कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

मनी, मसल, मुद्दा र महासमिति

सम्पादकीय

काठमाडौँ — नेपाली कांग्रेसका नेताहरू २००७ सालदेखि राजनीतिक परिवर्तन आफ्नै नेतृत्वमा सम्भव भएको सगर्व बताउने गर्छन् । पछिल्ला परिवर्तन पनि वाम शक्तिहरूको सहकार्यमा कांग्रेसकै कारण सफल भएको जिकिर गर्छन्– माओवादीलाई शान्ति वार्तामा ल्याउने, संविधान बनाउने, निर्वाचन गराउने । 

मनी, मसल, मुद्दा र महासमिति

संघीयता कार्यान्वयन गर्न सम्पन्न भएको तीनै तहका निर्वाचनमा भने देशको सबभन्दा ठूलो लोकतान्त्रिक पार्टी पराजित भयो । देशका राजनीतिक मुद्दाहरू सुल्झाउन पहल गर्ने तर जनमत लिन असफल हुने मनोदशा आज कांग्रेसको यथार्थ हुन पुगेको छ । उनीहरू युद्ध जितेर लडाइँ हारेजस्तो गर्दैछन् ।

लामो राजनीतिक अस्थिरतापछि कम्युनिस्ट पार्टीले इतिहासकै शक्तिशाली मताधिकार पाएको छ भने कांग्रेस पार्टी प्रदेशसभाहरूमा प्रतिपक्षका रूपमा उठ्न पनि नसक्ने न्यून मतमा खुम्चिएको छ । संघीय संसद्को प्रतिपक्षमा एक तिहाइ संख्यामा तैनाथ छ तर लडाइँ हारेपछि उपायविहीन एक्लै कुनामा थकित देखिन्छ ।

यही बेला उसले आन्तरिक संगठन र सिद्धान्तका आधार समीक्षा गर्ने अवसरका रूपमा महासमिति बैठक गरेको छ । हरेक वर्ष गर्नुपर्ने बैठक तीन वर्षपछि राजधानीमा शनिबार बल्लतल्ल सुरु गर्दा नेताहरूले पराजित मानसिकताकै प्रचार गरेका छन् । बाटो अल्मलिएजस्तो, आफैं हराएजस्तो, थाकेजस्तो, समस्या पहिल्याउन नसकेजस्तो । उनीहरूले कुनै महत्त्वपूर्ण अपिल गर्न सकेका छैनन् । जबकि कांग्रेसको महासमिति बैठकले देशको राजनीतिलाई दिशा दिन इतिहासमा हरेकपल्ट आधुनिक मोड लिएको छ ।

संविधानसभाबाट संविधान बनेर मुलुकमा संघीय संरचनाअनुसार तीनै तहका निर्वाचन गर्दा उसले नीति बनाउन महासमिति बैठक गरेन । संगठनको विधि पालना नहुँदा केन्द्रीय नेतृत्वमात्र बलियो रह्यो, संगठन त्यसअनुसार हुर्किन सकेन । जनतालाई सम्बोधन गर्ने न नीति बनाउन सक्यो न नारा दिन । निर्वाचनका लागि तालमेल गर्ने/नगर्ने, गर्ने भए कोसित गर्ने ? उम्मेदवार कसरी छान्ने ? मनोगत नेतृत्वले आफ्नो सुविधामा उम्मेदवारहरूसमेत भागबन्डामा तय गर्‍यो ।

आजको शक्ति सन्तुलनमा प्रतिपक्षी शक्तिका रूपमा स्थानीय, प्रादेशिक र संघीय सरकारसँग कसरी उभिने ? स्वस्थ, सक्षम र सशक्त संगठनका रूपमा कसरी तंग्रिने ? यसका लागि पहिले पार्टीले केन्द्रदेखि भुइँ तहसम्मै पार्टीका अवयव मिलाउन पहल गर्नुपर्नेछ । देश संघीयतामा छ तर पार्टी अझै केन्द्रीकृत । तल्लो तहसम्म पार्टीका कार्यक्रम पुर्‍याउन संगठनलाई पनि त्यसैअनुसार शक्ति विकेन्द्रित गरिएको छैन । केन्द्रीय समितिको आकार ठूलो छ, केन्द्रीय नेतृत्वको अधिकारजस्तै ।

पार्टीमा अहिले देखिएका असन्तोष हेर्दा विचारभन्दा व्यक्तित्व, सिंगो संगठनभन्दा अनेक गुट हाबी हुन पुगेका छन् । ‘मनी’ र ‘मसल’ को प्रभावले मुद्दा/विचारमा ग्रहण लागेको छ । सिद्धान्तमा जोड दिनेहरू पार्टीको आत्मा संकटमा रहेको गुनासो गर्छन् । सिद्धान्तनिष्ठहरू पार्टीमा टिक्न महँगो भएको गुनासो गर्छन् । नेतृत्वमा उदाउन वा टिक्न कार्यकर्तालाई टिकाउनुपर्ने भएको छ । कार्यकर्तामुखी कार्यप्रणालीका कारण सिद्धान्त होइन सुविधा, योगदान होइन योगफल हेर्नुपर्ने भएको छ ।

कांग्रेस संगठन एउटा पार्टीभन्दा पनि गुट, उपगुट र झुन्डको महासंघजस्तो प्रतीत हुन्छ । सत्तामा धेरै वर्ष रहँदा सुशासन र जवाफदेहितामा खरो जाँचिन नसकेका नेताका कारण को नेता को बिचौलिया छुट्याउनसमेत कठिन पर्छ । नेताहरू प्राय: आम जनताबाट टाढा देखिन्छन् ।

जनताका दैनिक सरोकार, देशका दीर्घ हितभन्दा सरकार र व्यापारका स्वार्थसँग नजिक पर्छन् । सुविधापूर्ण जीवनशैली र आशंकापूर्ण आचरण भएका नेताले जनविश्वास हासिल गर्न सक्दैनन् ।

महासमितिले राष्ट्रिय राजनीतिमा बलियो विपक्षी बन्न आत्मबल बढाउने अवसर त्यति बेला मात्र आर्जन गर्छ जब उसले पार्टीलाई मनी र मसलको गठजोडबाट मुक्त बनाउने उपाय दिन सक्छ । राष्ट्रिय पार्टी राजनीतिक मुद्दाका आधार र मुद्दा वहन गर्न सक्ने चरित्रको बलमा उठ्न सक्छ ।

प्रकाशित : पुस १, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?