कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रानीपोखरीमा पानी कहाँबाट ?

काठमाडौँ — कात्तिक १२ गते प्रकाशित सम्पादकीय ‘रानीपोखरी हाम्रो ऐना’ धेरै सान्दर्भिक लाग्यो । एउटा सुन्दर पोखरी बीचमा उभिएको सेतो मन्दिर जीर्ण हुनुका साथै पोखरीको पानीसमेत सुकाइएपछि उक्त स्थान कुनै उजाड भूमिको बीचमा भत्केको खण्डहरजस्तो दृश्य सबैले टुलुटुलु हेरिरहनुपरेको छ ।

रानीपोखरीमा पानी कहाँबाट ?

यो अनुभूति १ वर्ष होइन, ३ वर्षदेखि हेर्नुपरेकाले यो साँच्चै हाम्रो देशको ऐना नै हो भन्ने लाग्छ । ढिलासुस्तीको मुख्य समस्या मन्दिर र पोखरीको पुनर्निर्माण कसले गर्ने ? कुन शैलीमा गर्ने भन्ने कामपा र पुरातत्त्व विभागबीचको विवादका कारणले नै हो । मन्दिर निर्माण पुरातत्त्व विभाग र बाहिरको कामपाले गर्ने भन्ने सहमति भएको बुझियो तर विभागले भने कुन शैलीमा निर्माण गर्ने भन्ने कुरा अन्योल देखिन्छ । उसले गर्न खोजेको पहिलेकै गुम्बज शैलीको निर्माण हो भने त्यसलाई पनि नेपाली मौलिक शैलीको भन्न सकिँदैन । कारण काठमाडौं उपत्यका र बाहिर पनि नेपाली मन्दिरहरू सबैजसो पेगोडा शैलीमै बनेका छन् । उदाहरणका लागि पशुपतिको मन्दिरदेखि भक्तपुरको प्रख्यात पाँचतले मन्दिरसम्मलाई लिन सकिन्छ । गुम्बज नेपालको मौलिक शैली होइन । काठमाडौंको त्रिपुरेश्वर र पाकोको रणमुक्तेश्वरबाहेक गुम्बज शैलीका मन्दिर खासै पाइन्न । यो शैली इरानको मस्जिद बनाउने शैलीबाट भारत र पछि नेपालमा आएको हो । उदाहरणका लागि ताज महलको मकवरा लिन सकिन्छ । त्यसैले यसलाई पुरातात्त्विक र मौलिक भनेर चित्त बुझाउने ठाउँ छैन । यो शैली दिगो पनि छैन । देखिहाल्यौं बालगोपालको गुम्बज मन्दिर धेरै अग्लो पनि होइन, ठूलो पनि होइन ।

अर्को विकल्प– ग्रन्थकुट शैली पनि भुईंचालोमा दिगो हुन सक्दैन । जबसम्म यसलाई फलामै राखी ढलान गरेर नबनाएसम्म । फलाम राखेपछि फेरि मौलिक भएन भनी विरोध चर्किहाल्छ, यो शैली पनि भारतबाट आयात भएको हो । त्यसैले तेस्रो विकल्प भनेको हाम्रै मौलिक र पुरातात्त्विक पुशपति मन्दिरको पेगोडा शैली नै हो । यसमा कसैले विरोध गर्नु फजुल कुरो हो । बरु दुईतले छानामा पित्तल वा तामाको पातामा सुनको मोलम्बा लगाई बनाए श्रीबालगोपालेश्वर मन्दिर भव्य देखिनेछ । मोलम्बा लगाउने खर्च स्थानीय धनाढ्यहरू वा गैरआवासीय नेपालीलाई अनुरोध गरेमा जति जुट्न सक्छ । जस्तै– मनकामना मन्दिरको छानामा जुट्यो । त्यसपछि हेर्नुस् रानीपोखरीको बीचमा सुनको छाना छाएको बालगोपालेश्वर मन्दिरको सान ।

अर्को विचारणीय कुरा हो पानी । अहिले रानीपोखरी सुकाइसकिएको छ । पानीको स्रोत कहाँबाट ल्याइएको हो ? फेरि ल्याउन सकिन्छ कि सकिँदैन ? यसबारे सोचेजस्तो लाग्दैन । सुनिएअनुसार बालाजुबाट राजकुलोलाई छोपेर ल्याइएको हो । अब त्यो साँचो नै भए पनि ती कुरा कति ठाउँमा पुरिएका र कति ठाउँमा भत्काएर लोप गरिसकेका होलान् । त्यसको पुनरोद्धार गर्नु सम्भव छैन । त्यसैले मेलम्चीको पानी काठमाडौं ल्याइरहेका बेला त्यसका ठूला पाइपबाट पायक पर्ने दुई ठाउँमा आवश्यक साइजअनुसार शाखा पाइप जोड्ने व्यवस्था गर्न सरकारले तुरुन्त निर्णय गर्नु आवश्यक देखिन्छ । एउटा ब्रान्च लाइन रानीपोखरीका लागि र अर्को बाह्र वर्ष सुकेका पर्यटकीय स्थान सुनधाराका लागि । केन्द्रीय सरकारले यस्तो निर्णय यथाशीघ्र गरी कार्यान्वयन गरेमा ठूलो बुद्धिमत्ता देखिनेछ । अन्यथा रानीपोखरी त बनायो, पानी खोइ त भन्ने प्रश्न तेर्सिएला ।
–गौरी शंकर प्रशान्त, महाराजगन्ज, काठमाडौं


प्रकाशित : मंसिर ९, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?