कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विन्ध्यबासिनीमा नवदुर्गा महोत्सव सुरु

विना थापा

कास्की — पोखराको विन्ध्यबासिनी मन्दिरमा वडा दशैंको अवसरमा नवदुर्गा महोत्सव बुधबारदेखि सुरु भएको छ । विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा सुरु महोत्सव नवमीसम्म चल्ने समितिका सचिव तिर्थ श्रेष्ठले जानकारी दिए ।

महोत्सव सुरु हुनु अघि शोभायात्रा निकालिएको थियो । विन्ध्यबासिनी देवीका नौ रुपको स्वरुप, नव कन्याका नौ रथ, विन्ध्याबासिनी मन्दिरको झांकी, एक सय आठ कलश, विन्ध्यबासीनी मन्दिरको प्रतिमा, भजन समुह, भेषभुषा सहितको साँस्कृतिक झाँकी निकालिएको थियो । साथै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल स्काउट, आमा समुह, धार्मिक सामाजिक र शैक्षिक संघसस्थाहरुको पनि सहभागिता रहेको थियो ।

शोभायात्राले मोहरियाटोल, भैरवटोल, महेन्द्रपुल लगायत बजारका विभिन्न भागमा परिक्रमा गरेको थियो । महोत्सवको उट्घाटन गण्डकी प्रदेशका प्रमुख पृथ्वीसुब्बा गुरुङले गरेका थिए ।

आन्तरिक तथा बाह्य धार्मिक पर्यटन प्रवद्धनका लागि विगत ११ वर्षदेखि महोत्सव हुँदै आएको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । तीन सय वर्षको ईतिहास बोकेको मन्दिरमा स्याङजा, तनहुँ, लमजुङ, गोरखा लगायतका जिल्ला र छिमेकी राष्ट्र भारतबाट समेत धेरै भक्तजन दर्शनका लागि आउने गरेका छन् ।

प्रकाशित : आश्विन २४, २०७५ १६:००
प्रतिक्रिया
पठाउनुहोस्