कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हामी पनि

त्रिविका प्राध्यापकले हामीमाथि दुर्व्यवहार गरेको घटना हाम्रो मानसपटलमा यसरी बसेको थियो कि कुनै यौन हिंसाको समाचार देख्दा त्यसलाई सम्झिएर झसंग हुन्थ्यौं ।

काठमाडौँ — मिटु अर्थात् ‘म पनि’ अभियान महिलाले आफूले भोगेको यौनहिंसा र दुर्व्यवहारबारे बोल्ने मञ्च बनेको छ । यो अभियान एउटामात्र देशमा सीमित भएन । महिलाले विशेषगरी आफूले कुनै पनि समयमा भोगेका यौन हिंसाबारे खुला रूपमा बोल्ने क्रम सुरु भएको छ ।

हामी पनि

पुरुषले यस्ता यौनहिंसा र दुर्व्यवहार भोगेका छैनन् भन्ने होइन होला । समाजले स्थापना गरिदिएको पुरुषत्वको लाज ढाक्न व्यक्त नगरेको हुनसक्छ । यो विषयमा बेग्लै छलफल गर्न सकिन्छ । महिलाले महिलालाई उत्पीडनमा पारेको विषय नौलो भएन । मि टुबारे विदेशका मिडियामा केही विषय आइरहन्थे । नेपालमा केही वर्षदेखि आक्कल–झुक्कल पढ्न पाइन थालेको छ ।


हामी यहाँ आफूले भोगेको यौन हिंसाबारे व्यक्त गर्दैछौं । यसो गर्न पनि त्यति सहज छैन । हामीलाई यो कुरा गर्न धेरै समय लागेको थियो । जो प्रसिद्ध तथा अनुभवी बौद्धिक हुन्छ, जसले आफ्नो जीवनको आधाभन्दा बढी समय सामाजिक न्याय र लैङ्गिक समानताको वकालत गरेर बिताएको हुन्छ, उसैबाट यौन हिंसामा पर्दा खुलेर बोल्न धेरै कठिन हुन्छ । पीडकको विशेषता सुन्दै एकछिन ऐंँठन हुन्छ ।


सुरुमा मलाई (निशा) आश्चर्य र खुसी लागेको थियो कि उनि कति सहयोगी थिए ! म र मेरा साथीका लागि उनी महत्त्वपूर्ण गुरु थिए । उनी जुनसुकै बेला बिना हिचकिचाहट सहयोगी हात फिँजाउँथे । प्रसिद्ध साथै व्यस्त प्रध्यापक हुँदाहुँदै पनि उनले हाम्रालागि समय निकाल्ने हुनाले म निकै प्रभावित थिएँ । साउन महिना थियो ।


धेरैजसो महिलाले झैं मैले पनि हातमा मेहन्दी लगाएकी थिएँ ।


उनले नरम तरिकाले मेरो हात समाए र भने, ‘मेहन्दी तपाईंको हातमा सुन्दर देखिएको छ ।’ उनले बिना अनुमति मलाई छोएकामा साह्रै असहज महसुस भयो । तर मैले सोचेंँ, म बढ्ता प्रतिक्रिया जनाउन लागेँ । तर त्यो क्रम रोकिएन । म उनको घरमा मेरो थेसिसबारे छलफल गर्न गएकी थिएँ । उनले दोहोर्‍याएर मेरो हात छुनथाले । जुन ल्यापटपमा हामी मेरो दस्तावेजमा काम गरिरहेका थियौं, त्यसैमा उनले ‘पोर्न वेबसाइट’ खोले । उनले सुत्ने कोठैमा आउन भने । म आत्तिएँ । मैले आग्रह गरेपछि उनले ल्यापटप बन्द गरे, तर बिना संकोच र पश्चाताप ड्रिङ्स अफर गरे ।


मलाई (मनिषा) छात्रवृत्ति र अरु शैक्षिक कार्यमा सहयोग गरे पनि उनले भनेका र गरेका विशेषगरी फोहोरी जोक, मेरो तिघ्रामा हातले थिचेको र चलाएको सम्झेर अझै घृणा लागेर आउँछ । उनीबाट घृणित कार्य भए पनि मेरानिम्ति आवेदनलाई समयमै सिध्याउनु थियो ।


हामीले तत्काल जनाउन सक्ने प्रतिक्रिया भनेको प्रस्ताव अस्वीकार गर्नु, झपार्नु र त्यस ठाउँबाट बाहिर निस्कनु हो । त्यसै गर्‍यौँ । त्यसपश्चात हामीले नजिकका केही साथीलाई भन्यौँ, तर सबैको एउटै आशय थियो कि उनी शक्तिको नजिक छन्, केही गर्न सकिन्न । हामीलाई पनि त्यही लाग्छ । हामी हरेक भेटमा यसबारे कुरा गर्थ्यौं, तर यही कारणले टुङ्गोमा पुग्दैनथ्यौं । यो घटनापछि मान्छेले उनको प्रशंसा गर्दा हामी मनमनै दांँत किट्दै भन्ने गर्थ्यौं , ‘उनी कस्ता छन्, राम्रोसँंग थाहा छ ।’


यो घटना हाम्रो मानसपटलमा यसरी बसेको थियो कि कुनै यौन हिंसाको समाचार देख्दा त्यसलाई सम्झिएर झसङ्ग हुन्थ्यौँ । यस्ता घृणित कार्य हामीमाथि हुनुअघि उनलाई धेरै आदर गथ्र्याैं । उहाँ विद्यार्थीलाई धेरै स्नेह र सहयोग गर्नुहुन्छ भन्ने हामीलाई विश्वास थियो । साथीहरूले अरु असभ्य र ब्यस्त प्राध्यापकबारे बताउँदा हामी उनलाई राम्रो प्राध्यापक रूपमा उदाहरण दिन्थ्यौं । उनी ‘सेक्सुअल प्रिडेटर’ हुन् भन्ने ठम्याउन हामीलाई केही समय लाग्यो ।


यो भन्दै गर्दा हाम्रो अवस्था विलकुलै नयाँ हैन । शैक्षिक पक्षमा व्याप्त शक्ति असमानता र यौनहिंसाले पीडित महिलाका निम्ति आश्रय लिने ठाउँ पाउन गाह्रै हुन्छ । करिअर र भविष्य व्यक्तिगत चिनजान र सिफारिस पत्रमा पनि निर्भर पर्ने हुँदा पीडकको जत्थासँग जाइलाग्नु खतरै हुनसक्छ । हामीमाथि यस्तो घृणित कार्य गर्नेसँग ज्ञान, शक्ति, इज्जत छ । बौद्धिक वर्गमा गनिन्छन् । विगतमा त्रिभुवन विश्वविद्यालयमा प्रध्यापकजस्तो विशिष्ट स्थान ओगटेको अनुभव तथा इतिहास पनि छ । उनका विद्यार्थी हामीसँग त्यस्तो स्थान अहिले हुने कुरो भएन ।


उनले हामीलाई दुर्व्यवहारको सिकार बनाए, किनकि उनलाई ती कुरा थाहा थियो । उनले ओहदाकै कारण हाम्रो अपमान गर्न र शिक्षक तथा विद्यार्थीको असल सम्बन्धलाई धमिल्याउन कुनै कसर बाँकी राखेनन् । उनलाइ थाहा थियो, आफू त्रिभुवन विश्वविद्यालयको प्रसिद्ध प्राध्यापक भएकाले कसैले शंका पनि गर्दैन र कुनै माखोले चुनौती दिनेवाला छैन । हामी चुप लाग्ने या लगाइने पक्षमा थिएनौँ (छैनौँ) भन्ने उनलाई थाहा थिएन । यस्तो विषय कसैसँंग भन्न पनि कम्ता आंँट चाहिँदैन । हामी एक–अर्कासंँगको हरेक भेटमा यो कुरालाई कसरी सम्बोधन गर्ने भन्ने भनेर छलफल गर्थ्यौं । कुरा केही समय कुरौं भन्दाभन्दै दुई वर्ष बित्यो । हामीलाई नै किन भन्नेमा हामीसँग केही कारण छन् ।


हामीमध्ये एकजना मधेसी महिला हुँ । हाम्रा पीडकले कुनै बेला भनेका थिए, मधेसी महिला समर्पण गर्छन् र यौनहिंसाको सिकार भए पनि बोल्दैनन्, किनकि उनीहरू सदैव पुरुषबाट दबाइएका हुन्छन् । एकजना भने बाहुन हुँ । बाहुनले बोल्दा उनका अनुयायी उनको पक्षमा स्वत: उभिन्छन्, किनकि ‘बाहुनले सिमान्तकृत जातिलाई अतिक्रमण गर्छ ।’ हाम्रो पीडकले यति साह्रो स्वाङ प्रदर्शन गरेका छन् कि उनी साझा मञ्चमा लैंगिक न्यायको वकालत पनि गर्छन् ।


हामीले आफ्ना साथी र परिवारका सदस्यहरूलाई भोगेको दुर्व्यवहारबारे बतायौं । उनीहरूले पनि विशेषगरी हाम्रै सुरक्षाका निम्ति केही नबोल्न सल्लाह दिए । अहिले हामीले आफ्नो कटु वास्तविकता बाँड्ने कोसिस गरेका छौं । हिंसालाई मलजल गर्ने कतिपय खतरनाक पित्तृसत्ताका विभेदकारी संस्कृतिहरू रोकिनुपर्छ ।


प्रकाशित : पुस ११, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?