कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धपक्क बल्यो कम्बोडियाली मन्दिर [फोटोफिचर]

मनोज पौडेल

कपिलवस्तु — बुद्धजन्मस्थल लुम्बिनीकै निक्कै आकर्षक र मनमोहक कम्बोडिया मोनास्ट्री सञ्चालन हुने भएको छ ।८ वर्ष लगाएर बनाइएको कम्बोडियाको कला संस्कृति झल्कने मोनास्ट्री फागुन १५ गते उद्घाटन भएपछि विधिवत् सञ्चालनमा आउने छ । मोनास्ट्रीको उद्घाटन त्यहाँका प्रधानमन्त्री हुन सेनको प्रतिनिधित्व गर्दै उनका दाजु तथा नेशनल एसम्बलीका सदस्य (सांसद) हुन यङ्गले गर्नेछन् । मोनास्ट्रीमा फागुन १४ देखि १६ सम्म विशेष पूजा आयोजना गरिएको छ ।

मोनास्ट्रीको मुख्य आकर्षण मन्दिरभित्र पीपलको रुखमुनि ध्यानमग्न भगवान् गौतम बुद्धको मूर्ति रहेको छ । ८ फिट उचाई र ५ फिट चौडाई रहेको मूर्ति ध्यान बसेको आसनमा छ । ‘बौद्धगयामा भगवान् बुद्धले ज्ञान प्राप्त गर्न बसेको आसन हुबहु उतार्ने प्रयास गरेका छौं’ कम्बोडियाको संस्कृति मन्त्रालयका सल्लाहकार तथा मोनास्ट्री ईन्चार्ज पोईटीले भने, ‘यो नै मन्दिरको मुख्य आकर्षण हो ।’ लुम्बिनीभरि ध्यान बसेको आसनमा ठूलो बुद्धमूर्ति नभएको भन्दै उनले भने, ‘यो नै पहिलो त्यसै राम्रो भयो’ ।

त्यस्तै बुद्धज्ञान प्राप्त गर्दा पीपलको रुखमुनि बसेको हुँदा यहाँ पनि जस्तापातालाई हरियो रुखको पात बनाई राखिएको उनले बताए । त्यस्तै पीपलको रुखको जरा पनि जस्ताको तस्तै बनाएर देखाइएको छ । देख्दै लोभलाग्दो मन्दिर कम्बोडियाका सिर्कमी र डकर्मी नै यहाँ आएर बनाएका थिए । मन्दिरको आर्किटेक्ट कम्बोडियाका ईन्जिनियर शरत रहेका छन् । उनी त्यहाँका राम्रो कन्सल्टेन्ट ईन्जिनियर मानिन्छन् ।

मन्दिर चढ्ने ४ वटा पहिलो खुट्किलोका दुबैतिर लामो घुमाउरो ड्रागन बनाइएको छ । देख्दै निक्कै मसिनो रुपमा कुँदिएको कलाकृति हेर्दै माथि चढेपछि मन्दिर प्रवेशद्वार छ । चारैतिरको मन्दिर प्रवेशको मुख्य प्रवेशद्वारमा दायाँबायाँ सुन्दर सुन्दरीको चित्र छ । स्वागत गर्न तम्तयार अवस्थामा रहेको सुन्दरीका तस्बिरलाई काँठमा कुँदेर देखाइएको छ । मन्दिरका भित्र र बाहिर भित्तामा पनि बुद्धको जीवनसँग संबन्धित चित्र, पेन्टिङ र थान्काहरु बनाइएको छ ।

चित्रको आवश्यकता अनुसार रंगहरुको सन्तुलन पनि उस्तै गजबले भरिएको छ । मन्दिर बाहिरका सबै पिलरको माथिल्लो भागमा पनि सुन्दरीको मूर्ति बनाइएको छ । ‘बुद्धको जीवनचक्र रंग र पेन्टिङका माध्यमले देखाइएको छ’ मोनास्ट्रीका प्रशासकीय प्रमुख बिन्दा गुप्ताले भने, ‘मोनास्ट्रीको मन लोभ्याउने आकर्षण यही हो ।’ ‘उता नेपालमा बसेर कम्बोडियाका कलासंस्कृति हेर्न सजिलै पाउने अवसर भयो’ उनले भने ।

रंगको समिश्रणले गर्दा मन्दिर धपक्क बलेको देखिँदा सबैको ध्यान तान्न सफल हुँदै गएको छ । ‘मोनास्ट्रीले लुम्बिनीलाई आकर्षण थपेको छ’ लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले भने, ‘यस्ले कम्बोडियाले बुद्धलाई कसरी मान्दो रैछ भन्ने नेपालमै बसेर हेर्न पाउनु राम्रो कुरा हो ।’ यस्ले स्वदेशी विदेशी पर्यटकलाई भुलाउने र ज्ञान दिने राम्रो माध्यम बनेको उनले बताए ।

सुप्रिम एडभाईजर अफ कम्बोडियन महासंघ राजा, रिस्पान्सबुल फर ईन्टरनेशनल बुद्धिस्ट कोपरेसन तथा कम्बोडियन बुद्धिष्ट स्टुडेन्टस् मंक्सले मोनास्ट्री बनाएका हुन् । ४ ढोकामध्ये पूर्वी ढोका मुख्य प्रवेशद्वार हो । केन्द्रीय नहरदेखि पूर्वतिर रहेको मोनास्ट्री रोयर थाई विहार र म्यान्मारको गोल्डेन टेक्पलको बीचमा छ । कम्बोडियन मोनास्ट्री उद्घाटन भएपछि ३ मुलककै कला संस्कृति एकै ठाउमा हेर्न पाइने भयो । उद्घाटनलगायतको ३ दिने कार्यक्रममा सहभागी हुन ८ सय बढी कम्बोडियन उपासक-उपासिका, सरकारी अधिकारी र भिक्षु-भिक्षुणी आउँदैन् ।


प्रकाशित : फाल्गुन १२, २०७४ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्