कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फर्के परिक्रमावासी [फोटो सहित]

श्यामसुन्दर शशि, सन्तोष सिंह

काठमाडौँ — मिथिला नगरी जनकपुरधामको सेरोफेरोमा घूमिने पन्ध्र दिने धार्मिक यात्राका सहभागीहरु बिहीबार बिहानैदेखि जनकपुर फर्किन सुरु भएको छ । शुक्रबार बिहान नगरको अन्त: गृह परिक्रमा गरी यो धार्मिक यात्रा सम्पन्न हुनेछ । 

फागुन ३ गते मध्य धनुषाको कचुरीस्थित मिथिला बिहारी मठबाट प्रस्थान गरेका श्रद्धालुहरु नेपाल र भारतका विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गरी यहाँ आई पुगेका हुन् ।

फागुन आमावस्यको दिन कचुरीको मिथिला बिहारी मठबाट सुरु भएको मध्यमा परिक्रमा भारतको कलानेश्वर, फुलहर हुँदै महोत्तरीको मठिहानी, जलेश्वर, मडई, धु्रवकुण्ड, कंचनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही औरसाहा तथा पुन: भारतको करुणा,विसौल एवं कलानेश्वर हुँदै फागु पूर्णिमाको पूर्व सन्ध्यामा पुन: जनकपुर फर्किएका हुन् ।

तिथि सम्बन्धी विवादका कारण यस वर्ष बिहीबार र शुक्रबार गरी दुई दिन पूर्णिमा मानिएको छ । जनकपुरमा भने अन्त:गृह परिक्रमाको अर्को दिन फागु खेल्ने चलन छ ।


झण्डै एकसय वर्षदेखि सञ्चालित यस धार्मिक यात्रामा साधु सन्तसँगै सर्वसाधारणको संख्या पनि उल्लेख्य छ । नेपालका विभिन्न भागसँगै भारतका विभिन्न प्रान्तबाट हजारौं श्रद्धालु यस धार्मिक यात्रामा सहभागी छन् ।


पहिलो पटक परिक्रमा सहभागी हुन आएका धनुषा सबैलाका रामेश्वर साह १५ दिनको हिडाईले विरामी परेको बताए । उनले भने– घर बाहिर खुला आकाशमुनि सुत्दा अनि ठाउँ ठाउँको पानी खाएर रुघा खोकी लागेको छ । आराम गरे पछि सन्चो हुन्छ ।’ परिक्रमावासी गाउँभन्दा बाहिर खुल्ला चौर वा फुलबारीमा टेन्ट लगाएर बस्छन् ।


मिथिला महात्म्यमा वर्णन भए अनुसार—मिथिलाको परिक्रमा गर्दा मनवाञ्छित फल प्राप्त हुन्छ । महात्म्यमा मिथिलाको परिक्रमा गरेर अनेकौ ऋषि मुनिले मोक्ष प्राप्त गरेको,ज्ञान आर्जन गरेको तथा असाध्य रोगबाट मुक्ति पाएको उल्लेख छ ।


जनकपुरको सेरोफेरोमा घुमिने मध्यमा परिक्रमा यस भेगकै सबभन्दा लामो समयसम्म चल्ने धार्मिक यात्रा हो । परिक्रमावासीहरु नेपालमा १ सय ५ तथा भारतका २८ गरी कुल १ सय ३३ किलोमिटरको यात्रा गरेर यहाँ फर्केका हुन् । प्राचिन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापना गरिएको चार शिवालय क्रमश: कलानेश्वर,जलेश्वर,क्षीरेश्वर र सप्तेश्वरलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णव भन्छन् ।


आज महामूर्ख सम्मेलन

होरी महोत्सवको दोस्रो दिन बिहीबार महामूर्ख सम्मेलनको आयोजन हुँदैछ । आयोजक मिथिला नाट्यकला परिषद्का महासचिव शैलेन्द्र मल्लिकका अनुसार–जानकी मन्दिर प्रांगणमा हुने यस आयोजनको सम्पूर्ण तयारी पूरा भएको छ ।


महासचिव मल्लिकका अनुसार–महामूर्ख सम्मेलनमा प्रदेश नम्बर २ का ८ जिल्लाबाट प्रतिधिनिधिमूलक सहभागिता हुनेछ । सहभागीहरुमध्ये एक जनालाई महामूर्ख घोषित गरिने छ ।


विगत २२ वर्षदेखि संचालित हुँदै आएको मिनापको महामूर्ख सम्मेलन अत्यन्तै लोकप्रिय कार्यक्रम हो । यस अघि राजनीतिक विश्लेषक सिके लाल, साहित्यकार रामभरोस कापडि,रमेश रञ्जन झा, पूर्वमन्त्री रामचन्द्र झा, प्रतिनिधीसभा सदस्यहरु रामसरोज यादव,शत्रुघ्न महतो, रामकृष्ण यादवलगायतलाई महामूर्ख घोषणा गरिसकिएको छ ।

प्रकाशित : फाल्गुन १७, २०७४ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्