कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरत शमशेरको संलग्नता थिएन

काठमाडौँ — भदौ २ गते प्रकाशित सूर्य थापाको लेखबारे केही थप कुरा जोड्न गइरहेछु । ‘बीपी कोइरालालाई गोली हान्न हुलहज्जत गराएको विद्रुप छवि’ भन्ने आरोप रहेछ । त्यस विषय र घटनाको तथ्य वृत्तान्त प्रस्ट गर्नु आवश्यक देखिन्छ ।

भरत शमशेरको संलग्नता थिएन

१९५१ अप्रिल १२ को बिहान करिब ६ बजे तत्कालीन प्रहरी महानिरीक्षक तोरण शमशेरको नेतृत्वमा प्रहरी टोली बबरमहल पुगेर भरतलाई गिरफ्तार गरी हनुमानढोकाको प्रहरी थानामा राखे । त्यहाँ भिडभाड भएपछि टुँडिखेल नजिकको सेन्ट्रल जेलमा लगे । नेता भरत शमशेरलाई गिरफ्तार गरेको खबर गोर्खा दलको बाहुल्य रहेको काँठका गोदावरी, लेले, छंपि, शंखु, नैकाप आदि गाउँघरमा सनसनीसाथ फैलियो । क्रमश: सबैतर्फबाट भिड काठमाडौं पुगी जेल बाहिर जम्मा हुन थाल्यो ।


जेलका क्याप्टेन पनि भरत समर्थक रहेछन् । भिड ढोका फोडी भित्र पसे । नेतालाई काँधमा राखी पालोपालो गर्दै टुँडिखेल पुर्‍याए । हजारौंको संख्या थियो । ‘धुलो उडेर म त उकुस–मुकुस भएँ । त्यहाँ त एउटा प्यान्डोमोनियम सुरु भयो ।’ (डा. राजेश गौत्तम, नेपालको प्रजातान्त्रिक आन्दोलन र विद्रोही भरत शमशेर) केही घन्टापछि प्रहरीको सशक्त टोली आएर भरतलाई पुन: गिरफतार गर्‍यो । यसैबीच जेलबाट एउटा अर्को सानो टोली बीपी कोइराला बस्नुभएको ३०० गज पर त्रिपुरेश्वरको गेस्टहाउसतिर लागे । उत्तेजित टोलीलाई रोक्न भित्रबाट किशुनजी सहित केहीले राइफल प्रयोग गर्ने प्रयास गर्नुभयो, तर त्यो चलेन । भिड भित्र पस्यो । त्यसमध्ये केही भर्‍याङमाथि चढे, बीपी बस्नुभएको कोठाभित्र नांगो खुकुरीसहित प्रवेश गरे । बीपीले आफूसँग रहेको सानो पेस्तोल झिकेर आक्रमणकारीमाथि गोली चलाउनुभयो । ऊ ढल्यो । मृत्यु भयो । भिड तितर–वितर भयो । यस घटनाको समाचार पछिमात्र भरतले सुन्न पाए ।


बीपी माथिको आक्रमणमा भरतको नेतृत्व वा संलग्नता रहेको हल्ला वा आरोप त्यस समयको राजनीतिक माहोलमा त चल्नु/चलाउनु अस्वाभाविक थिएन । तर आज आएर त्यस प्रकारको अपभ्रमलाई बंग्याउनुभन्दा प्रस्ट्याउनु वेश होला । यसै घटनाको विषयमा बीपीले व्यक्त गर्नुभएका केही हरफ पनि यहाँ सान्दर्भिक हुनेछ : ‘त्यही बखतमा राणाहरूले गोर्खादल भन्ने निकाले । म गृहमन्त्री थिएँ । म पनि अनुभवहीन मानिस । रिपोर्ट पनि त्यस्तै पार्थे, बुझिन्थ्यो कि आज उडाउँछन् कि भोलि उडाउँछन् हामीलाई । तर त्यो झुटो हुन्थ्यो । तीनवटा रिपोर्ट तीन तरिकाले मकहाँ पुग्थ्यो । त्यो वास्तविक कुरा हो, त्यस्तो परिस्थिति थियो । मकहाँ दबाब के आउने भने­ ‘तिमी कारबाही गर्दैनौ, यस्तो भइसक्दा पनि कुनै कारबाही गर्दैनौ ।’ नभएका कुरा बढाइ–चढाइ गरिरहेका छन् ।’ (विश्वेश्वरप्रसाद कोइराला­ आत्मवृत्तान्त, पृष्ठ १४८)
– सागर शमशेर जबरा
ललितपुर

प्रकाशित : भाद्र ५, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?