कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देवघाटमा बोलबम तिर्थालुको घुँइचो

रमेशकुमार पौडेल

चितवन — देवघाटधाम माघे संक्रान्ति स्नानका लागि प्रख्यात छ । तर केही वर्ष यता साउनको सोमबार बोलबम तिर्थालुका कारण पनि भिडभाड हुन थालेको छ । यो वर्षको अन्तिम साउने सोमबार आज देवघाट क्षेत्रमा माघे संक्रान्ति मेलाकै झल्को आउने गरेर भक्तहरुको भिड लागेको छ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंक पौडेलका अनुसार दिनभरमा दुई लाखको हाराहारीमा स्नानका लागि श्रद्धालुहरु आउने अनुमान भएको बताउँछन् । साउन भर पाँच लाखले देवघाट स्नान गरेको अध्यक्ष पौडेलले जानकारी दिए । देवघाटको जल शिवालयहरुमा लगेर चढाउने क्रम केही वर्षयता बढेको छ ।

देवघाटधाममा नै घर भएका साविकको देवघाट गाविसका पूर्व अध्यक्ष शिवराज पौडेलका अनुसार पनि १० वर्षयता बोलबम तिर्थयात्रुहरु जल लिन र स्नान गर्न आउने क्रम बढेको बताउँछन् । देवघाट त्रिशुली र कालिगण्डकी नदी दोभान हो । त्यहाँ नुहाउन माघे संक्रान्तिमा देवताहरु पनि आउँछन् भन्ने किम्वदन्ती रहेको छ ।

देवघाटमा नुहाएपछि बोलबम श्रद्धालुहरुले पशुपति, रुपन्देहीको पर्रोहा धामको शिवालयमा यहाँको जल लगेर चढाउने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंक पौडेलले बताए ।

देवघाटमा नै शिवालयहरु छन् । स्नान क्षेत्रको आडैमा १०८ शिवलिंग पनि निर्माण भएको छ ।

भरतपुर महानगरपालिकासँग जोडिएको देवघाट जान झोलुंगे पुल तर्नु पर्छ । पुल तर्न भिडभाड भएका कारण प्रहरीले पालो मिलाएर पठाएको छ । 

प्रकाशित : श्रावण २८, २०७५ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्