कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी सुरु भयो प्रथम रोल्पा मेयर कप [फोटोफिचर]

कान्तिपुर संवाददाता

रोल्पा — बुधबारदेखि रोल्पा सदरमुकाम लिबाङमा प्रथम मेयर कप प्रतियोगिता सुरु भएको छ ।

जिल्लामा खेलकुदको विकास गर्ने मुख्य उद्देश्यसाथ आयोजित प्रतियोगितामा जिल्लाका नौवटै गाउँपालिकाले सहभागिता जनाएका छन् । कार्यक्रम उद्घाटन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गरे । बुधबार सुरु भएको खेल प्रतियोगितामा जिल्लाका सबै स्थानीय तहका खेलाडीहरु भिड्नेछन् ।

प्रतियोगिता उद्घाटन गर्न बुधबार राजधानीबाट हेलिकप्टरबाट सभामुख महरासँगै सिँचाईमन्त्री वर्षमान पुन, सांसद जयपुरी घर्तीमगर र पूर्वसभामुख ओनसरी घर्ती लिबाङ आएका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि सभामुख महराले खेलले शारीरिकसँगै नैतिक ज्ञान दिने बताए ।

कार्यक्रममा बोल्दै रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद तथा उर्जा, सिँचाई तथा जलस्रोत मन्त्री वर्षमान पुनले खेलबाट समाजको विकास गर्नु पर्ने दाबी गरे । लिबाङ उनीहरुले राजनीतिक भाषण गरेनन् भने बोल्दा धेरै समय लिएनन् । उनीहरु बुधबार नै रोल्पाकै परिवर्तन गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप खेल प्रतियोगिताको उद्घाटन गर्न हेलिकप्टरबाटै त्यहाँ पुगे । यसअघि गंगादेव गाउँपालिकाले यस्तै कार्यक्रम सम्पन्न गरिसकेको छ ।

रोल्पा नगरका मेयरको सम्मानार्थ आयोजित प्रथम मेयर कप प्रतियोगिता आयोजक समितिकी संयोजक उपमेयर छिन् । रोल्पा नगरका मेयर पूर्ण केसी हुन् भने उपमेयर मनकुमारी पुन । कतिपय सर्वसाधारणहरुले ‘अध्यक्ष कप’ वा ‘मेयर कप’ प्रतियोगिता आयोजना गर्नु जनप्रतिनिधिका महत्वाकांक्षी कार्य भएको टिप्पणी गरेका छन् । भलिबल फुटबल, क्रिकेटलगायत एथ्लेटिक्स खेलहरु प्रतियोगितामा समावेश गरिएका छन् । प्रतियोगिताका प्रथमलाई ६० हजार, द्वितीयलाई ५० हजार र तृतीयलाई ४० हजार पुरस्कार प्रदान गरिने छ । शब्द/तस्बिर : काशीराम डाँगी/कान्तिपुर

प्रकाशित : वैशाख ५, २०७५ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्