकल्प खोज्न सहयोग गर्छ । तर यतिखेर निजगढको वातावरणीय प्रभावको बहस विमानस्थल निर्माण गर्दा काटिने रुखको संख्यामा मात्रै केन्द्रित छ ।

वातावरण भनेको रुखमात्रै होइन
वातावरणीय प्रभाव मूल्यांकन भनेको आँखाले देख्ने रुख कटानीको गणनामात्रै होइन । भौतिक पूर्वाधारले वातावरणलाई २ प्रकारले असर गर्छ । निर्माणक्रममा वातावरण बिगारेर र निर्माणपश्चात् हानिकारक वस्तु वातावरणमा थुपारेर । विमानस्थलले निर्माणक्रममा मात्रै होइन, त्यसको सञ्चालनमा पनि ठूलो मात्रामा वातावरणीय प्रभाव पार्छ । कार्बन उत्सर्जन, ध्वनि प्रदूषण, फोहोर उत्पादन, ऊर्जाको खपत आदिको कारण ।


वातावरण भनेको देखिने रुख, काठ र हरियालीमात्रै होइन, असंख्य अदृश्य विषय पनि हुन्, जसले आवश्यकीय सेवा र सुविधा दिएर मानव कल्याण गर्छ । माटोको उर्वराशक्ति अक्षुण्ण राख्ने जमिन मुनिको व्याक्टेरिया, बालीनालीमा परागसेचन गरिदिने किराफट्यांग्रा, हानिकारक किराहरू खाइदिने जीवजन्तु लगायत मानिसले उत्सर्जन गरेका कार्बन सोस्ने, पानीको मूललाई रिचार्ज गर्ने, प्रकोपबाट सुरक्षा प्रदान गर्ने जस्ता पर्यावरणीय सेवा हत्पत्ति देखिँदैनन् । तर यस्ता सेवाको आर्थिक हिसाब निकाल्ने हो भने त्यसको मूल्य धेरै हुन्छ । कार्बन विनिमयको वस्तु बनिसकेको अहिलेको युगमा प्रकृतिका यी सेवा र सुविधा अनुदत्त हो र प्रकृतिलाई जे गरे पनि हुन्छ भन्ने भ्रमबाट मुक्त हुन आवश्यक छ ।


नेपालमा गरिने अधिकांश ईआईए प्रतिवेदनमा वातावरणका यस्ता सेवा र सुविधालाई मिहिन ढंगले केलाउने प्रयास गरेको देखिँदैन । फलस्वरूप हाम्रो विकासले धेरै विनाश निम्त्याएको छ । काठमाडौं लगायत ठूला सहरहरूको बस्नलायक सूचांक, गाउँमा भइरहेको डोजरे विकास, हाम्रा नदीनालाहरूको अवस्था, हामीले श्वास फेर्ने हावा, पिउने पानी र खाने तरकारीको गुणस्तरलाई हेर्दा विनाशको त्यो तस्बीर देखिन्छ । पारित भएको भनिएको निजगढको ईआईए प्रतिवेदन स्थापित मापदण्ड पनि पूरा नगर्ने कमसल छ, थप वातावरणीय सुरक्षा त परको कुरा ।

४० वर्षमा भएको परिवर्तन
निजगढ विमानस्थल क्षेत्रीय हव बनाउने अवधारणा अन्तर्गत ४० वर्षअघि परिकल्पना गरिएको आयोजना हो । भौगोलिक अवस्थितिको सुविधासँगै घरेलु वायुसेवाको वृद्घि अनिवार्य सर्त हो, हवका लागि । विगत ४० वर्षमा मानव इतिहासमै सबैभन्दा बढी प्रविधिको विकास भएको छ । ४० वर्ष अघिका बोइङ ७०७ विमानले अधिकतम १२ घन्टा यात्रा नरोकिकन तय गर्न सक्थ्यो । अहिले एयरबस कम्पनीका विमान ए ३५० र बोइङ कम्पनीका ७८७ समूहका अत्याधुनिक विमानले १६ देखि १८ घन्टासम्मको यात्रा नरोकिकन सजिलै तय गर्छन् । २० घन्टाको ‘नन स्टप’ उडान सुरु हुने क्रममा छ । प्रविधिले यो अवधिमा विमानको नरोकिकन गरिने यात्रा क्षमतालाई ४—५ घन्टा बढाएको छ । त्यसकारण त्यतिबेला सोचेजस्तो अन्तर्राष्ट्रिय चल्तीको ट्रान्जिट बैंकक, हङकङ, सिंगापुर, दुबई, क्वालालम्पुरसम्म नपुगी ४—५ घन्टा अघिको दूरीमा रहेको निजगढमा यात्रु ओराल्नुपर्ने प्राविधिक कठिनाइ अब छैन । उड्डयन प्रविधिमा भएको विकासले हव हुनसक्ने भौगोलिक सुविधाको सम्भावनालाई खारेज गरिसकेको छ ।


नेपाल विश्वमै उच्च आर्थिक वृद्घि र ठूला अर्थतन्त्र भएका चीन र भारतको सानो छिमेकी हो । सन् २०२२ भित्र विश्वकै सबैभन्दा ठूलो उड्डयन बजार बन्ने चीनमा यतिखेर वार्षिक ८ वटा विमानस्थल बनिरहेको छ । चिनियाँ वायुसेवा कम्पनीहरू एयर चाइना, चाइना साउदर्न र चाइना इस्टर्नको वृद्घिदर र विमानस्थल निर्माणको गति हेर्दा अब चीन हवाई यात्राको पनि विश्वकेन्द्र बन्दैछ । एम्रेट्सको दुबई, क्याथे प्यासिफिकको हङकङ, थाईको बैंकक, एयर इन्डियाको दिल्ली, चाइना साउदर्नको ग्वाङ्जाओ हव भएजस्तै निजगढ हव बन्ने भनेको स्वदेशी नेपाल वायुसेवाको हो । ऋण लिएर किनिएका दुइटा वाइडबडी जहाज पूर्ण क्षमतामा चलाउन संघर्षरत नेपाल वायुसेवा र काठमाडौं विमानस्थलको सुरक्षा प्रणालीलाई भारतले समेत नपत्याइरहेका बेला निजगढलाई हव बनाउने सपना अहिलेलाई बिजुली निकालेर स्याटेलाइटबाट बेच्ने जस्तै कुरा हो । त्यसकारण निजगढ बनाउनुको आर्थिक औचित्य क्षेत्रीय हवभन्दा पर्यटनको विकासमात्रै हो ।

वातावरण हाम्रो मौलिक कार्यसूची
हाम्रो पर्यटनको आधार भनेको वातावरण, जैविक विविधतामा आधारित धार्मिक, सांस्कृतिक विविधता र हिमाल हो । वातावरण आयातित वा कुनै विकसित देशद्वारा लादिएको कार्यसूची होइन, यो हाम्रो मौलिक कार्यसूची हो । धार्मिक र सांस्कृतिक संस्थानहरू प्रभावशाली भएको समयमा धर्म र संस्कृतिको नाममा सदियौंदेखि वातावरण संरक्षण गर्दै आएको देश हो, नेपाल । पृथ्वीलाई माता भन्ने, नदीलाई पुज्ने, विभिन्न जनावरलाई देवताको वहान मान्ने, चाडवाडमा विभिन्न फूल र फल चाहिने देशमा वातावरण संरक्षण विशुद्ध स्थानीय मुद्दा हो । काठमाडौं उपत्यकाको राजकुलो र बसाइको स्थितिलाई हेर्दा यहाँको प्राचीन सभ्यतामा वातावरणीय संवेदनशीलता प्रस्टसँग देखिन्छ ।


पछिल्लो समय जब धार्मिक र सांस्कृतिक संस्थाको ठाउँमा नयाँ संस्थाहरू (राज्य संयन्त्र) प्रभावशाली हुनथाले वातावरणप्रतिको संवेदनशीलता कम हुँदै गयो । राणाहरूले सत्ता जोगाउन विदेशीलाई वनसम्पदा सुम्पिए । हिन्दु राजाहरूले सोही धर्म अनुसार पुजिने जनावरहरूको सिकार खेल्ने सौख पाल्न थाले । वातावरणीय ह्रासको शृङखला सुरु भयो । जनसंख्या वृद्धि र गरिबीले त्यसलाई थप मलजल गर्‍यो ।


७० को दशकतिर नेपालको वातावरण विनाशलाई जोडेर हिमालयन डिग्रिडेसन (पतन) को सिद्घान्त नै अगाडि सारियो । प्राचीन मानव सभ्यता पतनको कारक वातावरणीय विनाश हो भन्ने निष्कर्ष निकालिएको चर्चित पुस्तक ‘कोल्याप्स’का लेखक जारेड डाइमन्डले पतन हुने सम्भावित मुलुकको सूचीमा नेपाललाई जोडे । तर विगतको वातावरणीय विनाशले निरन्तरता पाएन । सामुदायिक वन र संरक्षणका कार्यक्रमले त्यसलाई कम गर्‍यो । सँगै विदेशी दातृ निकायले नेपालमा संरक्षणका कार्यक्रमलाई सघाउन थाले । विदेशी सहयोग हुँदैमा विदेशीको कार्यसूची भन्ने तर्क गर्ने हो भने नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र विदेशी सहयोगमा बनेका थुप्रै भौतिक पूर्वाधारलाई समेत विदेशी कार्यसूचीको भन्नुपर्छ । त्यसैले संरक्षणको लामो इतिहास र संस्कृति भएको देशमा वातावरण हाम्रो मौलिक कार्यसूची हो ।


नेपाललाई धनी मान्ने क्षेत्र कुनै बाँकी छ भने त्यो जैविक विविधता मात्रै हो । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै पुरै जर्मनीमा पाइनेभन्दा बढी प्रजातिका चराहरू पाइन्छन् । नेपालमा बेलायतको भन्दा ४ गुणा बढी फूल फुल्ने वनस्पति छन् भने उत्तर अमेरिकी महादेशभरमा पाइनेभन्दा बेसी प्रजातिका उन्यु । यतिखेर अन्तर्राष्ट्रिय मिडियामा नेपालसँग जोडिएर आउने राम्रा समाचारमा धेरै हिस्सा नेपालले संरक्षणको क्षेत्रमा हासिल गरेको उपलब्धिले ओगट्ने गरेको छ । जुन पर्यटन उद्योगलाई देखाएर विमानस्थल बनाउने भनिँदैछ, त्यसको मुख्य आधार वातावरण नै हो । नेपालमा पर्यटक हिमाल चढ्न, वनपाखा डुल्न, वन्यजन्तु र चरा हेर्न आउने हुन् । संरक्षणको फाइदा लिने वा विनाशको भागिदार हुने हामी आफै हो । त्यसैले वातावरण संरक्षण हाम्रो आवश्यकता हो । विदेशीले विकास गर्दा वातावरण विनाश गरे, हामीले पनि सोही अनुसार गर्नुपर्छ भन्ने सोचमा खोट छ ।


संसारमा विगतमा भएका भौतिक विकासलाई हेर्दा मोटामोटी ४ चरण (गरिबी, प्रदूषण, समृद्घि र संरक्षण) देख्न सकिन्छ । गरिबीबाट उम्कने क्रममा वातावरणीय प्रदूषण थुपार्ने र समृद्घिमा फड्को मारेपछि स्वच्छ वातावरणको खोजीमा त्यसको संरक्षणतिर लाग्ने विकास मोडललाई अहिलेका विकसित देशहरूले अपनाएका हुन् । जसको कारण पृथ्वीमा वातावरणीय संकट गहिरिँदै गएको छ । विकास प्रक्रियामा नेपाल पछिल्लो आगन्तुक भएकाले गरिबीबाट समृद्धितिरको यात्रा गर्दा हुने वातावरणीय विनाशको पासोबाट उम्कने उपायको खोजी अहिलेको आवश्यकता हो । पर्यावरणमा आधारित पर्यटन उद्योगबाट अर्थतन्त्रको कायापलट गराउने सोच भएको देशले अन्तर्राष्ट्रिय स्तरको एयरपोर्ट बनाउनैपर्छ । तर त्यो विश्वमा विस्तार हुँदै गरेको वातावरण मैत्री मोडलमा ।


अहिले वातावरणलाई विकासको बाधक होइन, सहयोगी र उत्प्रेरकको रूपमा हेर्ने प्रणालीको विकास भएको छ । व्यवसायीहरूले वातावरणप्रति सचेत भएको देखाएर आफ्नो ब्रान्डिङ गर्दै व्यापार बढाएका छन् । विमान निर्माताहरूले कम इन्धन खपत गर्ने विमानहरू निर्माण गर्दैछन् । वायुसेवा कम्पनीहरूबीच सबैभन्दा हरित (कम वातावरणीय प्रभाव भएको) कम्पनी बन्ने होड छ । विमानस्थल बनाउँदा हरित विमानस्थल बनाउने लहर बढ्दो छ । भारतको केरलामा हालै डुबानमा परेको अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै पहिलो सौर्य ऊर्जाबाट चल्ने विमानस्थल हो । सिंगापुर विमानस्थलको मुख्य विशेषता त्यहाँको हरियालीयुक्त वातावरण हो । पर्यटन उद्योगको ब्रान्डिङ गर्दा हामीले पनि वातावरणीय पक्षलाई उत्प्रेरकको रूपमा उपयोग गर्नेतर्फ सोचौं ।


लेखक वातावरण विज्ञानमा विद्यावारिधि हुन् ।

प्रकाशित : आश्विन ११, २०७५ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT