कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेचोंमा माधवनारायण पर्व

प्रशान्त माली

ललितपुर — ठेचोंका स्थानीयवासीले महादेवको आराधना गरी विषेश रुपमा सोमबार मावधनारायण पर्व मनाएका छन् ।

बाह्र महिनाको प्रत्येक महिनामा एक/एक नारायण गरी द्वादश नारायणको पूजा गर्ने चलन छ । प्रत्येक महिना नारायणको नाम फरक भएझैं, नारायणका चार बाहुमा रहने शंख, चक्र, गदा, पद्महरु पनि फेरिन्छ । बैशाखमा मधूसुदन नारायण, जेठमा त्रिविक्रम, असारमा वामन, साउनमा श्रीधर जस्तै माघमा माधवनारायण पर्व मनाउने चलन रहेको माघ महात्म्य संघका अध्यक्ष इच्छा महर्जनले भने, ‘मकरमा सूर्य रहँदा प्रभासमा गरिएको स्नानले मनुस्यरुद्रको गुण हुन्छ ।’ माघमा नारायणले दायाँतर्फ चक्र, शंख र बायाँतर्फ गदा र पद्म लिएका हुन्छन् ।

अध्यक्ष महर्जनका अनुसार मनुस्यले आधा सूर्य उदाएको बेलामा पुण्य तीर्थस्थलहरुमा गई विधिपूर्वक माघ स्नान गरेर ब्रम्हा, विष्णु र महेश्वरको स्तुति गान गाएमा पाप, कुकर्म नास हुने जनविश्वास छ ।

‘लावण्य देशका राजा नवराज, गोमा ब्रहमणीको स्वस्थानी ब्रतको प्रभावले राजा भएको कुरा स्वस्थानी ब्रत कथामा उल्लेख छ,’ उनले भने, ‘सत्य युगदेखि नै सम्पूर्ण देव देवता, ऋषिमुनि, यक्ष, गन्धर्व, किन्धर्वहरुबाट माघ माहात्म्य पर्व मानिआएको देखिन्छ ।’बागमती सभ्यतादेखिनै आदिवासी नेवारहरुको जीवन पद्दतीमा नवधा भक्तिको ठुलो प्रभाव छ । नवधा भक्तिको अर्थ स्रष्टा अर्थात ईश्वरलाई नौ प्रकारले श्रद्धापुर्वक भक्तिभाव गर्नु हो । जसमध्ये माधव नारायण एउटा हो । पर्व तल्लो लाछीस्थित ब्रम्हायणी माघ महात्मा संघद्धारा आयोजना हुँदै आएको छ । यसपालि स्थानीय बेखाराम महर्जनले पालो लिएका छन् । ठेचोमाबाहेक अधिकास ठाउँमा यो पर्व लोप भइसकेको छ ।

यो पर्व माग शुक्लपक्ष पूर्णिमादेखि फागुन शुक्ल पूर्णिमासम्म मनाउने गरिन्छ । पर्वमा प्रत्येक दिन बिहान नुहाइधुहाइ गरि शंखजल ग्रहण गरि शंख बजाएर महादेवको श्रुति महिमा उच्चरणका साथ टोल टोल, मठमन्दिर, देवालय, शिवालयहरुमा परिक्रम गरिन्छ । माघ शुल्क एकादशी र त्रयोदशीमा भने विषेश रुपमा मनाउने चलन छ ।श्रीस्वथानी ब्रत कथाका आधारमा फागुन शुक्लपक्ष सप्तमीको दिन झिसमिसे बिहानीमा महादेवको आराधना गरी स्थानीयवासीले जौ, मकै, चामल, कालो तिल लगायत ७ प्रकारका पूजासामाग्री राखी पूजा गरेर नख्खु खोलामा दीप बत्ती चढाएका थिए । एक प्रकारको सुकाइएको फलको बोक्रा स–सानो टुक्रा गरि बीचमा प्वाल पारेर इतामत (बत्ती) बाली खोलामा बगाइन्छ । यसले दु:ख हट्ने पुण्य मिल्ने जनविश्वास छ ।

प्रकाशित : माघ १५, २०७४ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्