कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विवादित बनाउने प्रयास

काठमाडौँ — कान्तिपुरमा साउन ३१ गते पेजमा प्रकाशित ‘लुम्बिनी कोषमा विवादित व्यक्ति’ भन्ने समाचारका विषयमा यो प्रतिक्रिया लेखेको छु ।

विवादित बनाउने प्रयास

१. २०६८ सालमा ललितपुरको स्थानीय विकास अधिकारी हुँदा जिल्ला विकास समितिबाट तत्कालीन प्रत्येक गाउँ विकास समितिका खातामा एक लाख रुपैयाँका दरले रकम निकासा गरिएको थियो । गाविसहरूले आफैं सम्झौता गरी कुनै फर्मलाई कानुन विनियम निर्देशिका आदि बनाउन रकम दिएका थिए । गाविसहरूले आफैं सम्झौता गर्ने, खर्च गर्ने र लेखापरीक्षण गर्नेगरी दिएका र निजहरूले कानुन निर्माण गरी आआफ्ना परिषदबाट पारित गरेका हुन् । यसमा मेरो संलग्नता नभएको विषयलाई लिएर ‘निज समेतको संलग्नता छ’ भनी विगतमा यसै पत्रिकामा धारावाहिक समाचार प्रकाशित गरेको विषयलाई लिएर प्रेस काउन्सिलमा उजुरी निवेदन दर्ता गरेको थिएँ । यसै विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र आदिले छानबिन गर्दा दोषी प्रमाणित हुने नदेखी अनुगमन पुर्‍याउन नसकेको भनी सम्बन्धित फर्मलाई केही रकम तिराउन लगाई मुद्दा टुंगिएको थियो । मेरो विगत अध्ययन गरे हुन्छ, म विवादित व्यक्ति होइन, विवादित बनाउने दुस्प्रयास भएको थियो, अझ पनि कोसिस गरिंँदैछ ।


२. सातदोबाटो–चापागाउँको बाटो साँघुरो भएर जाम हुन्थ्यो । वैकल्पिक मार्ग नख्खु करिडोर धेरै दु:ख र प्रयासबाट खुलेको हो । राम्रो कार्य गर्नेलाई पुरस्कृत गर्नुपर्ने ठाउँमा, उपभोक्ता समितिबाट भएको काममा मलाई समेत जबर्जस्ती मुछ्न खोज्नु दुस्प्रयास मात्र हो ।


३. ३३ वर्षको अधिकृत स्तरको अनुभव, २०६०–०६१ सालमा लुम्बिनी विकास कोषको योजना प्रमुख भैसकेको र बुद्ध दर्शन एवं लुम्बिनीबारे रुचि राख्ने, रूपन्देही, कपिलवस्तु तथा पाल्पा जिल्लामा सफलतापूर्वक प्रजिअको भूमिका निर्वाह गरेको व्यक्ति नाकाबन्दी भएर मुलुकलाई अप्ठ्यारो पर्दा एकदिन पनि नाका बन्द हुन नदिई बेलहिया नाका सुचारु गराउन भूमिका निर्वाह गरेको सबैमा विदितै छ । अनुभव, योग्यता, दक्षता र क्षमताका आधारमा नेपाल सरकारको निर्णय अनुसार मलाई लुम्बिनी विकास कोषको सदस्य सचिव पदमा नियुक्ति गरिएको विषयलाई लिएर सम्मानित व्यक्तिहरूलाई समेत मुछ्ने प्रयास गर्नु सर्वथा निन्दनीय छ ।
– विष्णुप्रसाद ढकाल
आँधीखोला–६, स्याङ्जा

प्रकाशित : भाद्र १, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?