कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं क्वालिफायरमा [फोटोफिचर]

काठमाडौं गोल्डेन्स विरुद्ध विराटनगर किंग्स
चित्रांग थापा, विनोद पाण्डे

धनगढी — कप्तान ज्ञानेन्द्र मल्लको सानदार इनिङ्सपछि काठमाडौं गोल्डेन्स रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको क्वालिफायरमा पुगेको छ । गोल्डेन्सले शुक्रबार अन्तिम बलको रोमाञ्चमा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्‍यो । लगातार चार खेल जितेर टोलीले अविजित यात्रासाथ क्वालिफायरमा स्थान सुरक्षित गरेको हो ।

टस जितेको विराटनगरले ८ विकेट गुमाई १ सय ६४ रन बनायो । अन्तिम बलमा १ रन चाहिँदा ज्ञानेन्द्रले रामनरेश गिरीको फुलटस बललाई स्क्वायर लेगमा छक्का प्रहार गर्दै विजयी रन बटुले । ३१ बलमा अर्धशतक पूरा गरेका म्यान अफ द म्याच ज्ञानेन्द्रले ४० बलको इनिङ्समा ५ चौका र ४ छक्का प्रहार गरी नटआउट ६८ रन बनाए । डीपीएलअगाडि निरन्तर असफल हुँदै आएका ज्ञानेन्द्रको यो लगातार दोस्रो अर्धशतक हो । कप्तान ज्ञानेन्द्रले टोलीको अविजित यात्रा कायम राख्नु ठूलो विषय भएको बताए । ‘उनीहरूले १ सय ६४ रन बनाउन सक्छन् भने हामी पनि सक्छौं भन्ने विश्वास थियो । विकेट हातमा राखेमा अन्तिम ५ ओभरमा ६० रन पनि सम्भव छ भन्ने थियो र हामीले त्यहीअनुसार खेल्यौं,’ पछिल्लो समयमा आफ्नो असफलताको प्रश्नमा बिहीबारको इनिङ्सबारे उनले भने, ‘मैले आफ्नो भूमिका निभाएको हुँ, जुन टिमलाई खाँचो थियो ।’

संघीय प्रहरी कार्यालय इकाई मैदानमा ज्ञानेन्द्रले सन्नी पटेलसँग अन्तिम १६ बलमा ३७ रनको साझेदारी गरे । पटेलले १० बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरी नटआउट २५ रन बनाए । काठमाडौंलाई जितनिम्ति अन्तिम ५ ओभरमा ६१ र अन्तिम ४ ओभरमा ५१ रन आवश्यक थियो । १७ औं ओभरमा काठमाडौंले मञ्जित श्रेष्ठको ओभरमा २० रन जोड्यो । पुष्प थापाले एक्लै २ चौका र १ छक्का प्रहार गरेर १५ रन बनाए । १८ औं ओभरको दोस्रो बलमा पुष्पलाई वसन्त रेग्मीले बोल्ड गरी विराटनगरलाई खेलमा फर्काउने प्रयास गरे । पुष्पले १७ बलमा २४ रन बनाए । क्रिजमा आएका पटेलले वसन्तलाई लगातार बलमा चौका र छक्का प्रहार गरे । १९ औं ओभरमा ज्ञानेन्द्र र पटेलले विराटनगरका कप्तान पारस खडाको ओभरमा १–१ छक्का प्रहार गरेपछि अन्तिम ओभरमा काठमाडौंलाई विजयका लागि ६ रन चाहिन्थ्यो । रामनरेशको पहिलो दुई बलमा १ रनमात्र बनाउन सकेका ज्ञानेन्द्रले तेस्रो र चौथो बलमा २–२ रन प्रहार गरे । पाँचौं बल पुन: डट भएपछि खेल अन्तिम बलमा पुगेको थियो । यसअघि ओपनरद्वय अमित श्रेष्ठ ५ र सुबोथ भाटी १० रनमा आउट भए । भूपेन्द्र थापा २८ बलमा ३ चौका र २ छक्का प्रहार गरी ३६ रनमा आउट भए । नरेश बुढाएरले खाता खोल्न सकेनन् । विराटनगरबाट वसन्तले २ तथा पारस, शुभम कामत र मन्जितले १–१ विकेट लिए ।

बाबर हायतले प्रतियोगितामा आफ्नो दोस्रो अर्धशतक बनाएपछि विराटनगरले राम्रो स्कोर बनाएको थियो । हायतले ३३ बल खेलेर ३ चौका र ७ छक्का प्रहार गरी ६७ रन बनाए । ओपनर दिलीप नाथले ३३ रन बनाएका थिए । २७ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । पृथु बाँस्कोटा ११, अनिल शाह र वसन्त समान १० रनमा आउट भए । सातौं नम्बरमा आएका पारसले ६ बलमा नटआउट ८ रन बनाए ।विराटनगरको ४ खेलमा यो दोस्रो हार हो । दुई जित पाएको विराटनगरलाई प्ले–अफमा पुग्न अन्तिम खेलमा सीवाईसी अत्तरियालाई पराजित गर्नैपर्छ ।

प्रकाशित : चैत्र २३, २०७४ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्