१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

हिमाल अग्लिँदै कि पग्लिँदै

सम्पादकीय

काठमाडौँ — सगरमाथा प्रतिवर्ष पाँच मिलिमिटर अग्लिँदै छ भन्छन् वैज्ञानिकहरू । मिलिमिटर भनेको एक मिटरको एक हजारौं इकाइ । यसको भौगर्भिक अध्ययन गर्नेहरूले यसका चट्टानको संरचना र पदार्थका आधारमा निक्र्योल गरेका छन्, सर्वोच्च शिखर पनि पहिला समुद्र सतहमा थियो ।

हिमाल अग्लिँदै कि पग्लिँदै

अर्कातिर हिउँ पातलिँदै गएको स्थानीयवासीले अनुभव गर्न थालिसकेका छन् । सगरमाथा पनि कालो ?सगरमाथा आरोहणमै समेत असर पर्न थालेको छ । भीडभाडले मात्र होइन, तापक्रम वृद्धिले खुम्बु हिमनदीमा क्रमिक विचलन देखापरेको छ । इसिमोडले गरेको अध्ययनअनुसार उक्त हिमनदीबाट प्रतिवर्ष औसत ६५ फिट खस्किँदै गएको छ । कतिपय आरोहीहरूले नेपालतिरको रुटमा जोखिम बढेको देखेर हालैका वर्षमा तिब्बत ताक्न थालेको वासिङ्टन पोस्टले औंल्याएको छ ।


जलवायु परिवर्तन कुनै वातावरणीय मुद्दामात्र होइन । हामीजस्तो देशलाई झन् प्रभावित गर्छ भनेर हामीले बुझ्न र अरूलाई बुझाउन ढिलो हुँदै छ । सरकारको काम भने झारा टार्ने गरी झाडु लगाउने खालको हुन्छ ।


एकपटक ‘कोप १५’ को सन्दर्भमा ०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले ५ हजार ५ सय ४४ मिटर अग्लो कालापत्थरमा मन्त्रिपरिषद् बैठक गरेका थिए । माल्दिभ्सले समुद्रभित्र गर्‍यो । त्यो दक्षिण एसियाली सानो देशको अस्तित्व पनि संकटमा पर्नेछ । हिमाल र समुद्रको नाता जोड्दै यी देशले जलवायु परिवर्तन रोकथाममा विश्वलाई घच्घच्याउन भूमिका गर्न सक्नुपर्ने हो ।


हामीले देख्दादेख्दै हाम्रा हिमालहरू पग्लँदै छन् । चाँदीको जलप निखारेर धमिला बन्दै छन् । केही दशकअघि र पछिका उही यामका एकै ठाउँका तस्बिरले यसलाई प्रस्ट्याउँछ ।


विश्वव्यापी तापक्रम वृद्धिले हामीलाई नखाएको विष लागिरहेको छ । आफूले नगरेको गल्तीको सजाय भोगिरहेका छौं । यो तापमान वृद्धिको मुख्य कारण कार्बन उत्सर्जनमा हाम्रो हात नगन्य छ अर्थात् ०.०२२ प्रतिशत । अर्थात्, ९९.९७८ प्रतिशत अरूले गरेका गल्तीको मार हामी खेपिरहेका छौं । विकसित र उदीयमान अर्थतन्त्रले गरिरहेको चमत्कारको उपोत्पादन ।


नेपालको प्रतिदशक तापमान वृद्धि ०.५ डिग्री सेन्टिग्रेट छ, जुन कतिपय विकासोन्मुख मुलुकको तुलनामा निकै बढी हो । हिमनदीहरू पग्लिने र खस्ने क्रम बढेको छ । ठूला ताल छैनन् । हिमताल कि पोखरीमा बदलिएका छन् कि काला चट्टानमा । हिमरेखा झन्–झन् माथि सर्दैछ ।


विश्वव्यापी तापमान वृद्धिले हिमाल मात्र होइन, त्यहाँको पर्यावरण र मानव जीवनलाई पनि प्रभाव पारिरहेको छ । अन्यत्र पनि उस्तै । बर्सेनि अभिशाप बनेर आउने खडेरी, आगलागी र बाढी, भूक्षयसित यसको साइनो छ । हाम्रोजस्तो निर्वाहमुखी कृषि भएको मुलुकमा खडेरीको मार चर्कै पर्छ । भविष्यमा पिउने पानी संकट अझ भयावह हुनेछ । प्राकृतिक प्रकोप मात्र होइन, यसले रोग पनि बढाइरहेको छ । मानिस र पशुपन्छी दुवैलाई ।


पहाडमा गर्मी चढ्दै छ । वसन्त ऋतु अघि सर्दैछ । तातो बढ्दै छ । हिउँ कम झर्दैछ । हिउँद पनि उस्तो जाडो छैन । अत्यधिक चिसो हुने अवधि छोटो भइसकेको छ । वर्षा अनियमित मात्र छैन, यसको अनुमान पनि गर्न सकिँदैन । कतिखेर घनघोर वर्षा हुन्छ, आरी घोप्ट्याएजसरी ।


आँप, केरा, गोलभेंडाजस्ता फलफूल पहिले–पहिले चिसोले नहुने ठाउँमा पनि फल्न थालेका छन् । फूलहरू यामअघि फुल्न थालेका छन् । गुराँस देख्न चैत–वैशाख कुर्नै पर्दैन । जाडोमा बाँच्ने किसिमका माछाको छटपटी बढेको छ । लामखुट्टे पनि पहाड चढ्दै छन् ।


जलवायु परिवर्तनको मार बढी पर्ने हाम्रोजस्तै विकासोन्मुख मुलुकमा हो । जहाँ न प्रचुर आर्थिक स्रोत छ, न पर्याप्त जनशक्ति, न उपयुक्त रणनीति नै । दैनन्दिनका राजनीतिक, सामाजिक र आर्थिक मुद्दा नै महाभारत हुने देशमा पर्यावरणमा चासो जगाउन जरुरी छ ।


हामी आफैं पनि कार्बन उत्सर्जन विस्तारै शून्यतर्फ झार्दै विश्वलाई सन्देश दिन सक्छौं । भारत र चीनलाई दबाब दिनसमेत । तापमान वृद्धिको एउटा कारक वन विनाश रोक्न सक्छौं । अहिलेका नांगा डाँडाकाँडा र बाँझा भूमिलाई हरियो बनाउन सक्छौं । पर्यापर्यटनलाई तापक्रम वृद्धिसँग जोड्न सक्छौं । स्थानीय समुदायलाई जलवायु परिवर्तनसित जुध्न सिकाउन सक्छौं । त्यसका लागि आवश्यक नीति–रणनीति तर्ज‘मा गर्न सक्छौं । विश्वव्यापी मञ्चहरूमा आफ्नो आवाज बुलन्द बनाउन । आफूजस्तै अरूका कारण समस्या भोगिरहेकाहरूसित हातेमालो र सहकार्य गर्न ।

जिम्मेवार मुलुकहरूसित यसबापतको क्षतिपूर्ति माग्न । हिमाल नांगै र कालै हुनुअघि हामी जाग्न सक्छौं ।

प्रकाशित : कार्तिक ७, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?