कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माघे संक्रान्तिका दिन वेत्रावतीमा गोरुको घम्साघम्सी

बलराम घिमिरे

रसुवा — रसुवा र नुवाकोट जिल्लाको सिमानामा रहेको ऐतिहासिक धार्मिक तिर्थस्थल वेत्रावतीमा माघे संक्रान्ति पर्वको अवसरमा १० हल गोरुले मैदानमा प्रतिष्पर्दा गरेका छन् ।

प्रत्येक वर्ष मकर संक्रान्तिका दिन रसुवा र नुवाकोट जिल्लाको सिमाना वेत्रावतीमा गोरु जुधाउने परम्परा रहिआएको छ । यस वर्ष पनि बीस जना कृषकले आफूले पालेको बलिया गोरु जुधाउन वेत्रावतीमा ल्याएका थिए । विसं १८४९ असोज १७ गते नेपाल र चीनबीच वेत्रावतीमा भएको सन्धीको खुसियालीमा गोरु जुधाउने मेला हुँदै आइरहेको गोसाईंकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले बताए ।

विगतका वर्षहरुमा परम्परामा मात्र सिमित रहेको गोरु जुधाउने मेला १२ वर्ष यतादेखि वेत्रावतीका स्थानीय बासिन्दाहरुले गोसाईंकुण्ड युवा क्लब मार्फत व्यवस्थित तरिकाले गर्दै आएका छन् ।

उता नुवाकोटको तारुका र पञ्चकन्यामा पनि गोरु जुधाई मेला आयोजना भएको छ । तार्केश्वर गाउँपालिका वडा नम्बर ३ तारुकामा २० हल गोरुलाई जुधाइएको छ । बझांङ्गी राजकुमार जयपृथ्विबहादुर सिंहको मावली गाँउ तारुका आउँदा उनलाई मनोरञ्जन दिन जुधाईएको गोरुलाई स्थानीयवासीले निरन्तरता दिंदै आहिले संस्कृति, परम्परा र पर्यटन प्रबद्र्धनसंग जोडेर व्यवस्थित रुपमा निरन्तरता दिंदै आइएको छ । रसुवा र नुवाकोटका स्यानीय कृषकले गोरु जुधाउनको लागि वर्षभरी तागतिलो कुराहरु खुवाएर पालेका गोरु ल्याई यो मेलामा प्रतिष्पर्दा गराइने प्रचलन रहेको छ ।

हजारौं मानिसहरुले गोरु जुधाउने मेलाको अवलोकन गरेका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने गोरु धनीहरुलाई क्रमश: तीन हजार र दुई हजार पाँचसय नगद पुरस्कारको व्यवस्था गरिनुका साथै जुधारु गोरुलाई भिटामिनको समेत व्यवस्था गरिएको थियो । जुधाईमा भाग लिएका गोरुको बिमा समेत गरिएको थियो ।


प्रकाशित : माघ १, २०७४ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्