कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोदीको स्वागतका लागि सिंगारिंदै जनकपुर  

वेदराज पौडेल

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिरमा पूजाअर्चनाका लागि आउने निधो भएपछि रातारात जनकपुर नगरीको मुहार फेरिंदै गएको छ ।

मिथिला कला झन्कने वालपेन्टिङले १२ बिगे वरपरको सौन्दर्य बढाएको छ । वरिपरि गेरुवा रंग लगाएर सजाउने काम भइरहेको छ । मञ्च निर्माण, १२ विगाको मैदान वरपरको साजसज्जा र स्वागत द्वारहरु निर्माण तिब्ररुपमा भइरहेको छ । 

जनकपुर उपमहानगरपालिका र प्रदेश सरकारसमेत मोदीको स्वागत भब्यरुपमा होस् भनेर खुलेर जनकपुर सजावटमा लागेका छन् । रामानन्द चोकदेखि जानकी मन्दिरसम्मको करिब ५ सय मिटर लामो सडक एकैरातमा एक लेन कालोपत्रे गरिएको छ । मंगलबार रातीसम्म अर्को तर्फको समेत कालोपत्रे गरि बुधबार विहान सडक निर्माण सम्पन्न गर्न सडक विभाग र नगरपालिकाका प्राविधि र कर्मचार खटिरहेका छन् । 

पोलहरुमा मोदीको पोष्टरहरु सजिएका छन् । दुवै देशको झण्डाहरु टांगिएका छन् । नरेन्द्र मोदी आउने भएपछि जनकपुरका होटलहरु पाहुनाले भरिएका छन् । प्रदेश सरकारले करीब ५ लाख जनता जनकपुरमा उतार्ने तयारी गरेको छ । आम मानिसलाई १२ विगेमा मोदीको भाषण सुन्न र कार्यक्रम हेर्न कुनै पास वा पूर्जाको आवश्यकता नरहेको मुख्यमन्त्री लालबाबु राउतले बताए । जनकपुरको ब्यापार र चहलपहल मोदी आउने भएपछि बढेको स्थानीय बताउँछन् । सबै तस्बिरहरु : वेदराज पौडेल/कान्तिपुर ।

पछिल्लो तालिका अनुसार बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पटनाबाट हेलिक्टरमा बिहान  ९ बजे १२ विगे मैदानमा उत्रिएपछि करीब तीन सय मिटर पूर्वमा रहेको जानकी मन्दिरमा पूजाअर्चनाका लागि पुग्ने छन् । उनले मन्दिरमा ४५ मिनेट विताउने छन् । त्यसपछि नेपालका प्रधानमन्त्री केपी ओली र मोदीले संयुक्त रुपमा रामायण सर्किटको उद्घाटन गर्ने छन भने अयोध्या र जनकपुरबीचको बस सेवा संचालनको सुभारम्भ समेत गर्ने छन् । १२ विगेमा जम्मा भएका आम सर्बसाधरणलाई मोदीले सम्बोधन गरि राजधानी काठमाडौं प्रस्थान गर्ने छन् । मोदीले जनकपुरमा विहान ९ बजेदेखि करिब ११ बजेसम्म अर्थात दुई घण्टा विताउने छन् ।


प्रकाशित : वैशाख २६, २०७५ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्