कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले बाह्रबिसे–ताताेपानी जोड्ने पुल बगायाे

बाह्रबिसे बजारबाट सीमाक्षेत्रसँग सम्पर्क टुट्यो
अनिश तिवारी

बाह्रबिसे (सिन्धुपाल्चोक) — शुक्रबार रातिको वर्षाले धकेलिएको पुलमा साँधीखोल्चा थुनिदाँ बाह्रबिसे–ताताेपानी जाेड्ने पुल बगाएकाे छ । शनिबार राति पुल बगाए पछि बाह्रबिसे देखि ताताेपानी सीमासितकाे सम्पर्क टुटेको छ । 

आइतबार बाह्रबिसे नगरपालिकाको बाह्रबिसे र खुर्सानीबजार जोड्ने पुल भीरकुना र कोसिनडाँडा हुँदै आउने साँधीखोल्साले क्षतिग्रस्त बनाएको थियो । पुलमा ठूला ढुंगा आए पछि खोला थुनिएर बजारमा पसेको थियो । बेलुकी १० बजेतिर पुल बगाएपछि सबैतिर भागभाग बनाएको स्थानीय राजेन्द्र श्रेष्ठले बताए ।

‘भीषण वर्षासगै साँधीखोल्सा थुनिएर बेलुकी ठूलो आवाज आएको थियो,’ आफ्नो पसलभित्रै लेदो र भल पसेपछि सफा गरिरहेका राजेन्द्र श्रेष्ठले भने, ‘त्यसपछि सडकमा खोला बग्यो अनि बगर बन्यो, डरले कतिपय झोलीतुम्बा कसेर भागे ।’ उनले बजारक्षेत्रभर लेदो पसेर नदी बनेपछि बजारभर हाहाकार मच्चिएको बताए । तीन इन्च उता सरेको पुलको स्लापसंगै लेदो सबै साँधीखोल्साले बगाएर भोटेकोसी छेउमा थुपारेको छ । जसले कोसी थुनिने सम्भावना बढेको स्थानीयको भनाई छ ।

भीरकुनाबाट झरेको पुरा पहिरो यहाँ आइसकेको छैन्, त्यसैले जोखिम झन् बढ्दै छ । बजारका अधिकांश पसलमा भित्र पानीको बहाव पसेर क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । स्थानीय पसलभित्र पसेका हिलो पन्छाउन र हिलोमै फसेका सवारीसाधन निकाल्न व्यस्त छन् । साँधीखोल्सा वरीपरी रहेका झण्डै ६ घरमा अत्यधिक क्षति पुगेको छ । छेउका ४ घर उच्च जोखिममा छन् ।

सडकमा गिर्खा, बालुवा र हिलोले क्षतिग्रस्त बनाएपछि एक्जाभेटरबाट पन्छाउने प्रयास भइरहेको छ । नदि छेउको वरीपरीका संरचना तहसनहस बनाउन थाले लगत्तै भोटेकोशीको सतह बढेपछि स्थानीयमा त्रास फैलिएको प्रहरीले जनाएको छ ।

नगरक्षेत्रभर बाढी र पहिरोको त्रासले कोलाहल मच्चाउन थालेपछि प्रहरीलाई चौकन्ना बनाइएको इलाका प्रहरी बाह्रबिसे प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले बताए । ‘बजारक्षेत्रमा यस्तो घटना घटेपछि सबैलाई सर्तक गराउने कार्यमा अग्रसर भएका छौ, सुरक्षा र उद्धारको लागि प्रहरी तयार छन् ,’ उनले भने । उनले भौतिक क्षतिको तंथ्याक संकलन भइरहेको बताए ।


प्रकाशित : भाद्र ३, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्