भूकम्पपछि पहिलोपटक कृष्णमन्दिर दर्शनका लागि खुला, भक्तजनको घुइँचो

तस्बिर : इलिट जोशी

ललितपुर — पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडौं उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका छन् ।


प्रकाशित : भाद्र १७, २०७५ १२:०३

विसं २०७२ को भूकम्पपछि यो वर्ष मात्रै दर्शनार्थीले मन्दिरभित्र गएर माथिल्लो तलामा रहेको कृष्णको मन्दिरमा दर्शन गर्न पाएका हुन् । भूकम्पबाट क्षति पुगेपछि तीन वर्षसम्म मन्दिरमा पूजारीले पूजा गर्नेबाहेक सर्वसाधारणले भित्र गएर दर्शन गर्न नपाएको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए । उनले भने, 'हामीले कृष्णाष्ठमीमा खुल्ला गर्नका लागि केही दिन पहिले मात्रै निर्माण सम्पन्न गरेका थियौँ ।'

कृष्णाष्ठमीका दिनमा वर्षेनी राष्ट्रप्रमुख दर्शनका लागि यहाँ आउने गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो २.३० बजे यहाँ आउने कार्यक्रम तय भएको छ । मन्दिरमा दर्शनका लागि आउने विशिष्ठ पाहुना र दर्शनार्थीको भीडलाई हेरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

Yamaha

बिहान २-३ बजेबाट नै दशनार्थी मन्दिर आइपुगेका थिए । बिहानीपखबाट भीड बढ्दै गएको चन्दले बताए । एक पटकमा ८-१० जनासम्म दर्शनार्थीभित्र जाने गरी व्यवस्था मिलाइएको छ । उनले भने, 'बिहानसम्म एक-दुई घण्टामा फर्कन मिल्ने थियो, भीड बढ्दै जाँदा दर्शन गर्न बढी समय लाग्ला ।' गाबहालदेखि सुन्धारासम्म सवारी साधन चल्न दिइएको छैन ।

नेपाल प्रहरीसँगै नेपाल स्काउट र विभिन्न सङ्घ-संस्थाका स्वयंसेवक दशनार्थीको सहयोगका लागि खटिएका छन् । दर्शनार्थीलाई स्वास्थ्य समस्या आउँदा तत्काल उपचारका लागि स्वास्थ्य संस्था यस क्षेत्रमा खटिएका छन् ।मन्दिर पुनःनिर्माणको क्रममा धेरै निर्माण सामग्री पुरानै प्रयोग भएको दरबार हेरचाह कार्यालयका प्रमुख प्याकुरेलले बताए । यहाँ भएका फुटेर वा मक्किएर प्रयोग गर्न नमिल्ने अवस्थामा भएका सामग्रीबाहेक अरुलाई मर्मत गरेर प्रयोगमा ल्याइएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेका स्मारकमध्ये कृष्ण मन्दिरलाई महत्वपूर्ण मानिन्छ । ढुंगै–ढुंगाले बनेको कृष्ण मन्दिरलाई शिखर शैलीको उत्कृष्ट नमूनाका रूपमा मानिन्छ । मन्दिरमा २१ गजुर रहेका छन् । १७औँ शताब्दीमा पाटनका राजा सिद्धिनरसिंह मल्लले यो मन्दिरको निर्माण गर्न लगाएका थिए । उनले कृष्ण मन्दिर बनाउनेसँगै कृष्ण लीलामा आधारित नाच सञ्चालन गरेका थिए । जसलाई कात्तिक नाच पनि भनिन्छ । कृष्ण मन्दिर तीन तला रहेको छ । बीचको तलामा कृष्णको मूर्ति रहेको छ । मूर्तिको वरिपरि बिष्णुका १० अवतार मूर्ति छन् । मन्दिरका थामहरुमा विभिन्न देवी–देवताको मूर्ति कुँदिएको छ । -रासस

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकाका ट्याक्सी ड्राइभरलाई 'फ्लोरोसेन्ट युनिफर्म'

तस्बिर : इलिट जोशी

काठमाडौँ — काठमाडौं उपत्यकामा ट्याक्सी चलाकले बुधबारदेखि युनिफर्म लगाएका छन् । बुधबार दिउँसो उपत्यकाका करिव ३ सय ड्राइभरले युनिफर्म लगाएर यात्रुलाई सेवा दिएका छन् । पहेँलो कपडामा राति टल्किने सेतो रिबन राखेर ड्रेस तयार पारिएको छ । उक्त ड्रेसलाई मिटर ट्याक्सी व्यवसायी संघले 'फ्लोरोसेन्ट ड्रेस' भनेको छ ।

संघका अध्यक्ष अर्जुन गौतमका अनुसार एउटा ड्रेसको ३ सय रुपैयाँ मूल्य तोकिएको छ । ड्रेस तयार पार्न धेरै टेलर्समा सम्पर्क गरेर मूल्य बुझिएको र सबैभन्दा सस्तोमा एलबी टेलर्सले सिलाइदिने भएपछि उसैलाई ड्रेस बनाउने जिम्मा दिइएको छ । टेलर्सका प्रोपाइटर एलबी परियाका अनुसार आज दिउँसोसम्म ५ सय ५० वटा ड्रेस तयार पारेर राखिएको छ । अर्डर अनुसार ड्रेसको परिणाम थपिँदै लगिने उनले बताए ।

यस्तै अब उपत्यकाभित्र ट्याक्सी चलाउने चालकले १ महिनाभित्र अनिवार्य ड्रेस लगाउनै पर्ने गौतमको भनाइ छ । ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघको समन्वयमा देशैभरीका ट्या्कसी चालकलाई ड्रेस अनिवार्य गरिने छ ।

यस्तो ड्रेसले यात्रुलाई ट्याक्सी चालक र अन्य सवारीसाधनको चालक छुट्ट्याउन सजिलो हुने उनको भनाइ छ । उनले नीजि सवारी साधनले पनि भाडाको काम गरेपछि आफूहरुले ड्रेस कोड बनाएको बताए । उनले भने, 'यहाँ रातो नम्बर प्लेटका सवारी साधनले पनि पैसा लिएर भाडाको काम गर्न थाले । जसले गर्दा यात्रुहरु भ्रममा परेका छन् । अब ड्रेस लगाएपछि यो भ्रम तोडिनेछ । नीजि सवारीको काम पैसा असुलेर यात्रु चढाउने हैन ।'

ड्रेसले ट्याक्सी चालकलाई थप अनुशासित बनाउने उनले बताए । उनले भने, 'ड्रेसले व्यवसाय र व्यवसायीलाई अनुसाशित बनाउनुको साथै यात्रुलाई पनि सुविधा पुग्नेछ ।'

प्रकाशित : भाद्र ६, २०७५ १३:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT