कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो छ बन्द गोरखकाली रबर उद्योगको अवस्था

शब्द/तस्बिर : लालप्रसाद शर्मा

गोरखा — गोरखाको मजुवास्थित ६ सय ५४ रोपनी जग्गामा फैलिएको छ गोरखकाली रबर उद्योग । २०४९ मंसिर २९ बाट टायर उत्पादन थालेको उद्योग २०७१ चैत अन्तिम सातादेखि बन्द छ ।

चरम राजनीतिक हस्तक्षेप, अनावश्यक मजदुर र कर्मचारी भर्ना, कच्चा पदार्थ व्यवस्थापनको समस्या र सञ्चालक समितिका पदाधिकारीहरुको बदमासी, विदेशी टायरसँग प्रतिस्पर्धा गर्न नसकेको जस्ता कारणले उद्योग चार वर्षदेखि बन्द छ ।  

उद्योग बन्द भएपछि भवन जीर्ण हुँदै गएका छन् भने उपकरण पनि बिग्रन थालेका छन् । कार्यरत २ सय ३२ कर्मचारी मजदुरले २०७२ देखि तलबभत्ता पाएका छैनन् । यस बीचमा ६४ जनाले उमेर हदका कारण अवकाश पाए पनि सेवासुविधा भने पाएका छैनन् ।

उद्योगमा नेपाल सरकार, नेशनल ट्रेडिङ, साल्ट ट्रेडिङ, हिमाल सिमेन्ट, आयल निगम र सर्वसाधारणको शेयर छ । गत असार मसान्तसम्म कर्मचारी र मजदुरका लागि २१ करोड ६० लाख ६१ हजार रुपैयाँ भुक्तानी दिन बाँकी छ । 

उद्योगको विनियम अनुसार उपदानलगायत अवकाश हुँदा दिईने सेवाका लागि थप ३० करोड रुपैयाँ लाग्नेछ । चानचुन १ अर्ब २५ करोड रुपैयाँ भएमा सबै कर्मचारीलाई अवकाशसहित सेवासुविधा दिनसकिने आकलन उद्योगको छ । तत्काल कर्मचारीको आर्थिक दायित्व बाहेक ५२ करोड रुपैयाँ भएमा उद्योग सञ्चालन गर्न सकिने जनाईएको छ । उद्योगको हाल सञ्चित नोक्सानी डेढ अर्ब बढी पुगेको छ ।

उद्योग संचालन गर्नुपर्ने नभए औद्योगिक क्षेत्रको रुपमा बिस्तार गर्न सकिने अवस्था रहेको छ । यति ठूलो सम्पत्तिको राज्यले वेवास्ता गर्न नहुने सरोकारवालाको भनाई छ । 

प्रकाशित : आश्विन १८, २०७५ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्