३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नेवार कसरी जनजाति ?

काठमाडौँ — नेवार समुदायसँग सम्बन्धित थुप्रै धार्मिक तथा सांस्कृतिक चाड, पर्व, जात्रा पढ्न पाउँदा राम्रो लाग्छ । यी सबै पढ्दा मलाई एउटा धेरै पहिलेदेखि जान्न मनलागेको कुरोचाहिँ के हो भने यस्तो आर्थिक, सांस्कृतिक र सबै दृष्टिकोणले धनी समुदायलाई किन र कसरी जनजाति भनियो ?

नेवार कसरी जनजाति ?

जहाँसम्म मलाई थाहा छ, जनजातिको नेपाली परिभाषामा जनजाति भनेका ती जाति हुन्, जुन जाति हिन्दु धर्म मान्दैन थिए र हिन्दु वर्णव्यवस्थाभित्र पर्दैनन् । जो राष्ट्रको मुख्यधारबाट बञ्चित भएका छन्, जो राजनीतिक, सामाजिक र राष्ट्रका सबै अंगबाट कुनै न कुनै हिसाबबाट लाभान्वित छैनन् । नेवार समुदायलाई साँच्चिकै यी कुनै परिभाषाभित्र समेट्न मिल्छ ?
पुरै देशको संस्कृति र धर्म धान्ने नेवार समुदाय सनातन धर्म (हिन्दु र बौध) मा नपरे कुन धर्मका अनुयायी हुन््, त्यसो भए ? वर्णव्यवस्थाभित्र नपर्ने भए अहिले भइरहेको कात्तिक नाच गर्ने देव ब्राह्मण (राजोपाध्याय) नेवार ब्राह्मण नभए को हुन् त ? पहिले–पहिले पानी नचल्ने भनेर नेवार समाजबाट अपहेलित पोडे, कुश्ले, धोबी नामको इतिहास के भयो ? उनीहरूले त अहिले आएर ‘नेवार दलित’ भनेर दलित कोटाभित्रको आरक्षण पनि पाउँछन् । नेवारहरूको जन्मदेखि मृत्यु शतप्रतिशत वैदिक र तान्त्रिक विधिको हिन्दु सोह्र संस्कारमा आधारित हुन्छ । नेवारहरू देशकै सबैभन्दा सामाजिक र आर्थिक रूपमा सम्पन्न समुदायमा पर्छन् । पहाडी बाहुन र क्षत्रीभन्दा पनि धेरै हिसाबले अगाडि छन्, धेरैजसो तथ्यांकले यही देखाउँछ । तर पनि नेवारजस्तो नेपालकै महत्त्वपूर्ण, समृद्ध र हरेक दृष्टिले सम्पन समुदायलाई कसरी एउटा सिंगो जाति भनी आरक्षणका लागि राउटे वा कुसुन्डा वा मेचे जातिसँंगै त्यही ‘जनजाति’को कोटामा दाँज्न मिल्ला ?
– राजेन नेउपाने
नयाँबानेश्वर, काठमाडौं

प्रकाशित : भाद्र २०, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?