कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

कांग्रेसभित्र केको कचिङ्गल ?

हिजो सत्ता थियो । त्यसको सञ्चय, संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरिएन । पार्टीलाई आफ्ना अग्रजहरूको नाम बेचिखाने भाँडो मात्र बनाइयो ।

काठमाडौँ — केन्द्र र सातै प्रदेशको निर्वाचनमा पराजित भएको वर्ष दिन कटिसकेपछि बल्ल नेपाली कांग्रेसको महासमिति बैठक बस्दै छ । शेरबहादुर देउवा सभापति बनेपश्चात् यो पहिलो महासमिति हो । निर्वाचन परिणाम आएलगत्तै गर्नुपर्ने व्यापक र सघन समीक्षा अल्झिँदै अल्झाउँदै वर्षै कटे पनि पराजयको घाउ थाकेको छैन ।

कांग्रेसभित्र केको कचिङ्गल ?

थाक्ने कुरा पनि भएन । उस्तै छ, दुख्दो चर्किंदो । घाउ थाक्ने कुरा किन भएन भने नेपालमा जे जति परिवर्तनकारी र लोकतन्त्रोन्मुख आन्दोलन भए, कांग्रेसकै नेतृत्वमा भएका हुन् । यो वास्तविकता कांग्रेस समर्थक र असमर्थक जसले पनि मान्नुपर्छ । त्यसैले कसका कारण, के कारण पराजित हुन पुग्यो कांग्रेस भन्नेबारे समीक्षाका नाममा कचिंगल चलिरहेको छ ।


लोकतन्त्रमा चुनाव जित्ने हार्ने भइरहन्छ । पछिल्ला चुनावमा हार्नु भने संघर्षको लामो इतिहास भएको कांग्रेसका लागि ठहरै पार्ने खालको रह्यो । सात सालको जनक्रान्ति, २०४६ र २०६२/६३ सालको जनआन्दोलन कांग्रेसकै नेतृत्वमा भएका थिए । ०६२/६३ को जनआन्दोलनको प्रारम्भ र उठान भने नागरिक आन्दोलनका रूपमा भएको थियो ।


दलहरू त्यही नागरिक आन्दोलनमा मिसिन आएका थिए । त्यसपछि नेतृत्व कांग्रेसमा स्थानान्तरित भएको थियो । कांग्रेसले सात सालमै संविधानसभाको वकालत गरेको थियो । त्यसको ६५ वर्षपछि संविधानसभाले लेखेको, आफ्नै नेतृत्वमा जारी भएको संविधानअन्तर्गत भएको पहिलो निर्वाचनमा कांग्रेस हारेको मात्र होइन, एक तिहाइभन्दा कम स्थानमा सीमित हुन पुग्यो । सातमध्ये एउटै प्रदेशमा सरकार त परै, सगर्व उभिन सक्ने प्रतिपक्षसम्म बन्न सकेन । किन ?


यो सानोतिनो लरतरो ‘किन’ होइन । यति लज्जाजनक परिणाममा निहित किनको उत्तर एउटा मात्रैले पुग्दैन । यसैमा अनेकन किन गाँसिएका छन् । कांग्रेसभित्रका असन्तुष्ट कित्तामा रहेका नेता र तिनका समर्थक पंक्ति पराजयमा देउवाको अक्षम नेतृत्व कारक रहेको ठान्छन् ।


अर्कातिर देउवा कित्ताको पंक्ति दुई कम्युनिस्ट अर्थात् तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) तथा उस्तै प्रारम्भिक नाम भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले एकता गर्ने उद्घोष गर्दै चुनावी गठबन्धन गरेकाले परिबन्दवश हार्नुपरेको ठान्छ ।


देउवा आफैंले केसम्म भन्न भ्याएका छन् भने पार्टीले टिकट दिएपछि उम्मेदवारले चुनाव नजित्नु नेतृत्वको होइन, उम्मेदवारकै कमजोरी हो । पार्टी नेतृत्वले पराजयको जिम्मेवारी नलिनुपर्ने यस्तो तर्क विश्वको कुनै पनि मुलुकमा दुर्लभ छ ।


एउटा सक्षम नेतृत्वले पार्टीलाई जिताउने जिम्मेवारी बहन गरेको हुन्छ । जिताउन नसके विनम्रतापूर्वक पराजयको जिम्मेवारी लिनुपर्छ । अग्रस्थ नेताले अरू हारे के भो, आफ्नो सिट त जोगाएँ भनेर ठालु पल्टिन मिल्दैन । पार्टीले चुनाव हार्दा धेरैजसो उन्नत लोकतान्त्रिक संस्कार भएका देशमा नेतृत्वले हारको जिम्मेवारी लिँदै राजीनामा दिने चलन छ ।


कांग्रेस हो त नेपालको अग्रणी लोकतान्त्रिक शक्ति तर नेतृत्वको आचरण त्यस सुहाउँदो नहुँदा कांग्रेसजनलाई गुनासो गर्ने ढोकै बन्द छ । यहाँ नेतृत्व त्याग छाडौं, जिम्मेवारीसम्म लिन नमान्नु देउवाको विशेषताकै रूपमा चिन्हित हुन पुगेको छ । असन्तुष्टहरूले उनलाई जिम्मेवारी बोकाउन भरमग्दुर कोसिस नगरेका होइनन् तर केन्द्रीय कार्यसमितिका बैठक होस् कि जिल्ला सभापतिहरूका भेला, सभापति देउवा पराजयको जिम्मेवारी लिन रत्ति तयार भएनन् । उल्टै पराजयका लागि सबै जिम्मेवार रहेको भन्ने निष्कर्षका साथ केन्द्रीय कार्यसमिति बैठकको पटाक्षेप भएको थियो ।


निर्वाचन परिणाम आएको केही समयपछि सन्तुष्ट र असन्तुष्ट दुवै पक्षका नेताले आआफ्नो कित्तामा पर्ने पार्टी कार्यकर्ताका तारन्तार बैठक र सानामसिना भेला गरेका हुन् । सेतै कपाल फुलेका युवा, युवावस्थाबाट प्रौढतातर्फ उन्मुख तरुण तथा तिनलाई पछ्याउने नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका तन्नेरीहरू निकै जुर्मुराएजस्तो देखिए ।


देउवाले कसैलाई टेरेनन् । फलस्वरूप सेलाए । देउवा कुनै पनि हालतमा आफ्ना कारण चुनाव हारेको मान्न तयार भएनन् । असन्तुष्ट, सन्तुष्ट पक्षहरू तथा सबै प्रकारका युवा मन नमानी नमानी पराजयको जिम्मेवारी सामूहिक रूपमा लिन बाध्य भएका हुन् ।


निष्पक्ष भएर हेर्दा यहाँ असन्तुष्ट र सन्तुष्ट दुवै पक्ष आआफ्नो बुद्धिबर्कतका हिसाबले सही छन्, यद्यपि उनीहरू एकअर्काका तर्क मान्न तयार छैनन् । जबकि चुनाव हार्न अग्रस्थ नेतृत्वको भाग्य भरोसेपनवाला स्वभाव तथा उम्मेदवारहरूमा वाञ्छित सक्रियताको अभाव दुवै कारण सहायक रहेका हुन् ।


नेतृत्वमा सक्षमता र उम्मेदवारहरूमा वाञ्छित सशक्तता नहुँदा प्रतिस्पर्धीको शक्ति र कमजोरी आकलन गर्न सकिँदैन । सकिँदैन त रणनीति बन्दैन । बिनारणनीति चुनाव जित्ने होइन, हारिन्छ । यो सामान्य कुरा हो । तर यस्तो किन हुन्छ, प्रश्न यो हो । यस्तो हुनाको मूल कारण हो, कांग्रेसको शिथिल हुँदै गएको सृजन–ऊर्जा अर्थात् अन्तरतत्त्व ।


के हो त्यो अन्तरतत्त्व ? नित्य नवीनता लोकतन्त्रको अन्तरतत्त्व हो जस्तोकि सृष्टिको हुन्छ र एउटा लोकतान्त्रिक हुँ भन्ने दलले नवीनताको तत्त्वलाई हमेसा जीवन्त राख्नुपर्छ । विचारमा, नेतृत्वमा र पंक्तिमा । विचारलाई समय सन्दर्भअनुसार नयाँ कलेवरमा ढाल्दै लानुपर्छ । शोध र अनुसन्धानका लागि स्थान र सहयोग हुनुपर्छ । प्रतिभाहरूलाई आमन्त्रण गर्ने वातावरण हुनुपर्छ ।


नेतृत्वमा परिपक्व युवाका लागि प्रतिस्पर्धाको परिवेश र प्रोत्साहन हुनुपर्छ । पंक्तिमा बालिग हुँदै गरेका तरुणहरू तँछाडमछाड गर्दै प्रवेश गर्ने आकर्षण हुनुपर्छ । हुर्किरहेका किशोरकिशोरीले त्यहाँ आफ्नो भविष्य, आफ्ना ‘आइकन’ देख्नुपर्छ ।


जोस, जाँगर, तारुण्य र थिति बदल्छु भन्ने उत्साह भएको पंक्ति घट्दै गएको दलले विगतमा हाम्रा अग्रजहरूले ठूल्ठूला कीर्ति फैलाएका थिए भन्नु र हामी त यस्ता पुर्खाका सन्तान कि यस जम्बुद्वीपको आर्यावर्त, भरतखण्डमा त्रेतायुगमै पुष्पक विमान थियो भन्नुमा कुनै अन्तर छैन । दुवै उस्तै आत्मरति हुन् ।


थियो होला त्रेतायुगमा पुष्पक विमान तर आज यस आर्यावर्तको नेपाल भूखण्डमा विमान बनाउने परै, मरम्मत गर्ने कारखानासम्म छैन । भएका विमानले समेत अन्तर्राष्ट्रिय रुट नपाएर ग्राउन्डेड हुनुपर्ने अवस्था छ । केही समय पहिला किनेको वाइडबडी विमान पनि कमिसनका जालामा गुटमुटिएको खबर दिनप्रतिदिन आउँदो छ । लुट र भ्रष्टाचारले देश जर्जर छ । जब अवस्था यति दुर्दान्त छ, हामी नेपाली महान् पूर्वजका सन्तति भएर के भो !


जननायक बीपी कोइरालाले राष्ट्रियता, लोकतन्त्र, समाजवाद भनेका, उनले आफ्नो जीवन लोकतन्त्रका लागि उत्सर्ग गरेका थिए भनेर बीपीका फोटामा माल्यार्पण गर्दै मनमनै रमाउँदैमा पार्टी सशक्त र बलियो हुने होइन । तस्बिरमा माल्यार्पण नगर्नु भनेको होइन । गर्नु र साथसाथै उसबेला बीपीमा विद्यमान उत्साह, उनको सिर्जन ऊर्जाबाट प्रेरणा लिँदै नवपथ निर्माण गर्नु ।


उनको नाम खाएर नबस्नु कार्यप्रदर्शनद्वारा उनका सुयोग्य सन्तति बन्नु । विचारशील र कार्यकौशलले सज्जित पंक्ति तयार गर्नु । गर्नुपर्ने त उनले देखाएको मार्ग अवलम्बन गर्दै निरन्तर उन्नत आशा जगाउने हो । आशा त्यहाँ जाग्छ, जहाँ जग हुन्छ । आशा त्यहाँ जाग्छ, जहाँ सिर्जन ऊर्जा हुन्छ । बीपीका फोटा मात्र पुजेर केही हुँदैन, उनका विचार अनुसरण गर्नुपर्छ । हे कांग्रेसजन † मात्र पितृतर्पणले पितृ मुक्त हुँदैनन्, सन्तान सुयोग्य हुनुपर्छ ।


हिजो को के थियो, स्मरणीय हो तर शक्तिको परीक्षा आजै हुन्छ । स्मरणीय पनि के कति भन्ने विषय आजको अवस्थाले निर्देशित गर्छ । कांग्रेस कम्युनिस्टहरूलाई सत्ता बुझाएर आफू प्रतिपक्ष, त्यो पनि अत्यन्त निम्सरो प्रतिपक्ष बन्न पुगेको छ । यही आजको यथार्थ हो । हिजो सत्ता थियो । थियो त थियो, के भयो ? त्यसको सञ्चय, संरक्षण, संवद्र्धन र प्रवर्द्धन गरिएन ।


पार्टीलाई अरू विकसित र आकर्षक बनाउनतिर भन्दा आफ्ना अग्रजहरूको नाम बेचिखाने भाँडो मात्र बनाइयो । त्यही प्रवृत्ति यथावत् रहे कांग्रेसको गौरवशाली इतिहास, इतिहासकै पानामा एक अध्यायका रूपमा बन्द हुन सक्छ । इतिहासका पानामा बन्द हुन पुगेको अध्याय कुनै योग्य शोधार्थीका लागि फेला परे सन्दर्भ सामग्री बन्न सक्छ ।


इतिहासमाथि इतिहास रच्दै जानलाई उन्नत कर्म गर्दै जानुपर्छ । उन्नत कर्म गर्न सर्वप्रथम परस्परका कचिंगल छाडेर पार्टीभित्र शिथिल हुँदै गएको सिर्जन ऊर्जालाई पुनर्जागृत हुन सक्ने वातावरण बनाउनुपर्छ । त्यसका लागि जरुरी छ नवीनता अर्थात् नयाँलाई आमन्त्रण गर्ने संरचना र त्यस्तै ऊर्जाशील नेतृत्व ।


यसर्थ महासमितिले निर्वाचनमा पराजयको निर्मम समीक्षा गर्दै नवीनता र ऊर्जाशील नेतृत्व आउन सक्ने मार्गप्रशस्त गर्नसके कांग्रेस पुन: ध्येयोन्मुख बन्न र यसैबाट कचिंगलमुक्त हुने वातावरण बन्न सक्छ । अन्यथा के हुन्छ भनिरहनैपर्दैन, कचिंगलै कचिंगलमा कांग्रेस रुमल्लिइरहन्छ ।

प्रकाशित : मंसिर २८, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?