कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कानुन पैरवीका प्रवीण

सम्पादकीय

काठमाडौँ — बहुदलीय पुन:स्थापनापछिको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ सालमा वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठलाई संयुक्त राज्य अमेरिकाका लागि राजदूत बन्न आग्रह गरे ।

कानुन पैरवीका प्रवीण

व्यवस्था परिवर्तनपछिको संक्रमणकालका सर्वशक्तिमान कार्यकारीले सर्वशक्तिमान मुलुकमा राष्ट्रको प्रतिनिधित्व गर्न कर्तव्यनिष्ठ प्रबुद्ध नागरिकको चयन गरेका थिए । श्रेष्ठले सोझै अस्वीकार गरे । कानुन व्यवसायमै रमाउने जवाफ दिए ।

जति जोड गर्दा पनि नमानेपछि भट्टराईले ठट्टा गरे, ‘एकैचोटि रेडियो नेपालबाट फुकिदिन्छु, अनि ?’

त्यसयता पनि श्रेष्ठले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रकालका कुनै नियुक्ति लिएनन् । गत साता ८३ वर्षको उमेरमा उनको निधन भयो । उनले कहिल्यै लाभको पद खोजेनन् ।

कानुनवेत्ताको काम कानुन पैरवी ।

तनहुँ बन्दीपुरका खानदानी श्रेष्ठ वकिल भएर सार्वजनिक जीवनमा प्रवेश गरे, वकिलकै रूपमा बिदा भए । कानुन व्यवसायबाहेक उनलाई अरू रुचि थिएन । पद लिए भनेकै नेपाल कानुन समाजको अध्यक्ष । अभियन्ताका रूपमा नेपाल बारको स्थापना र व्यापकता ।

कुसुम श्रेष्ठ र उनको पुस्ताले २०, ३० र ४० तीनवटै दशकमा नेपालको कानुनी क्षेत्रलाई डोर्‍याए । सात सालबाट सुरु भएको आधुनिक कानुनी प्रणालीले २० कै दशकबाट फड्को मारेको हो । श्रेष्ठ र उनको पुस्ताका गणेशराज शर्मा, मोतीकाजी स्थापित, कृष्णप्रसाद पन्त र कृष्णप्रसाद भण्डारीलगायतले न्याय क्षेत्रलाई आधुनिक जीवन दिए । श्रेष्ठलाई सम्झनु उनको पुस्ताको कदर गर्नु हो ।

लजालु प्रकृतिका श्रेष्ठ अध्ययनशील थिए । किताबलाई प्रेम गर्थे । आफूले पढेका पुस्तक साथीभाइ र कनिष्ठ वकिललाई सिफारिस गर्थे । उनका समकालीनहरू ज्ञान–संसारमा पहुँच राख्न प्रवृत्त थिए । त्यसको लाभ अन्य कानुन व्यवसायी र देशको न्याय प्रणालीलाई नै भयो ।

श्रेष्ठले लडेका मुद्दाले हाम्रो संवैधानिक विकासमा सघाएका छन्, विद्रोही राजनीतिकर्मीको रिहाइको मुद्दा होस् वा प्रतिबन्धित पत्रिका खोल्न गरिएका जिकिर ।

नेपालमा वकिलहरू सामाजिक अभियन्ता हुन् भन्ने धारणा विकास गर्ने श्रेष्ठ अग्रणी हुन् । उनी र उनको पुस्ताको आगमनअघि वकिलको छवि बेग्लै थियो । वकिल दुईथरी थिए, एकातिर ऐन स्रेस्ताको परीक्षा उत्तीर्ण गरेका ‘चार पासे’, अर्कातिर विश्वविद्यालय दीक्षित । मुद्दा लडाउने, नटुंग्याउने र कमाउधन्दा बनाउने भनी बदनाम थियो वकालत । कानुन व्यवसायी ‘मुद्दे वकिल’ मा सीमित थिए । औपचारिक अध्ययन गरेर आएका श्रेष्ठलगायतले नयाँ अवधारणा भित्र्याए । अन्तर्राष्ट्रिय नजिर तथा अभ्यास जानेका उनीहरू बिहंगम दृष्टिले मुद्दाको व्याख्या र बहस गर्न थाले । मुलुकी ऐन मात्र भट्याउनेहरूको जमाना गयो । वकिलको छवि बदलियो, सामाजिक अभियन्ताको परिचय बन्न थाल्यो ।

श्रेष्ठको सरसंगतबाट कानुन व्यवसायीले सिके नै, उनका कानुनी व्याख्या र बहसबाट न्यायाधीश पनि लाभान्वित भए । अनुसन्धान र विवेचनामूलक ‘कानुन’ पत्रिका प्रकाशनको श्रेय पनि उनैलाई जान्छ । उनकै सम्पादनमा २०२७ सालबाट ‘न्यायदूत’ द्वैमासिक प्रकाशन हुन थाल्यो ।

कानुन व्यवसायीलाई संगठित गर्न पनि उनको योगदान छ । नेपाल बारको विधान बनाए । देशभरका कानुन व्यवसायीको छाता संस्था जिल्लादेखि सर्वोच्चसम्म फैलाए । सर्वोच्च बारको पहिलो अध्यक्ष आफैं बने । त्यहाँ न्याय क्षेत्रका विविध विषयमाथि साप्ताहिक छलफल शृंखला चलाए । कानुनी सवाललाई इजलास बाहिर पनि विमर्श र संकथनको विषय बनाए ।

पुरातन शैलीको कानुनी लेखनलाई आधुनिक भाषामा ढाल्ने श्रेय पनि श्रेष्ठलाई नै जान्छ । नेपाली कानुनी साहित्यको श्रीवृद्धि गरे । कानुन व्यवसायीको संगठक बन्दा आफ्नै लगानीमा कानुनी पेसाको उत्थान गरे ।

नेपाल बारको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउन पनि उनको योगदान छ । उनले बीस दशकको मध्यतिर अस्ट्रेलियामा आयोजित ‘ल एसिया’ मा राष्ट्रको प्रतिनिधित्व गरे, यहाँको परिवर्तित कानुनी प्रणालीबारे प्रकाश पारे । त्यसअघि यस्ता कार्यक्रममा नेपालबाट मन्त्री मात्रै जान्थे । उनी प्राय: आफ्नै खर्चमा विदेशी सम्मेलनमा सहभागी हुन्थे । ‘नेपाल पनि कानुनी शासन भएको देश हो, तिमीहरूले सोचेजस्तो जंगली राज होइन’ भन्थे । त्यताको ज्ञान यता ल्याएर बाँडे ।

नेपाल बारको भवन बनाउन नर्वेली सहयोग जुटाउन पनि उनैले योगदान गरेको मानिन्छ । मानव अधिकार तथा सार्वजनिक सरोकारका रिटलाई व्यापक बनाउने पनि उनकै पुस्ता हो । रिट, अन्तरिम आदेश, परमादेश, उत्प्रेषण आदिको व्याख्यामा यो पुस्ताले बौद्धिक सीप खर्चेको छ । यस अर्थमा पनि आजको पुस्ता उनीहरूप्रति ऋणी छ ।

श्रेष्ठ तिनै सीमित वकिलमध्ये पर्थे, जो जनहित र सार्वजनिक सरोकारका विषयमा नि:शुल्क मुद्दा लड्थे । प्रजातन्त्र सेनानीद्वय भीमनारायण श्रेष्ठ र यज्ञबहादुर थापालाई पञ्चायतले मृत्युदण्ड दिनुअघि श्रेष्ठ उनीहरूका पक्षमा लड्न आफ्नै खर्चमा धनकुटा क्षेत्रीय अदालत पुगे । कानुन व्यवसायी सबै मुद्दामा सफल हुन्छन् भन्ने छैन । एउटाले जित्दा अर्कोले हार्नै पर्छ । तर उनको हर प्रयत्नले नेपाली न्याय प्रणालीलाई समृद्ध तुल्याएको छ ।

०३३ सालमा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका बीपी कोइरालालाई जेल हालियो । अदालतमा बीपीका तर्फबाट श्रेष्ठले पनि बहस गरे । उनको वाक् शक्तिको प्रभाववश अदालतमा बहस सुन्नेको भीड लाग्थ्यो । बहुदलकालमा गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा संसद् विघटनका सवालमा फरक–फरक परिस्थितिमा एकै किसिमका मुद्दामा उनले गरेका व्याख्या पनि विशेष मानिन्छन् ।

वकालत गर्नेहरू बिचौलिया बन्न सजिलै सक्छन् भन्ने आज कतै बजारमा बुझाइ छ भने श्रेष्ठ सबभन्दा पृथक् स्तम्भ हुन् । वकिल भनेको कानुनवेत्ता, त्यही नै व्यक्तित्व र त्यही नै चरित्र । उनीबाट आजको पुस्ताले लिने प्रेरणा त्यही हो । कानुन व्यवसायीका लागि उनी एउटा मानक बनिरहे ।

प्रकाशित : कार्तिक २९, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?