कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'प्रधानमन्त्री ज्यू हामी कहिलेसम्म झुन्डिने ?'

ठेकेदारको लापरवाहीले झोलुङ्गेपुल अलपत्र
हरिराम उप्रेती

गोरखा — बुधबार बिहान १० बज्नै लाग्दा असिनपसिन हुँदै तारपुल (तुइन) को लठ्ठा तानेर शहिद लखन गाउँपालिका–४ का नारायण प्रजा विद्यालय हिँडे । नजिकै माध्यमिक विद्यालय नहुँदा ताक्लुङ ठेउवाटारका विद्यार्थी पृथ्वीराजमार्ग पारी चितवन कुरिनटारस्थित सर्वशान्ति माध्यमिक विद्यालयमा अध्ययन गर्न जान्छन् ।

त्रिशुली नदी पार गरेर विद्यालयसम्म पुग्न यहाँका विद्यार्थीहरु तारपुलको प्रयोग गर्छन् । ‘आज मात्र होइन सधै यसरी नै झुण्डिएर जाने हो,’ प्रजाले भने,‘लठ्ठा तानेर हातमा ठेला उठेको छ ।’ लठ्ठा तान्न निकै गाह्रो पर्ने प्रजाले बताए । ‘तलपट्टी झोलुङ्गे पुल पनि छ, त्यो बाटो घुमेर जाँदा ४५ मिनेट ढिला हुन्छ,’ उनले भने,‘लठ्ठा तान्दै यहाँबाट गए पाँच मिनेटमा नदी तरिन्छ ।’ लठ्ठा तान्न धेरै बल लगाउनुपर्ने सर्वशान्ति विद्यालयमै कक्षा ६ मा पढ्ने ममता चेपाङ बताउँछिन् । ‘थकाइ मार्दै लठ्ठा तान्छौँ,’ चेपाङले भनिन् ।

विद्यार्थी मात्रै नभइ स्थानीय पनि आउजाउका लागि शहिद लखन गाउँपालिका–४ ताक्लुङ स्थित ठेउवाटार र चितवन इच्छाकामना गाउँपालिका–४ कुरिटार, धारापानी जोड्ने तारपुलको प्रयोग गर्छन् ।

२०७२ सालमा पहिलोपटक प्रधानमन्त्रीको पदभार सम्हाले लगत्तै केपी शर्मा ओलीले दुई वर्ष भित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । तारपुल हटाउन यहाँ झोलुङ्गे पुलको निर्माण पनि सुरु भएको छ । तर ठेकेदारको ढिलासुस्तीले पुल निर्माण अलपत्र परेको स्थानीयवासीको भनाइ छ । ठेउवाटार र कुरिनटार जोड्ने झोलुङ्गेपुल २०७४ असोज १५ गते निर्माण सम्पन्न गर्ने भन्दै नयाँबाटो/मना कन्ट्रक्सन जेभीले जिम्मा पाएको थियो । तर उक्त झोलुङ्गेपुलको जग खन्ने बाहेक काम सुरु भएको छैन ।

‘सम्पन्न गर्ने अवधि पनि सकियो ठेउवाटार तर्फको जिपको काम भएको छ, अरु काम अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन छन्,’ पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रविन लम्सालले भने । १ वर्ष यता ठेकेदारले काम गर्ने मान्छै नै नपठाएको स्थानीयको आरोप छ । ‘कि बनाउनुपर्‍यो, कि सक्दिनँ भनेर काम हाप्न पर्‍यो, हामी सधैं झुन्डिएर कति हिँड्नु ?’ ठेउवाटारका स्थानीय रणबहादुर रानाले भने ।

ठेकेदारको ढिलासुस्तीले उक्त पुल सयममै निर्माण सम्पन्न हुन नसकेको सस्पेन्सन बृज डिभिजन कार्यालयका सिनियर डिभिजन इन्जिनयर हुमकान्त मिश्रले बताए । उक्त जेभीलाई कारबाहीको प्रक्रिया पनि अघि बढिसकेको उनको भनाइ छ ।

‘हामीले ताकेता गरेको गर्‍यै छौँ, काम गर्दैन,’ मिश्रले भने,‘ कारबाही प्रक्रिया अघि बढिसकेको छ, पेस्की फिर्ता गर भनेर बैंकमा पत्र पठाएका छौँ, काम नगरेको भन्दै सार्वजनिक सूचना पनि निकालेका छौं ।’


प्रकाशित : भाद्र ६, २०७५ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्