कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भृकुटीमण्डको मेलामा स्तरीय कलेज खोज्दै युवापुस्ता

तस्बिर : इलिट जोशी

काठमाडौँ — राजधानीको भृकुटीमण्डप जारी शैक्षिक मेलामा आउनेको संख्या बढिरहेका छन् । शैक्षिक मेलाको दोस्रो दिन शुक्रबार कलेजको खोजी गर्दै आउनेमा विद्यार्थी मात्रै नभई अभिभावक समेत उत्तिकै संख्यामा छन् । 

उत्कृष्ट शिक्षा स्वदेशमै पाइन्छ भन्ने जानकारी दिन एउटै छानामुनी एक सय ५० भन्दा बढी उच्च शिक्षा अध्ययन गराउने कलेजको स्टल भएकाले विद्यार्थी र अभिभावकले सहजै आफूले खोजेजस्तो कलेज छनौट गर्न पाउँछन् । मेलामा विद्यार्थी र अभिभावकको रोजाइरहेका ठूला र उत्कृष्ट कलेजहरुले स्टल राखेका छन् ।


एसईई दिएर बसेका कतिपय विद्यार्थीहरु मेलामै भएका कलेजमा अध्ययन गर्न बिज्रकोर्ष समेत गरिरहेका छन् । जुन कलेजमा अध्ययन गर्न चाहेको हो, त्यही कलेजको स्टलमा अवलोकन गरेपछि थप सहज हुने कलेज सञ्चालकहरु बताउँछन् ।


आमाबुबा विदेश हुने विद्यार्थीहरु हजुरबुबा वा अन्य आफन्तलाई साथमा लिएर आउने विद्यार्थीहरु पनि छन् । परीक्षा दिएर नतिजाको पर्खाईमा रहेका र बिज्रकोर्ष गरिरहेका विद्यार्थीहरु आफूले अध्ययन गर्न चाहेको कलेजको खोजी गर्दै मेलामा आउने गरेका छन् ।

एसईई र १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर गरिएको मेलामा अपेक्षा गरिएभन्दा बढी विद्यार्थी आइरहेको आयोजकले जनाएका छन् । ‘आउनुहोस, मेलामा रहेका कलेजहरुको स्टल भिजिट गर्नुहोस,’मेला आयोजक समितिका संयोजक लोकबहादुर भण्डारीले भने,‘कुन कलेजमा के बिषय पढाई हुन्छ ? शुल्क कति छ ? के के सुविधा छन ? बुझ्नुहोस ।’


नतिजा आएपछि हरेक कलेज धाउनु भन्दा अहिले नै कलेजहरुको बारेमा बुझ्न सहज हुने आयोजकले जनाएको छ । एकै ठाउँमा सबै कलेजको अवलोकन गर्दा समयको समेत बचत हुने आयोजकले जनाएको छ ।


प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेर सुरुवात भएको मेलामा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजको स्टल समेत रहेका छन् । मेलामा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययन गराउने कलेजको स्टल राखेका छन् । १२ कक्षापछि आइटी, बीबीए अध्ययन गर्न चाहने विद्यार्थीहरुले यी कलेजको स्टलबाट लाभ लिन सकिन्छ । त्यस्तै ए लेभल अध्ययन गर्न चाहने विद्यार्थीले पनि यो मेलाबाट फाइदा लिन सक्छन् । मेलामा ए लेभल अध्ययन गराउने कलेजको पनि स्टल रहेका छन् । ‘साधारणदेखि प्राविधिक शिक्षासम्म अध्ययन गराउने कलेजको स्टल एउटै छानामुनी छन्,’मेला आयोजक हिसानका अध्यक्ष रमेश सिलवालले भने, ‘मौकाको फाइदा उठाउनुहोस् ।’


मेलामा त्यही कलेजका विद्यार्थी, शिक्षक र सञ्चालकले परामर्श दिइरहेका छन् । ‘कुन विषय किन अध्ययन गर्ने भन्ने ? विद्यार्थीको रुचीको बिषयको कत्तिको स्कोप छ ? त्यसको बारेमा हामी जानकारी दिन्छौ,’सीसीआरसी कलेजका पमुख हरि लामिछानेले भने,‘हामी आफ्नो कलेजको मात्रै प्रमोशन गरिरहेका छैनौ । विद्यार्थीको करिअर काउन्सिलिङ पनि गरिरहेका छौ ।’ कतिपय कलेजको स्टलमा बास्केट बल खेल्न पाउने व्यवस्था छ ।



मेलाको आकर्षण

  • एउटै छानामुनी एक सय ५० भन्दा बढी कलेजको स्टल
  • अभिभावक र विद्यार्थीको रोजाईमा रहेका उत्कृष्ठ कलेजको बारेमा बुझन सकिने
  • एकै ठाउामा कुन कलेजमा के पढाई हुन्छ ? कति शुल्क लाग्छ ? सुविधा के छ ? थाहा पाउन सकिने
  • त्यही कलेजका पूर्व विद्यार्थी र अध्ययनरत विद्यार्थीसंग कलेजको बारेमा जानकारी लिने मौका
  • कलेजका शिक्षक र सञ्चालकसंग सिधै कुरा गर्न सकिने
  • अध्ययन गर्न चाहेको बिषय कुन कलेजमा पढाई हुन्छ ? बुझन सकिने
  • विदेशी विश्वविद्यालयको कलेजमा पढाई हुने बिषयको जानकारी लिन सकिने
  • नि:शुल्क प्रवेशको व्यवस्था


प्रकाशित : जेष्ठ ११, २०७५ १६:०२

प्रतिक्रिया
पठाउनुहोस्