कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रवाद कि देशभक्ति ?

राष्ट्रवादले श्रेष्ठता दाबी गर्छ । अर्कोको अस्तित्वलाई गौण बनाउँछ । देशभक्ति आफ्नो जिम्मेवारी र कर्तव्यबोधसंँग सम्बन्धित हुन्छ, अरूको अस्तित्व, मर्यादा र समानता उपेक्षित हुँदैन । 
कृष्ण खनाल

काठमाडौँ — गएको आइतबार ९ (नोभेम्बर ११) मा पहिलो विश्वयुद्ध समाप्ति घोषणाको सत्वार्षिकी समारोहमा आयोजक देश फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोनले राष्ट्रवादको कडा आलोचना गरे । उनका अनुसार ‘देशभक्ति राष्ट्रवादको ठिक विपरीत हो र राष्ट्रवाद देशभक्तिप्रति धोखा हो ।’ (प्याट्रोटिजम इज दि एक्ज्याक्ट अपोजिट टु न्यासनलिजम, न्यासनलिजम इज अ बिट्रेयल अफ प्याट्रोटिजम) ।

राष्ट्रवाद कि देशभक्ति ?

उनको यो कथनलाई युरोपेली र अमेरिकी सञ्चार माध्यमले प्राथमिकता साथ प्रचार–प्रसार गरे । बीबीसी, सीएनएनले यस बारेमा विज्ञहरूबीच छलफल चलाए । यसले विश्वव्यापी बहसको तरङ्ग जन्माएको छ ।


समारोहमा सहभागी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको भनाइप्रति असहमति जनाउँदै रोषपूर्ण ट्विट गरे । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि माक्रोनको कथनप्रति असहमति पोखे । प्रश्न उठ्छ, उस्तै–उस्तै लाग्ने यी दुई पदावली राष्ट्रवाद र देशभक्ति कसरी एकअर्काको विपक्षी भए ? यो विषयमा यहाँ संक्षिप्त चर्चा गर्नु सामयिक लागेको छ ।


पहिलो विश्वयुद्धका कारण प्रत्यक्ष, अप्रत्यक्ष रूपमा करिब ४ करोड मानिसको ज्यान गएको अनुमान गरिन्छ । एक करोडभन्दा बढी सैनिक र करिब त्यति नै गैरसैनिक नागरिकको युद्ध मैदानमै हताहत भएको थियो । पहिलो र दोस्रो दुवै विश्वयुद्धको प्रमुख कारक जर्मनीले प्रतिपादन गरेको अतिवादी राष्ट्रवाद थियो । अमेरिकी राष्ट्रपति ट्रम्प, रूसी राष्ट्रपति पुटिन, जर्मन चान्सलर अन्जेला मर्केल लगायतका विश्व नेताहरूको उपस्थितिमा फ्रान्सेली राष्ट्रपतिको यो भनाइले विशेष महत्त्व राख्छ ।


अहिले युरोप, अमेरिकामा नवराष्ट्रवादले टाउको उठाएको बेला छ । राष्ट्रपति ट्रम्प यस्तै आवरण अर्थात् ‘अमेरिका पहिलो’ भन्ने नारा लगाएर सत्तामा आएका हुन् । पुटिन पनि दक्षिणपन्थी धारमै रूसको नयाँ शक्ति निर्माण गर्न लागिपरेका छन् । जर्मनी पहिलो र दोस्रो विश्वयुद्ध छेड्ने प्रमुख शक्ति थियो । तर जर्मन चान्सलर मर्केलको भूमिका र प्रस्तुतिमा माक्रोनसंँग सहमतिपूर्ण एवं शालिन थियो ।


युरोपमा यो समारोह मनाइरहँदा सामाजिक सञ्जालमा देखिएका केही टिप्पणी बाहेक नेपालमा खासै चर्चा भएन । त्यो युद्धमा नेपाल पनि सहभागी थियो । बेलायत, फ्रान्स लगायतको शक्ति गठबन्धनको पक्षमा सेना पठाएका थिए । आर्थिक सहयोगसमेत गरेको थियो ।


यसका अतिरिक्त तत्कालीन बेलायती–भारतीय सेनामा रहेका लाखौं ‘गोर्खा सैनिक’ युद्ध मोर्चामा खटेका थिए । त्यो संख्या २ लाख रहेको अनुमान गरिन्छ । युद्धमा २० हजार नेपालीले ज्यान गुमाएको अनुमान छ । युद्धमा अतुलनीय साहस र वीरता प्रदर्शन गरेबापत गोर्खालीले बेलायतको उच्चतम सैनिक सम्मान भिक्टोरिया क्रस (भिसी) समेत पाएका थिए ।


काठमाडौंको केन्द्र नयाँसडकको मुखैमा महाकालस्थान अघिल्तिर एउटा अस्पताल छ— ‘त्रिभुवन–चन्द्र मिलिटरी हस्पिटल’ । सन् १९२५ मा बेलायतको सहयोगमा बनेको यो अस्पतालको भित्तामा सैनिक जवानको चित्रसहित लेखिएको छ, ‘संवत् १९७१–७५ को ठूलो लडाञीमा ज्यान दिने नेपाल राज्यका वीर सपूतहरूको संझना’ ।


यो अस्पताल मात्र होइन, पहिलो विश्वयुद्धको नेपालस्थित स्मारक पनि हो । अहिले त्यो भवनको आकर्षक पुनर्निर्माण भएको छ । भित्ताको त्यो चित्र र लेखन यथावत राखिएको छ । विश्व इतिहाससंँग नेपालले गरेको यात्राको एउटा चिनारी हो त्यो भवन, त्यो पनि स्वास्थ्योपचार जस्तो मानवहितसँंग जोडिएको ।


केही पहिले भवन उद्घाटनसंँगै त्यसको पछाडिको भाग सपिङ कम्प्लेक्सका रूपमा भाडामा लगाउने कुरा निकै विवाद र चर्चामा आयो । म युद्धको विरोधी मान्छे हुँ । तर इतिहास मेटिन्न, मेट्न पनि हुँदैन । इतिहासको स्थायी स्तम्भका रूपमा रहेको त्यो भवनलाई व्यापारिक प्रयोजनका लागि उपयोग गर्दा सेनाको खातामा पैसा मालामाल जम्मा होला, तर इतिहासको चेतना रहँदैन । बरु त्यहाँ दुवै विश्वयुद्धमा नेपालीको सहभागिता र योगदानको इतिहास सुरक्षित रहने म्युजियम उपयुक्त हुन्थ्यो ।


अब मूल विषयतिरै जाऊँ । माक्रोनले राष्ट्रवाद र देशभक्तिलाई परस्पर विरोधी भनेका छन् । देशभक्ति बिनाको राष्ट्रवाद कस्तो होला ? हाम्रो सामान्य बुझाइमा राष्ट्र भनेको देश हो, आफ्नो देशलाई माया गर्नु देशभक्ति हो । राष्ट्रलाई माया गर्नु राष्ट्रभक्ति । माक्रोनको भनाइले दिमाग खलबल्याउँछ । यो विषयमा अलि गहिरोसँंग सोच्न बाध्य पार्छ ।


के यी दुई फरक–फरक अवधारणा हुन् ? यसको पार्थक्यता खोज्न कठिन छ । देशभक्ति र राष्ट्रभक्ति खासै फरक कुरा होइन । संँगसँंगै राष्ट्र र राष्ट्रियतालाई जोडेर हेर्नुपर्छ । राष्ट्रियताले एउटा राष्ट्र निर्माण गर्ने तत्त्व (कन्स्टिच्युएन्ट्स) लाई बुझाउँछ, जुन त्यो राष्ट्रलाई प्रतिनिधित्व गर्ने जनसमुदाय हो, उसको सम्प्रभूता हो, जाति, भाषा, संस्कृति हो । कुनै पनि राष्ट्र अस्तित्वमा रहन यी कुरा आवश्यक छन् ।


कतिलाई लाग्छ होला, राष्ट्रवाद भनेको राष्ट्रियताको अभिव्यक्ति हो । जुन संकुचित र गलत हो । राष्ट्रवादले यी कुराको श्रेष्ठता दाबी गर्छ । राष्ट्रवाद शासकले आफ्नो अनुकूलताका लागि प्रयोग गर्दै आएको एउटा अस्त्र हो । देशभक्ति एउटा नागरिकले गरेको आफ्नो जिम्मेवारी र कर्तव्यबोधसँंग सम्बन्धित हुन्छ, जसको पालना गर्दा अरुको सहअस्तित्व, मर्यादा र समानता उपेक्षित हुँदैन । त्यहाँ श्रेष्ठताको कुरा हुन्न । श्रेष्ठताको दाबीले अर्कोको अस्तित्वलाई गौण बनाउँछ, न्युनीकरण गर्छ ।


राष्ट्रवादले कुनै एक जाति र राष्ट्रको सर्वोपरिता र श्रेष्ठतालाई बुझाउँछ । राज्यशक्तिमा पहुँच र त्यसको परिचालनमा एकल जातीय–सांस्कृतिक श्रेष्ठताको दाबी गर्छ । यो दुवैतिर प्रहार गर्ने धारिलो अस्त्र हो । यसले संयुक्त राज्य अमेरिकाजस्तो सम्पन्न र शक्तिशाली देशका लागि साम्राज्यवादी भावना प्रेरित गर्छ भने विपन्न र विधितापूर्ण देशमा आन्तरिक द्वन्द्व । आज अधिकांश देशमा देखिएका जातीय विद्रोह, विग्रह र द्वन्द्व पनि यस्तै सोचको परिणाम हो । एकल जातीयको श्रेष्ठताको वकालत अति राष्ट्रवादको मुख्य जरो हो ।


नेपालकै सन्दर्भमा पनि यो भिन्नता बुझ्न सकिन्छ । नेपाल देश–राष्ट्र विभिन्न कुराले बनेको छ । यसको भूभागमा बसोबास गर्दै आएका विभिन्न जाति, भाषा, समुदायका मानिस समष्टिमा नेपाल राष्ट्र हो । यसको सहअस्तित्व र सम्बद्र्धनमा नेपाली राष्ट्रियता अभिव्यक्त हुन्छ । यसैलाई भावनात्मक उपयोग र परिचालन गरी आन्तरिक वा बाह्य रूपमा नेपालको श्रेष्ठताको खोजीमा राष्ट्रवाद जन्मिन्छ । सुविधा र हालिमुहालीमा रहेको समुदायको वर्चस्व हावी हुन्छ । अरुप्रति सहनशीलता कम हुन्छ ।


संविधान निर्माणको अन्त्यतिर हामीकहाँ राष्ट्रवादको जबर्जस्त हावा आयो । मधेसी र जनजातिका माग र आवाजलाई राष्ट्रियता विपरीत ठानियो । के आफ्नो भाषा, संस्कृति र समुदायको मान्यता खोज्ने मान्छे देशभक्त हुन सक्तैन ? पद्मरत्न तुलाधरले जीवनभर यसैका लागि संघर्ष गरे । के उनको देशभक्ति केपी शर्मा ओली वा सुशील कोइरालाको भन्दा कम थियो भन्न सकिन्छ ?


बीपी कोइरालालाई पञ्चायती शासनले ‘अराष्ट्रिय तत्त्व’ भनेर आरोप लगायो । के उनको देशभक्ति हिजोका कुनै राजा वा मन्त्री, प्रधानमन्त्रीको भन्दा कम थियो ? पञ्चायत ढलेपछि उनको राष्ट्रिय सोच र देशभक्ति तिनै पञ्चलाई पनि अब्बल लाग्न थालेको छ । यसबाट पनि माक्रोनले राष्ट्रवाद र देशभक्तिबीच देखाउन खोजेको भिन्नता प्रस्टिन्छ ।


राष्ट्रपति माक्रोनको आशय बुझ्न यसमा अलि गहिरिएर पस्नुपर्छ । उनले सम्बोधनमा भनेका छन्– आफ्नो हित र प्रभुत्वलाई पहिलो भनेपछि अरुको हेरविचार गर्न के बाँकी रह्यो र ? आफ्नो हितलाई प्राथमिक बनाएपछि राष्ट्रियताको महत्त्व र मूल्यवान तत्त्व मेटिन्छ । अन्धराष्ट्रवादले जन्माउने साँघुरो सोचको उदय यहींबाट हुन्छ । आज विश्वमा एकअर्कासंँग अभिन्न रूपले जोडिएका समस्या छन्, जसको सम्बोधन र समाधान एउटै देशको प्रयत्नबाट सम्भव छैन । जति सम्पन्न र शक्तिशाली भए पनि सहकार्य अपरिहार्य छ । फ्रान्सेली राष्ट्रपतिको यो भनाइ ट्रम्प लक्षित देखिए पनि सबैका लागि मननीय छ ।


उनको भनाइमा अन्तर्राष्ट्रिय पक्ष महत्त्वपूर्ण छ । अर्थात् संयुक्त राज्य अमेरिका लगायतका समुन्नत भनिएका राष्ट्रहरूले आफनोमात्र हित हेर्ने हो भने पर्यावरण, मौसम परिवर्तन, हिंसा, अपराध, आतंकवाद, गरिबी र असमानता लगायतका विश्वव्यापी समस्याको कसरी समाधान खोज्ने ? यसको दायित्व कसले लिने भन्ने प्रश्न सन्निहित छ । तसर्थ राष्ट्रवादको नारामा आन्तरिक राजनीतिक प्रयोजनका लागि भोट बटुल्न होस् वा आफ्नो भौगोलिक सिमाना, बजार र व्यापारकेन्द्री नीतिलाई मात्र ध्यान दिने कुराप्रति उनको विरोध हो ।


अन्तर्राष्ट्रिय तहमा बढ्दो आप्रवासन, शरणार्थी प्रवाह, हिंसात्मक गतिविधिले पश्चिमा मुलुकहरूमा दक्षिणपन्थी प्रभाव बढेको छ । सकारात्मक पहलबाट यसको समाधान खोज्नेभन्दा प्रतिरक्षात्मक राजनीति तत्कालका लागि सजिलो उपाय भए पनि कालान्तरमा यसले अति राष्ट्रवादी सोच र व्यवहार बढाउँछ ।


माक्रोनको भनाइले राष्ट्र र राष्ट्रिताको महत्त्वलाई कम गराउँदैन । बरु त्यसको व्यापक पक्षलाई जनाउँछ । आजको विश्व सन्दर्भमा राष्ट्र र राष्ट्रियता भनेको जातीय श्रेष्ठता तथा प्रभुत्वको विषय होइन । परस्पर सम्मान, सहअस्तित्व, सहकार्य र अन्तरनिर्भरताको युग हो यो । दुवै विश्वयुद्धले सिकाएको पाठ कुनै एक राष्ट्रको श्रेष्ठता होइन, राष्ट्रहरू बीचको परस्पर सहयोग र अन्तरनिर्भरता हो ।


मानव हितका धेरै कुरा सामुहिक प्रयास र आपसी सहयोगबाट हासिल गर्न सकिन्छ भन्ने मान्यता स्थापित भएको छ । यद्यपि आम मानिसमा आफ्नो खाँचो र अधिकार राष्ट्र–राज्यबाटै आपूर्ति हुन्छ भन्ने बुझाइ व्यापक छ । चुनावका बेला आन्तरिक राजनीतिक लाभका लागि त्यसको दुरुपयोग हुने गरेको छ । विजयी पक्षमा राष्ट्रवादको मद बढेको छ । माक्रोनको भनाइले विश्व भ्रातृत्वको मान्यता र राष्ट्रवादबीच रहेको अन्तरविरोधलाई जबर्जस्त प्रहार गरेको छ ।

प्रकाशित : कार्तिक २९, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?