बच्चालाई हकार्नु हुँदैन

हामी बच्चालाई एकै विषयमा दिनदिनै कराउँछौं । यो हरेक दिन बढ्छ । उनीहरूले सुन्न छाड्दै जान्छन् ।
न्युयोर्क टाइम्स

काठमाडौँ — केटाकेटीलाई अनुशासित बनाउन पिट्ने प्रवृत्ति घट्दो छ । तर कराउने ? प्राय: सबैले आफ्ना बच्चालाई कहिलेकाहीं कराएर गाली गर्छन् । यसले कुनै काम गर्दैन भन्ने थाहा पाउँदा–पाउँदै पनि अभिभावकले गाली गर्छन् । अचेल चिच्याएर गाली गर्नु अभिभावकको सबैभन्दा ठूलो मुर्खता हुनसक्छ । 

हरेक दिनजसो घरमा अभिभावकले हकार्ने गरेका बच्चामा हीन भावना बढ्छ । उनीहरूमा निराश हुने दर पनि माथि छ । २०१४ मा ‘द जर्नल अफ चाइल्ड डेभलपमेन्ट’मा प्रकाशित एक अध्ययन अनुसार चर्को स्वरमा गाली खाने बालबालिकामा शारीरिक दण्ड पाउने बालबालिकामा देखिने जस्तै दुस्प्रभाव
पर्छ । उनीहरूमा तनाव, नैराश्यताकोतह उच्च हुन्छ । व्यवहारमा पनि समस्या देखिन थाल्छ ।

तपाईंले कतिपटक आफ्नो बच्चालाई चर्को स्वरमा गाली गरेपछि ‘हो, मैले ठिक गरेँ’ भन्ने लागेको छ ?
त्यसले तपाईंको नियन्त्रण क्षमता कदापि दर्शाउँदैन । बरु तपाईंका बालबालिका नियन्त्रण बाहिर छन् भन्ने देखिन्छ । तपाईं कमजोर रहेको देखाउँछ । साँचो अर्थमा भन्ने हो भने तपाईं बालबालिकालाई हकारिरहनुभएको छ, किनकि तपाईं कमजोर हुनुहुन्छ । त्यो व्यक्ति चर्को स्वरमा कराउँछ, जसलाई के गर्ने भन्ने थाहै हुँदैन ।

म आफैं लगायत अधिकांश अभिभावक कसरी बालबालिकालाई नहकारी दिन काट्ने भन्ने सोचिरहेका हुन्छौं । नयाँ अध्ययन अनुसार हकार्ने अभिभावकमा मुख्य रूपमा दुइटा समस्या देखिन्छन्– हकार्नुको विकल्पमा के गर्ने ? र कसरी हकार्न छाड्ने ?

व्यस्त सडकमा दौडिन नदिनका लागि बच्चालाई हकार्नेहरूका विषयमा यहाँ कुरा गर्न खोजिएको होइन । हामी बच्चाको गल्तीलाई सुधार्नका लागि हकार्ने विषयमा कुरा गरेका हौं । कराएर गाली गर्दैमा बच्चा सुध्रिँदैनन् । बरु उनीहरूमा पनि कराउने बानी बस्न जान्छ । हामी प्राय: बच्चालाई एकै विषयमा दिनदिनै कराउँछौं । र यो हरेक दिन बढ्छ । उनीहरूले हामीले भनेका कुरा सुन्न छाड्दै जान्छन् ।
‘लुगा मिलाएर राख । खाना खानआऊ । कुकुरलाई नजिस्काऊ । भाइसँग झगडा नगर ।’
बच्चालाई हकार्नु राम्रो होइन भनेर थाहा हुँदैमा त्यसले सहयोग गर्दैन भन्छन्, याल विश्वविद्यालयका बाल मनोविज्ञान तथा मनोभावका प्राध्यापक एलान काजदिन । कराउनु कुनै नीति होइन, त्यो तविस्फोट हो ।

‘अभिभावकको लक्ष्य आफूमा रहेको रिसलाई बाहिर देखाउनु हो भने कराउनु एकदमै राम्रो हो,’ काजदिनले भने, ‘लक्ष्य बच्चाको व्यवहारमा परिवर्तन गर्नु हो वा उनीहरूमा राम्रो बानी पार्नु हो भने कराउनु ठिक होइन । पागल जस्तो कराउनु नपर्ने अन्य उपाय छन् ।’

धेरैजना बच्चालाई नहकार्नु भनेको अल्छी हुनु हो भन्ने सोच्छन् । नहकार्ने अभिभावकको बच्चा अनुशासित नभए झैं । तर नहकार्नका लागि अभिभावक आफैंमा अनुशासित र योजनाबद्ध हुन जरुरी हुन्छ ।
काजदिनले एबीसी नामक कार्यक्रमलाई बढावा दिन्छन् । एबीसीको अर्थ ‘एन्टिसिडेन्टस’ (आग्रह), ‘बिहेभियर’ (व्यवहार), ‘कन्सिक्वेन्सेस’ (नतिजा) हो ।

एन्टिसिडेन्टस तपाईंले बच्चाहरूबाट के अपेक्षा गर्नुभएको छ भन्ने जानकारी उनीहरूले केही गर्नुअघि नै दिनु हो । बिहेभियरमा अभिभावकले चाहेको व्यवहार व्याख्या गरिएको हुन्छ । र कन्सिक्वेन्सेस अपेक्षित व्यवहार प्रदर्शन भएपछि त्यसलाई स्वीकृति प्रदान गर्नु हो । स्वीकृति प्रदान गर्दा उनीहरूले देखाएको व्यवहारलाई राम्रो भनेर उत्प्रेरित गर्नुका साथै शारीरिक रूपमा केही हाउभाउ गरेर स्याबासी दिनुपर्छ ।

बच्चालाई राति सुत्ने बेला जुत्ता ठिक ठाउँमा नभएकाले गाली गर्नुभन्दा भोलिपल्ट बिहान घर आएपछि आफ्नो जुत्ता ठिकसँग राख्न सम्झाउनुपर्छ । तपाईंले पनि घर फर्केपछि आफ्नो जुत्ता ठिक ठाउँमा राख्नुपर्छ । र बच्चाले तपाईंले चाहेकोस्थान नजिकै भए पनि जुत्ता राख्यो भने उसलाई राम्रो काम गर्‍यौ भनेर भन्नुपर्छ र स्याबासी दिनुपर्छ ।

स्याबासी दिन एबीसी विधि विशेष तरिका हो । यसलाई प्रभावकारी बनाउन कहिलेकाहीं नचाहे पनि मुस्कान आफ्नो अनुहारमा ल्याउनुपर्छ र त्यस्तै हाउभाउ देखाउनुपर्छ । सँगै खुसी भएर ठूलो स्वरमा स्याबासी दिनुपर्छ र स्याबासी दिनुको कारण पनि भन्नुपर्छ । बच्चालाई छोएर पनि स्याबास भन्नु जरुरी हुन्छ । यसले बच्चालाई आफूले के राम्रो गरेंँ र त्यसको नतिजा कस्तो हुन्छ भन्ने थाहा हुन्छ ।

‘हामी बानी बनाउन चाहन्छौं,’ काजदिनले भने, ‘यो तरिकाले बच्चाको दिमागमा परिवर्तन गरिदिन्छ र सँगसँगै उनीहरूको नराम्रो बानी हराउँदै जान्छ ।’ उनले थपे, ‘अभिभावकमा पनि तनाव र नैराश्यता
कम हुँदै जान्छ र पारिवारिक सम्बन्धसुमधुर बन्छ ।’

बच्चाहरूले राम्रो व्यवहार देखाए भने कराउनै पर्दैन । कराउनु परेन भने बच्चाको व्यवहार राम्रो हुँदै जान्छ ।
यो तरिकाको सुन्दरता भनेको बच्चाले बिगार गर्नुभन्दा अगावै तपाईंसँग योजना हुन्छ । योजना बनाउँदा आफू पनि अनुशासित हुन जरुरी हुन्छ, जुन अभिभावकका लागि कठिन विषय हो ।

हामी कराउने प्रकृतिकै जीव हौं । यो बाँच्नका लागि चाहिने अपरिहार्य प्रवृत्ति पनि हो । तर हामीले जसको रक्षा गर्नुपर्ने हो, उसैमा यसको प्रयोग गरिरहेका छौं । बच्चालाई कराउन छाड्नु निकै गाह्रो विषय हो । नकराइ अभिभावकको भूमिका निर्वाह गरिरहेका छौं जस्तै हामीलाई लाग्दैन ।

सन् १९६० मा ९४ प्रतिशत अभिभावकले शारीरिक दण्ड दिन्थे । २०१० मा गरिएको एक सर्वेक्षणले उक्त आँंकडा घटेर २२ प्रतिशतमा झरेको देखाएको थियो । त्यसका कारण धेरै हुन सक्छन् । तर एउटा कुरा पक्कै हो, नपिटी बच्चाको व्यवहार परिवर्तन गर्न सकिन्छ भने त्यही प्रयोग गरिन्छ । पिटेर कामै छैन भने किन पिट्नु ? कराउनुमा पनि यही लागु हुन्छ । किन कराउनु ? त्यसले बच्चालाई राम्रो गर्दैन ।

तपाईं बच्चा कस्तो बनोस्, नबनोस् भन्ने चाहनुहुन्छ, त्यसैमा अनुशासित बनाउने विधि प्रभावकारी हुन्छ । स्याबासीले काम गर्छ । दण्डले गर्दैन ।

– स्टिफेन मार्से
(न्युयोर्क टाइम्सबाट अनुदित)
लेखक उपन्यासकार तथा ‘प्यारेन्टिङ पोडोकास्ट’का सञ्चालक हुन् ।

प्रकाशित : कार्तिक २६, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्

स्टार बिनाको विश्वकप ?

न्युयोर्क टाइम्स

लन्डन — नेयमार, केयलिन एमबापे, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोविरुद्धको विश्वकप । कल्पना गर्न सकिन्छ र ? अर्को शब्दमा भन्ने हो भने विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता, तर त्यसमा कोही पनि स्टार खेलाडी छैनन् ।

यस्तो अकल्पनीय सम्भावनाबारे हालै छलफल भएको छ र यसमा सहभागी छन्, युरोपका केही धनी क्लबका प्रमुख । यसबारे चुहिएको समाचार त अब नयाँ भएन । त्यो छलफलको मूल विषय थियो, आफू आफू मिलेर अलग्गै लिग गर्ने ।

अझ भनौं, विद्रोही लिग । यो सबै सोच पछाडिका मुख्य व्यक्ति हुन्, रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज । तर जस–जसले त्यस्तो लिग खेल्नेछ, त्यसले विश्वकप अथवा त्यस्तै ठूला कुनै पनि प्रतियोगिता खेल्न पाउने छैन । यो घोषणा अरू कसैको होइन, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोको हो । ‘रोजाइ प्रस्ट छ, कि हाम्रो पक्षमा, होइन भने हाम्रो विपक्षमा,’ इन्फान्टिनोले केही पत्रकारसम्मको कुराकानीमा भनेका छन् ।

इन्फान्टिनोले बोलाएका केही पत्रकारमा न्युयोर्क टाइम्सको पनि उपस्थिति थियो । र, यो यस्तो स्थितिमा बोलाइएको पत्रकार सम्मेलन थियो, जति बेला मान्नुपर्छ, विश्व फुटबल संकटमा छ । यो विद्रोह लिगमा विश्वकै सबैभन्दा धनी क्लब हुनेछन् । फेरि यो विश्व फुटबलका निकै संवेदनशील क्षणमा पनि आएको छ, किनभने अहिले फिफा र युरोपेली फुटबल महासंघ (यूईएफए) बीच राम्रो सम्बन्ध पनि छैन । सिधै भन्दा सम्बन्ध खराब स्थितिमा छ ।

मार्चमा त हो, इन्फान्टिनोले नयाँ प्रतियोगिताको सोच अगाडि सारेको । त्यो अर्बौं डलरको वरिपरि घुम्ने प्रतियोगिता हुनेछ । यसका लागि आर्थिक शक्तिका रूपमा जापानको सोफ्ट बैंक रहेको छ । यसले अहिले चलिरहेको युरोपेली च्याम्पियन्स लिगलाई ठूलो धक्का पुर्‍याउने छ । अझ सके, त्यसको अस्तित्व नै समाप्त पार्न सक्ने छ । अहिले रियल म्याड्रिड अग्रता लिइरहेको सुपर लिग त पूरा फुटबल संरचनामै ठूलो उथलपुथलल्याउन सक्नेछ ।

अझ भनौं, यो अझ डरलाग्दो छ । यसअघि पनि यस्तो प्रस्ताव अगाडि नआएको होइन । तर क्लबहरू बीचमै पछाडि हटे । यसपल्ट भने उनीहरू गम्भीर छन् । तर यहाँनिर एउटा तथ्य के मान्ने पर्छ भने फिफा जस्तो संस्थाको समर्थन भएन भने यस्ता प्रतियोगिताको कुनै अर्थ भने हुने छैन । त्यसैले पनि इन्फान्टिनो आक्रामक भएर प्रस्तुत भएका छन् । उनले स्पष्ट भाषामा भनेका छैनन्, ‘आधिकारिक प्रतियोगितामा खेलेनौं भने आधिकारिक ठूला प्रतियोगितामा पनि खेल्न पाउने छैनौं ।’

यस तथाकथित प्रतियोगितामा युरोपका एक दर्जन ठूला क्लब हुनेछन् । जर्मन पत्रिकाले चुहाएको गोप्य सम्झौता अनुसार रियल अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सुपर लिगमा आफ्नो टिमसँगै त्यसमा बार्सिलोना, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, चेल्सी, आर्सनल, लिभरपुल, बायर्न म्युनिख, युभेन्ट्स, एसी मिलान र पेरिस सेन्ट जर्मेन हुने योजना बनाएका छन् । पछि यसमा अरू क्लब पनि थपिने छन् र ती हुन्, एटलेटिको म्याड्रिड, बोर्सिया डर्टमन्ड, मार्से, इन्टर मिलान र एएस रोमा ।

सुपर लिगको विपक्षमा ठूलो घरेलु लिगका प्रमुख पनि अगाडि आएका छन् । हुन पनि जुन टिमले सुपर लिग खेल्नेछ, त्यसले त्यहाँको फुटबल संघसँगै घरेलु लिग पनि छाड्नेछ । त्यसैले स्पेनी ला लिगाका अध्यक्ष भ्याभिएर टेबासले भनेका छन्, ‘यो सुपर लिग भनेको पबमा बसेर बिहानको पाँच बजे बनेको कार्यक्रम जस्तै हो ।’ रियलले यसबारेमा केही पनि बोलेकोछैन । अहिले घरेलु लिग र फिफालाई
एक–आपसमा नमिलेर पनि सुख छैन ।

– तारिक पान्जा

प्रकाशित : कार्तिक २५, २०७५ ०८:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT