चिसोमा माधवनारायण ब्रतालुको स्नान

तस्बिर : हेमन्त श्रेष्ठ

भक्तपुर — भक्तपुर नगरपालिका हनुमानघाटस्थित त्रिवेणीघाटमा एक महिने माधवनारायण मेला एवं व्रत मंगलबारदेखि सुरु भएको छ । पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला बिहीबारबाट त्रिवेणीघाटमा सुरु भएको हो ।

नेपाल संवत् ७२२ मा रणजित मल्ले व्रतको व्यवस्थापन गरेको शिलालेखमा उल्लेख छ । त्रिवेणीघाटमा स्नान गरे आत्माले चिताएको पुग्ने जनविश्वास छ ।माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हात/गोडाको नङ्ग काटी, एकचित्त भई, निराहार बस्ने, पूर्णिमाको बिहानै त्रिवेणी नदीमा स्नान गरी पूजा गर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्ने प्रचलन छ ।

मन्त्रोच्चारण गरेपछि शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ ।राम, लक्ष्मण वनबास आउँदा दही चिउरा खाने क्रममा पानीको व्यवस्था गर्न हनुमानले आफ्नो पुच्छरले खाल्डो बनाएर पानी निकालेको र उत्तर, दक्षिणबाट आएको खोला एवं हनुमानले पुच्छरबाट पानी निकालेपछि आएको मूलको पानी मिश्रित हुने भएकाले पनि यस क्षेत्रलाई त्रिवेणी घाट भन्ने प्रचलन रहेको समितिले जनाएको छ ।

व्रतालुले औंसीदेखि नै खाली खुट्टा पैदल नै तीलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयबागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शंखदहमा स्नानगरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा रहेको छ ।

प्रकाशित : पुस १८, २०७४ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्