कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेंसीसहर–चामे सडक अवरुद्ध हुँदा सास्ती

आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिका–६ चनौटे नजिकै उतिसघारी खरखरेमा पहिरो जाँदा हिमाली जिल्ला मनाङ जाने एकमात्र बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । बुधबार राति र बिहीबार बिहानको पहिरोले बेंसीसहरबाट उत्तरी लमजुङको मर्स्याङदी गाउँपालिकामा समेत सवारी आवागमन ठप्प भएको छ ।

यात्रु तथा पर्यटक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । प्रहरीका अनुसार गतवर्षका पहिरोपछि राखिएका ग्याबिन बगेर सडक भासिएको छ । करिब १ सय मिटर माथिबाट खसेको पहिरोले बाटो अवरुद्ध पार्नुका साथै सडक बगाएको छ ।

करिब १ सय मिटर बाटो पहिरोले अवरुद्ध पारेपछि पैदल हिड्न समेत मुस्किल परेको डीएसपी यादव ढकालले बताए । पहिरोमा बगेको पानीले थप समस्यामा पारेको उनको भनाई छ । पहिरोका कारण मनाङ र उत्तरी लमजुङबाट आएका र बेंसीसहरदेखि मनाङ साथै उत्तरी लमजुङ जानेहरु समस्यामा परेका छन् ।

बेंसीसहरदेखि उतिसघारी खरखरे करिब ३ किलोमिटरको दुरीमा पर्छ । पहिरो गएको ठाउँमा कच्ची माटो तथा गिट्टी भएकाले सामान्य बर्षा हुँदा पनि पहिरो खस्ने समस्या रहेको प्राविधिकहरु बताउँछन् ।

उक्त पहिरो वर्षेनी बग्ने हुँदा समस्यामा पारेको लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाइका अध्यक्ष बीरेन्द्र भण्डारीले बताए । उनका अनुसार डिभिजन सडक कार्यालय तथा सरकारी निकायलाई उक्त पहिरोको दीर्घकालीन समाधान खोज्न आग्रह गरिएपनि सुनुवाई भएको छैन ।

पहिरो खसेको ठाउँ खुलाउने प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाले बताए । तत्काल सडक खुलाउन डिभिजन सडक कार्यालयका कर्मचारीलाई निर्देशन दिएका छन् । बाटो खुलाउन प्रहरी समेत खटाएको डीएसपी ढकालले बताए ।

प्रकाशित : श्रावण १७, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्