कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरीमा सेवा विशिष्टीकरण 

गणेशराज राई

काठमाडौँ — आज कोही निरीह छ भने त्यो हो प्रहरी । प्रहरी चौतर्फी प्रहारको सिकार हुनुपरेको छ । अपराधीलाई कठघरामा उभ्याउने प्रहरी आफैं कठघरामा शिर निहुराएर उभिएको छ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्याकाण्डको अनुसन्धानमा भएको गम्भीर त्रुटिका कारण प्रहरी कटु आलोचनाको पात्र बन्न पुगेको छ ।

यो काण्डले विगतमा प्रहरीले सफलतापूर्वक गरेका सबै अनुसन्धानलाई ओझेल पारेको छ ।


प्रहरी व्यक्ति वा व्यक्तिहरूको समूह मात्र होइन, प्रहरी संस्था हो । यो पद्धतिले चल्छ । यसका क्रियाकलाप संस्थागत प्रणालीमा आधारित हुन्छन् । प्रहरीले गर्ने अनुसन्धान विश्वव्यापी अन्तर्राष्ट्रिय विधि तथा मूल्यमान्यतामा आधारित हुन्छ । बेलायत, अमेरिकामा गरिने र नेपालमा गरिने अनुसन्धानको विधि र प्रक्रिया एउटै हुन्छ । उच्च वैज्ञानिक प्रविधि प्रयोगमा विकसित मुलुक हामीभन्दा अगाडि हुन सक्छन् । अनुसन्धानकर्ताले विश्वव्यापी विधिलाई अपनाएर सूक्ष्म रूपमा अघि बढाए अपराध अनुसन्धान सही दिशामा जान्छ, अपराधीको पहिचान हुन्छ ।


अनुसन्धान दुई कुराले असफल हुन सक्छ– लापरबाही र बदनियती । निर्मला पन्त हत्याकाण्डको सफल परिणाम आउन नसक्नुको मूल कारण अनुसन्धानमा भएको त्रुटि हो । यो त्रुटिकमजोरी लापरबाहीवश भएको हो वा बदनियतपूर्वक ? तत्कालीन कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट नेतृत्व अनुसन्धान टोलीले अनुसन्धानका क्रममा गरेको गम्भीर प्रकृतिका त्रुटिकमजोरी लापरबाहीवश भएका हुन् कि असली अपराधीलाई जोगाउन बदनियतपूर्वक ? मूल चुरो कुरा यही हो ।


नेपाल सरकारले तत्कालीन एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरेको छ तर असली हत्यारा पत्ता लागेको छैन ।


अनुसन्धानको प्रारम्भिक चरणमा भएको त्रुटिका कारण अनुसन्धान जटिल र रहस्यमय बन्न पुगेको छ । प्रहरी प्रधान कार्यालयले विशेषज्ञसहितको उच्चस्तरीय अनुसन्धान टोली गठन गरी पुन: सुरुवातदेखि सूक्ष्म रूपमा अनुसन्धान थालिसकेको छ । ढिलो वा चाँडो घटनाको सत्यतथ्य जनतासामु उजागर हुनेछ ।

प्रारम्भमा प्रहरीबाट भएको त्रुटिकमजोरी सच्याएर सही ढंगबाट अनुसन्धान गरी असली दोषी पहिचान गरी कानुनको कठघरामा उभ्याउने दायित्व प्रहरीकै हो । प्रहरीले कडा मेहनतसाथ आफ्नो विशिष्ट ज्ञान र कौशलको माध्यमद्वारा निर्मला पन्त हत्याकाण्डको वास्तविकता उजागर गरी अपराधीलाई कानुनबमोजिम सजाय दिलाउन सक्नुपर्छ । अनि मात्र १३ वर्षीया निर्मला पन्तमाथि न्याय हुन्छ, दिवंगत आत्माले शान्ति प्राप्त गर्छ र प्रहरीको निधारमा लागेको कालो दाग पनि हट्छ ।


भविष्यमा पनि निर्मला पन्तजस्तो जघन्य अपराध हुन नदिन र भइहाले पनि सफल अनुसन्धानबाट अपराधी पत्ता लगाउन प्रहरीमा अपराध अनुसन्धान क्षेत्रमा सेवा विशिष्टीकरण गर्न अति आवश्यक भएको छ । नेपाल प्रहरीमा सेवा विशिष्टीकरणका नाममा अपराध अनुसन्धान समूह सिर्जना गरी केही दरबन्दी छुट्याइएको छ । नेपाल प्रहरीको ९० प्रतिशतभन्दा बढी जनशक्ति शान्ति सुरक्षासम्बन्धी कार्यमा संलग्न छ । अपराध अनुसन्धानमा भने ५ प्रतिशतभन्दा कम जनशक्ति छ । यो आँकडाले नेपाल प्रहरीले अपराध अनुसन्धानलाई उच्च प्राथमिकता दिएको छैन भन्ने प्रस्ट्याउँछ ।


केन्द्रमा मात्र विशिष्ट अनुसन्धानका लागि भनेर केन्द्रीय अनुसन्धान ब्युरो स्थापना गरिएको छ । केन्द्रमा रहेको एउटा मात्र एकाइले देशभरिको जघन्य अपराध अनुसन्धान सम्भव हुँदैन । मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रदेशदेखि स्थानीय तहसम्म केन्द्रीय अनुसन्धान ब्युरोजस्तै विशिष्टीकृत अनुसन्धान निकाय स्थापना गर्नु आवश्यक छ ।


नेपाल प्रहरीमा वास्तविक रूपमा सेवा विशिष्टीकरण भएको पाइँदैन । एक जना प्रहरी कर्मचारीले सेवा अवधिभरि विविध जिम्मेवारी निर्वाह गर्छ । उही मान्छे कहिले अनुसन्धानमा, कहिले ट्राफिकमा, कहिले भिड नियन्त्रणमा, कहिले कारागार, कहिले लेखा तथा प्रशासनिक ड्युटीमा खटिने गर्छ । सबै क्षेत्रको सामान्य ज्ञान त हुन्छ तर कुनै पनि क्षेत्रमा विज्ञता हासिल हुँदैन ।


नेपाल प्रहरीलाई सबल एवं सक्षम संगठनका रूपमा स्थापित गर्ने हो भने अविलम्ब सेवा विशिष्टीकरण गर्नुपर्छ । स्थानीय, प्रदेश तथा केन्द्रलाई समेट्ने गरी अलग्गै अपराध अनुसन्धानसम्बन्धी संरचना निर्माण गरिनुपर्छ । अनुसन्धान समूह खटिने प्रहरी कर्मचारीहरूको अलग्गै भर्ना लिइनुपर्छ । उनीहरूको नियुक्तिदेखि अवकाश अनुसन्धान समूहभित्रै हुनुपर्छ । यस समूहमा कार्यरत प्रहरीलाई अनुसन्धानबाहेक अन्य ड्युटीमा लगाउनु हुँदैन ।


उनीहरूलाई विकसित मुलुकहरूमा अपराध अनुसन्धानका क्षेत्रमा प्रयोगमा आएको नवीनतम प्रविधि तथा सीपसम्बन्धी तालिम प्रदान गरिनुपर्छ । अनुसन्धानसम्बन्धी नवीनतम प्रविधि भित्र्याइनुपर्छ । सेवा विशिष्टीकरणबाट विज्ञता वृद्धि भए अनुसन्धान गुणस्तरीय तथा प्रभावकारी हुन सक्छ । नेपाल प्रहरी जस्तोसुकै जटिल अपराधको सफल अनुसन्धान गर्न सक्षम हुन्छ । नेपाल प्रहरी स्वयं कठघरामा उभिनुपर्ने अवस्था सिर्जना हुँदैन ।

प्रकाशित : कार्तिक २५, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?